शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपालको ब्राण्ड बेचेर अर्कैले खाइरहेको छ, सरकार सचेत बनोस्’

शुक्रबार, ०३ मङ्सिर २०७८, १० : ३६
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुन् रवीन्द्र शाक्य । तामा, पित्तल तथा ढलोटलगायत धातुजन्य हस्तकला व्यवसायमा संलग्न शाक्यले वि.सं. २०७५ देखि महासंघ कार्यकारी समिति उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । मंसिर ३ देखि ५ गतेसम्म होटल हायातमा आयोजना हुँदै गरेको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिता सम्पन्न गर्ने मुख्य जिम्मेवारी शाक्यकै काँधमा छ । तीन दिनसम्म चल्ने हस्तकला व्यापार मेला सन्दर्भमा संयोजक शाक्यसँग गरिएको संक्षिप्त कुराकानी :

मेलाको तयारी कसरी हुँदैछ ?

१८ औं सस्करणको हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । निकै उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा होटल हायातमा मंसिर ३,४ र ५ गते तीन मेला आयोजना गर्दैछौं । ५० हजार निःशुल्क प्रवेश कार्ड वितरण गरिसकेका छौं भने थप ५० हजार जनालाई १०० रुपैयाँ दरको प्रदेशकार्ड दिँदैछौं । मेलामा धेरैभन्दा धेरै व्यवसायी र आगन्तुकहरूको जमघट हुने अपेक्षा छ ।

मेलाको उद्देश्य के हो ? महासंघले कहिलेबाट यस्तो प्रदर्शनी गर्न थालेको हो ?

वि.सं. २०४८ सालदेखि हस्तकला महासंघले निरन्तर हस्तकला प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएको छ । यसैको निरन्तरता आज हामी १८औं संस्करणसम्म आइपुग्न सफल भएका छौं ।

ब्लू स्टार होटलबाट शुरू भएको व्यापार मेला बीआईसीसी (हालको संसद् भवन) हुँदै लामो समयसम्म भृकुटीमण्डपमा आयोजना गरियो । यस वर्ष महासंघले पाँचतारे होटल हायातमा मेला आयोजना गर्दैछ ।

विशेषतः नेपाली हस्तकलाको जगेर्ना गर्दै स्थानीय उत्पादन र प्रयोगमा जोड दिनु नै मेलाको प्रमुख उद्देश्य हो । हस्तकला व्यवसायीहरूले गरेको उत्पादन एकै स्थानबाट व्यापारका साथसाथै प्रचारप्रसार गर्ने वृहत मञ्चको रूपमा समेत मेलालाई बुझ्न सकिन्छ । यसपटक पनि मेलामा १२० भन्दा बढी विभिन्न हस्तकला सामाग्री तथा उत्पादनका स्टलहरू रहनेछन् । मेलाभर कम्तिमा पनि एक करोड रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा राखेका छौं ।

मेलाका लागि पाँचतारे होटल नै चाहिँ किन आवश्यक प-यो ?

यसमा खास कारण केही छैन । पहिले जस्तै भृकुटीमण्डपमा नै मेला आयोजना गर्न पनि सकिन्थ्यो । तर,सधैँ एक्कै स्थानमा गर्दा, त्यो पनि सामान्य रूपमा गर्दा मेलाको त्यति महत्व नभएको हो कि वा महत्वको कम हुँदै गएको हो कि भन्ने हामीलाई लाग्यो । कम्तिमा पाँचतारे होटलमा गर्दा यसको प्रचारप्रसार अझ बढ्छ कि भनेर नै यसपटक होटल हायातमा मेला गर्न लागेका हौं ।

अहिले नेपाली हस्तकलाको अवस्था कस्तो छ ? यसको भविष्य कस्तो देख्नुहुन्छ ?

समस्या र चुनौती बाबजूद पनि नेपाली हस्तकला व्यवसाय जसोतसो अघि बढिरहेको छ । यो क्षेत्रमा समस्याहरू छन् । प्रशस्त संभावना भएर पनि हस्तकलामा रम्ने र लगाव भएका कालीगढ (कामदारहरू) पाउन गा¥हो पर्न थालेको छ । नयाँ पुस्ताहरू कमैमात्र यो क्षेत्रमा आउने गरेका छन् । पुस्ता हस्तान्तरण नै यो क्षेत्रको मुख्य चुनौती हो ।

पछिल्ला दिनहरूमा राज्यले समेत यो क्षेत्रलाई उपेक्षा गरिरहेको छ । अहिलेकै कुरा गरौं न ! नेपालको ब्राण्ड बेचेर अर्कैले खाइरहेको छ । तर, त्यसतर्फ राज्यले खासै ध्यान दिन सकेको छैन । नेपाली उत्पादन फेट (उनको राडीपाखी) यूरोपमा निकै प्रसिद्ध छ । यसको माग पनि उच्च छ । तर, नेपालले पर्याप्त मात्रामा निर्यात गर्न सकिरहेको छैन । बरू, भारतीय कम्पनीहरूले नेपाली ब्राण्डमा धमाधम फेटको उत्पादन गरेर यूरोप निर्यात गरिरहेका छन् । ब्राण्ड नेपाली बिकेपनि फाइदा उनीहरूले कमाइरहेका छन् । यसमा सरकार सचेत हुन आवश्यक छ ।

हस्तकला लगायतका स्वदेशी घरेलु उत्पादनहरूलाई सरकारले प्रोत्साहन दिएकै छ । उत्पादनमा सहजीकरण, सहुलियत र निर्यातमा ५ प्रतिशत अनुदानसमेत दिएको छ । उत्पादन बढाउन तपाईंहरूलाई के ले छेक्यो ?

यो त भन्ने र देखाउने कुरा हो । वास्तविकता त हामी व्यवसायीहरूलाई नै थाहा छ । कुनै व्यवसाय गर्छु, सहजीकरण गरिदिनुप¥यो भनेर जाँदा पहिले प्यान, भ्याट बुझाउन भन्दै थर्काइन्छ । सहुलियतपूर्ण कर्जा चाहियो भन्योअनावश्यक झन्झट र झमेला देखाइदिन्छन् । निर्यातमा ५ प्रतिशत अनुदान भनिएको छ, तर कार्यान्वयन छैन । भन्ने र गर्नेमा निकै फरक छ ।

एउटा उदाहरणपहिले पहिले हस्तकला मेलाकै लागि सरकारले १५ लाख रुपैयाँ दिने गथ्र्यो । निकै उत्साहित हुन्थ्यौं । तर, अहिले यो अनुदान पनि घटाएर १३ लाख रुपैयाँमा झारेको छ । झन् बढ्नुपर्नेमा घट्दैछ । अनि कसरी हामी राज्यको प्राथमिकतामा प-यौँ र ?

अहिले हस्तकला निर्यातको अवस्था चाहिँ के छ ?

एकदम राम्रो छ । गत वर्ष कोभिड१९ कै बीच पनि करिब ७ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामाग्रीहरू निर्यात गरेका छौं । भन्सार विभागको तथ्याङ्क अनुसार सामान्य वर्षहरूमा पनि नेपालबाट सरदर करिब १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तुहरू निर्यात भइरहेका छन् ।

विशेषगरी नेपालबाट अहिले ऊनका फेटा, पस्मिना, धातुका वस्तु र काष्ठकलाका सामाग्रीहरू निर्यात भइरहेको छ । मागका हिसाबले अन्तरराष्ट्रिय जगतमा नेपालले फेटाले बजार विस्तार गर्न सक्छ । यसैलाई मध्यनजर गरेर नेपाल अघि बढ्ने हो भने हस्तकलामा नेपालको उज्ज्वल भविष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप