शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३० जिल्लामा काँग्रेसको नयाँ नेतृत्व :  देउवाले थप्दा पौडेल पक्षले कति गुमायो ? (सूचीसहित)

बिहीबार, ०९ मङ्सिर २०७८, ०७ : ४०
बिहीबार, ०९ मङ्सिर २०७८

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३० जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जसमा सभापति शेरबहादुर देउवा पक्षीय १७ र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट १३ जिल्ला सभापति निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहले जितेका ८ जिल्लामा देउवा पक्षीय नेता सभापतिमा निर्वाचित भएका छन् । यस्तै १३ औं महाधिवेशनमा पौडेल समूहले १७ वटा जिल्ला सभापति जितेको थियो ।

यो पटक १३ औंमा जितेका ५ वटा जिल्ला सभापति गुमाएको छ । विहीबार विहानसम्म आएको ३० जिल्लाको परिणाम अनुसार पौडेल पक्षले १३ जिल्ला  सभापति जितेको छ । १३ औं महाधिवेशनपछि नयाँ थपिएको रुकुमपूर्वमा गरी पौडेलले १३ जिल्ला सभापति जितेको हो । यद्यपि रुकुमपूर्वका सभापति केशरमान रोका आफू पक्षीय भएको देउवा समूहको दाबी छ ।

१३ औंमा जितेका देउवा समूह निर्वाचित भएको ६ जिल्लामा पौडेल पक्षले बाजी मारेको छ । १३ औं महाधिवेशनमा १२ जिल्ला सभापति जितेको देउवा समूहले १४ औंमा १७ जिल्ला सभापति जितेको छ । प्रदेश एक र कर्णालीमा यसपटक देउवा समूहको उपस्थिति बलियो देखिएको छ ।

यसपटक देउवाको पक्षमा ५ जिल्ला सभापति थपिए

यसअघि डोल्पामा पौडेल समूहका अंगतकुमार वुढा सभापति थिए भने अब देउवा समूहबाट दीपेन्द्रबहादुर शाही सभापतिमा निर्वाचित भएका छन् । जुम्लामा पनि यसअघि पौडेल पक्षीय दिपवहादुर शाही  जिल्ला सभापति भए भने अब उनको ठाउँमा देउवा पक्षका कर्णबहादुर शाही विजयी भएका छन् । यस्तै लम्जुङमा पौडेल पक्षीय भेषबहादुर पौडेलको ठाउँमा देउवा पक्षका डा. टकराज गुरुङ निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भीमबहादुर साउद सभापति भएका छन् । १३ औं महाधिवेशनमा पनि देउवा पक्षकै कर्णबहादुर मल्ल जिल्ला सभापति थिए । पछिल्लो समय संस्थापन इत्तर निकट देखिएका मल्लले जिल्लाको अधिवेशन प्रक्रिया बहिस्कार गरेपछि साउद सहजै जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

 यस्तै पाँचथरमा यसअघि पौडेल पक्षका नरेन्द्र कुमार केरूङ जिल्ला सभापति थिए भने यसपटक देउवा निकट रुपनारायण जवेगु नेतृत्वमा आएका छन् । सल्यानमा पनि पौडेल पक्षीय गणेश चन्दको विकल्पको रुपमा देउवा समूहका केसबहादुर बिष्ट जिल्ला सभापति आएका छन् ।

मनाङमा यसअघि देउवा पक्षीय टेकबहादुर गुरूङ जिल्ला सभापति थिए भने यसपटक पनि देउवा पक्षीय शंकर गुरुङ जिल्ला सभापति बनेका छन् । हुम्लामा देउवा पक्षीय जयपति रोकायको ठाउँमा देउवा पक्षकै मोहनविक्रम सिंह सभापति बनेका छन् ।

यता ताप्लेजुङमा पौडेल पक्षीय लीला बोखिमको विकल्पमा देउवा निकट गजेन्द्र तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन् । यस्तै रामेछापमा पौडेल समूहका लवश्री न्यौपानेलाई विस्थापित गरी देउवा पक्षीय कान्छाराम तामाङ जिल्ला सभापति बनेका छन् ।

मुगुमा पनि यसअघि पौडेल पक्षीय खड्गवहादुर शाही जिल्ला सभापति थिए भने यसपटक देउवा समूहका ऐनबहादुर शाही सभापति विजयी भएका छन् । म्याग्दीमा भने देउवा पक्षीय खमवहादुर (खमबीर) गर्बुजा जिल्ला सभापतिमा दोहोरिएका छन् ।

बझाङमा देउवा पक्षका हर्कजंग बहादुर सिंहको विकल्पमा देउवा निकट खडक बोहरा जिल्ला सभापति बनेका छन् । यस्तै जाजरकोटमा पनि देउवा पक्षीय दिपकजंग शाह जिल्ला सभापति थिए भने अब काँग्रेस जाजरकोटको नेतृत्व वेदराज सिंहको काँधमा पुगेको छ ।

डोटीमा देउवा पक्षीय वर्तमान सभापति प्रदीप देउवालाई विस्थापित गरेर देउवा पक्षकै नरेन्द्र सिंहले नेतृत्व हत्याएका छन् । ओखलढुंगामा देउवा पक्षका प्रदीपकुमार सुनुवार जिल्ला राजनीतिबाट रिङआउट भएपछि देउवा पक्षकै तेजेन्द्र खनाल जिल्ला सभापतिका निर्वाचित भएका छन् । यस्तै रुकुम पश्चिमा देउवा पक्षीय प्रेमप्रकाश वली सर्वसम्मत जिल्ला सभापतिमा दोहोरिएका छन् । 

खुम्चियो पौडेल समूह

३० जिल्लाको नतिजामा पौडेल समूह केही खुम्चिएको छ । नयाँ थपिएको रुकुमपूर्व गरी १३ जिल्ला सभापति जितेको पौडेल समूहले विगतको उपस्थिति जगाउन सकेन । यद्यपि १३ जिल्ला जित्दै गर्दा देउवाको गड मानिएका तीन जिल्लाको सभापति आफ्नो पक्षमा परेको छ । दोलखा, बाजुरा र गोरखामा पौडेल समूहले देउवा पक्षीय जिल्ला सभापति विस्थापन गरेको छ ।

यसअघि गोरखामा देउवा पक्षीय हरिबहादुर घले जिल्ला सभापति थिए भने अब नन्दप्रसाद न्यौपानेको हातमा जिल्ला नेतृत्व पुगेको छ । यस्तै दोलखामा देउवा समूहमा रुद्रबहादुर खड्कालाई विस्थापित गरी पौडेल पक्षीय बर्मा लामा जिल्ला सभापति बनेका छन् ।

देउवाको गृहप्रदेश सुदूरपश्चिमको बाजुरामा उनी निकट कविराज पण्डित जिल्ला सभापतिमा पराजित भए । पण्डितलाई हराएर पौडेल समूहका रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

देउवा पक्षलाई पराजित गरेपछि वरिष्ठ नेता पौडेलले सुदूरपश्चिममा पनि परिवर्तन सम्भव भन्ने सन्देश दिएको बताएका थिए । ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो,’ उनको भनाइ थियो ।

सुदूरपश्चिमको बैतडीमा पौडेल पक्षले जिल्ला सभापति पद सुरक्षित पारेको छ । देउवा पक्षीय केन्द्रीय सदस्य रमेश लेखकको समर्थनपछि बैतडीमा पौडेल पक्षीय चतुरबहादुर चन्द जिल्ला सभापति भएका छन् । यसअघि पनि पौडेल पक्षीय नरेन्द्रसिंह थापा जिल्ला सभापति थिए ।

भोजपुरमा देउवा पक्षीय​नन्दमणी राईलाई विस्थापित गरी पौडेल समूहका विनोद बान्तावा जिल्ला सभापति भएका छन्  । यस्तै प्यूठानमा यसअघि पौडेल पक्षीय अमरप्रसाद भण्डारी  जिल्ला सभापति थिए । यसपटक पनि पौडेल पक्षीय विष्णुकुमार गिरी जिल्ला सभापति भएका छन् ।

अर्घाखाँचीमा विष्णुप्रसाद खनालको ठाउँमा पौडेल पक्षीय केशव श्रेष्ठ जिल्ला सभापति बनेका छन् । मुस्ताङमा पौडेल पक्षीय याङजिङ विष्ट जिल्ला सभापति थिए । यसपटक रोमी गौचन थकाली जिल्ला सभापतिका रुपमा निर्वाचित भएका छन् । यस्तै संखुवासभामा दिपनकुमार श्रेष्ठलाई विस्थापन गरी पौडेल पक्षकै दिपक खड्का जिल्ला सभापति चुनिएका छन् ।


कालिकोटमा हर्षवहादुर बमलाई विस्थापित गरी अम्मबहादुर शाही जिल्ला सभापति बनेका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहबाट जिल्ला सभापति निर्वाचित भएका बम पछिल्लो समय सिटौला निकट थिए ।

अब कालिकोटमा पौडेल पक्षकै जिल्ला सभापति भएका छन् । यस्तै रोल्पाका जिल्ला सभापति अमरसिंह पुनको ठाउँमा पौडेल पक्षकै किशोर आचार्य निर्वाचित भएका छन् ।

तेह्रथुममा पनि पौडेल पक्षीय जिल्ला सभापतिमा गोविन्द ढुंगाना थिए ।  यसपटक तेह्रथुममा पौडेल पक्षीय अुर्जुन तुम्बाहाम्फे जिल्ला सभापति भएका छन् । 

संघीय संरचनामा गएसँगै रुकुम टुक्रिएर रुकुमपूर्व र रुकुमपश्चिम बनेको छ । पार्टी संरचनालाई संघीय संरचनामा लिँदा रुकुम पूर्वको संयोजक केशरमान रोका बनेका थिए । १४ औं महाधिवेशनबाट पनि उनी जिल्ला सभापति भएर आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप