शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के एचआईभी संक्रमित आमाबुवाबाट जन्मन्छन् स्वस्थ बच्चा ?

बुधबार, ०८ मङ्सिर २०७८, ०९ : १३
बुधबार, ०८ मङ्सिर २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको एआरटी सेन्टरमा दैनिक सरदर ३२ जना एचआईभी संक्रमित औषधि र परामर्श लागि आउने गर्छन् । साथै, एचआईभी परीक्षणका लागि दैनिक २० जनाभन्दा बढी पुग्ने गर्छन् । सो अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटा एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत स्वस्थ हुने बताउँछिन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एचआईभी संक्रमित दम्पत्तीबाट ५६ जना बालबालिकाको जन्म भइसकेको छ ।

सरकारले सन् २०३० सम्ममा एचआईभी संक्रमणमुक्त देश बनाउने लक्ष्य राखेको छ । तर, नेपालमा अझैपनि १० हजारभन्दा धेरै एचआईभी संक्रमित औषधि र परामर्शको पहुँच नभएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

प्रस्तुत छ, एचआईभी संक्रमित आमाबुवाबाट जन्मेका बच्चा सय प्रतिशत कसरी स्वस्थ हुन्छन् ? भन्ने विषयमा केन्द्रित रही शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी मेडिकल अफिसर डा.लीना देवकोटासँग रातोपाटी डटकम प्रतिनिधिले गरेको कुराकानीः

के एचआईभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माउन सक्छिन् ?

एचआईभी संक्रमित आमाबाट स्वस्थ बच्चा जन्मन सक्छ । श्रीमान् श्रीमतीले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेका छन् भने भाइरल लोडको अवस्थाबारे जाँच लिन्छौँ । एचआईभी संक्रमितको शरीरमा भाइरल लोड क्लिनिकली रुपमा कम छ भने संक्रमित महिलाबाट जन्मिएका बच्चाहरु स्वस्थ हुन्छन् । संक्रमित आमाले स्वस्थ बच्चा जन्माउनका लागि नियमित रुपमा औषधि सेवन गर्नुपर्छ ।

संक्रमित आमाको गर्भ बस्ने वित्तिकै सामान्य गर्भवतीझैँ निर्धारित समयतालिकाअनुसार स्वास्थ जाँच गर्दा हुन्छ कि तत्काल जाँच गर्नुपर्छ ?

तात्काल जाँच गर्दा राम्रो हुन्छ । किनकी संक्रमित महिला जहिलेबाट गर्भवती भइन्, त्यही दिनबाट औषधि खान सुरु गरेमा बच्चालाई संक्रमण हुने सम्भावना न्यून भएर जान्छ । संक्रमित आमाले जति ढिलो औषधि खान सुरु गर्छिन्, त्यति एचआईभी हुने जोखिम बढ्छ । धेरैजसो एचआईभी संक्रमित गर्भवती भएको सुरुवाती अवस्थामा अस्पताल आइपुग्छन् । गर्भवती हुँदा एएनसी भिजिट गर्दै जान्छौँ । त्यसमा एचआईभी मेन्डेटरी अनिवार्य राखेको हुन्छ ।

हामी एचआईभी संक्रमितमध्ये गर्भवती महिलालाई बढी प्राथमिकता दिन्छौँ । किनभने गर्भवती बाहेकका अन्य संक्रमितलाई उनीहरुको शरीरमा अवसरवादी रोग छन् कि भनेर जाँचेर औषधि दिन्छौँ । तर, संक्रमित गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल औषधि दिन्छौँ । त्यसैले जो कोही संक्रमित महिला छिटो अस्पताल आउनुपर्छ, तत्कालै औषधि सेवन गर्नुपर्छ । अस्पताल ढिला पुगेको खण्डमा गर्भमा रहेको बच्चामा एचआईभी संक्रमणको जोखिम बढी हुन्छ ।

एचआईभी संक्रमित महिला गर्भवती हुँदा उनको शरीर स्वास्थ्यका हिसाबले कति जोखिममा पर्छ ?

एचआईभीको औषधि खान सुरु गरेपछि शरीरमा रहेको भाइरसको मात्रालाई थिचेर अर्थात् दबाएर राख्छ । एचआईभीको भाइरसले रोग प्रतिरोधात्मक क्षमतालाई क्षय गर्न पाउँदैन । त्यसैले शरीरमा अवसरवादी रोगहरु लाग्दैनन् । एचआईभीको कारण भन्दा पनि अवसरवादी रोगका कारण मृत्यु हुन्छ । जब शरीरमा रोग लाग्न पाउँदैन, तब एचआईभी संक्रमित र एचआईभी नभएका मानिसको आयुमा केही फरक पर्दैन ।

एचआईभी संक्रमित महिलाको पनि महिनावारी रोकिएरै गर्भ बस्ने हो । जन्मिएको बच्चा कसरी संक्रमित हुँदैनन् ?

गर्भमा रहँदा बच्चा र आमाको रगत मिसिदैन । कतिबेला एचआईभी सर्न सक्छ भने, जतिबेला बच्चा जन्मने प्रक्रिया हुन्छ । जस्तै अप्रेशन गरेर बच्चा जन्माउने हो कि सामान्य तरिकाको ब्यथा लागेर बच्चा जन्माउने हो भन्ने कुरा हुन्छ । दूध ख्वाउने कि नख्वाउने ? दूधबाट पनि बच्चालाई संक्रमण सर्न सक्छ ।

मुख्य कुरा आमाले औषधि खाएर शरीरमा भाइरल लोड कम गरेको छ भने बच्चालाई सर्दैन । यति कुरा थाहा पाइ राखौं कि बच्चा गर्भमा भएपछि नियमित रुपमा औषधि सेवन गरेको खण्डमा बच्चालाई सर्दैन ।

एचआईभी संक्रमित आमाले औषधि सेवन नगरी सन्तान जन्माएकी छन् भने शिशुलाई कसरी स्वस्थ बनाउन सकिन्छ  ?

एचआईभी सरिहाले पनि रिक्स कम होस भनेर संक्रमित आमाबाट बच्चा जन्मिने वित्तिकै एचआईभीको औषधि ख्वाउन सुरु गछौँ । एटी रेट्रोभाइरल थेरापी औषधि नखाएको आमाबाट जन्मिएको बच्चालाई ‘हाई रिस्क वेभी’ भनिन्छ । उनीहरुलाई जन्मिने वित्तिकै दुई किसिमको एचआईभीको औषधि ख्वाइन्छ, जसले गर्दा बच्चालाई संक्रमण भइहाले पनि जोखिम कम हुन्छ ।

एचआईभी संक्रमित महिला गर्भवती भएपछि गर्नुपर्ने जाँच तथा परामर्श र स्वस्थ महिलाले गर्भावस्थामा गर्ने परीक्षण एउटै हुन्छ ?

संक्रमित गर्भवती र स्वस्थ गर्भवती महिलाको नियमित जाँच्ने प्रक्रिया एउटै हुन्छ । एचआईभीमा डराउनुपर्ने भनेको सबैभन्दा पहिला अवसरवादी रोगसँग हो । यदि अवसरवादी रोग छैन भने अन्य रोग संक्रमण जस्तै हो । जस्तै कोरोना संक्रमण भन्छौ नि त्यस्तै यो एचआइभी इन्फेक्सन हो । एचआईभी भाइरस शरीरमा छिरेपछि त्यसको विरुद्ध औषधि खाइरहने हो । एचआईभीको औषधि नखाएर रोगप्रतिरोधात्मक क्षमता कम हुँदा अरु अवसरवादी रोग देखिदा यसलाई ‘एड्स’ भनिन्छ । एचआईभी संक्रमित भई गर्भवती हुने र अन्य गर्भवती महिलाबीचमा फरक हुँदैन ।

अभैm पनि एचआईभी संक्रमितलाई जनमानसमा हेर्ने नजर संकिर्ण छ । संक्रमित आमा बुवाबाट जन्मेको बच्चालाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

१५÷१६ वर्ष अगाडि एचआईभी संक्रमणलाई ज्यानमारा रोगको रुपमा हेरिन्थ्यो । त्यस समयमा सबैलाई पुग्ने गरेर औषधि आइसकेको थिएन । हाल भएका अनुसन्धानहरुले एउटा मात्रै पिल रातीको एक पटक खान मिल्ने बनाएको छ । संक्रमित आमाले राम्रोसँग औषधि खाएर आप्mनो भाइरल लोडलाई कम राखेकी छन् भने ती महिलाबाट सय प्रतिशत स्वस्थ बच्चा जन्मन्छ । त्यसैले सावधानी अपनाएर डाक्टरको निगरानीमा बसेर औषधि खाई जन्माएका बच्चा अन्य शिशुसरह स्वस्थ हुन्छन् ।

एचआईभी संक्रमित श्रीमानबाट संक्रमण नभएकी श्रीमतीले कसरी स्वस्थ बच्चा जन्माउन सक्छिन् ?

यदि श्रीमान एचआईभी संक्रमित छन् तर, श्रीमती संक्रमित छैनन् तर उनीहरुले बच्चा जन्माउने योजना बनाएछन् भने एचआईभी संक्रमित श्रीमानले औषधि खाएर भाइरल लोड कम गराएको हुनुपर्छ । साथै, स्वस्थ श्रीमतीलाई पनि एचआईभीकै औषधि सेवन गराउनुपर्छ । यस्तोमा ‘प्रि एक्सपोजर प्रोफाइल एक्सेस’ औषधि ख्वाउछौँ अर्थात् रोग लाग्नुभन्दा अगाडि एचआईभीको औषधि ख्वाइन्छ । जवसम्म गर्भ बस्दैन, तबसम्म यो औषधि ख्वाइन्छ । गर्भ रहेपछि औषधि ख्वाउन बन्द गछौँ । गर्भ रहेर औषधि बन्द गरेपछि श्रीमान श्रीमतीविच कुनै पनि सम्पर्क हुनु हुँदैन । यसरी आमा पनि सुरक्षित हुन्छिन् भने ती आमाबाट जन्मेको बच्चा पनि सुरक्षित रहन्छ । आमामा एचआईभी नेगेटिभ भएपछि बच्चामा पनि स्वतः नेगेटिभ नै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप