मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लोडसेडिङ हटेसँगै विद्युतीय सामग्री आयात र प्रयोग बढ्यो

मङ्गलबार, २३ कात्तिक २०७८, ०७ : १०
मङ्गलबार, २३ कात्तिक २०७८

नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको छ ।

हाल नेपालमा १७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको छ । विद्युत खपत क्षमता भने १३ सयदेखि १४ सय  मेगावाट आसपास हो । यो तथ्यांकले नेपालको मागभन्दा बढी विद्युत उत्पादन भइरहेको पुष्टि गर्छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्राईले अहिले पनि दैनिक २०० मेगावाटदेखि ५०० मेगावाटसम्म विद्युत खेर गइरहेको जानकारी दिए । ‘दिउँसोको समयमा अफिस, उद्योग कलकारखाना चल्ने भएकाले २०० मेगावाटसम्म खेर जान्छ । रातीको समयमा कलकारखाना बन्द हुँदा ५०० मेगावाटसम्म खेर जान्छ,’ उनले भने ।

कात्तिक १७ गते यता भारतमा दैनिक ४९ मेगावाट विद्युत निर्यात भइरहे पनि खेर गइरहेको विद्युत सदुपयोग हुन सकेको छैन । त्यसैले, लोडसेडिङ अन्त्य भएर विद्युत खेर जाने स्थिति आएपछि उपभोक्ताको ध्यान विद्युतीय सामग्री प्रयोगतर्फ मोडिएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले अनुसार लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र उपभोग बढेको बताएको छ । २०७५ सालमा लोडसेडिङ अन्त्य हुनु अघिसम्म नेपालमा घरायसी उपयोगमा विद्युतीय सामग्री प्रयोग कल्पना समेत हुँदैनथ्यो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्म पनि विद्युतीय सामग्री आयात न्यून थियो । गत आर्थिक वर्षमा केही प्रतिशत बढेकोमा चालू आर्थिक वर्षमा भने ह्वात्तै बढ्ने पक्कापक्की छ ।

खपतभन्दा बढी विद्युत उत्पादन भएसँगै ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले विद्युतीय सामग्री प्रयोग बढाउन उपभोक्तालाई निरन्तर घच्घच्याइरहेका छन् । यससँगै नेपालमा विद्युतीय सामग्रीको उपभोग बढ्दो छ । सरकारी निकायले खाना पकाउन एलपीजी ग्यासको साटो विद्युतीय सामग्री प्रयोग गर्न भनेपछि उपभोक्ताले पनि अनुशरण गरिरहेका छन् ।

माग बढ्न थालेपछि अघिल्ला वर्षहरूको तुलनामा विद्युतीय सामग्रीहरूको आयात समेत बढेको भन्सार विभागले जानकारी दिएको छ । विभागको तथ्यांकले माइक्रोवेभ ओभन, राइस कुकर, इन्डक्सन चुलो, ह्याण्ड/हेयर ड्रायर, विद्युतीय कित्ली र टोस्टर लगायत विद्युतीय सामग्री आयात निकै बढेको देखाउँछ । यसका साथै, वासिङ मेसिन आयात पनि बढिरहेको विभागले जानकारी दिएको छ ।

तीन महिनायता आयात बढेको बढ्यै

गत आर्थिक वर्ष २०७७/७८ को तीन महिना अवधि तुलनामा पछिल्लाे अवधिमा घरायसी प्रयोग हुने विद्युतीय सामग्री आयात  निकै बढेको छ । गत वर्ष साउनदेखि असोजसम्म १ करोड ३४ लाख रुपैयाँको विद्युतीय आइरन, ५ करोडको माइक्रोवेभ ओभन र ७ करोडको राइस कुकर आयात भएको थियो ।

चालू वर्षको तीन महिनामा १ करोड ९८ लाख रुपैयाँ बराबरको विद्युतीय आइरन भित्रिएको छ भने ९ करोड ५५ लाख रुपैयाँको माइक्रोवेभ ओभन र ९ करोड रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ । यस्तै, विद्युतीय कित्लीको आयातमा पनि यो वर्षको तीन महिनाभित्र ९ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ ।

यसैगरी चिया/कफी बनाउने जग, विद्युतीय कीटनाशक यन्त्र, टोस्टर, हेयर/ह्याण्ड ड्रायर लगायत सामग्रीको आयातसमेत बढेको देखिएको छ । यद्यपी, यस अवधिमा विद्युतीय चुलोको आयात भने घटेको भन्सार विभागले जानकारी दिएको छ ।

तीन महिनामा विद्युतीय वस्तुको आयात 

गत वर्षमा आयातको स्थिति

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतीय सामग्री आयात बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय सामग्रीको आयात बढेको हो ।

अघिल्लो वर्ष ८ करोड ८६ लाख रुपैयाँको विद्युतीय आइरन भित्रिएकोमा गत वर्ष ९ करोड ७५ लाख रुपैयाँ बराबरको भित्रिएको छ । यस्तै, माइक्रोवेभ ओभन आयात करिब १४ करोड रुपैयाँले बढेको छ भने राइस कुकर आयात ४२ करोड रुपैयाँले बढेको देखिएको छ । यससँगै टोस्टर, चिया/कफी बनाउने जग, कीटनाशक यन्त्र, हेयर/ह्याण्ड ड्रायर आयात पनि बढिरहेको छ ।

दुई वर्षमा विद्युतीय वस्तुको स्थिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप