बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय
रेड कर्नर

मार्क्स, लेनिन धर्मका कटु आलोचक !

आइतबार, २८ कात्तिक २०७८, १६ : ४२
आइतबार, २८ कात्तिक २०७८

‘मार्क्सवादको दार्शनिक आधार भौतिकवाद हो वा द्वन्द्वात्मक भौतिकवाद हो । निरिश्वरवाद मार्क्सवादको क ख ग हो । तर, मार्क्सवाद यस्तो भौतिकवाद होइन, जो कखगमा पुगेर रोकिन्छ । यो त्योभन्दा पनि अगाडि जान्छ । प्रवचनमा सीमित गरेर धर्मको मुकाबिला गर्न सकिन्न । भौतिकवादी तरीकाले धर्मको स्रोतको बारेमा जनतालाई बुझाएर मात्र यसो गर्न सकिन्छ । धर्मको सामाजिक आधार उत्पीडन, विभेद, गरिबी र रोगभोक हो ।  धर्मको सामाजिक धरातललाई उन्मुलन गर्ने आन्दोलनलाई उत्पीडकहरुविरुद्ध उत्पीडितहरुको आन्दोलनको मातहत राख्नु पर्दछ ।

माथिका पंक्ति धर्मबारे लेनिनका भनाइ हुन् । उनका यी विचारहरु सन् १९०९ मा “धर्मबारे श्रमिक पार्टीको  धारणा” शीर्षकमा प्रकाशित छन् । मार्क्सवादी मान्यताअनुसार आधुनिक पुँजीवादी विश्वमा व्याप्त गरिबी, उत्पीडन, शोषण, भोकमरीजस्ता आधारहरुमा नै धर्म टिकेको छ । 

मार्क्सवाद विशुद्ध नास्तिकतावाद होइन । मार्क्सवाद  समाजमा विद्यमान सामाजिक, आर्थिक विषमतालाई न्यायपूर्ण ठहर गर्ने धर्म, चर्च वा मठमन्दिरको कटु आलोचक भएता पनि धर्मविरोधी दर्शनका रुपमा यसलाई बुझ्नु सही बुझाई होइन । यो बुझाईले मार्क्सवाद वा वैज्ञानिक समाजवादलाई आमजनताविरुद्ध उभ्याउँछ । मार्क्सवादले धर्मलाई जन्म दिने कारणहरुको अन्त गर्ने कुरामा जोड दिन्छ । मानिस आफ्ना दुःखकष्टहरुको समाधानको  आशामा किन धर्मको शरणमा पुग्दछ भन्ने कुराको जाँचपड्ताल गर्ने र समाजलाई यसबारेमा चेतनशील बनाउने कर्मबारे मार्क्सवादीहरु सचेत रहनु पर्दछ ।  धर्मको एकोहोरो विरोध गरेर कोही नास्तिक त बन्न सक्छ, तर मार्क्स वादी बन्न सक्तैन ।

 मार्क्सवाद समग्र दर्शन, अर्थशास्त्र र सामाजिक रुपान्तरणको विज्ञान हो । धर्मलाई जन्माउने आधारहरुका बारेमा मौन बसेर विशुद्ध रुपमा धर्मको विरोध गर्नु मार्क्स वादलाई निरिश्वरवादमा सीमित गर्नु हो वा लेनिनको शब्दमा मार्क्स वादलाई कखगमा मात्र सीमित गर्नु हो ।   मार्क्सको भनाइमा जनसमुदायलाई धर्मका विविध पक्षबारे नबुझाइकन एकोहोरो रुपमा विरोध गर्नु वा धार्मिक समुदायमाथि उत्पीडन लाद्नुले उल्टै जनसमुदायको धर्मप्रतिको आस्थालाई बलियो बनाउँछ ।

धार्मिक विश्वासले समाजमा हजारौं वर्षदेखि जरा गाडेको छ । बितेका लगभग दुई  शताब्दीदेखि वाष्पयन्त्रबाट सुरु भएको विज्ञानको यात्रा आज थ्रीडी प्रिन्टिङसम्म पुगेको छ । थ्रीडी प्रिन्टिङले मानव अंग र अन्य सबै भौतिक वस्तुहरुका अतिरिक्त हवाईजहाजका इन्जिन, चक्का र सबैखाले पाटपूर्जा मात्र होइन, स्वयम् वाष्पयन्त्र पनि प्रिन्ट गर्न  (निर्माण गर्न) सक्छ ।

 ग्राहम बेलले सन् १८७६ मा आविष्कार गरेको टेलिफोनको विकास आज आर्टिफिशियल इन्टेलिजेन्ससम्म पुगेको छ । अब मेसिनले पनि मानिसले जस्तै सोच्न र काम गर्न सक्छ ।  एकथरि वैज्ञानिकहरुलाई के डर छ भने कहीँ आर्टिफिशियल इन्टेलिजेन्सका कारण मेसिनहरु मानवभन्दा बढी बुद्धिमान बन्ने र अन्ततः मेसिनहरुले सिंगो मानवजगतमाथि नियन्त्रण कायम गरेर प्रकारान्तरमा मानव प्रजाति नै विलुप्त  हुने त होइन ?

 विज्ञानको यस्तो अकल्पनीय र अद्भूत प्रगतिका वावजुद्  समाजमा धर्मको प्रभाव कमजोर बनेको छैन । कम्युनिष्ट पार्टीको सात दशकसम्म सत्ता रहेको हिजोको नास्तिकतावादी मुलुक वर्तमान रुस र उसबाट पृथक भएका अन्य मुलुकहरु तथा वर्तमान चीनजस्ता मुलुकहरुसमेतमा  धर्ममा आस्था राख्नेहरुको विशाल संख्या छ ।

५० प्रतिशतभन्दा पनि बढी वाम जनमत रहेको नेपालमा  ९९ प्रतिशत मतदाताहरु धर्ममा आस्था राख्नेहरु छन् । धर्मको प्रभाव आमजनतामा मात्र होइन, समाजको सबैभन्दा माथिल्लो तहमा पनि कति बलियो छ भनेर यसरी पनि बुझ्न सकिन्छ कि अनेकौं मामिलाहरुमा  बिरामीको जटिल अपरेशन गर्न जानुभन्दा पहिले चिकित्सकहरुले ईश्वरलाई स्मरण गर्ने गरेका र चमत्कारमा  विश्वास गर्ने गरेका घटना जगजाहेर छन्   ।

सन् २०१३ मा भारतको अन्तरिक्ष अनुसन्धान संगठन प्रमुख के. राधाकृष्णनले दक्षिण भारतको श्रीहरिकोटाबाट मंगलग्रहमा यान प्रक्षेपण गर्नुभन्दा एक दिन पहिले तिरुपति मन्दिरमा गएर पूजा गरेका थिए ।  यद्यपि सबै चिकित्सक र वैज्ञानिकहरुले यसै गर्दछन् भन्ने आशय भने होइन ।  धर्म र ईश्वरमा अगाध आस्था राख्ने त्यस्ता चिकित्सक र वैज्ञानिकहरुलाई मूर्ख, अज्ञानी र चेतनास्तर कम भएका भनेर हामीले भन्न सक्तैनौं ।

भनिन्छ कि गौतमबुद्ध भौतिकवादी थिए, उनी मूर्ति पूजाका विरोधी थिए ।  तर त्यो भौतिकवादको पनि धर्मको रुपमा विकास हुन पुग्यो  । अनुयायीहरुको संख्याका हिसाबले इसाई, इस्लाम र हिन्दू धर्मपछि बुद्ध धर्म विश्वको चौथो ठूलो धर्म हो ।  ईश्वरको अस्तित्व अप्रमाणित विषय हो । हिन्दूहरुका देवता राम र कृष्ण धार्मिक कथाका पात्र हुन् । उनीहरुको अस्तित्व विज्ञानबाट प्रमाणित छैन । तर गौतम बुद्ध राजा शुद्धोधनका छोरा थिए भन्ने कुरा प्रमाणित छ ।  समाजले प्रकारान्तरमा प्रमाणित पात्रहरुलाई पनि देवका रुपमा हेर्न थालेको देखिन्छ । सुदूर भविष्यमा मार्क्स , लेनिनको सिद्धान्तअनुरुप मानव समाज अगाडि बढ्ने हो भने भावी पुस्ताले मार्क्स  र लेनिनलाई पनि देवत्करण गर्नेछ र उनीहरुको मूर्तिमा पुष्प र धुप चढाउन थाल्ने छ । यी सबै हिसाबले हेर्दा ईश्वरीय आस्था र धर्म अत्यन्त जटिल र संवेदनशील विषय रहेको स्पष्ट हुन्छ ।

सन् १८७४ मा लण्डनमा निर्वासनमा रहेका ब्लांकीवादीहरुले धर्मविरुद्ध जेहाद छेड्नु पर्दछ र धर्मको विरोधलाई मजदुर पार्टीको कार्यक्रम बनाउनु पर्दछ भन्ने धारणा अगाडि सारेका थिए ।  एंगेल्सले  यस्ता विचारलाई मूर्खतापूर्ण ठहर गर्दै  यसकारण अस्वीकार गरेका थिए  कि यसो गर्नाले उल्टै धर्मप्रति जनताको आकर्षण र आस्था बढ्छ तथा धर्मको विलोपीकरणको प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । मार्क्स वादको यो मान्यता रहेको छ कि कम्युनिष्टहरुले मजदुरवर्गलाई शिक्षित र संगठित गर्दै धर्मको विलोपीकरणको प्रक्रियाको नेतृत्व गर्नुपर्दछ  । लेनिनले प्रष्टसाथ भनेका छन् कि पार्टीको कार्यक्रम स्वीकार्ने हरेक व्यक्ति (धर्म मान्ने वा नमान्ने) र चर्चको पादरी पनि सामाजिक जनवादी पार्टी (कम्युनिष्ट पार्टी) को सदस्य बन्न सक्छ ।

 रुसमा बोल्शेभिकहरुले सत्ता हातमा लिएपछि केही समाजवादीहरुले धर्ममा आस्था राख्ने कामदारहरुलाई क्रान्तिकारी पार्टीबाट निष्कासन गर्नुपर्ने माग राखेका थिए । तर, लेनिन उनीहरुलाई पार्टीमा समावेश गर्न चाहन्थे । लेनिनको भनाइ थियो कि ईश्वरमा विश्वास गर्नेहरुलाई हामीहरुले योजनाबद्ध तरीकाले पार्टीमा प्रवेश गराउनु पर्दछ र हाम्रो कार्यक्रमबारे उनीहरुलाई शिक्षित गर्नु पर्दछ । उनको यो पनि कथन थियो कि उनीहरुको धार्मिक आस्थाको हामीले सम्मान गर्नु पर्दछ । बोल्शेभिकहरुले सोभियत संघमा धर्म र चर्चमाथि प्रतिबन्ध लगाएका थिएनन् ।

धर्मको बलात् विरोध गर्दा धर्मप्रति जनताको आकर्षण झनै बढ्छ भन्ने मार्क्स , एंगेल्स र लेनिनका यी भनाईहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । वर्तमानमा विश्वभरिका मुस्लिम युवाहरुमा इस्लामिक जेहादप्रतिको बढ्दो आकर्षण र अलकायदा जस्ता संगठनहरुको शक्तिवृद्धिका पछाडिको एउटा मुख्य कारण अमेरिका (विशेषतः डोनाल्ड ट्रम्पको कार्यकाल) र भारतजस्ता मुलुकका दक्षिणपन्थी सरकारहरुको इस्लामप्रतिको असहिष्णुता पनि हो ।

चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति कालमा वा सोभियत संघमा विशेषतः लेनिनको मृत्युपछि आमजनता र कम्युनिष्ट पार्टीबीचको बढ्दो दूरीको एउटा मुख्य कारण त्यहाँका पार्टीहरुले धर्मको मुद्दालाई मार्क्सवाद– लेनिनवादसम्मत तरिकाले  सम्बोधन गर्न नसक्नु पनि हो ।   प्रकारान्तरमा गोर्भाचोभको राजनीतिक सुधार र खुलापनको पूँजीवादी कार्यक्रमले सात दशक पुरानो सोभियत संघ विघटन हुन पुगेको थियो ।

माथिका उदाहरणबाट यो स्पष्ट हुन्छ कि मार्क्सको धर्मसम्बन्धी अवधारणालाई समग्रतामा लिनुपर्दछ । धर्म जनताका लागि अफिम हो भन्ने  कोटेशनलाई एकांगी रुपमा बुझ्ने अनि भौतिकवादको माला मात्र जपेर समस्याको समाधान हुंँदैन । मार्क्स वादीहरुले धर्मलाई आलोचनाको कसीमा राख्दै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको पक्षपोषण गर्नुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप