शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रविधिमा आधारित शिक्षा आदानप्रदानमा नेपालसँग सहकार्य गर्न जर्मनी इच्छुक

मङ्गलबार, ०७ मङ्सिर २०७८, १३ : ५८
मङ्गलबार, ०७ मङ्सिर २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो । 

भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनीबीच १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास  खुले यता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरेका थिए । 

मन्त्री पौडेलले नेपालमा संघीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवम् समतामूलक ढंगबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराए । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गरेका थिए । 

जर्मनका राजदूत प्रिन्जले नेपालका विद्यार्थीहरूले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताए । नवीकरणीय ऊर्जा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा आदानप्रदानलगायतका विषयमा नेपालसँग सहकार्य र सहयोग गर्न इच्छुक रहेको बताए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप