बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भागबण्डामा मेरो खासै ठुलो ‘डिमाण्ड’ केही छैन : मुख्यमन्त्री शाही

शुक्रबार, ०३ मङ्सिर २०७८, १० : १४
शुक्रबार, ०३ मङ्सिर २०७८

कर्णालीमा जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको शुक्रबार १७ दिन पुग्यो । तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिन सकिरहेका छैनन् ।  सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका बीचमा मन्त्री छनोट र मन्त्रालय भागबण्डाको विषयमा अझै टुङ्गो लाग्न सकिरहेको छैन ।

आलोपालो नेतृत्व गर्ने सहमति भएअनुसार महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेको १६ दिनसम्म पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा विभिन्न आशंका गर्न थालिएको छ । खासगरी सत्तारुढ गठबन्धनमा फाटो आएको त होइन भन्नेखालको आशंका बढ्दो छ । यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले मुख्यमन्त्री जीवनबहादुर शाहीसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, मुख्यमन्त्री शाहीसँगको कुराकानीको सम्पादित अंश :

मन्त्रिपरिषद् विस्तारमा के समस्या भएको हो ?

— हामीले एउटा मन्त्री त बनायौं नि..... !

तर पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन नि ?

— केही दिन लाग्ला नि !

यति समयभित्र मन्त्रिपरिषद् विस्तार गर्छु भनेर दाबीका साथ भन्न सक्ने स्थिति नभएको हो र ?

—  मैले यतिसम्म भनेर भन्दा मजा हुँदैन । उहाँहरु (माओवादी र समाजवादी)ले यो–यो मन्त्रालय हामीलाई चाहियो भनेर आफ्नो तर्फबाट मन्त्री हुनेको नाम दिनुभयो भने त म अहिले नै गर्छु नि !

तर, मैले यति समयसम्म मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार गरिसक्छु भनेर भन्ने स्थिति छैन । सहयोगी दलहरुले पनि यो विषयलाई टुङ्ग्याउनु पर्छ ।

सरकारले पूर्णता नपाएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएको छ, मन्त्रिपरिषद् विस्तारलाई लिएर तपाईको दलभित्र के कुरा भइरहेको छ ?

—  मन्त्रिपरिषद् बैठक त आवश्यकताअनुसार बस्ला नि !  केही रुपमा हिजो (बुधबार) पनि बसेको छ ।

दलभित्रको कुरा त पहिला अन्य दलको फाइनल भयो भने हामीले मिलाउँला । हाम्रो त के नै भयो र ! बाहिरी रुपमा पनि भिन्न कुराहरु आइरहेका छन् । हेरौं अब ..!

केही दिन अघि सत्ता साझेदार दलका नेताहरु सुर्खेत बाहिर रहेकाले छलफल हुन नसकेको भन्दै हुनुहुन्थ्यो । अहिले त सबै नेता यतै हुनुहुन्छ । माओवादी केन्द्रले त दलको हैसियतका अनुसार मन्त्री पाउनुपर्छ भनिरहेको छ । नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछाड्ने भनिरहेको छ । भागबण्डामा समस्या जटिल छैन र ?

—  होइन, अब हैसियतका आधारले भनेपछि त माओवादी नै ठुलो दल भयो । ऊसँग १२ सिट छ । उहाँहरुले भनेजस्तै हैसियतका आधारमा कुरा गर्ने हो भने पहिलो संख्या माओवादी, दोस्रो काँग्रेस र तेस्रो एकीकृत समाजवादी हो । यसमा मेरो कुरा के हो भने पहिला हामीसँग एक किसिमको सम्झौता छ । त्यही अनुसार जानुपर्छ भन्ने हो ।

उतिबेला त्याग गरेका (तत्कालीन एमालेबाट ‘फ्लोर क्रस’ गरेका) साथीहरु मन्त्री भइहाले । उहाँहरुले त्यागकै कारण मन्त्री पद पाउनुभएको हो । अब, पार्टी नै नभएको भए एउटा खालको कुरा हुन्थ्यो होला । अहिले उहाँहरु सबै एकीकृत समाजवादीमा हुनुहुन्छ । अहिले तीन दल हो । त्यतिबेला (सम्झौता गर्दैगर्दा) दुई दलमात्र थियो । अहिले मैले केही भनेको छैन । मेरो त खासै ठुलो ‘डिमाण्ड’ पनि केही छैन ।

केही दिन अघि तपाईले ‘मुख्यमन्त्री त साझा भइहाल्यो, त्यसबाहेक काँग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्छ’ भन्ने खालको तर्क दिनुभएको थियो । तर, माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सरकारको नेतृत्वमा रहेको व्यक्तिले भागबण्डामा ‘बार्गेनिङ’ गर्ने होइन, आफूले त्याग गरेर पनि अरुलाई खुसी बनाउन सक्नुपर्छ’ भन्नुभएको छ । तपाईले त्याग गर्न सक्नुहुन्छ त ?

—  होइन, त्यस्तो ‘बार्गेनिङ’ त हामीले गरेका छैनौं । मैले त आपसमा भएको सहमतिअनुसार भनेको हो । वैशाख ३ को कुरा गर्दा उहाँहरुले पनि त्यही भन्नुभएको थियो । त्यसरी नै सरकारमा सहभागी हुनुभएको थियो । मुख्यमन्त्री पद त साझै भएको हो । जे सम्झौता ग¥यौं, त्यही अनुसार अघि बढौं भन्ने नै हो । त्यसमा के–कसरी मिलाउने भन्ने कुरामा त हामी सकारात्मक नै छौं ।

खासमा त्यो बेला सम्झौतामा के थियो भन्ने कुरा किन बाहिर आउन सकेन ? के थियो सम्झौतामा ?

— खास के हो भने उतिबेला तत्कालीन नेकपा एमालेका साथीहरुले ‘फ्लोर क्रस’ गर्नुभयो । त्यो बेला ३ मन्त्रालय उहाँहरुलाई दिइयो । दुई माओवादी र १ हामीलाई थियो । अहिले पनि त्यही अनुसार जाउँ भन्ने मेरो चाहना हो । त्यतिबेला पछि एउटा मन्त्रालय फुटाएर ८ वटा बनाइयो । त्यो त पछि टुक्र्याइएको त हो । खास सम्झौता भनेको पहिलाको हो नि त !

मैले त अहिले के नै भन्ने हो र ! अब, उहाँहरुले के भन्नुहुन्छ भन्ने मुख्य कुरा हो । म त तयार नै छु । उहाँहरुलाई सबै चाहिन्छ भने पनि दिउँला नि !

उसो भए अहिले तपाईले के सोच्नुभएको छ ? यो मन्त्रालय यो दललाई दिन पाए ‘कम्फर्टेबल’ हुन्थ्यो भन्ने केही छ ?

– मेरो भन्नु त केही छैन नि ! हरेक कुराको जगचाहिँ कर्णालीबाटै सुरु भएको हो । पहिला हामीले जे गरेका थियौं, त्यही गर्दा राम्रो हो । पछि केन्द्रमा पनि एक खालको सहमति छ । अहिले उहाँहरुले के सोचिरहनुभएको छ, त्यो त थाहा भएन । बाहिरबाट धेरै कुरा, हल्लाखल्ला जस्ता पनि आइरहेका छन् । मैले त केही बुझ्न सकिरहेको छैन । अब मन्त्री भन्ने कुरा भएपछि समस्या त सबैको उस्तै त हो । ‘क्लियर’ कुराचाहिँ आएको छैन ।

तर, अहिलेको परिस्थितिमा केही कमजोरी पनि भएका छन् । ती कुराहरु त वार्ता बाटै टुङ्गिन्छन् । संगठनात्मक तरिकाले जाँदा केन्द्रले गरेका निर्णयहरु पनि छन् । माथिबाट पनि त ल है ! तपाईंहरुको सरकार हो, तपाईहरु नै गर्नुस् भन्ने निर्देशन त छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप