विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँको जनमत : एमाले–काँग्रेसको ६०/४० के होला ?

तेस्रो शक्ति बनिसकेको विवेकशील साझा अब के होला ?
आइतबार, २१ कार्तिक २०७८, १९ : २२
आइतबार, २१ कार्तिक २०७८

हरेक आम चुनावमा काठमाडौँ उपत्यकाको रूझानले विशेष अर्थ राख्छ । देशैभरिको जनमत कुन पार्टीतर्फ प्रवाह भइरहेको छ भन्ने थाहा पाउन काठमाडौँको प्रवाहले विशेष अर्थ राख्ने गरेको छ । त्यसैले, जब–जब चुनावको मौसम सुरू हुन्छ, काठमाडौँको जनमत कतातिर ‘स्विङ’ भइरहेको छ भनेर विश्लेषण गर्ने चलन छ । 

देशमा अहिले नै निर्वाचनको मौसम सुरू भइसकेको छैन । तथापि केही महिनापछि स्थानीय तहको चुनाव हुन लागेको छ । त्यो भन्दा अघि नै प्रतिनिधिसभाका चार सिट र प्रदेशसभाका १८ सिटमा उपचुनाव हुँदैछ । बागमती प्रदेशमा पनि स्व.  सांसद पशुपति चौलागाईको सिटमा उपचुनाव हुँदैछ ।

काठमाडौँमा आगामी निर्वाचन कसले जित्ला वा हार्ला भनेर विश्लेषण गरिहाल्ने बेला भएको छैन । तर, २०७४ सालको चुनावको आँकडालाई हेरेर काठमाडौँको जनमतको विश्लेषण गर्नु असान्दर्भिक चाहिँ पक्कै नहोला । किनभने, नेकपा विभाजित बनेको र काठमाडौँमा तेस्रो शक्तिका रूपमा स्थापित भएको विवेकशील साझा पार्टीमा देखा परेको विवादका कारण काठमाडौँको राजनीतिक शक्ति सन्तुलन रोचक मोडमा पुगेको अवस्था छ ।

काठमाडौँको अर्को रोचक पक्ष के छ भने ०६४ सालदेखि ०७० सालसम्म काठमाडौँमा जनमत बढाउँदै लगेको कमल थापा नेतृत्वको राप्रपा अहिले खुम्चिएको छ । र, राष्ट्रिय राजनीतिमा तेस्रो शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्र चाहिँ काठमाडौँमा विवेकशील साझा पार्टी भन्दा सानो दलका रूपमा रहेको अवस्था छ । 

संघीय राजधानीको केन्द्रका रूपमा रहेको काठमाडौँको राजनीतिमा देखिएका यिनै मौलिक विशेषताहरूका आधारमा ०७४ को चुनावी परिणामबारे एक चोटि रिभ्यु गर्नु अहिले सान्दर्भिक नै हुने देखिन्छ । प्रतिनिधिसभामा १० वटा सिट काठमाडौँ जिल्लामा मात्रै भएकाले पनि यहाँको जनमत सबैका लागि चासोको क्षेत्र हो । 

उपत्यकाका अन्य जिल्ला ललितपुर र भक्तपुरलाई समेत जोड्ने हो भने संघीय संसद्मा यहाँबाट १५ जनाको प्रतिनिधित्व हुनेछ । जबकि ०७४ को चुनावमा नेकपाले उपत्यकाका तीन जिल्लाबाट १५ मध्ये १० वटा सिट जितेको थियो भने काँग्रेसले ४ सिटमात्र जितेको थियो । 

नेकपाले ०७४ को चुनावमा काठमाडौँबाट ६, ललितपुरबाट तीन र भक्तपुरबाट एक सिट जितेको थियो । यीमध्ये एक माओवादी र ९ सिटमा एमालेले साझेदारी गरेका थिए । 

काँग्रेसले काठमाडौँबाट ४ सिट जितेको थियो भने बाँकी भक्तपुरको एक सिट नेमकिपाले जितेको थियो । काठमाडौँ जिल्लामा काँग्रेस र एमालेले ६०/४० को अनुपातमा जित हात पारेका थिए । 

२०७४ को चुनावमा एमाले काठमाडौँबाट ६ सिटमा विजयी हुँदा एक स्थानमा दोस्रो बनेको थियो ।  काँग्रेस १० मध्ये ४ सिट जित्दै गर्दा ५ स्थानमा दोस्रो बनेको थियो ।

काठमाडौँमा प्रत्यक्षतर्फ प्रमुख तीन दलको भोट

काठमाडौँमा एमालेको साथ लिएर चुनाव लडेको माओवादी दुई स्थानमा दोस्रो र एक स्थानमा तेस्रो बनेको थियो । विवेकशील साझा पार्टी एक स्थानमा दोस्रो र ८ स्थानमा तेस्रो शक्ति बनेको थियो । तर, समानुपातिकतर्फको मतमा विवेकशील साझाले माओवादीलाई झण्डै दोब्बरले पछि पारेको थियो ।

विवेकशील साझा पार्टीका नेताहरुको दाबीअनुसार ०७४ को चुनावमा काठमाडौं १ मा रवीन्द्र मिश्र दुई कारणले हारेका हुन् : एक–प्रकाशमान र माधव कुमार नेपाल (काठमाडौं २) वीच अघोषित गठबन्धन बनेर मत साटासाट भएको थियो । दुई– क्षेत्र नम्बर १ का सुकुम्बासीहरूको भोट पैसामा किनबेच भएको थियो । यी दुई फ्याक्टरले काम नगरेको भए काठमाडौं १ मा मि?ले चुनाव जित्ने सो पार्टीका नेताहरुको तर्क छ । 
अहिले पार्टीभित्र आन्तरिक विवाद देखिए पनि मिश्रले संघीयता र धर्मनिरपेक्षताको विपक्षमा आफूलाई उभ्याएका कारण काठमाडौंमा आगामी चुनावमा पहिलेको भन्दा बढी भोट ल्याउने सो पार्टीका नेताहरुको दाबी छ । ०७४ मा देशभरबाट २ लाख भोट ल्याउँदा विवेकशील साझा पार्टीले काठमाडौं जिल्लाबाट मात्रै ६१ हजार मत बटुलेको थियो । 

काठमाडौँ जिल्लामा एमालेले समानुपातिकतर्फ १ लाख ४७ हजार ४९६ मत पाएको थियो । काँग्रेसले १२२०९४ मत पाएको थियो । विवेकशील साझाले तेस्रो शक्तिका रूपमा ६१८०५ मत पाएको थियो । जबकि माओवादीले चौथो शक्तिका रूपमा ३१४३२ मत मात्रै पाएको थियो । राप्रपा गाई १४८९९ मतका साथ काठमाडौँमा पाँचौँ शक्ति बनेको थियो ।

काठमाडौँमा समानुपातिकतर्फ ५ दलको भोट

ललितपुर १ बाट एमालेका नवराज सिलवालले २६ हजार ९५१ मत ल्याउँदा काँग्रेसका उदय शमशेर जबराले २०७२९ भोट ल्याएका थिए ।

त्यस्तै ललितपुर २ नम्बर क्षेत्रमा एमालेका कृष्णलाल महर्जनले २७ हजार ७१३ ल्याउँदा काँग्रेसमा चन्द्र महर्जनले १६ हजार ९४५ मत पाएका थिए । तेस्रोमा विवेकशील साझाका अमिरराज महर्जनले ५४०८ मत ल्याएका थिए । 

ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुसालले २४०३६ भोट ल्याउँदा काँग्रेसका मदनबहादुर अमात्यले २२३२८ मत पाएका थिए । यहाँ विवेकशील साझाका उम्मेदवार ७६२८ मत पाएका थिए । 

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले ३३ हजार ७६ मत ल्याउँदा काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका थिए । माओवादीले यहाँ एमालेको समर्थनमा १५ हजार ३७४ मत पाएको थियो । यहाँ विवेकशीलको २ हजार ३३० मत आएको थियो । 

भक्तपुर २ मा एमालेका महेश बस्नेतले माओवादीको समर्थनमा ३६ हजार ४१२ मत पाउँदा काँग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६७८ मत पाएका थिए । नेमकिपाकी अनुराधा थापा मगरको ५ हजार ४७१ आएको थियो भने विवेकशील साझाको १ हजार ७८४ मत आएको थियो । 

काठमाडौंबासीले कसलाई रोज्लान् ?

काठमाडौँका मतदाताहरू प्रायः अग्रगमनका पक्षधर भनेर चिनिन्छिन् । साथै यहाँका मतदाताहरूले सत्तापक्षलाई भन्दा प्रतिपक्षलाई रोज्ने गरेको पाइन्छ । यही कारणले गर्दा पञ्चायत कालमा पनि पद्मरत्न तुलाधरजस्ता जनपक्षीय  उम्मदेवारहरूले जितेको पाइन्छ । त्यसो त काठमाडौँले नानीमैया दाहाललाई जिताएर शासकहरूमाथि व्यङ्ग्य गरेको चुनावी इतिहास पनि छ । 

०४६ सालको परिवर्तनपछिको इतिहास हेर्दा काठमाडौँले कहिले वामपन्थी जनमतलाई त कहिले काँग्रेसलाई रोजेको पाइन्छ । ०६२/०६३ को परिवर्तनपछि यहाँका जनताले माओवादीलाई पनि जिताएको रेकर्ड छ । तर, संविधान बन्न नसकेपछि काँग्रेस र कम्युनिस्टप्रति दिक्क बनेर काठमाडौँका जनताले समानुपातिकमा गाईलाई पहिलो बनाएको पनि रेकर्ड छ ।

यही क्रममा २०७४ को चुनावमा ६१ हजार भन्दा बढी मत दिएर काठमाडौँका जनताले विवेकशील साझा पार्टीलाई काठमाडौँको तेस्रो राजनीतिक शक्ति बनाएका थिए । काठमाडौँ क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र काँग्रेस नेता प्रकाशमान सिंहसँग ८१८ मतको साँघुरो अन्तरले मात्र हारेका थिए । यो चुनावमा काठमाडौँका ९ वटा क्षेत्रमा विवेकशील साझा पार्टी माओवादीलाई जितेर तेस्रो शक्ति बनेको थियो । 

अहिले प्रश्न उठेको छ– विवेकशील साझा पार्टी विवादमुक्त वा  एकताबद्ध भएको भए आगामी चुनावमा काठमाडौँमा के हुन्थ्यो होला ? र, अर्को प्रश्न पनि छ – काठमाडौँमा ६०/४०को साझेदारी गरेका एमाले र काँग्रेसले आगामी चुनावमा के गर्लान् ? काठमाडौँ ७ मा काँग्रेससँग मिलेर विक्रम थापालाई जिताउनका लागि ९ वटै क्षेत्रमा उम्मेदवारी नदिएको राप्रपाले यस चोटि कोसँग तालमेल गर्ला ?

हेर्नुहोस् ०७४ को प्रत्यक्षतर्फको परिणाम

काठमाडौँ– १ 

प्रकाशमान सिंह, काँग्रेस १०९३६

रवीन्द्र मिश्र, विवेकशील साझा १०११८

अनिल शर्मा, माओवादी ५३३६

काठमाडौँ– २

माधवकुमार नेपाल, एमाले २७३६६

दीपक प्रसाद कुइँकेल काँग्रेस, १४९०३

सूर्यराज आचार्य, विवेकशील साझा ७४३७

काठमाडौँ– ३

कृष्णबहादुर राई, एमाले १९१६९

अम्बिका बस्नेत, काँग्रेस १४८८४

सुमित्रा सिंह लामा विवेकशील साझा २२०५

काठमाडौँ– ४

गगन थापा, काँग्रेस २१५५८

राजन भट्टराई, एमाले १८१४०

सुबुना बस्नेत विवेकशील साझा ३०४०

काठमाडौँ– ५

ईश्वर पोखरेल, एमाले २३०२९

प्रकाशशरण महत, काँग्रेस १३१६९

उज्जवल बहादुर थापा ,विवेकशील साझा ६८५३

काठमाडौँ– ६

भीमसेनदास प्रधान, काँग्रेस १६७८५

झक्कुप्रसाद सुवेदी, माओवादी १५४८५

रमेश चिलुवाल, विवेकशील साझा ४२२५

काठमाडौँ– ७

रामवीर मानन्धर, एमाले १८१०२

विक्रमबहादुर थापा राप्रपा १००७९

अनुपा श्रेष्ठ विवेकशील साझा ५३७६

काठमाडौँ– ८

जीवनराम श्रेष्ठ, एमाले १३३९८

नवीन्द्रराज जोशी, काँग्रेस १२९५३

विवेकशील साझा ४४१४

काठमाडौँ– ९

कृष्णगोपाल श्रेष्ठ, एमाले २२८५२

ध्यान गोविन्द रञ्जित, काँग्रेस १४८०२

मिलन पाण्डे ४९४६

 काठमाडौँ– १०

राजेन्द्रकुमार केसी, काँग्रेस २४१९०

हितमान शाक्य, माओवादी २१९०७

प्रदीप ढकाल, विवेकशील साझा २००३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप