एकबिहानै प्रहरीको छड्केमा परे १०३ जना विधार्थी (फोटो)

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर चेकजाँच गरेको थियो ।
‘बिहानको समयमा कलेज आउने समयमा ट्राफिकको चेकिङ नहुने तथा कलेज छुट्दा पिक आवर भएको हुँदा कलेजका विद्यार्थीहरुले चलाउने सवारीलाई नियमन गर्न सकिरहेका थिएनौँ,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले नियम उल्लंघन गर्ने र दूर्घटनामा पर्ने संख्या पनि बृद्धि भएको पायौँ ।’
मंगलबार बिहानै कलेजहरुको हब मानिएको कुमारीपाटी क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा १०३ जना विद्यार्थीहरुले ट्राफिक नियम उल्लघंन गरेको पाएको हाछेथुले जानकारी दिए ।
कारवाहीमा पर्ने विद्यार्थीहरुले लाइसेन्स बिना सवारी चलाएको, तीव्र गतिमा सवारी चलाएको, मोटरसाइकलको स्वरुप परिवर्तन गरेको र दुई जनाभन्दा बढी सवार भएको पाइएको थियो ।
‘लाइसेन्स नबोकी मोटरसाइकल चलाउनेहरुलाई सामान्यतः चिट काटेर छाड्ने गरेका थियौँ । तर, विद्यार्थीको हकमा हामीले लाइसेन्स नल्याई सवारी नदिने भनेर त्यस्ता मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएका छौँ,’ हाछेथुले भने ।
उनले विद्यार्थीका अभिभावकलाई पनि आफ्नो छोराछोरीले कसरी सवारी चलाइरहेका छन् भन्ने विषयमा ध्यान दिन पनि आग्रह गरे । ‘कलेज पढ्ने विद्यार्थीका आमाबाबुले आफ्ना छोराछोरीले लाइसेन्स बिनै सवारी चलाइरहेका छन् कि मोटरसाइकलको स्वरुप बदलेर ट्राफिक नियमको उल्लघंन गरिरहेका छन् कि भनेर एक पटक ध्यान दिन आग्रह गर्दछौँ । यसले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न र अप्रिय घटना घट्न नदिन मद्दत हुने थियो,’ उनले आग्रह गरे ।
अबदेखि नियमित चेकजाँचको साथै आकस्मिक चेकजाँचलाई पनि तिव्रता दिने योजना हाछेथुले सुनाए । यसले दुर्घटना कम हुनका साथै ट्राफिक व्यवस्थापनमा पनि मद्दत मिल्ने उनले आशा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ