ad

प्रेरक प्रसंग : पीपलको शिक्षा

person explore access_timeकात्तिक २८, २०७८ chat_bubble_outline0

धेरै पहिले कुनै गाउँमा एउटा पीपलको रुख थियो । ऊ सेवालाई धर्म मान्थ्यो, रातदिन गाउँलेको सेवा गथ्र्यो । घाँस चाहिनेलाई घाँस, दाउरा चाहिनेलाई दाउरा, शीतल चाहनेलाई छायाँ, विश्राम चाहनेलाई विश्रामस्थल, खेल्न चाहनेलाई खेल्ने स्थान, अक्सीजन चाहिनेलाई अक्सिजन अर्थात् जसलाई जे चाहिन्थ्यो त्यही दिन्थ्यो । मिटिङ वा भेटघाट गर्ने स्थान चाहिए पनि उही अगाडि पथ्र्यो, बटुवालाई सुस्ताउने स्थान दिन पनि उही नै अघिसथ्र्यो । गाउँलेहरू पनि उसलाई खुबै माया गर्थे । कोही देवता मानेर पूजा गर्थे, कोही ढोग्थे, कोही सुमसुम्याउँथे ।  


बिस्तारै पीपलको रुख बुढो हुँदै गयो । हाँगाबिँगा सुके, पातहरू झरे, शरीर चाउरियो । न घाँस दिन सक्थ्यो न दाउरा वा छहारी नै । त्यसपछि गाउँलेहरूको माया पनि कम हुँदै गयो । कतिले त बोझकै रूपमा लिन थाले । कोही गाउँको बीचमा सुकेको रुख सुहाएन भन्थे, कोही सुकेको रुख हेर्न हुन्न भन्थे, छिमल्नुपर्छ वा काट्नुपर्छ भन्ने पनि त्यति नै थिए ।  यस्तैमा एकदिन एउटाले मुखैफोरेर भन्यो–



‘होइन साथी हो ! सुकेको रुख हेरे कति दिन बस्ने ?’



‘हो, हो ।’ अर्कोले सही थाप्यो ।



‘धर्मशास्त्रमै सुकेको रुख हेरेर बस्न हुन्न भन्ने उल्लेख छ ।’ अर्को उपबुज्रुक निस्कियो ।’



‘हुन त हो तर गर्ने पो के ?’ अर्कोले जिज्ञासा राख्यो ।



‘काटेर फाल्ने नि ? के गर्ने ?’ अर्का महाशयले निस्कर्ष निकाले ।

अन्ततः सबै यसैमा सहमत भई खुर्पा, खुँडा, खुकुरी, बञ्चरो लिएर काट्न तत्पर भए । एउटा सानो रुख नजिकै बसेर हेरिरहेको थियो । उसलाई त्यस्तो व्यवहार मन परेन र खिन्न  हुँदै भन्यो–

‘हेर्नुस् त पीपल दाजु ! यी गाउँले कति स्वार्थी ? रस छउन्जेल चुसे । जब लिने चीज भएन काट्न तत्पर भए ।’

उसको कुरा सुनेर पीपलले सम्झाउँदै भन्यो–

‘केही छैन भाइ ! छाडिदेऊ । जे गर्छन् गरुन् । जीवनको के भर छ र, आखिर एक दिन ढल्नै पर्छ । जब ढल्नैपर्छ भने के फरक पर्छ र । भोलि वा पर्सि ढल्नुपथ्र्यो आजै ढलियो यत्ति न हो । मलाई त खुसी नै लागि रहेको छ ।’

‘खुसी हुनुहुन्छ रे ?’

‘अनि के त ?’

‘कसरी ?’

‘प्रष्टै छ नि ? बाँचुञ्जेल पनि यिनै गाउँलेको सेवा गरेँ । मरेपछि पनि उनीहरूकै सेवा गर्ने अवसर पाएँ । घाँस दिन नसके पनि दाउरा त बाल्न पाउनेछन् ।’

‘खोइ दाजु त्यो त के हो, मलाई भने राम्रो लागिरहेको छैन ।’

‘किन र ?’

‘किन भन्ने ? उपकारको ठेक्का तपाईँले मात्र लिनुभएको छ र ?’

‘त्यसो होइन भाइ ! जीवनको उद्देश्य भनेकै परोपकार हो ।’ पीपलले थप सम्झाउने प्रयास गर्दै भन्यो–

‘हामीलाई प्रकृतिले दिएको सन्देश भनेकै यही हो । हावा चलेको छ अर्काकै लागि, पानी बगेको छ अर्काकै लागि । सूर्य चम्केका छन् अर्काकै लागि, ग्रह नक्षत्र घुमेका छन् अर्काकै लागि । फलफूल फलेका र फूलेका छन् अरुकै लागि । हावा, पानी, माटो, रुख, बिरुवा, वनस्पति, पशुपक्षी, कीटपतङ यावत पक्ष अर्काकै लागि रहेका छन्, भएका छन् ।’

‘जति दिन्छन् त्यति नै लिन्छन् पनि होइन र ?’

‘हो ।’

‘अनि सबै अरूकै लागि कसरी भए त ?’

‘किन भएन ?’ पीपलले रहश्य बुझाउने प्रयास गर्दै भन्यो–

‘हो, लिएका छन्, लिनु पनि पर्छ, नलिई व्यवहारै चल्दैन तर जति लिएका छन् त्यो भन्दा बढी दिएका पनि छन् । लिएकै पनि आवश्यक पर्ने जति मात्र लिएका छन् । बाँकी जस्ताकोतस्तै अरूका निम्ति छाडिदिएका छन् । नचाहिने चीज लिएर दुरुपयोग गरेका छैनन् ।’

‘अनि मानिसले ?’

‘उनीहरू अपवादमा छन् ।’

‘त्यसो गर्न पाइन्छ ? प्रकृतिको नियम समान हुनुपर्ने होइन र ?’

‘हुन त हो ।’

‘उनीहरूले मात्र कसरी छुट पाए त ?’

‘कहाँ छुट पाएका छन् ?’

‘नपाएका भए उनीहरूका किन यस्तो नियम लागू हुन सकिरहेको छैन त ?’

‘यही त समस्या हो भाइ !’

‘भन्नाले ?’

‘प्रष्टै छ नि रोग, भोक, शोकजन्य नानाभाँतीका समस्या निम्त्याएर दुःख पाइरहेका छन् ।’

‘जस्तै ?’

‘प्रष्टै छ नि ।’ पीपलले थप सम्झाउँदै भन्यो–

मानव जीवन पनि दिन त प्रकृतिले अरूकै लागि दिएको हो । शरीर दिने अरु नै हुन्, धनसम्पत्ति दिने अरू नै हुन् । जीवन दिने अरू, प्राण दिने अरू, खान दिने अरू, लगाउन दिने अरू, बस्ने स्थान दिने अरू, सुत्ने स्थान दिने अरू, लोग्ने दिने अरू, स्वास्नी दिने अरू, सन्तान दिने अरू, बाबुआमा दिने अरू, नाम दिने अरू, प्रयोग गर्ने अरू, पहिलो काख दिने अरू, अन्तिम काख दिने अरू, पहिले न्वाइदिने अरू, अन्तिम न्वाइदिने अरू, पहिलो काँध दिने अरू, अन्तिम काँध दिने अरू केको हो केके । यही  त अरुका लागि दिएको हो भन्ने प्रमाण हो ।’

‘उनीहरूका व्यवहार पनि त्यस्तै भएका छन् त ?’

‘छैन, उल्टो छ । जीवन पाएका थिए अरूका लागि प्रयोग गर्न थाले आफ्ना लागि । यसका लागि गर्नु पनि गरेकाछन् नगर्नु पनि गरेकाछन् । सारा संसार पेवा ठानेकाछन् । चाहिने पनि लिएका छन् नचाहिने पनि लिएकाछन्, प्रयोगमा आउने प्रयोग गरेकाछन्, नआउने जति जम्मा गरेर सडाउने गरेकाछन् । आफ्नो भनेको पेटमा गएको जति मात्र हो, त्यो पनि पेटले पचाउन सकेको जति मात्र । यसको अर्थ चाहिने भन्दा बढी लिनु भनेको दुरुपयोग हो । प्रकृतिले प्रयोग गर्ने अधिकार दिएको छ, दुरुपयोग गर्ने छुट दिएको छैन ।’

‘कसरी पाए त त्यस्तो छुट भनेको नि ?’

‘पाएका थिएनन् तर गरे, जसले गर्दा उनीहरू आफैँ प्रकृतिको दण्ड भोग्न वाध्य भइरहेका छन् । हाल मानव समाजमा रोग र भोक जन्य जति समस्या छन् सबै यसैका परिणाम हुन् ।’

सायद पीपलको कुराले सानो रुखलाई राम्रै प्रभाव पारेछ क्यारे त्यस दिनदेखि उसले पनि उपकारी भावना लियो र नयाँ पुस्तालाई पनि त्यस्तै गर्न सिकायो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।