शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारको आन्दोलनमा प्रहरी दमन : वकिल भन्छन्– बुटले खुट्टा कुल्चिए, कुठाउँमा कुटे

काठमाडौं प्रहरीका निमित्त प्रमुख भन्छन्–‘घम्साघम्सी भयो, दमन गरेनौं’
शुक्रबार, ०३ मङ्सिर २०७८, २१ : ०७
शुक्रबार, ०३ मङ्सिर २०७८

प्रधान न्यायाधीशको राजीनामा मागेर नेपाल बार र सर्वोच्च बारले गरेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडी कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना घाइते भएका थिए । घाइते कानुन व्यवसायीमध्ये अधिवक्ता प्रकाश महर्जन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको खुट्टामा चोट लागेको थियो ।

आन्दोलन नियन्त्रणमा खटिएका प्रहरीले बुटले खुट्टा कुल्चिने र संवेदनशील ठाउँमा हिर्काएर दमन गर्ने गरेको कानुन व्यवसायीको आरोप छ । शुक्रबार प्रहरी र आन्दोलनकारीहरूको बीचमा दमनको सो शैलीबारे सर्वोच्चको मुलगेटमा विवाद भएको थियो ।

सुरक्षाकर्मीले अग्रमोर्चामा खटिएका कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा बुटले खुट्टा कुल्चिने र मुड्कीले संवेदनशील अंगमा हिर्काउने गरेको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले रातोपाटीलाई बताइन् । उनले भनिन्–‘सुरक्षाकर्मीको सो शैलीको हामीले विरोध गरेका छौं ।’

बिहीबार प्रहरी र आन्दोलनकारीको बीचमा झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ता कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा र ऋषिराम घिमिरे घाइते भएका थिए । उनीहरु सबैजना डिस्चार्ज भैसकेका छन् । माथिबाट लाठीले हिर्काएको नदेखिए पनि सुरक्षाकर्मीले बुटले कुल्चने संवेदनशील अंगमा हिर्काउनु खतरनाक भएको बार उपाध्यक्ष बस्यालले जिकिर गरिन् । शुक्रबार पनि प्रहरीले दमनको सो शैलीलाई पछ्याएको बस्यालले बताइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख (एसपी) रमेश बस्नेतले त्यसरी दमन नगरेको दाबी गरे ।  रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने– ‘आन्दोलनकारीले आरोप लगाएर मात्रै हुँदैन, सुरक्षाकर्मीले स्थानीय प्रशासन ऐनअनुसार लाठीचार्ज पनि गरेका छैनन् ।’

घम्साघम्सी हुँदा पनि कानुन व्यवसायी अस्पताल भर्ना भएको आरोप लगाउँदै बस्नेले भने– ‘कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोगबारे हामी संवेदनशील छौं, मानवअधिकारको रक्षा गरेका छौं ।’ आन्दोलनकारीलाई हात समातेर रोक्ने काम मात्रै गरेको जिकिर गर्दै बस्नेतले प्रश्न गरे– ‘आन्दोलन पनि कहाँ गर्न पाइन्छ, कहाँ पाइँदैन, भन्ने होला । सर्वोच्च अदालतको कार्यालय सञ्चालन र काम कारवाही नै रोकिने गरी गेटमा आन्दोलन गर्न पाइन्छ र ?’

कानुन व्यवसायीहरुको आन्दोलन नियन्त्रणका गर्न सर्वोच्च अदालतमा कार्यरत एसपी दिपक रेग्मी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी भरत श्रेष्ठ तथा अर्का एकजना डीएसपीको कमाण्डमा जम्बो टोली खटिने गरेको छ । सुरक्षाकर्मीहरु नेपाल बार, सर्वोच्च अदालतको मुलगेट र महान्यायाधिवक्ताको कार्यालय अगाडि खटिने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप