शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका पूर्वमुख्यमन्त्री शाही भन्छन्– सरकारको नेतृत्व गर्नेले भागबण्डामा ‘बार्गेनिङ’ गर्ने होइन

‘दलको हैसियतको आधारमा मन्त्रालयको भागबण्डा’
मङ्गलबार, ३० कात्तिक २०७८, १० : ४४
मङ्गलबार, ३० कात्तिक २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् विस्तारमा सकस पर्दै आएको छ । गत कार्तिक १६ मा मुख्यमन्त्रीको शपथ लिएका उनले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई सरकारमा भागबण्डा मिलाउन समस्या भएको टिका–टिप्पणी भइरहेको छ । आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार सत्ताको नेतृत्व गर्न पाएका काँग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले सहयोगी घटकबाट साथ नपाएका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले पूर्व मुख्यमन्त्री तथा प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, पूर्व मुख्यमन्त्री शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश :

आलोपालो नेतृत्वका सन्दर्भमा काँग्रेससँग भएको सहमतिअनुसार तपाईले सत्ता हस्तान्तरण त गर्नुभयो, अब कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

—  नेकपा विभाजन भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  मेरो नेतृत्वको सरकार  अल्पमतका परेको थियो । त्यतिखेर सरकारले विश्वासको मत लिन जरुरी थियो र विश्वासको मत लिँदा नेपाली काँग्रेस, एमालेबाट विभाजित (हाल नेकपा एकीकृत समाजवादी) का साथीहरुले साथ दिएका थिए ।

त्यतिखेर भएको सम्झौता अनुसार मैले सहज रुपमा सत्ता हस्तान्तरण गरेको हो । नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ संस्कार पैदा होस् भन्ने उद्देश्यका साथ मैले पूर्वनिर्धारित समयमै राजीनामा दिएको हुँ ।

अहिलेको आवश्यकता भनेको राष्ट्रियतालाई कसरी जोगाउने र राष्ट्रियताको संरक्षण कसरी गर्ने भन्ने हो । अहिले प्रतिगमनकारी शक्तिहरुले देशलाई दुर्गतितर्फ धकेल्दैछन् । प्रतिगमनमा जान नदिनका लागि र अहिलेको संघीय व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न  हामी नयाँ ढङ्गबाट जान जरुरी थियो । प्रतिगमन विरुद्धका हामीले कर्णाली प्रदेशबाट नयाँ गठबन्धन बनायौं र, हामीले सुरु गरेको गठबन्धन केन्द्रसम्म विस्तार भएको छ ।

अर्को कुुरा, अहिले राजनीतिक पार्टीभित्र अथवा एउटै दलभित्र एकले अर्कोलाई विश्वास गर्नसक्ने अवस्था छैन । एक नेताले अर्को नेतालाई घात गरिरहेको हुन्छ । यो संस्कार नेपाली राजनीतिमा धेरै छ । त्यसैले पद, कुर्सी ठुलो होइन भन्ने सन्देश दिन पनि जरुरी थियो । मैले आफ्नो नेतृत्वको सरकारलाई नै निरन्तरता दिनसक्ने थुप्रै सम्भावना थिए तर,  नयाँ राजनीतिक संस्कारको विकास गर्नुपर्छ, यसले ठुलो सन्देश दियोस् भनेर इमान्दारीपूर्वक राजीनामा दिएँ ।

जहाँसम्म अब मेरो भूमिकाको सवाल छ, अब सरकारलाई प्रभावकारी बनाउने कुरामा मेरो भूमिका रहन्छ । किनकि, यो सरकार भनेको पुरानै सरकारको निरन्तरता हो, नेतृत्वमात्र परिवर्तन भएको हो । म मुख्यमन्त्री भएको ठाउँमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीजी आउनु भएको हो । त्यसैले अघिल्लो सरकारले गरेका कामलाई निरन्तरता दिन, कार्यान्वयन गर्नतर्फ यो सरकारले ध्यान दिनुपर्छ । त्यसपछि समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि र सुशासन कायम गर्न सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । त्यसमा हाम्रो भूमिका अझै महत्त्वपूर्ण हुन्छ । सरकारलाई पूर्ण रुपमा सफल बनाउने काममा हामी कहीँ–कतै कमी हुन नदिएर अघि बढ्छौँ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस देखिएको छ, तपाईहरुले असहयोग गर्नुभएको हो ?

— होइन–होइन । यसमा असहयोग भन्ने प्रश्न नै छैन । मैले यति सहज राजीनामा दिन्छु भनेर बाहिर कसैले कल्पना नै गरेका थिएनन् । नेपाली काँग्रेसले समेत त्यो कल्पना गरेको थिएन । एक प्रकारले सबैका लागि त्यो ‘सरप्राइज’ थियो । मैले राजीनामा दिने बित्तिकै रातारात शपथ ग्रहण पनि गराइदिएँ । सरकारले पूर्णता पाउने कुरामा हाम्रो तयारी नै पुगेन । मन्त्रालय बाँडफाँटको विषयमा पनि छलफल नै भएको छैन र थिएन पनि । राजीनामा दिनुभन्दा पहिला नै मन्त्रालयको संख्या र कुन मन्त्रालयल कसलाई दिने कुरा टुङ्ग्याएको भए हुन्थ्यो । त्यो बेला कुनै दलबीच सल्लाह नै भएन र, अहिले पनि भएको छैन ।

अर्को समस्या भनेको तुरुन्तै तिहार सुरु भयो । हाम्रा सांसदहरु पनि टीका लगाउन आ–आफ्नो निर्वाचन क्षेत्र, गाउँमा जानुभयो । त्यो बेला हामीले ‘क्याबिनेट’ बनाउन सकेनौँ । अब बिदा सकियो, सबै भेला हुँदैछौँ । अब केही दिनभित्रै ‘क्याबिनेट’ बनाउँछौं ।

तर, जीवनबहादुर शाहीले शपथ ग्रहण गर्दै गर्दा ब्यानरमासमेत मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण भनिएको थियो । कतिपयले त सबै भागबण्डाको कुरा पनि सकेर मन्त्रीहरुले समेत शपथ लिन्छन् भन्ने सोचेका थिए तर, त्यसो भएन । यसको अन्तर्यचाहिँ के थियो ?

— त्यो ब्यानरमा कसले के लेख्यो भन्ने कुरा त मलाई थाहा भएन । मसँग कसैले सल्लाह लिएको पनि होइन र मैले त्यस्तो लेख्न सल्लाह दिएको पनि होइन । त्यस्तो गर्नुभन्दा पहिला त सल्लाह लिनुपर्ने हो । कसैको मनमा आउने बित्तिकै त्यसो गर्नु मूर्खता हो । खास भन्ने हो भने जिम्मेवार निकायले गैरजिम्मेवारी काम गर्नु हुन्थेन । त्यस्तो केही सल्लाह भएको थिएन । तुरुन्त कसैलाई शपथ लिन आइज भनेर भन्न सकिन्न । यदि, मैले राजीनामा दिएर एक हप्ताको समय राखेर नयाँ मुख्यमन्त्रीको शपथ गराएको भए ‘क्याबिनेट’को सबै काम सम्पन्न गर्थ्यौँ । हतार–हतारमा त्यो सबै सम्भव पनि थिएन ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारपछि ५ दिनभित्रै सरकारलाई पूर्णता दिन्छौं भनेर रातोपाटीसँगकै कुराकानीमा भन्नुभएको थियो । तर, अहिलेसम्म सरकारले पूर्णता पाउने संकेत नै देखिएन । यसको कारक के हुन सक्छ  त ?

खास त्यस्तो केही पनि छैन । तयारी नपुगेर मात्रै हो । भित्रीकुरा केही पनि छैन । त्यो बेला हामीले मन्त्री नियुक्त गरेर पठाएको भए उनीहरु पदभार ग्रहण नगरेर सिधै आफ्ना दिदिबहिनीको घरमा टीका लगाउनु जानुपर्थ्यो । झण्डा हल्लाएर भाइटीका लगाउन पाउँथे, त्यत्तिमात्रै हो । खाली दिदिबहिनीको आर्शिवाद पाएर हुँदैन नि !  ‘पोलिटिकल’ कारण कुनै छैन । ढुक्क हुनोस् ! जीवनबहादुर शाहीलाई असहयोग गर्ने भन्ने कुरै छैन ।

सरकारले बजेट ल्याइसकेको छ । सबै कार्यक्रम ‘इन्ट्री’ भएर जिल्लाहरुमा गइसकेका छन् । कार्यान्वयन गर्ने निकायबाट कार्यान्वयनको प्रक्रियामा छन् । अहिलेको सरकारले त्यसलाई गति दिने कुरामात्रै हो । नयाँ बजेट, कार्यक्रम बनाउने कुरा पनि छैन । यसमा कार्यान्वयन गर्ने भनेको कर्मचारीहरुले हो । त्यसमा त मुख्यमन्त्री आफैले पनि सचिवहरुलाई चलाउन सक्नुहुन्छ नि !

मैले त शपथ ग्रहण गरिसकेपछि एक महिना होटलमा बस्नु परेको थियो । अहिलेको मुख्यमन्त्रीले शपथ ग्रहण गरेर निवासमा आएर बस्न पाउनु भएको छ । मसँग त्यो बेला ३ जना कर्मचारीमात्र थिए । मेरो कार्यकक्ष पनि थिएन । अस्ति मेरो बिदाई कार्यक्रममा गर्वका साथ भन्दा २१ सय कर्मचारीले मलाई बिदाई गरे । त्यो हालतमा अहिलेको मुख्यमन्त्रीज्यू हुनुहुन्न । त्यतिबेला मैले एउटा सिफारिस लेख्नुपर्दा आफैले टाइप गर्नुपरेको थियो । क्याबिनेटका प्रस्ताव सचिवले होइन, मैले आफैले टाइप गरेको थिएँ । अहिले त्यो स्थिति छैन ।

खासमा सरकारमा भागबण्डाको विषयमा कस्तो समझदारी भएको छ ?

— त्यहाँ हामीले सरकार छाड्ने भन्ने कुरामात्रै हो । सबैभन्दा ठुलो दल नेकपा माओवादी केन्द्रको १२ सिट, नेपाली काँग्रेसको ६, एकीकृत समाजवादीको ३ सिट छ । आफ्नो पार्टीको हैसियत जुन छ, म दाबीका साथ भन्छु कि त्यो आधारमै मन्त्रालयको भागबण्डा हुन्छ । त्यही भएर त हाम्रो छलफल पुगेन ! नत्र सबै कुरा पहिला नै टुङ्ग्याएको भए हामीले त्यही दिन नै मन्त्रीहरुको पनि शपथ ग्रहण गराइसक्थ्यौं नि ! कतिवटा मन्त्रालय कुन दलले पाउने भन्ने कुरा टुङ्गिएकै छैन । यसका बारेमा अब छलफल हुन्छ ।

अब यो सरकारले कहिले कहिले पूर्णता पाउँछ त ?

—  एक÷दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ । यो म दाबीका साथ भन्छु ।

तपाईहरुले वैशाख ३ मा सहमति गर्र्दै गर्दा तत्कालीन एमालेबाट ‘फ्लोर क्रस’ गरेर आउनेलाई तीन मन्त्रालय दिनुभयो र त्यही सहमति अनुसार अहिले पनि एकीकृत समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । तपाईंसँग के सहमति भएको थियो ?

— त्यस्तो होइन । त्यतिबेला तीनवटा मन्त्रालय दिइएको हो । प्रकाश ज्वाला बाहिर बस्नुभयो । त्यतिबेला एउटा मन्त्रालय नेपाली काँग्रेसलाई दिने भनिएको थियो । पछि मन्त्रालय फुटाएर दुईवटा दियौँ । अब हामीले नयाँ ढङ्गले छलफल गर्छौं । यो कुरामा लिखित—सिखित भन्ने कुरै छैन । उहाँहरुले प्रस्ताव गर्नु उहाँहरुको कुरा हो । उहाँहरु चारवटा पनि भन्न सक्नुहुन्छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैले पनि मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय काँग्रेसले राख्नुपर्छ र मुख्यमन्त्री पद भनेको साझा हो भन्ने खालको तर्क गर्नुभएको छ । यो अवस्थामा तपाईहरुले के गर्नुहुन्छ ?

— अहिले मुख्यमन्त्रीले त्यसो भन्नु राम्रो होइन । उहाँले त नेतृत्व गर्ने हो । उहाँले त माओवादी केन्द्रलाई कसरी समेट्न सकिन्छ, अर्को पार्टीलाई के गर्दा सहज हुन्छ भन्नेतर्फ ध्यान दिने हो । आफूले नै दाबी गर्न थाले त सक्किगो नि ! यदि जीवनबहादुर शाहीले त्यसो भन्नुभएको छ भने त्यो गलत हो । उहाँले त सरकारलाई टिकाउनका लागि कसरी दलहरूलाई विश्वासमा ल्याउने भन्नेमा ध्यान दिनुपर्ने हो ।

मैले सरकारको नेतृत्व गर्दा काँग्रेसलाई विश्वासमा लिन आफ्नै पार्टीबाट मन्त्री बनेका विन्दमानलाई ‘ब्याक’ गराएको थिएँ, त्यसो गरेर पनि मैले उहाँहरुलाई ‘स्पेस’ दिएको थिएँ । यदि जीवनबहादुर शाहीले मुख्यमन्त्री बाहेक दुई मन्त्रालयको कुरा गर्नुभएको छ भने त्यो गलत हो, त्यो कुराले उहाँलाई धेरै प्रभाव पार्छ । नेतृत्वले त ‘बार्गेनिङ’ गर्ने नै होइन । नेतृत्वले आफूले त्याग गरेर भए पनि अरुलाई विश्वास दिलाउन सक्नुपर्छ ।

प्रदेश सरकारमा सहभागी हुन माओवादी केन्द्रका मुख्य शर्त के छन् ?

— सरकारको नेतृत्वलाई हाम्रो पूर्ण साथ रहन्छ । अहिले दलमा जुन पार्टीको जे हैसियत छ, त्यही आधारमा सरकारमा सामेल हुन्छन् । त्यो हामीले गराउनै पर्छ र हुन्छ पनि । सबैभन्दा ठुलो दल हाम्रो छ । सबैभन्दा बढी मन्त्री हाम्रा हुन्छन् भनेर भनिरहनु नपर्ला !

दलीय आधारमा सबैको चित्त बुझाएर पछिसम्म पनि यो गठबन्धनलाई टिकाइराख्न छलफल गरेर अघि बढ्छौँ । विवादचाहिँ हुँदैन भन्ने लाग्छ ।

तपाई अहिले यस्तो भन्नुहुन्छ । तर, तपाईको दलभित्रकै केही सांसदबीच मन्त्री बन्ने कुरालाई लिएर लडाइँ सुरु भइसक्यो नि ?

–  व्यक्तिको हिसाबले उहाँहरु लड्नुहुन्छ, त्यो फरक कुरा हो । त्यसमा मेरो भन्नु केही छैन । दलको बैठक बोलाएर छलफल गरेर अघि बढिन्छ । उहाँहरुले आफैले आफूलाई मन्त्री घोषणा गरेर हिँड्दै जानुहुन्छ भने त्यसका पछाडि म दौडिनुपर्छ भन्ने छैन ।

गत वैशाखमा भएको ‘आलोपालो नेतृत्व’ सम्बन्धी सहमतिको शृङ्खला सकियो कि अझै बाँकी छ ?

— त्यो त राजनीतिक परिस्थिति कस्तो बन्छ भन्ने कुरामा भर पर्छ । हिजो हामीले प्रदेश तहबाट सहमति ग-यौं । अहिलेसम्म भएका सहमति भनेका प्रदेश लेबलका हुन् ।

अहिले माथि केन्द्रमा एक किसिमको गठबन्धनको संयन्त्र  बनेको छ । त्यसको नेतृत्व नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले गर्नुभएको छ । अब, हामीले प्रदेशलाई आ–आफ्नो तरिकाले जाने भनेर निर्णय गरेको भए हामी त्यो अनुसार अघि जान्थ्यौँ । हामीले यसअघि गरेका पनि हौं । ६ महिनापछि सरकारको नेतृत्व छोड्ने भनेको हो, छोड्यौँ । अब, पूरा कार्यकाल जीवनबहादुर शाहीले चलाउनुहुन्छ ।

यदि केन्द्रमा केही फरक दृश्य देखा परेको खण्डमा सोही अनुसार हामीले गर्नैपर्ने हुन्छ । केन्द्रले प्रदेशलाई चलाउन पाउने आफ्नो ‘राइट’ छ । त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ । भोलि कर्णालीमा माओवादीले, अथवा काँग्रेसले नै र एकीकृत समाजवादीले नै नेतृत्व गर्नुपर्ने भन्ने भयो भने पनि त्यही आधारमा बढ्नैपर्ने हुन्छ । तर, अहिले हामीले कार्यान्वयन गर्नुपर्ने भनेको प्रदेशमा जे हामीले सम्झौता गरेका थियौं, त्यही अनुसार कार्यान्वयन गर्ने हो ।

यस्तो त तपाईले अघिल्लो पटक पनि भन्नुभएकै थियो । तर, तपाईहरुले आफ्नै सहमतिअनुसार राजीनामा दिनुभयो । आउँदो वैशाखपछि एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको भन्ने पनि चर्चा छ, खास के हो ?

— बाहिर हल्ला के आयो, त्यसको पछि लाग्ने होइन । त्यस्तो कुनै प्रकारको सम्झौता भएको छैन । हाम्रा जे सम्झौता भएका थिए, ती कार्यान्वयनका चरणमा छन् । यीबाहेक कुनै प्रकारका सम्झौता हामीले गरेका छैनौं । नेपालको राजनीति तपाईलाई थाहै होला नि ! भोलि बिहान के हुन्छ भन्ने पनि थाहा हुँदैन । रातारात घटना घटिसक्छन् ।

प्रकाश ज्वाला मुख्यमन्त्री बन्ने कुरामा सहमति भएको होइन त ?

—  उहाँ मुख्यमन्त्री बन्ने कुरामा त न कुनै सम्झौता, न कुनै सम्भावना छ । त्यस्ता कुरा त उधारा भए । उधारा कुरामा सहमति पनि हुँदैन । उहाँ अहिले सांसद नै हुनुहुन्न नि ! कसरी मुख्यमन्त्री बन्न सक्नुहुन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप