शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा राप्रपाको अध्यक्षमा प्रदीप उदय, अन्य पदमा को को भए निर्वाचित ?

मङ्गलबार, ३० कात्तिक २०७८, १९ : ००
मङ्गलबार, ३० कात्तिक २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप उदय निर्वाचित भएका छन् । उनी २५६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए । अध्यक्षका प्रतिस्पर्धी ऋषिराज देवकोटाले १९४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश अध्यक्षमा विजयी प्रदीप उदय बुटवलवासी हुन् भने देवकोटा बाँके निवासी हुन् । यसअघि उदय पार्टीको लुम्बिनी प्रदेश तदर्थ समिति अध्यक्ष भएर काम गर्दै आएका थिए ।

रुपन्देहीको भैरहवामा दुई दिनसम्म चलेको राप्रपाको प्रथम प्रदेश अधिवेशनमा ५२४ मतदातामध्ये ४८४ मत खसेको थियो । ३४ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत दिलिपकुमार मल्लिकले जानकारी दिएका छन् ।

अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

निर्वाचन समितिका अनुसार अधिवेशनबाट ३२ जना प्रदेश सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्वप्रकाश श्रेष्ठ सर्वसम्मत भएका छन् ।

बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेशबहादुर सिंह, विष्णुसिंह ठकुरी, तिलकबहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव, बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा केसी, नरबहादुर नेपाली, धर्मराज शाह, कपिलवस्तुका दीपक रजौरिया, सइद अहमद शाह, कनिज फातमा प्रदेश सदस्यमा सर्वसम्मत् निर्वाचित भएका छन् ।

यस्तै अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देवविक्रम शाह, प्यूठानका सुरज घिमिरे र सूर्य बहादुर पुन, पाल्पाका भोजेन्द्रबहादुर कुँवर, तेजप्रसाद पाण्डे, दाङका भुपाल रावत, प्याउली केसी, हिरालाल खड्का, गेहेन्द्रबहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय केसी, यज्ञराज पाण्डे सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षले २५ प्रतिशत सदस्य मनोनित गरेपछि बस्ने पूर्ण बैठकले प्रदेश समितिका पदाधिकारी चयन गर्ने राप्रपाको विधानमा व्यवस्था छ । यसअघि रापपाको जिल्ला अध्यक्षहरु चयन भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप