बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणनाको प्रश्नावली : ‘घरमा वासिङ मेसिन छ ? चर्पी कस्तो छ ?’

एउटै घरमा २० देखि २५ मिनेट लाग्ने
बिहीबार, २५ कात्तिक २०७८, १४ : १६
बिहीबार, २५ कात्तिक २०७८

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको कार्यालयमा गएर विद्यादेवी भण्डारीको परिवारको जनगणना गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरमा गएर पनि जनगणना लिन विभागका पदाधिकारी स्वयं खटिएका छन् । 

जनगणनाका लागि सात प्रदेश र जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना गरिएको छ । स्थानीय तहमा पनि ३ सय ४९ कार्यालय स्थापना गरिएको छ । आजदेखि सुरु भएको जनगणना मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । औसतमा दुई सातामा एउटा गणकले १ सय ७५ घरको आँकडा लिइसक्नुपर्ने विभागले बताएको छ । 

​यस वर्षको जनगणनाका लागि विभागले ३ वटा प्रश्नावली फाराम बनाएको छ । पहिलो घर परिवार सूचीकरण फारम, दोस्रो मुख्य गणना प्रश्नावली र तेस्रो सामुदायिक प्रश्नावली बनाएको छ । घर परिवार सूचीकरण फारम प्रश्नावली गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भरिसकिएको छ । आजदेखि हुने गणनामा गणकहरू घर घरमा गएर मुख्य गणना प्रश्नावली फारम भर्नेछन् भने सामुदायिक प्रश्नावली भने सम्बन्धित स्थानीय तहको वडामा भरिँदैछ । 

राष्ट्रिय जनगणनाका लागि कुल ८० प्रश्न रहे पनि घर परिवारका लागि झन्डै ५४ प्रश्न सोधिनेछन् । 

यस्ता छन् केही प्रश्नावलीहरू : 

१) तपाईंको परिवारले प्रयोग गरेको घरको स्वामित्व कस्तो हो ? 

२) तपाईंले परिवारले प्रयोग गरेको घरको जग के ले बनेको छ ? 

३) तपाईंको परिवारले प्रयोग गरेको घरको बाहिरी गारो के ले बनेको छ ? 

४) तपाईंको परिवारले प्रयोग गरेको घरको छाना के ले बनेको छ ? 

५) तपाईंको परिवारले प्रयोग गरेको घरको भुइँ कस्तो छ ?

६) तपाईंको परिवारको खानेपानीको मुख्य स्रोत कुन हो ? 

७) तपाईंको परिवारमा खाना पकाउन अक्सर कुन इन्धन प्रयोग गर्नुहुन्छ ? 

८) तपाईंको परिवारमा बत्ती बाल्न अक्सर के प्रयोग गर्नुहुन्छ ? 

९) तपाईंको परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ? 

१०) तपाईंको परिवारमा निम्न घरायसी सुविधा तथा साधनहरु के के छन् ? (बहुउत्तर सम्भव छ ) रेडियो, टिभी, टेलिफोन, स्मार्ट फोन, कम्प्युटर लगायत घरायसी सामान । 

११) तपाईंको परिवारमा महिलाको नाममा नेपालको कुनैपनि ठाउँमा घर जग्गा छ ? 

१२) तपाईंको परिवारले कृषि बाहेक कुन कुन मुख्य साना घरेलु व्यवसाय चलाएको छ ? 

१३) तपाईंको परिवारमा उक्त साना घरेलु व्यवसाय मुख्यतया कसले सञ्चालन गरेको छ ? 

१४) गत १२ महिनामा तपाईंको परिवारमा कसैको मृत्यु भएको थियो ? 

१५) मृत्यु भएका व्यक्तिको विवरण दिनुहोस् । 

१६) तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन् ? 

१७) तपाईंको परिवारबाट विदेश गएका व्यक्तिको विवरण दिनुहोस् । 

यस्तै व्यक्तिगत खण्डतर्फ विभिन्न प्रश्नहरू रहेका छन् । 

जसमा परिवारका व्यक्तिको नाम र थर, परिवारको मूलीसँगको नाता, लिङ्ग, जन्म कहिले भएको हो ? उमेर कति भयो ? ५ वर्ष वा सो भन्दा कम उमेरकाको विवरण, जन्मदर्ता भएको छ कि छैन ? जातजाति के हो ? पुर्खाको भाषा के हो ? मातृभाषा कुन हो ? दोस्रो भाषा कुन हो ? कुन धर्म मान्नुहुन्छ ? अन्य देशको भए कुन देशको नागरिक हुनुहुन्छ ? वैवाहिक स्थिति के हो ? कति वर्षमा विवाह गर्नुभयो ? वैवाहिक स्थिति के छ ? शैक्षिक संस्थामा पढ्न लेख्न गएको अवस्था, अध्ययन गरेको विषय क्षेत्र, शिक्षाको तह । यस्तै १५ देखि ४९ वर्ष उमेर समूहका महिलालाई प्रजनन सम्बन्धी विविध प्रश्नहरू रहेका छन् । अपाङ्गता भएको भए त्यसको अवस्था, बसाई सराई, जन्मस्थान सम्बन्धी विवरणका लागि प्रश्नहरू रहेका छन् । यस्तै आर्थिक क्रियाकलाप सम्बन्धी परिवारका कुन सदस्यले के आर्थिक क्रियाकलाप गर्छन् ?  परिवारका कुन सदस्यले काम गरेको ठाउँ वा संस्थामा मुख्य रूपमा कस्तो बस्तु वा सेवाको उत्पादन हुन्छ ? को कुन काममा संलग्न छ ? लगायतका प्रश्नहरू रहेका छन् । 

यस्तै सामुदायिक प्रश्नावली भने स्थानीय तहको वडा कार्यालयलाई सोध्नका लागि तयार पारिएको छ । जसमा सो वडाको आधारभूत विवरण लिनका लागि २१ वटा विषयमा विभिन्न प्रश्नहरू समावेश गरिएको छ । विभागले १५ दिनभित्र कुनै पनि हालतमा जनगणना गरिसक्ने र जनगणनाका लागि लिइएको तथ्याङ्कको दुरुपयोग हुन नदिने र सबै तथ्याङ्क गोप्य रहने विभागले बताएको छ ।  

'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप