शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले तोकेको मूल्य पाउँदैनन् किसान

शनिबार, २७ कात्तिक २०७८, १० : ३२
शनिबार, २७ कात्तिक २०७८

सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले खरिद गरिरहेका छन् । घोराही–६ का किसान लबरु चौधरीले मोटो धान रु दुई हजार ३०० क्विन्टलमा बिक्री गर्नुभएको छ । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उनले गुनासो गरे । 

ट्र्याक्टरले खेत जोतेको, थ्रेसरले दाएको पैसा पनि नउठ्ने भयो । “वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो”, उनले भने । लमही नगरपालिका–३ का किसान रुपनी चौधरीले यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढ्ने आशा गरेका थिए । गत वर्षभन्दा पाँच क्विन्टल धान बढेको पनि थियो । मसिनो धान रु दुई हजार ५०० मा बिक्री गरेको उनले बताए । सरकारले तोकेको समर्थन मूल्य नपाएको उनको गुनासो छ  ।

नेपाल सरकारले किसानबाट धान खरिद गर्नको लागि न्यूनतम समर्थन मूल्य तोकेको छ । मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७००  र मध्यम खालको धान रु दुई हजार ९०० प्रतिक्विन्टल खरिद गर्न न्यूनतम समर्थन मूल्य तोकेको छ । स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा रु दुई हजार ३०० क्वीन्टल र मसिनो धान बढीमा रु दुई हजार ५०० मा खरिद गर्ने काम भइरहेको कक्षपति राइसमिल लमहीका म्यानेजर मदन अधिकारीले बताए । पानीबाट बचेको धान मात्रै खरिद गरिरहेको उनले जानकारी दिए ।

बेमौसमी वर्षाले ७० करोड क्षति

दाङमा बेमौसमी वर्षाले आठ हजार ८८० हेक्टरमा गरिएको धानमा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसअन्तर्गत रु ७० करोड मूल्य बराबरको धानमा क्षति पुगेको केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ । जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो । 

खाद्यले धान खरिद नगर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने भएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई नआएको कार्यालयले जनाएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी नआएको कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । “अहिले सम्म कुनै जानकारी आएको छैन, यस वर्ष धान खरिद हुँदैन”, उनले भने । “धान खरिद गर्नभन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भन्ने जवाफ दिने गर्छन्”, चौधरीले भने । 

कम्पनीलाई जिल्ला बाहिर लगेर धान कुटाउनु पर्ने बाध्यता रहेको छ । जिल्लामा रहेका धेरै मिलसँग समन्वय भएपनि कुटाउन नमानेको उनको भनाइ छ । “हाम्रोे मापदण्डअनुसार कुटानी गर्न सक्दैनौँ भनेका कारण कुटानीमा समस्या छ”, उनले भने । अन्य जिल्लामा खरिद गरेर कुटानी गरेको चामल आइ रहेको चौधरी बताउँछन्  । “हामीसँग चामल राख्नका लागि मात्र स्थान छ  तर धान खरिद गरेर राख्न स्थान पनि छैन त्यसैले पनि समस्या परेको हो”, उनले भने  । 

व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरिद गर्ने आशामा कृषकहरु रहेका थिए तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने भएको छ । वर्षाले धान खेतीमा क्षति पु¥याएको तथा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्दा कृषक थप पीडामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप