बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘एकल सरकारमा जस्तो गठबन्धन सरकारमा काम गर्न त्यति सहज हुँदैन’

सोमबार, २९ कात्तिक २०७८, १५ : २३
सोमबार, २९ कात्तिक २०७८

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका विन्दुकुमार थापा संघीयता कार्यान्वयनका सवालमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् । अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहेको भन्दै आफ्नो कार्यकालमा ती कानुन बनाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

कानुन कै विद्यार्थीसमेत रहेका उनले आफ्नो विज्ञताअनुसारकै मन्त्रालयको जिम्मेवारी पाएका छन् । आफ्नो कार्यकालमा प्रदेशलाई समृद्ध बनाउन आवश्यक पर्ने कानुन निर्माणमा जोड दिने उनको योजना छ । मन्त्री थापासँग प्रदेशमा भएको सत्ता परिवर्तन, गठबन्धन सरकारको काम कारवाही तथा अन्य समसामयिक विषयमा रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश– 

गण्डकी प्रदेश सरकारको मन्त्री बन्नु भएको छ, तपाईंका सामु के के छन् चुनौती ?

गण्डकीमा तत्कालीन नेकपाको बहुमतको सरकार बनेपछि हामीले प्रतिपक्षमा बसेर सत्तापक्षलाई सहयोग गर्दै आइरहेका थियौं । अघिल्लो सरकारले चालेका कतिपय कदम चित्त नबुझेकाले सच्चिनका लागि प्रतिपक्षका हैसियतले सुझावसमेत दिएका थियौं । तर, बारम्बार एकपछि अर्को गल्ती दोहोरिँदै गएपछि सरकार परिवर्तन गर्ने अवस्था आइलाग्यो ।

संविधानको रक्षाका लागि हामीले प्रदेशमा गठबन्धनको  सरकार बनाउने अवस्था सिर्जना भयो । सौभाग्यवस् मैले पनि एउटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु । कानुनको विद्यार्थी भएकाले विषयगत मन्त्रालयको जिम्मेवारी पाएको छु । आफ्नो कार्यकाल सफल बनाउन हरसम्भव प्रयास गर्दैछु । प्रदेशलाई समृद्ध तुल्याउनका लागि आवश्यक कानुन निर्माण नै अहिले मेरो मुख्य चुनौती हो ।

२०७४ सालको निर्वाचन परिणामपछि तपाईलाई यसरी मन्त्री हुन्छु भन्ने लागेको थियो ?

प्रतिपक्षमा बस्दा त काँग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने नै लागेको थिएन । प्रदेशमा नेकपाको नेतृत्वमा झण्डै दुई तिहाइको सरकार बनेको र काँग्रेसको सिट संख्यासमेत कम भएकाले मन्त्री बन्ने सम्भावना कम थियो । झण्डै साढे ३ वर्षसम्म हामीले नेकपा नेतृत्वको सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्दै आएका थियौं । तर, तत्कालीन नेकपा खारेज भएसँगै एमालेले असंवैधानिक कदम चाल्न थालेपछि बाध्य भएर लोकतन्त्रको रक्षाका लागि हामी सरकारविरुद्ध लाग्नुपर्ने अवस्था आयो । यसका लागि अघिल्लो सरकारबाट असन्तुष्ट बनेका दलहरुले समेत हामीलाई साथ दिनुभयो ।

त्यसपछि काँग्रेसको नेतृत्वमा एक जना स्वतन्त्रसहित चार दलको समर्थनमा गठबन्धन सरकार गठन भयो । प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनेसँगै म लगायत नयाँ साथीहरुलाई पनि मन्त्री बन्ने सौभाग्य मिल्यो । यो सबै समयको माग हो जस्तो लाग्छ । समयभन्दा अघि हामी कोही छैनौं ।

तपाईं व्यवसाय र सामाजिक क्षेत्रमा सफल भएको व्यक्ति राजनीतिमा कतै असफल हुन्छु कि भन्ने लाग्दैन ?

जुन क्षेत्र अँगाले पनि म काममा विश्वास गर्ने मान्छे हुँ । हिजो व्यवसाय क्षेत्र होस् वा सामाजिक क्षेत्र, मैले गरेका कर्मबाटै मलाई सफलता मिलेको हो । राजनीति पनि समाज सेवा भएकाले यसमा असफल हुन्छु भन्ने त कदापि लागेको छैन । म खुला हृदयका साथ मन, बचन र कर्मले सबैसँग सहकार्य गर्ने व्यक्ति भएकाले राजनीतिमा पनि मलाई समस्या छैन । मलाई विश्वास छ, सवैको सहयोग र साथले यस क्षेत्रमा पनि स्थापित गराउने छ ।

व्यवसाय र सामाजिक क्षेत्रमा सफल हुन इमानदारिता आवश्यक पर्छ तर, राजनीतिमा छलछाम पनि देखिन्छ । राजनीतिमा आफ्नो स्वभाव नै बदल्नु परेको छैन तपाइलाई ?

तपाईले भनेको ठिक हो । तर, राजनीतिमा सबै छलछाम गर्ने व्यक्ति हुन्छन् भन्नेचाहिँ लाग्दैन । राम्रो गर्नेहरु पनि सफल भएका छन् । उदाहरणका लागि विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईलाई लिन सकिन्छ । उहाँहरुले राजनीतिमा धेरै त्याग गर्नुभएको छ । यदि उहाँहरुले छलछाम र स्वार्थको राजनीति गरेको भए आज काँग्रेसको अस्तित्व रहन्नथ्यो होला ।

राजनीतिलाई व्यापार ठानेर होइन, नितान्त सामाजिक सेवा ठानेर कर्म गर्नुपर्छ । म त्यही नै गरिरहेको छु । त्यसैले राजनीति गर्न मलाई कुनै समस्या छैन ।

कानुनको विद्यार्थी भएकै कारण तपाईलाई कानुन मन्त्री बनाइएको हो वा संयोगवस् यो मन्त्रालय पाउनुभयो ?

मुख्यमन्त्रीज्यूले मलाई कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । आफू त्यही विषयमा बढी जानकार भएकाले यो मन्त्रालयको जिम्मेवारी पाउँदा केही सहज त अवश्य भएको छ । प्रदेश सरकारले अहिले आफ्नो लागि आवश्यक कानुन निर्माण गरिरहेको छ । केही प्राविधिक कारणले आवश्यक कानुन निर्माणमा समेत ढिलाइ भइरहेको अवस्था छ ।

आगामी दिनमा कानुन निर्माणलाइ प्राथमिकतामा राखेर अगाडि बढ्ने छौं । प्रदेशका केही झन्झटिला कानुनसमेत छन् । आगामी दिनमा त्यसलाई संशोधन गर्दै नागरिकमैत्री कानुन निर्माण गर्ने दिशामा हामी लागिपरेका छौं । मेरो कार्यकालमा सवैले प्रत्याभूत गर्ने गरी केही नयाँ गरौं भन्ने सोच राखेर काम गरिरहेको छु, जसमा सबैको साथ र सहयोग अपरिहार्य छ ।

कानुन निर्माणमा त गण्डकी प्रदेश निकै सुस्त देखिएको छ, यसलाई कसरी गति दिन सक्नुहुन्छ ?

कानुन निर्माण गर्नु आफैमा जटिल प्रक्रिया हो । गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि आवश्यक कानुन बनाउन हामी चुकेकै हो । यसको दोष सबैले खेप्नु पर्छ । शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर नागरिकमैत्री कानुन निर्माणमा हामीले जोड दिएका छौं । पहिलेको सरकारले साढे तीन वर्षमा ४६ वटा कानुन बनाएको थियो । मुख्यमन्त्री पोखरेलको नेतृत्वमा सरकार बनेपछि हामीले थप ४ वटा कानुन बनाएका छौं । योसहित प्रदेशमा विभिन्न ५० वटा कानुन निर्माण भएका छन् ।

प्रदेशमा कानुनको अभावमा कुनै पनि कार्य अगाडि बढाउन रोकिने अवस्था नआओस् भन्नेमा हामी सबै सचेत छौं । तर, कतिपय कानुन निर्माणमा संघ सरकारका कारण पनि ढिलाइ भएको छ । मन्त्रालयको जिम्मेवारीबोध गर्दै जनताको सेवामा निरन्तर समर्पित छु ।

मन्त्री भएपश्चात तपाईँको मुख्य योजनाचाहिँ के के छन् ?

मन्त्री भएपश्चात् मेरो मुख्य योजना भनेकै सहज र सरल कानुन निर्माण गर्नु हो । जनतालाई संघीयताको अपनत्व दिलाउने गरी काम गर्ने मिल्ने आवश्यक कानुन निर्माण गर्ने मुख्य उद्देश्य छ । सञ्चार क्षेत्रसमेत मेरै कार्यक्षेत्रमा पर्ने भएकाले प्रदेशको सञ्चार क्षेत्रले अपनत्व गर्ने गरी सञ्चारमैत्री कानुन निर्माण गर्नेतर्फ केन्द्रित छु । प्रदेशसभालाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेकाले यतातिर समेत मेरो ध्यान पुगेको छ ।

गण्डकीमा चार पार्टी र एकजना स्वतन्त्र सहितको समर्थनमा गठबन्धन सरकार बनेको छ । काम गर्न कत्तिको सहज वातावरण छ ?

अवश्य पनि एकल सरकार हुँदा काम गर्न जति सजिलो हुन्छ, गठबन्धनको सरकारमा त्यति सहज हुने अवस्था हुँदैन । धेरै पार्टीबाट प्रतिनितित्व भएको र सबैले आफ्नो पार्टीको निर्देशन अनुसार कार्य गर्न खोज्ने भएकाले एकल पार्टीको सरकारजस्तो सहज हुने कुरा भएन । तर पनि महत्त्वपूर्ण कुनै पनि निर्णय गर्दा छलफलका आधारमा सबैको सहमतिमा गर्दै आएका छौं । कुनै पनि नीति, नियम अथवा योजनागत विषयवस्तु सबैलाई मान्य हुने गरी सम्बोधन गर्दै आएका छौं । गठबन्धनको सरकारका कारण काम गर्न असहज भयो भन्नेचाहिँ होइन । सबैले आ—आफ्नो जिम्मेवारी बोधका आधारमा कर्म गरिरहेका छौं ।

प्रदेश सरकारले अगाडि बढाएको मिडिया विधेयकबारे सवैतिर चर्को आलोचना भइरहेको छ, यसमा तपाईंको धारणा के छ ?

चित्त नबुझेपछि आलोचना हुनु स्वाभाविक हो । यसमा मिडियाका साथीहरूसँगको सर—सल्लाह लिनुपर्ने आवश्यकता रहन्छ । मिडिया विधेयकका बारेमा उठेका सबै विषय जायज छन्, जसलाई सम्बोधन गर्न म प्रतिबद्ध छु ।

प्रदेशसभामा प्रस्तुत मिडिया विधेयक सच्चिएर आउँछ । मिडियालाई अंकुश लगाउने विधेयक कदापि पारित हुनेछैन । सातवटै प्रदेशमध्ये गण्डकीमा उत्कृष्ट विधेयकका रुपमा मिडिया विधेयक प्रस्तुत हुने विश्वास दिलाउँछु ।

हामी प्रतिपक्षमा हुँदादेखि नै मिडिया विधेयकका विषयमा धेरै कुरा उठेका हुन् । सरोकारवालासँग छलफलसमेत भएको थियो । उठेका केही विषय वस्तुलाई सम्बोधन पनि गरिएको छ । अहिले मिडिया विधेयक प्रदेशसभामा प्रस्तुत भएकोमात्र हो, पारित भइसकेको छैन । विधायन समितिमा गएको मिडिया विधेयकलाई संशोधन गरेर नै अगाडि बढाउँछौँ । यसमा व्यापक छलफल भइरहेको छ । विज्ञको राय सुझाव अनुसार मिडिया विधेयक मिडियामैत्री नै बन्छ, यसमा ढुक्क भए हुन्छ ।

मिडियालाई कमजोर बनाउने गरी विधेयक ल्याइयो भन्ने आरोप लागिसकेको छ नि ?

यो आरोपका लागि आरोपमात्र हो । आरोपलाई मैले सकारात्मक नै लिएको छु । यसबाट सिक्ने अवसर समेत मिल्छ । आरोपलाई कामबाटै खण्डन गर्नेछु ।

काँग्रेसको १४ औं महाधिवेशनमा कास्की क्षेत्र नं २ बाट यहाँले पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाईको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी संगठित काँग्रेस बनाउनका लागि हो । ‘सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ नारामा मात्र सीमित नराखी काम गरेरै देखाउन हो । अबको केही महिनामै स्थानीय चुनाव आउँदैछ । त्यसमा काँग्रेसलाई बलियो गरी प्रस्तुत गर्ने जिम्मेवारीका साथ महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दिने मनसाय बनाएको हुँ । मेरा कामलाई मध्यनजर गर्दै विगतमा जस्तै यसपाली पनि सबैको माया पाउने अपेक्षा राखेको छु ।

एउटा मन्त्रीको हैसियतमा गण्डकीबासीलाई के भन्न चाहनुहुन्छ ?

गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक विकासमा टेवा पुग्ने गरी आफ्नो तर्फबाट सक्दो सहयोग गर्न म गण्डकीवासीलाई अपिल गर्दछु । हामी सबै मिलेर नै समृद्धि हासिल गर्न सकिन्छ । सरकारले गरेका सकारात्मक काममा सबैको साथको खाँचो छ । संघीयताको आभाष दिलाउने गरी नै हामी लागि परेका छौं । जनताको सहयोग र साथबिना संघीयता सफल हुन सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप