बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एक ट्याटु आर्टिस्टको निसानामा परेर डिप्रेसनमा पुगेकी १५ वर्षीय किशोरीको यातना कथा

२० वर्षीय युवकको मोबाइलमा ४६ किशोरी र युवतीको नग्न भिडियो
बुधबार, ०८ मङ्सिर २०७८, १० : २४
बुधबार, ०८ मङ्सिर २०७८

१५ वर्षीया दीक्षा कार्की (नाम परिवर्तन) काठमाडौँको एक राम्रै परिवारकी सदस्य हुन् । बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत दीक्षालाई उनकी भाउजूले केही दिनअघि भोटाहिटीस्थित साइबर ब्युरोमा ल्याइन् । कुनै युवकले मानसिक यातनासँगै यौन शोषण गरेको भन्दै दीक्षा भाउजूसँगै ब्युरोमा पुगेकी थिइन् ।

खासमा दीक्षा जुन युवकबाट मानसिक यातनासँगै यौन शोषणमा परेकी थिइन्, ती युवकलाई दीक्षाले चिनेकी थिइनन् । युवकले आफ्नो इन्स्टाग्राम आइडीबाट दीक्षालाई म्यासेज पठाएका थिए । सोही म्यासेजको रिप्लाई गर्दा दीक्षाले लामो समय मानसिक यातनासँगै यौन शोषणको शिकार बन्नुपरेको थियो ।

दीक्षाको यातना कथा

करिब ६ महिनाअघि दीक्षालाई उनको इन्स्टाग्राममा एउटा म्यासेज आयो । Ginp-Yeo-Ho ​ नाम गरेको आइडीबाट आएको म्यासेजमा सामान्य हाई हेल्लो मात्रै गरिएको थियो । दीक्षाले आफ्नो इन्स्टाग्राममा म्यासेज देखे पनि लामो समय कुनै जवाफ दिइनन् । तर एकदिन खै किन हो उनलाई उक्त म्यासेजको रिप्लाई गर्न मन लाग्यो । उनले हेल्लो भनेर म्यासेज पठाइन् ।

जब दीक्षाले रिप्लाई गरिन्, त्यसपछि उक्त आइडीबाट पनि सामान्य प्रकृतिको कुराकानी सुरु भयो । युवकले आफू नेपाली नै भएको तर बैंककमा बस्ने गरेको बताए । युवकले किशोरीलाई कहाँ कति कक्षामा पढ्ने, घरमा को को हुनुहुन्छ लगायतका कुराहरू सोधे । दीक्षाले त्यसको जवाफ दिइन् । उनीहरू बिस्तारै फेसबुकमा समेत जोडिए । 

सामान्य औपचारिकताको कुराकानी चलिरहेकै समयमा एक्कासि युवकले दीक्षालाई अश्लील गालीसहितको म्यासेज पठाए । न चिनेको, न जानेको । अज्ञात व्यक्तिले गालीगलौज गर्दै म्यासेज पठाएपछि दीक्षालाई पनि रिस उठ्यो । उनले पनि युवकलाई अश्लील गाली गर्दै म्यासेज पठाइन् । केही समय दुवैबीच अश्लील गालीगलौज भयो ।

त्यसलगत्तै युवकले दीक्षाले पठाएका ती सबै अश्लील गालीगलौजका स्क्रिनसट दीक्षालाई नै पठायो । अनि भन्यो, अब यो सबै स्क्रिनसट तिम्रो बुवा आमा तथा परिवार, तिम्रो स्कुलको प्रिन्सिपल र तिम्रा साथीहरूलाई पठाइदिन्छु र तिम्रो बेइज्जती गराइदिन्छु ।

१५ वर्ष मात्रै भएकी दीक्षा आत्तिइन् । आफूले कहिल्यै त्यस्तो बोल्ने गरेको परिवारलाई थाहा नभएको र प्रिन्सिपलले थाहा पाएमा स्कुलबाट निलम्बित समेत हुन सक्ने चिन्ता उनलाई भयो । त्यसपछि दीक्षाले ती युवकलाई त्यस्तो नगरी दिन अनुनय विनय गर्न थालिन् ।

युवकले दीक्षाको त्यही डरलाई आफ्नो हतियार बनाए । अनि दीक्षासँग ब्ल्याकमेल गर्न थाले । ‘तिमीले पठाएको म्यासेज तिम्रो परिवार र प्रिन्सिपल लगायतलाई नपठाउने भए तिम्रो स्तनको नाङ्गो फोटो पठाऊ’ भनेर युवकले ब्ल्याकमेल सुरु गर्‍यो । दीक्षाले युवकको प्रस्ताव अस्वीकार गरिन् । तर युवकले अनुहार नदेखाइ पठाउँदा के फरक पर्छ र । तिमी भन्ने पनि त चिन्दैन भन्दै फकाउन र धम्काउन थाल्यो । त्यसपछि दीक्षाले अनुहार नआउने गरी आफ्नो नग्न शरीरको फोटो खिचेर युवकलाई पठाइन् । युवकले धेरै भन्दा धेरै फोटो पाइसकेपछि फेरि अर्को ब्ल्याकमेल सुरु गर्‍यो कि तिम्रो आइडीबाट आएपछि तिमी नै हो भन्ने थाहा भइहाल्छ, अब अनुहार सहितको पठाऊ । दीक्षाले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेपछि युवकले फेरि दीक्षाको आइडीसमेत आउने गरी स्क्रिनसट गरेर अरूलाई पठाइदिन्छु भन्दै धम्काउन थाल्यो । दीक्षा बाध्य भएर अनुहार नै आउने गरी आफ्नो शरीरको नग्न फोटो पठाउन थालिन् ।

सुरुमा अनुहारबाहेकको फोटो मागेको युवक झनै हौसिन थाल्यो र पछि अनुहारसहित आउने गरी नग्न शरीरको भिडियो नै माग्न थाल्यो । दीक्षाले आफ्नो इज्जत जोगाउन भन्दै युवकले जे जे भन्यो, त्यही गर्न थालिन् । युवकले दीक्षालाई नग्न शरीरमा हस्तमैथुनसम्म गरेको भिडियो पठाउन भन्दै धम्काउन थाल्यो । दीक्षा युवकले जे जे भन्यो त्यही त्यही गर्न थालिन् । त्यसपछि युवकले दीक्षालाई आफू बैंककमा नभएर काठमाडौँमै भएको र भेट्न आउन दबाब दिन थाल्यो । दीक्षाले भेट्ने प्रस्ताव अस्वीकार गर्ने कोसिस त गरिन् तर युवकले धम्काउन छाडेन ।

युवकको धम्की अब परिवार र प्रिन्सिपलभन्दा माथि पोर्न साइटमा हालिदिन्छु भन्नेसम्मको आउन थाल्यो । युवकले दीक्षाको अश्लील भिडियो पोर्न साइटमा अपलोड गरिसकेको भन्दै त्यसको स्क्रिनसट पनि दीक्षालाई पठाउन थाल्यो र भेट्न नआए त्यो पब्लिक गरिदिने भन्दै धम्की दिन थाल्यो । तत्काल भेट्न आउन र आफूसँग समय बिताउन धम्की दिन थालेपछि दीक्षा दिनानुदिन तनावमा पुगिन् । उनी विद्यालय र घरमा खाली ढोका थुनेर बस्ने र झोक्राउने गर्न थालिन् । युवकले दिएको तनावले दीक्षा एक किसिमको डिप्रेसनमा पुगिसकेकी थिइन् । के गर्ने के नगर्ने केही सोच्न सकेकी थिइनन् । पहिले सधैँ ‘कुल’ रहने दीक्षामा एक्कासि परिवर्तन आई सामान्य कुरामा पनि रिसाउने गर्न थालेपछि उनकी भाउजूले दीक्षाको गतिविधिमाथि निगरानी बढाउन थालिन् । दीक्षामा आएको परिवर्तनपछि भाउजूले दीक्षालाई बोलाएर सम्झाउँदै के भएको हो भन्नुस् भनेर सोधिन् ।

ती युवक थिए काठमाडौँ महानगरपालिका १२, भोटेवहाल घर भएको २० वर्षीय लव खड्गी । पेसाले लव एक ट्याटु आर्टिस्ट थिए र ऊ वसन्तपुरमा रहेको एक ट्याटु पसलमा काम गर्थे  ।

त्यसपछि बल्ल दीक्षाले आफू समस्यामा परेको र युवकले बारम्बार धम्की दिँदै मानसिक यातना र यौन शोषण गरिरहेको बारे भाउजूलाई बताइन् । भाउजूले दीक्षालाई सम्झाउँदै तिमीलाई कुनै समस्या हुँदैन, त्यो व्यक्तिले तिमीलाई कुनै क्षति पुराउन सक्दैन हिँड उजुरी गरौँ र युवकलाई पक्राउ गरौँ भनेपछि दीक्षा तयार भइन् । बुवा, दाजु आदि कसैलाई पनि जानकारी नदिने शर्तमा दीक्षा भाउजूसँगै भोटाहिटीस्थित साइबर ब्युरोमा पुगिन् । अनि घटनाबारे महिला प्रहरीसँग बेलिबिस्तार लगाउँदै आफू अत्यन्तै तनावमा पुगेको र डिप्रेसनको शिकार भइसकेको बताइन् ।

महिला प्रहरीले दीक्षालाई सम्झाउँदै त्यस्तो केही नहुने र युवकलाई पक्राउ गर्न सकिए ती प्रमाण सबै नष्ट गराउन सकिने भन्दै सम्झाएपछि दीक्षा केही सम्हालिइन् र ब्युरोमा उजुरी दिइन् । प्रहरीले फेरि दीक्षालाई उक्त युवकसँग कुराकानी गर्न र भेट्न आउन तयार रहेको बारे बताउन भने । दीक्षाले युवकको मोबाइल नम्बर पनि मागिन्, तर युवकले मोबाइल नम्बर दिन मानेन । बरु आफूले तिमीलाई चिन्ने भएको कारण वसन्तपुरको कुमारी घर छेउमा आउन भन्यो । दीक्षाले प्रहरीसँगको समन्वयमा उक्त प्रस्ताव स्वीकार गरिन् र मङ्सिर २ गते दीक्षा सादा पोसाकका प्रहरीसँगै युवकलाई भेट्न वसन्तपुर पुगिन् । केही समयपछि युवक पनि त्यहीँ आइपुग्यो र आफू त्यही युवक भएको बताएसँगै प्रहरीले युवकलाई पक्राउ गर्‍यो ।

ती युवक थिए काठमाडौँ महानगरपालिका १२, भोटेवहाल घर भएको २० वर्षीय लव खड्गी । पेसाले लव एक ट्याटु आर्टिस्ट थिए र ऊ वसन्तपुरमा रहेको एक ट्याटु पसलमा काम गर्थे  । आफू बैंककमा बस्ने गरेको बताए पनि लव कहिल्यै बैंकक पुगेका थिएनन् । काठमाडौँमै बसेर किशोरी र युवतीहरूसँग कुराकानी गर्थे र नग्न फोटो तथा भिडियो माग गरी ब्ल्याकमेल गर्थ्यो । तर उसले कहिले पनि आफ्नो सक्कली नाम तथा ठेगाना बताउँदैनथिए । न त आफ्नो रियल फेस नै देखाउँथे ।

साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार लव खड्गीले ४ दर्जनभन्दा बढी किशोरी र युवतीलाई यसै गरी रोमियो ट्रयापमा पारेको पाइएको छ । अर्यालका अनुसार खड्गीको निसानामा १५ देखि १८ वर्षसम्मका किशोरी बढी परेका छन् । कक्षा ९ देखि १२ कक्षासम्म पढ्ने किशोरीहरू खड्गीको रोमियो ट्रयापमा परेको पाइएको अर्यालले बताए ।

मोबाइलमा अर्काइभ थियो ४६ जनाको नग्न भिडियो

साइबार ब्युरोका अनुसन्धान अधिकृत इन्स्पेक्टर बुद्धि सुवेदीका अनुसार खड्गीको मोबाइलको ल्याब परीक्षण गर्दा ४६ जना किशोरी तथा युवतीको नग्न फोटो र भिडियो पाइएको छ । सुरुमा खड्गीले आफूले दीक्षालाई मात्रै पीडित बनाएको बताएका थिए । तर उनको मोबाइलको ल्याब परीक्षण गर्दा मोबाइलको भल्टमा नामसहित ४६ जना किशोरी तथा युवतीको नग्न फोटो तथा भिडियो पाइएको छ । यद्यपि खड्गीबारे पीडितलाई जानकारी समेत नभएको कारण अहिले एकजनाले मात्रै उजुरी दिएको र सोही उजुरीको आधारमा पक्राउ परेको हो । 

निसानामा किशोरी

खड्गीको मोबाइलमा भेटिएको नग्न फोटो तथा भिडियो हेर्दा खड्गीको निसानामा कक्षा ९ देखि १२ सम्म पढ्ने किशोरीहरू बढी पीडित भएको पाइएको छ । खड्गीको मोबाइलमा भेटिएको फोटो तथा भिडियोको विश्लेषण गर्दा अधिकांश किशोरी १५ देखि १८ वर्ष उमेर समूहका रहेका छन् । ती सबै किशोरीहरूलाई सोही तरिका अपनाएर पीडित बनाएको खड्गीले बयान दिएका छन् ।

साइबर ब्यूरोको टोलीले खड्गीलाई पक्राउ गरी ल्याएपछि त्यसो गर्नुको कारणबारे सोध्दा उसले रमाइलो र यौन आनन्दका लागि मात्रै त्यसो गरेको बयान दिएको छ । प्लस टु पास गरेका खड्गीले पोर्न साइटमा अपलोड गरेको जस्तो देखिए पनि आफूले पोर्न साइटमा अपलोड नगरेको दाबी गरेको छ ।

 गालीबाटै सुरु हुन्थ्यो खड्गीको रोमियो ट्रयाप

किशोरी तथा युवतीहरूलाई फसाउन खड्गीले सुरुमा इन्स्टाग्रामकै साहारा लिएको देखिन्छ । सुरुमा इन्स्टाग्रामबाट किशोरी तथा युवती छानीछानी म्यासेज पठाउँथे । ती कसैलाई पनि खड्गीले चिनेका हुँदैनथे । जब उताबाट म्यासेजको रिप्लाई आउँथ्यो, तब खड्गी कुराकानी सुरु गर्थे । आफू बैंककमा बस्ने गरेको भन्दै खड्गी सुरुमा किशोरी तथा युवतीको बारेमा जानकारी लिन्थे । अनि कुराकानीकै क्रममा एक्कासि अश्लील शब्दहरू प्रयोग गर्दै गालीगलौज गर्थे ।

त्यसपछि किशोरी वा युवतीले पनि त्यसै गरी गालीगलौज सुरु गरेमा ती सबै गालीगलौजलाई खड्गी स्क्रिनसट गरेर राख्थे र विद्यालयको प्रिन्सिपल, बुवा, दाई आदिलाई पठाइदिन्छु भन्दै धम्काउँथे । किशोरी तथा युवतीहरू डराएर त्यसो नगर्न आग्रह गर्थे । अनि त्यही आग्रहलाई खड्गी ब्ल्याकमेल गर्न थाल्थे र दीक्षालाई गरेजस्तै गरेर नग्न फोटो तथा भिडियो माग गर्थे र भेट्न बोलाउँथे । भेट्न बोलाउनुको उद्देश्य यौनसम्बन्ध स्थापित गर्नुसम्मको रहेको इन्स्पेक्टर सुवेदीले बताए ।

ट्याटु खोपिएका युवतीको पनि अर्धनग्न फोटो र भिडियो

साइबर ब्युरोले पक्राउ गरेका लव खड्गी वसन्तपुरमै रहेको एक ट्याटु पसलमा ट्याटु आर्टिस्ट थिए । लवले उक्त पसलमा ट्याटु बनाउन आउने कतिपय महिला तथा युवतीको स्तन लगायतका अङ्ग देखिने गरी फोटो र भिडियोसमेत बनाएर राखेको पाइएको ब्युरोले जनाएको छ । इन्स्पेक्टर सुवेदीका अनुसार कतिपय युवती र महिलाले आफ्नो स्तन तथा अन्य संवेदनशील अङ्गको वरिपरि पनि ट्याटु बनाएका छन् । त्यस्ता अङ्गको ट्याटु बनाउँदा लवले फोटो तथा भिडियो खिच्ने गरेको र ती फोटो तथा भिडियोलाई पनि नामसहितको फोल्डर बनाएर मोबाइलमा सामान्य अवस्थामा नदेखिने गरी भल्ट बनाएर राखेको पाइएको छ ।

साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्याल पछिल्लो समय डिजिटल मिसयुज बढेको बताउँछन् । अर्यालका अनुसार ब्युरोले हालसम्म १६२ वटा मुद्दा दायर गर्दा ८० प्रतिशतभन्दा बढी मुद्दाहरू फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको दुरुपयोगबाटै भएका छन् । अधिकांश मुद्दामा अश्लील गालीगलौज, गतिविधि, मानसिक यातना र यौन शोषणको विषय जोडिएका छन् ।

प्रहरीसमक्ष खड्गीको बयान, रमाइलोका लागि गरेको हुँ

साइबर ब्यूरोको टोलीले खड्गीलाई पक्राउ गरी ल्याएपछि त्यसो गर्नुको कारणबारे सोध्दा उसले रमाइलो र यौन आनन्दका लागि मात्रै त्यसो गरेको बयान दिएको छ । प्लस टु पास गरेका खड्गीले पोर्न साइटमा अपलोड गरेको जस्तो देखिए पनि आफूले पोर्न साइटमा अपलोड नगरेको दाबी गरेको छ । यद्यपि पोर्न साइटमा ती फोटो र भिडियो अपलोड गरेको हो कि होइन भनेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 डिजिटल मिसयुज बढ्यो, अभिभावकको निगरानी पुगेन

साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्याल पछिल्लो समय डिजिटल मिसयुज बढेको बताउँछन् । अर्यालका अनुसार ब्युरोले हालसम्म १६२ वटा मुद्दा दायर गर्दा ८० प्रतिशतभन्दा बढी मुद्दाहरू फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको दुरुपयोगबाटै भएका छन् । अधिकांश मुद्दामा अश्लील गालीगलौज, गतिविधि, मानसिक यातना र यौन शोषणको विषय जोडिएका छन् ।

पछिल्लो समय लकडाउनका कारण अनलाइन क्लास हुँदा डिजिटल मिसयुज झनै बढेको एसएसपी अर्याल बताउँछन् । अनलाइन कक्षा भएपछि अभिभावकले छोराछोरीलाई मोबाइल दिने तर उनीहरूले त्यसको प्रयोग कसरी गरिरहेका छन् भनेर निगरानी नराख्दा समस्या भएको अर्यालको भनाई छ । उनी भन्छन्, ‘बालबालिकाले प्रविधिको प्रयोग कसरी गरिरहेका छन् भनेर अभिभावकले निगरानी राख्नुपर्छ । उनीहरूलाई बेमतलवी बनाएर छाडिदिने हो भने बालबालिकाहरू यस्तै समस्यामा पनि पर्न सक्छन् । प्रविधिको दुरुपयोग रोक्न त पहिले अभिभावक नै सचेत हुनुपर्छ । अभिभावकले मनिटरिङ नगर्ने हो भने बालबालिकाहरू यस्तै ट्रयापको शिकार पनि बन्न सक्छन् ।’

 एसएसपी अर्यालका अनुसार नचिनेको व्यक्तिसँग बिना कारण कुराकानी गर्नु घातक हुनसक्ने चेतावनी दिन्छन् । अझ नग्न तस्बिर र भिडियो पठाउनु त झनै खतरनाक रहेको भन्दै यसले भविष्यमा गम्भीर असर गर्न सक्ने चेतावनी दिन्छन् । उनी भन्छन्, ‘पीडित त पीडित भई नै हाले । पीडकको उमेर पनि २० वर्ष मात्रै छ । उसका अभिभावकले पनि मेरो छोराले के गरिरहेको छ भनेर निगरानी गर्नुपर्थ्यो । ऊ आफैँमा कलाकार पनि हो, तर उसको दिमागमा अपराध मौलायो । त्यस कारण को कति वर्ष भयो भन्दा पनि अभिभावकले आफ्ना सन्तानमाथि निगरानी गर्नैपर्छ । गलत बाटोमा गइरहेका भए रोक्नुपर्छ ।

 पीडितलाई ब्युरोमा सम्पर्क गर्न आग्रह

ब्युरोका एसएसपी अर्याल लव खड्गीको मोबाइलमा ४६ जना किशोरी तथा युवतीको नग्न तस्बिर तथा भिडियो पाइएको कारण पीडितलाई सम्पर्क गर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘युवकले मोबाइलमा भल्ट बनाएर ४६ जनाको नग्न तस्बिर र भिडियो राखेको पाइएको छ । उनीहरु को को हुन् भन्ने हामीलाई थाहा छैन । हामीले पीडितको पहिचान अति गोप्य राख्ने भएकाले खोज्दै हिँड्ने कुरा पनि भएन । त्यस कारण यो युवक र यस्तै प्रकृतिको अपराधबाट कोही पीडित छन् भने ब्युरोमा सम्पर्क राख्न पनि म आग्रह गर्छु । थप अपराध र क्षति नहोस् भनेर पनि हामीलाई अन्य पीडित पनि चाहिएको छ ।’

 पैसा मागे–नमागेको जानकारी भएन

प्रहरीका अनुसार यस्ता घटनाहरूमा अधिकांशले पैसासमेत माग गर्ने गरेका छन् । तर अभियुक्त अत्यन्तै बाठो र प्रविधिमा निपुण भएको कारण पीडितसँग पैसा मागेको वा नमागेको पुष्टि भइसकेको छैन । अभियुक्तले सुरुमा दीक्षालाई मात्रै त्यस्तो गरेको बताए पनि उनको मोबाइलमा ४६ जनाको अश्लील फोटो तथा भिडियो पाइएकाले अभियुक्तको कुरालाई विश्वास गर्न सकिने अवस्था छैन । यद्यपि नग्न फोटो र भिडियो लिएपछि रोमियो ट्रयापमा पारी पैसा मागेको हो वा होइन भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप