शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा छालामा सुक्खापनको समस्या : कारण र समाधान

आइतबार, ०५ मङ्सिर २०७८, ११ : ५८
आइतबार, ०५ मङ्सिर २०७८

जाडो याम सुरु भएको छ । जाडोमा धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो । जाडोमा खासगरी छाला रुखो हुने, हात गोडा फुट्ने, छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चाया—पोतो आउने लगायत समस्या हुन्छ । यस्तै टाउकोमा चाया पर्ने गर्दछ ।

सुक्खापन देखिने कारणः

नियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापन आउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, किड्नीको औषधि प्रयोग गर्नेको छालामा सुक्खापना बढी देखिने उनको भनाइ छ ।

जाडोमा पानी कम पिउँदा शरीरबाट पसिना कम आउने भएकाले  छाला सुख्खा हुने गर्छ । डा. लामाले जाडो याममा छालामा निम्न कारणले सुक्खापन देखिने बताइन् ।

—शरीरमा पानीको मात्रा कम हुँदा

—धेरै तातो पानीले नुहाउँदा

—साबुनको धेरै प्रयोग गर्दा

—शरीरमा बढी घामका विकिरण छिर्दा

—जुन पायो त्यही साबुन, मोस्चराइजर क्रिम प्रयोग गर्दा

कसरी जोगिने ?

डा.लामाका अनुसार जाडोमा वायुको आर्द्रता कम हुन्छ । आवश्यक मात्रामा शरीरमा पानीको मात्रा पुग्दैन, यसले गर्दा छाला रुखो हुन्छ । साथै रुखो तथा सुख्खा छाला हुनबाट जोगिन निम्न उपाय अपनाउनुपर्छः

— जाडोमा ऊनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुक्खा भएर चह्र्याउँछ । त्यसले शरीर चिलाउने हुँदा सुतीको पातलो लुगा लगाएर मात्र बाहिरबाट ऊनीको लुगा लगाउनु उचित हुन्छ । यसले छालामा सुक्खापन आउन दिँदैन ।

—जाडोमा सामान्य छाला पनि खस्रो हुने भएकाले छाला सुक्खा हुन नदिन मोइस्चराइजर क्रिमको प्रयोग नियमित गर्नुपर्छ ।

—यदि चिसोले छालाबाट कत्ला निस्किएको अवस्थामा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । समस्या कम नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

—जुन पायो, त्यही साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउने साबुन फरक फरक हुनुपर्छ । जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुन त कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्ने हुन्छ । —नुहाएपछि नरम कपडाले धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुछ्ने गर्नुपर्छ ।

—प्रशस्त मात्रामा पानी पिउनाले पनि सुक्खा छालाको समस्या समाधान हुन सक्छ ।

—नुहाउने वित्तिकै छालामा तेल वा मोइस्चराइजर लगाउनुपर्छ ।

—खानपानमा विशेष ध्यान दिनुपर्छ भने हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ ।

—मौसमी फलफूल सेवन गर्दा जाडोमा छालालाई स्वास्थ्य राख्न सघाउँछ ।

काठमाडौंलगायत पहाडी तथा हिमाली क्षेत्रमा बस्ने प्रायःको हात, खुट्टाका औँला रातो भएर सुन्निने समस्याले सताउने गर्छ । डा.लामाका अनुसार यस्तो अवस्थामा निम्न उपाय अपनाउनु पर्छ ः

—पानी प्रयोग गर्नुभन्दा अगाडि रबरको पञ्जा लगाएर काम गरेको खण्डमा औँला सुनिँदैन ।

—औँला सुनिन नदिन ‘हट वाटर ब्याग’ले औँला सेक्नुपर्छ ।

—जाडोमा पातलो सोल भएको जुत्ता लगाउनु हुँदैन । ‘स्पोर्ट सुज’ लगाउनुपर्छ ।

—हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनुपर्छ ।

—छालाको प्रकृति हेरेर मोस्चराइजर क्रिम र लोसन प्रयोग गर्नुपर्छ । सकेसम्म विशेषज्ञको सल्लाहमा मोस्चराइजर क्रिम वा लोसनको प्रयोग गर्दा राम्रो हुन्छ ।

—छाला सुक्खा हुन नदिन नरिवलको तेल निकै लाभदायी मानिन्छ । त्यस्तै, मह, जैतुनको तेल, दूधको क्रिम र एलोभेरा जस्ता घरायसी चिजलाई मोइस्चराइजरको रूपमा छालामा प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप