शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिनेश शर्माले दिए टेक्सस राज्यको सांसद पदमा उम्मेदवारी

आइतबार, ०५ मङ्सिर २०७८, ०६ : ४९
आइतबार, ०५ मङ्सिर २०७८

नेपाली मूलका दिनेश शर्माले टेक्सस राज्यको सांसद पदमा उम्मेदवारी दिएका छन् । अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका सूचना प्रविधि (आइटी) विज्ञ, सामाजिक अभियन्ता शर्माले टेक्सस राज्यको प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन क्षेत्र ९२ (हाउस डिसट्रिक्ट ९२ )बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले नोभेम्बर २० शनिबारका दिन टेक्ससको समय अनुसार दिउँसो ४ बजे डेमोक्रयाटिक दलको टेरन्ट काउन्टीको फोर्ट वर्थ कार्यालयमा उम्मेदवार मनोनयन पत्र बुझाएका छन् । उनी डेमोक्रयाटिक हुन् या हैनन् भनि दलले अनुमोदन गरे पछि निर्वाचन आयोगलाई डेमोक्रयाटिक दलले उनको उम्मेदवारी आफैं पठाउने छ ।

उनी आम निर्वाचनको लागि उम्मेदवार नभई उनले प्राथमिक निर्वाचनमा आफ्नै दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । उनले डेमोक्रयाटिकको तर्फबाट प्राथमिक निर्वाचनमा बाजी मारे भने उनको भिडन्त आम निर्वाचनमा रिपब्लिकन दलका उम्मेदवारसँग हुनेछ ।

उनी डेमोक्रयाटिक दलसँग आबद्ध भएकोले उनी डेमोक्रयाटिक दलको तर्फबाट लड्ने छन् । टेक्सस राज्यको तल्लो सदन प्रतिनिधि सभामा हाल रिपब्लिकनका ८५ र डेमोक्रयाटिक दलका ६५ जना प्रतिनिधि सभा सदस्य (सांसदहरु)रहेका छन् ।

टेक्सस प्रतिनिधि सभाको निर्वाचन आगामी २०२२ मा हुनेछ । अर्थात् आम निर्वाचन नोभेम्बर ८,२०२२ मा तोकिएको छ । टेक्ससको प्रतिनिधि सभाको प्राथमिक निर्वाचन मार्च १,२०२२ मा हुनेछ । साथै सर्वाधिक मत प्राप्त गर्ने दुई जना शीर्ष उम्मेदवारहरू बीचको निर्वाचन मे २४ ,२०२२ राखिएको छ ।
 
चुनाव लड्नेले आगामी डिसेम्बर १३,२०२१ सम्म मनोनयन दर्ता गराई सक्नुपर्ने छ । टेक्सस हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधि सभा) २०२२ मा चुनाव हुने ८८ राज्य विधायिका च्यामबर्स (सदनहरु) मध्ये एक हो। अमेरिका भरि ९९ वटा सदनहरू छन्।

शर्मा हाल टेक्सस राज्यको फोर्ट वर्थमा बसोबास गर्छन् भने उनको नेपाल घर धरान हो । नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष शर्मा विभिन्न संघ संस्था संग आबद्ध रहेका छन् ।

उनले सूचना प्रविधि (आइटी)मा उच्च शिक्षा भारतबाट प्राप्त गरेका थिए भने अमेरिकामा एपल ,भेराइजन जस्ता ठूला संस्थाहरूसँग आबद्ध छन् । यसरी बिस्तारै नेपालीहरु पनि अमेरिकी मूलधारमा प्रवेश गर्ने क्रम जारी छ । अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको इतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन् ।

उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उप प्रमुखमा खाता खोलेका हुन् भने उनी दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् ।

यसरी मूलधारमा प्रवेश गर्नेहरूमा सिटौला पछि क्रमश मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्यमा मधु पन्थी,भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल ,टेक्सस ड्यालसका नगर परिषद सदस्य टिका पौडेल र पछिल्लो चरणमा राम चन्द्र श्रेष्ठ छैठौं निर्वाचित नगर परिषद सदस्य भएका छन् । 

साथै एक अर्का नेपाली भाषी भुटानी पनि नगर परिषदमा निर्वाचित भएको इतिहास छ । अमेरिकाको इतिहासमा श्रेष्ठ मूलधारमा पुग्ने नेपाली मूलका र नेपाली भाषी समेत गरि नाम लेख्ने सातौँ नेपाली हुन् । यो क्रम निरन्तर वृद्धि हुँदै गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप