विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

ध्यान किन र कसरी गर्ने ?

आइतबार, २१ कार्तिक २०७८, १३ : ४६
आइतबार, २१ कार्तिक २०७८

पछिल्ला दिनमा जीवनशैली परिवर्तनका कारण डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोग बढ्दै गइरहेका छन् । यी सबै रोगको कारण शरीरका कोषहरू खिइँदै जाने, डीएनए खराब हुने र छिटो बूढो हुने भएकाले हो ।

त्यसका कारण सामान्य कोषका कार्यहरू समेत अवरुद्ध हुन्छन् । दीर्घकालीन रूपमा हुने यस्तो प्रक्रियाले कोर्टिसोल हर्मोनको मात्रा बढ्छ र जीवनशैलीसँग सम्बन्धित रोगको उत्पत्ति हुन्छ । यी सबै खालका समस्याबाट समाधान पाउन शारीरिक व्यायाम, पोषण, खानामा नियन्त्रण जस्ता कुरामा ध्यान दिनुपर्छ ।

यीबाहेक सबै समस्याको समाधानको अर्को माध्यम योग हो । योगले मन, शरीर र मष्तिष्कलाई जोडेर एकाकार बनाउँछ । कम्तीमा पनि ३ देखि १२ हप्तासम्मको नियमित योग अभ्यासबाट जीवनशैलीसम्बन्धी यस्ता समस्याको समाधान हुन्छ ।

योग अभ्याससँगै मन, मष्तिष्कलाई ताजा राखी जीवनशैलीसँग सम्बन्धित विविध दीर्घ रोग समाधान गर्ने अर्को निकै महत्त्वपूर्ण विधि हो ध्यान । ध्यानलाई निकै जटिल अध्ययनको क्षेत्र मानिन्छ तर पनि विगत ४० वर्षअघिदेखि नै यस विषयमा विभिन्न अनुसन्धानहरू भई महत्त्वपूर्ण उपलब्धि समेत हासिल भएका छन् ।

ध्यान के हो ?

ध्यान शब्द संस्कृत भाषाबाट आएको हो । यसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसको क्षेत्र निकै फराकिलो छ । यसमा स्व–सचेतनाको महत्त्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यासको पाटो हो । यसले सतर्क, सचेत बनाउनुका साथै व्यक्तिलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ ।

ध्यान मस्तिष्कको एक किसिमको तालिम हो, जसले मानसिक प्रक्रियालाई सही अवस्थामा राख्ने, शरीरलाई तन्दुरुस्त राख्ने र अनेकौँ फाइदा दिन्छ । यसले गहिरो मात्र नभई धेरै गहिरो ज्ञान प्रदान गरी दिनभरको तनाव घटाउने, आन्तरिक रूपमा सचेत गराउने र वास्तविक शान्ति प्रदान गर्छ । यदि चिन्ता, तनाव र थकान भयो भने ध्यानमा बस्नाले फाइदा पुग्छ ।

केही मिनेटको ध्यानले शान्ति र खुशी प्रदान गर्छ । ध्यान जो कोहीले पनि गर्नसक्ने अभ्यास हो । यो निकै सरल र खर्चरहित हुन्छ । यसका लागि कुनै उपकरणको समेत आवश्यकता पर्दैन । यो जुनसुकै समयमा पनि गर्न सकिन्छ । जस्तैः हिँड्दा, गाडीमा बस्दा, डाक्टरको प्रतीक्षामा बसिरहँदा अथवा कुनै मिटिङमा बसिरहँदा आदि ।

ध्यानसम्बन्धी इतिहास

ध्यानको अभ्यास हुन थालेको करिब ३ हजार वर्ष भइसकेको छ । प्राचीन कालमा ध्यानको प्रारम्भबारे वेदमा उल्लेख भएको पाइन्छ । विल्सन भन्ने विद्वान्ले वेदको उल्था गर्दा यो कुरा भेट्टाएको पाइन्छ । वैदिक मन्त्र गायत्रीमा समेत ध्यानको कुरा पाइन्छ । यसैगरी ई.पू. छैठौँदेखि पाँचौँ शताब्दीमा ध्यानका अन्य विधिहरू चीनमा कन्फ्युसियस र ताओ तथा हिन्दू, जैन, बुद्ध जस्ता व्यक्तित्वहरूले विकास गरेको इतिहास छ ।

त्यस्तै तेस्रो शताब्दीमा प्लोटिनुसदले ध्यानका प्रक्रियाहरू विकास गरेको पाइन्छ । पहिलो शताब्दीमा बुद्धको ध्यान सबैभन्दा परिष्कृत पाइएको छ । चीन, भियतनाम र कोरियाम समेत बुद्धको प्रभाव परेको पाइन्छ । मध्ययुगमा पश्चिममा क्रिस्चियनको प्रभाव बढेको र बाइबलमा ध्यानको प्रयोग गरेको पाइन्छ । यसरी ध्यान विभिन्न तरिकाले विभिन्न धर्म र संस्कृतिअनुसार हुनेगरेको पाइन्छ ।

आधुनिक समयमा पश्चिम हुँदै पूर्वका एसियन देशहरूमा समेत ध्यानको प्रभाव बढेको पाइन्छ । पूर्वीय दर्शनको उपज योग र ध्यानलाई मुख्यतया स्वामी विवेकानन्दले पश्चिमाञ्चललाई पूर्वीय दर्शन र खासगरी वेदान्त दर्शनको बारेमा परिचय गराई यसमा थप अध्ययन अनुसन्धानको बाटो खुलाएका हुन् ।

ध्यानका प्रकार

आराम अवस्थामा रहिरहने तरिकामध्ये ध्यानलाई एक छाताका रूपमा हेरिन्छ । ध्यान र आराम तथा आसनका विभिन्न तत्वहरुले शरीरको आन्तरिक शान्ति कायम गर्दछन् । एकाग्रता र सचेतताका दृष्टिले ध्यानका विभिन्न प्रकार हुन्छन् । ध्यानका विभिन्न प्रकार निम्न लिखित रहेका छन् ।

·    निर्देशनात्मक ध्यान स् गन्ध, दृश्य, आवाज र अन्य संवेदनाहरूको प्रयोग गरी गरिने ध्यान गाइड, गुरु वा शिक्षकहरूबाट गराइन्छ ।

·    मन्त्र ध्यान स् यस्तो ध्यान गर्दा कुनै पनि मन्त्र जप्दै गरिन्छ र ध्यान केन्द्रित गरिन्छ ।

·    एकाग्र ध्यान स् यसमा कुनै एक विन्दुमा ध्यान केन्द्रित गरिन्छ । यसमा मन्त्र भनेर, मैनबत्ती बालेर, मधुर आवाज सुनेर, माला जपेर वा गन्ती गरेर ध्यान गर्न सकिन्छ ।

·    मस्तिष्क सक्रिय राखेर गरिने ध्यान स् वर्तमानमा गर्न सकिने वा यही क्षणमा एकाग्र हुनसक्ने क्षमता बढाउन गरिने ध्यान । यस्तो ध्यानले सचेतना बढाउँछ । यसमा ध्यान गरिरहँदा के अनुभव भइरहेको छ त्यसैमा केन्द्रित गरी श्वासप्रश्वास फेरिन्छ । यतिबेला आफ्नो संवेग र सोचलाई सूक्ष्म अनुभव गरिन्छ तर कुनै पनि निर्णयबिना त्यस्ता कुरा छाड्दै गइन्छ ।

·  स्वर्गिक वा अलौकिक ध्यान स् यो साधारण र प्राकृतिक ध्यानको विधि हो । यसमा शान्तपूर्वक आफ्नो मन्त्र दोहो¥याउँदै ध्यान गरिन्छ । यसबाट शरीर र दिमाग शिथिल र शान्त हुन्छन् र आन्तरिक शान्ति प्राप्ति हुन्छ ।

· अन्य ध्यानका विधिहरू स् यीबाहेक दैनिक ध्यानमा बुद्धको ध्यान, चीनमा गरिने परम्परागत ध्यान आदि महत्त्वपूर्ण छन् ।

ध्यानका फाइदाहरू

ध्यानले शान्त, आनन्द र सन्तुलन प्रदान गरी संवेगात्मक विकास गराउँछ । तनाव र दबाब बढाउने सूचना, समाचार, त्यस्ता कुराहरू लगायत अन्य तनावका अवस्थाहरूमा फाइदा पु¥याउँछ । चिन्ता, दमरोग, क्यान्सर, दीर्घ दुखाई, डिप्रेसन, मुटुका रोगहरू, पेटका समस्याहरू, अनिद्रा र तनावका कारण टाउको दुख्ने जस्ता रोगसमेत ध्यानले निको पार्छ । यीबाहेक ध्यान गर्नाले हाम्रो शरीरमा निम्न फाइदा हुन्छ ।

१) शारीरिक स्वास्थ्यमा हुने फाइदा

·    मस्तिष्क क्षमताको वृद्धि विकास हुन्छ ।

·    मस्तिष्कमा अझ राम्रो रक्तसञ्चार हुन्छ ।

·    कोर्टिसोल नामक तनाव गराउने हर्मोनको उत्पादन घटाउँछ ।

·    रक्तसञ्चारमा सुधार र सामान्य रक्तचाप कायम राख्छ ।

·   सिकाइका क्रममा निकै प्रभावकारी तरिकाले स्नायु परिचालन हुने र मस्तिष्कको क्षमता बढाउँछ ।

·   मुड राम्रो र फुर्तिलो गराउने हर्मोन सेरोटोनिन र डोपामाइनहरूको उत्पादन बढ्छ र डिप्रेसन जस्ता मानसिक रोग निको बनाउँछ ।

·   प्यारासिम्पाथेटिक स्नायु प्रणालीलाई सन्तुलित बनाई तनावबाट आराम गराउनुका साथै उपचार गराउँछ ।

·    रोगविरुद्धको प्रतिरोध क्षमता बढाउँछ ।

·    मांसपेशीमा आरामको अनुभव गराउँछ ।

·    बुढ्यौलीपन ढिलो गराउँछ र तरोताजा अनुभूति गराउँछ ।

२) मानसिक स्वास्थ्यमा हुने फाइदा

·     चिन्ता, तनाव र डिप्रेसन घटाउँछ ।

·    तनाव भइहालेमा तुरुन्तै घटाउने गरी स्नायु प्रणाली विकसित हुन्छन् ।

·    सकारात्मक संवेगहरू बढाउँछ ।

·    एकाग्र बनाउने र वर्तमानका सावधानीहरूको बारेमा सचेत गराउँछ ।

·    संवेगात्मक क्षमता, निरन्तर ताजापन र बौद्धिक क्षमताको विकास गराउँछ ।

·    सहानुभूति तथा दया, माया र ममताको विकास गराउँछ ।

·    स्वयं आफूसँग र अन्य परिस्थितिसँग इन्द्रियहरूको संयोजन गराउने प्रक्रियामा वृद्धि गर्छ ।

·   आफू को हो र जीवनको उद्देश्य तथा अर्थको बारेमा परिचित गराउँछ ।

·   सामाजिकपनको विकास गराउँछ ।

ध्यान गर्ने विधि

ध्यानका विभिन्न विधि हुन्छन् । सुरुमा ध्यान गर्न आरामपूर्वक घण्टौँ बसेर कुनै कुरा सोच्न खाली मस्तिष्क प्रयोग गर्नु कठिनसमेत हुन्छ । ध्यान गर्नु भनेको श्वासलाई केन्द्रित गरी एकाग्र हुनु हो । आजकाल ध्यानलाई आराम र चिन्तित दिमागको उपचारका लागि प्रयोग गरिन्छ ।

जेजसरी ध्यान गरे पनि मनलाई एकाग्र राख्न सक्नेगरी कुनै वस्तु वा आकृतिमा केन्द्रित रही ध्यान गर्न सकिन्छ । ध्यान जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ । यसको कुनै निश्चित समय वा परिस्थिति नै हुँदैन । लेख्दा, पढ्दा, हिँड्दा, बस्दा, पूजापाठ गर्दा जुनसुकै अवस्थामा पनि ध्यान गर्न सकिन्छ ।

ध्यान गर्दा आफ्नो सीप राम्रो भयो कि भएन भनी विचार गर्नुहुँदैन यसले तनाव बढाउँछ । ध्यानलाई आफ्नो आवश्यकता र क्षणअनुसार गर्न सकिन्छ । ध्यान गर्ने तरिका राम्रो वा नराम्रो कुनै हुँदैन । आफूलाई तनाव घटाउने र राम्रो महसुस गराउने विधि हो । तैपनि ध्यान एउटा सीप हो, यसका लागि निम्न विधिहरू अबलम्बन गर्न सकिन्छ ।

१. ध्यानका लागि राम्रो कुसन वा म्याटमा राम्रोसँग सजिलो गरी बस्ने ।

२. आँखा बन्द गर्ने ।

३. सामान्य तरिकाले प्राकृतिक रूपले श्वास प्रश्वास गर्ने ।

४. श्वास लिएको र छाडेको प्रक्रियामा ध्यान केन्द्रित गर्ने । श्वासप्रश्वास गर्दा शारीरिक चालको अवस्था हेर्ने । अनि आफ्नो छाती, काँध, करङ तथा पेट हेर्ने । ध्यान अन्यत्र जान थालेमा पुनः श्वासप्रश्वास प्रक्रियामा केन्द्रित हुने । यसरी ध्यान गर्दा सुरुमा २ देखि ३ मिनेटसम्म गर्ने र बिस्तारै लामो समयसम्म गर्न सकिन्छ ।

५. मन्त्र उच्चारण गर्दै ध्यान गरेको भए मन्त्र दोहर्याइरहने वा प्रार्थनामा नै सीमित हुनुपर्छ ।

६. हिँड्दै ध्यान गर्न पनि सकिन्छ तर हिँडाई बिस्तारै हुनुपर्छ । आफू पुग्नुपर्ने स्थानमा ध्यान दिने होइन कि आफ्नै खुट्टा, जमिन र प्रभावित अङ्गहरूमा ध्यान दिई हिँड्नुपर्छ ।

७. आफ्नो ध्यान कुनै आदर्श व्यक्ति वा इष्ट देवताप्रति केन्द्रित गरी आँखा बन्द गरी उक्त आकृतिप्रति कल्पना गर्दै कृतज्ञ हुनुपर्छ ।

 अन्त्यमा

ध्यान एउटा अस्तव्यस्त दैनिकीका लागि राम्रो वरदान नै हो । मष्तिष्कलाई ऊर्जा दिने वा चार्ज गर्ने सबैभन्दा उत्तम विधि नै ध्यान भएको हुनाले यो अति व्यस्त व्यक्तिले दैनिक कम्तीमा १ घण्टा गर्ने र व्यस्त व्यक्तिले आधा घण्टा कम्तीमा गर्नुपर्छ । थप तनाव र दबाब भएमा मस्तिष्कलाई आराम राख्नका लागि ध्यानको मात्रा बढाउँदै लैजान सकिन्छ ।

ध्यानले मस्तिष्कलाई आराम दिने मात्र नभई व्यक्तिको अन्तरनिहीत क्षमता प्रस्फुटन गराइदिन्छ । ज्ञानको तह बढाइदिन्छ । स्मरण क्षमता बढाइदिन्छ । मनमा आनन्दको अनुभूति ल्याइदिन्छ र तनावबाट मुक्त गर्दछ । अतः आजैदेखि ध्यान गर्नतिर लागौँ । सांसारिक अस्तब्यस्तको दुनियाँबाट केही क्षण आराम गरौँ ।

कावासोती–८, नवलपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप