ad
सन्दर्भ : उद्योग दिवस

यी पाँच उत्पादनमा आत्मनिर्भर बन्दैछ नेपाल

person explore access_timeमंसिर ९, २०७८ chat_bubble_outline0

नेपालमा खपत हुने सबैजसो वस्तु विदेशबाट आइरहँदा पाँच प्रकारका वस्तु उत्पादनमा नेपाल आत्मनिर्भर बन्नसक्ने देखिएको छ । उद्योग विभागले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार चिया, पेन्ट्स, केबल तार, जुत्ताचप्पल र जस्तापाताको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने सम्भावना देखिएको हो ।


नेपालमा भइरहेको उत्पादन र बजार मागले यी वस्तुमा नेपाल आत्मनिर्भर बन्न सक्ने देखिएको हो । तर, यसका लागि अझै धेरै लगानी आवश्यक पर्ने विभागको प्रतिवेदनले औंल्याएको छ ।



चिया



नेपालमा मूख्यगरी दुई प्रकारका चिया उत्पादन हुँदै आएको छ । झापा जिल्लामा सीटीसी र पहाडी क्षेत्रमा अर्थोडक्स तथा ग्रीन चिया उत्पादन हुने गरेको छ । अर्थोडक्स र हरियो (ग्रीन) चिया इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लामा उत्पादन गर्ने गरिएको छ ।



नेपालमा हाल १४६ वटा चिया स्टेट र १४ हजार १४ जना साना चिया किसान छन् । कुल १६ हजार ९०५ हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको छ । सञ्चालितमध्ये ठूला चिया स्टेटले ७२ प्रतिशत जमिन ओगटेका छन् भने साना स्टेटले २८ प्रतिशत भूमि ओगटेको देखिएको छ ।





सन्, २०७६/७७ मा नेपालमा २४ हजार मेट्रिकटन चिया उत्पादन भएको थियो । यसमध्ये १४ हजार ९७७ मेट्रिकटन सीटीसी, ८ हजार २५१ मेट्रिकटन अर्थोडक्स र ८८९ मेट्रिकटन हरियो चिया उत्पादन गरिएको थियो ।

भन्सार विभागले हरेक वर्ष सार्वजनिक गर्ने तथ्यांकअनुसार विगत ५ वर्षमा चियाको आयात घट्दो क्रममा देखिएको छ । यस्तै, नेपालमा उत्पादित चिया भारत, चिन, हङकङ, अष्ट्रेलिया, जापान, यूरोप र अमेरिकामा समेत निर्यात हुने विभागले जानकारी दिएको छ । नेपालमा उत्पादन हुने चियाको सम्पूर्ण कच्चा पदार्थ स्वदेशमै उत्पादन हुँदै आएको छ ।

केबल र कन्डक्टर

नेपालमा कूल २५ वटा विद्युतीय केबल उत्पादन गर्ने उद्योग छन् । यी उद्योगले आफ्नो उत्पादन क्षमताको ४० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । नेपालमा कन्डक्टर भारत र चीनबाट आयात हुँदै आएको छ । यस्तै, केबल र कन्डक्टरको कच्चा पदार्थ थाइल्याण्ड, दक्षिण कोरिया र जर्मनीबाट आयात हुन्छ ।

केबल र कन्डक्टर उद्योगमा प्रत्यक्ष रूपमा एक हजार र अप्रत्यक्षरूपमा पाँच हजार जनाले रोजगारी पाएका छन् । यी उद्योगले विद्युतीय तार, केबुलहरू, कन्डक्टरहरू, दूरसञ्चार केबलु र अटो केबुल लगायतका तार उत्पादन गर्छन् ।

पहिलोपटक केबल र कन्डक्टर उद्योगको रूपमा सन् १९७७ मा लुम्बिनी विद्युत उद्योग स्थापना भएको थियो । 

जुत्ताचप्पल

सरकारको स्वामित्वमा रहेको बाँसबारी छालाजुत्ता कारखाना निजीकरण भएपछि नेपालमा फुट्वेयर व्यवसाय विस्तार हुन थालेको थियो । फुटवेयर व्यवसायमा ६ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये ३० प्रतिशत महिला छन् । रोजगारी पाएका महिलामध्ये २० प्रतिशत प्रशासनमा छन् । 

हालसम्म ६वटा ठूला, १५ मध्यम, ३०० साना र १२ सय लघु जुत्ताचप्पल उद्योग छन् । आर्थिक वर्ष २०७६/७७ मा नेपालभित्रै साढे ४ करोड जोर जुत्ताचप्पलको आन्तरिक उत्पादन भएको थियो । जुत्ताचप्पलको वार्षिक माग भने साढे ७ करोड जोर आसपास छ । नेपालबाट जुत्ताचप्पल निर्यात पनि भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ५६ लाख जोडी जुत्ताचप्पल निर्यात गरिएको थियो ।

रंग (पेन्ट्स) उद्योग

नेपालमा खुलेको पहिलो रङ उद्योग पशुपति पेन्ट्स हो । यो उद्योग सन् १९८४ मा सनुसरीमा स्थापना खोलिएको थियो । यसपछि एशियाली पेन्ट्स लिमिटेड भारतको सहायक कम्पनीका रूपमा सन् १९८३ मा एशियन पेन्ट्स स्थापना भएको थियो । रंग उद्योगको कूल क्षमता २ लाख मेट्रिकटन छ भने वार्षिक उत्पादन १ लाख १८ हजार मेट्रिकटन् छ ।

रङ उद्योगको बजारमा कूल २० अर्ब रुपैयाँ लगानी रहेको व्यवसायीहरू बताउँछन् । नेपालमा हुने गरेको कूल मागको ९० प्रतिशत घरेलु उत्पादनले नै धान्छ । नेपालमा १९ वटा साना/ठूला रंग उद्योग छन् । रंग उद्योगले पाँच हजार ६०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । 

जस्तापाता

नेपालको पहिलो जस्तापाता उद्योग हुलास स्टील इन्डस्ट्री हो । यो उद्योग सन् १९८३ मा बारा जिल्लामा स्थापना गरिएको थियो । पहिलो रंगीन जस्तापाता पनि यही उद्योगले उत्पादन शुरू गरेको थियो । 

हाल नेपालमा पाँच जस्तापाता उद्योग सञ्चालनमा छन् । नेपालका जस्तापाता उद्योगको कूल क्षमता ६ लाख मेट्रिकटन भएपनि वार्षिक २ लाख ९८ हजार मेट्रिकटन मात्रै उत्पादन हुँदै आएको छ ।  नेपालमा वार्षिक तीन लाख मेट्रिकटन जस्तापाता माग हुने गरेको छ ।

नेपालबाट जस्तापाता विदेशमा पनि निर्यात भइरहेको छ । यी उद्योगमा प्रत्यक्ष रूपमा १५ सय जनाले रोजगारी पाएका छन् । उद्योगहरूले हाल १० मेगावाट विद्युत खपत गर्दै आइरहेका छन् भने सबै जस्तापाता उद्योगमा कूल २.५ अर्ब रुपैयाँ बराबर लगानी भएको उद्योगीहरू बताउँछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।