शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा मोटरबोट सरर, व्यवसायी भन्छन्– ‘अब गोवा बनाउनुपर्छ (भिडियो)

बुधबार, ०८ मङ्सिर २०७८, १२ : ०८
बुधबार, ०८ मङ्सिर २०७८

चितवन । पछिल्लो समय चितवनको नारायणी नदीमा जलयात्रा व्यवसाय फस्टाएको छ । कोरोना सङ्क्रमण दर कम भएर जनजीवन सहजरुपमा आएसँगै चितवनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नारायणघाटस्थित नारायणी नदीमा बिहानैदेखि स्टिमर अर्थात् मोटरबोटमा जलयात्राको आनन्द लिनेहरू बढेका छन् ।   

नारायणी नदीमा स्टिमर सञ्चालनको जग बसाल्ने व्यक्ति हुन् चितवनका नारायण शर्मा । उनले २०५८ सालदेखि नारायणी नदीमा मोटरबोट चलाउन सुरु गरेका थिए । शर्माले सुरुमा भरतपुर नगरपालिकाको जेटबोट सञ्चालन गरेका थिए । २०६२ सालमा कोशी ब्यारेज फुटेपछि मानिसहरुलाई नदी तार्न उनले चतरामा समेत मोटरबोट चलाएका थिए । पछि फेरि चितवन आएर उनले मोटरबोट चलाउन थाले ।

चितवनमा अहिले ८ वटा स्टिमर कम्पनी दर्ता भएका छन् । उनीहरूका २२ वटा स्टिमरमध्ये अहिले १० वटा हाराहारी मोटरबोट हरेक दिन नदीमा कुदिरहेका हुन्छन् ।

शर्मासँग अहिले ३ वटा मोटरबोट छन् । उनले २०७२ सालदेखि आफैँले मोटरबोट किनेर चलाउन थालेका थिए । उनले यो व्यवसाय थालेपछि अन्य व्यक्तिहरूले पनि उनलाई पछ्याउँदै मोटरबोट थपे ।

शर्माले रातोपाटीसँग भने, ‘यहाँ सुरुमा मैले मोटरबोट हालेको थिएँ । पछि अरूले पनि हाले । धेरै मोटरबोट हालेर हाम्रो यो नारायणी नदीलाई भारतको गोवाजस्तै बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

उनी थप्छन्– मानिसहरू मोटरबोट चढ्नलाई विदेश जाने, इन्डिया जाने गर्छन्, नेपालमै यस्तो राम्रो नदी छ, यहीँ पनि केही गरौँ न । जलयात्रा गर्न गोवा जानुपरेन, मुम्बई जानुपरेन । हाम्रै नदी किनारमा बसेर मनोरञ्जन लिएर, चिसो हावा खाएर सरर घुम्न सकिन्छ ।’

विगतका दिनमा मोटरबोट चढ्ने यात्रु कुर्नुपर्ने अवस्था रहे पनि अहिले भने मानिसहरूको चाप बढिरहेको शर्माले रातोपाटीलाई बताए । 

कोरोना सङ्क्रमणपछि भएको लकडाउनको असर मोटरबोट व्यवसायमा पनि पर्‍यो । झन्डै २ वर्ष मोटरबोट बन्द भएको शर्माले बताए । गत दसैँ तथा छठ पर्वदेखि भने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ ।  शर्माले भने, ‘कोरोनाको बेला चढ्ने पनि कोही भएन, हाम्रो व्यापार ठप्प भयो, हामीले पनि चलाएनौँ । अहिले असोजदेखि चलाउन थाल्यौँ ।’

व्यवसायी शर्मा खुसी हुँदै भन्छन्, ‘यस वर्षको छठ पर्व त नेपालको पहिलो छठ पर्व जस्तै भयो । छठका बेला यहाँ यति धेरै मान्छे थिए, कि खुट्टा राख्ने ठाउँ थिएन । दुई वर्षसम्म आत्तिएका मान्छेहरूलाई अहिले घुम्न रमाइलो भएको छ ।’

नारायणी नदी किनारको बुद्ध चोकबाट झन्डै २ किलोमिटर फन्को मारेको २५० रुपैयाँ शुल्क लाग्छ । पहिले २ सय रुपैयाँ भए पनि अहिले पेट्रोलको भाउ र नगरपालिकाको कर बढेका कारण शुल्क बढाइएको शर्माले बताए ।

झन्डै १० मिनेट जलयात्राको २५० रुपैयाँ, २० मिनेटका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । अचेल जलयात्रा गर्नेहरूको सङ्ख्या बढिरहेकाले यो सफल व्यवसायको रूपमा अघि बढिरहेको छ ।

एमालेले चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन गर्न लागेकाले चितवनको पर्यटनबारे ७७ जिल्लाका मानिसले थाहा पाउने शर्मा बताउँछन् । यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको अपेक्षा छ । अब सबै नेपालीलाई नेपालको गोवा भनेकै नारायणी नदी रहेछ भन्ने थाहा हुने शर्माको दाबी छ । -शम्भु दंगाल/गणेश दुलाल/चितवन

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप