शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिस वर्ल्डका लागि अमेरिका उड्दै नम्रता

बिहीबार, ०२ मङ्सिर २०७८, २० : ०५
बिहीबार, ०२ मङ्सिर २०७८

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नोभेम्बर २० अर्थात मंसिर ४ गते अमेरिका उड्ने भएकी छन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्न उनी त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको जानकारी दिएको छ । कार्यक्रममा मिस वर्ल्डका लागि नम्रताले तयार पारेको दुई भिडियो देखाइएको थियो । एक भिडियोमा उनको परिचय रहेको थियो भने दोस्रोमा ब्युटी विथ पर्पस विधाका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको जानकारी थियो । 

५० लाखको खर्चमा धादिङमा उनले बनाएको पुल केही दिन अगाडिबाट सञ्चालनमा आएको हो । जसको उद्घाटन निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद गौतम, मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा आफुले बनाएको पुलबाट २० हजारभन्दा बढी स्थानीयले लाभ लिने नम्रताले बताइन् । नम्रताले नेपालले मल्टिमिडिया र व्युटी विथ पर्पसको अलवा उपाधि समेत नेपाल ल्याउने कोसिस आफ्नो रहेको सुनाइन् । उनले एपमार्फत आफूलाई भोट गर्न समेत सबैमा आग्रह गरिन् ।

मिस वर्ल्डमा नम्रतालाई सृजनशील प्रतिभाको रुपमा प्रस्तुत गर्न विशिष्ट प्रशिक्षकद्वारा उत्कृष्ट र गतिशील प्रशिक्षण समेत प्रदान गरिएको द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । कार्यक्रममा नोभेम्बर तेस्रो साता सुप्रिया श्रेष्ठले फिलिपिन्समा भर्चुअल रुपमा हुने मिस अर्थ प्रतियोगितामा भाग लिने जानकारी समेत दिइयो ।

सुप्रिया सामाजिक परियोजनाका लागि रोजिएको काठमाडौं महानगरपालिका १७ स्थित धोबीचौरमा रहेको पुरानो ढुंगेधारा संरक्षणमा जुटेकी छिन् । त्यस्तै मिस नेपाल सुप्रानेसनल सुश्री शिमल कनौजिया भने भर्खरै पोल्याण्डमा सम्पन्न मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी छन् ।

कोरोना महामारीको कारण टोकियोमा पूर्वनिर्धारित मिस इन्टरनेसनल भने यो वर्ष नहुने भएको द हिडन ट्रेजरले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप