बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

'काँग्रेस–एमालेका युवा नेताले सकेनन्, मैले आँट गरेँ'

अब पनि नेतृत्व परिवर्तन भएन भने हामी प्रजा परिषद्को बाटोमा जान्छौँ : राजेन्द्र लिङदेन
बिहीबार, ०९ मङ्सिर २०७८, १२ : ४६
बिहीबार, ०९ मङ्सिर २०७८

राप्रपाका नेता राजेन्द्र लिङदेनले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । अब पनि नेतृत्व परिवर्तन भएन भने हामी प्रजा परिषद्को बाटोमा जाने उनले जिकिर गरेका छन् । पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङदेनले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको पनि स्पष्ट परे । कार्यक्रममा उनले राखेको धारणा जस्ताको त्यस्तै :

राप्रपाको अध्यक्ष को हुने त ? कसले विकल्प दिन्छ त ? हाम्रो अध्यक्ष भए मात्र राप्रपा चल्छ भन्ने होइन । उहाँहरू नभए पनि राप्रपा चल्छ । उहाँले राप्रपामा आफ्नो विकल्प तयार पारिसक्नु भएको छ । मलाई धवल शमशेर राणाले अध्यक्षमा अगाडि सार्ने प्रस्ताव गर्नुभएको छ, त्यसलाई स्वीकार गर्दैछु । नेतृत्व परिवर्तनको कार्यकर्ताको चाहना अनुसार म नेतृत्वमा उम्मेदवारी घोषणा गर्दै छु । नेतृत्व परिवर्तनको कुरा बाहिर आएजस्तौ होइन । हामी उहाँहरूलाई गाली गर्न चाहन्नौँ । उहाँहरू असफल भएको भए हामी विकल्पका रूपमा आउन सक्ने थिएनौँ । तर राप्रपाको दुई दशक दुःखद रह्यो । हामी राष्ट्रिय राजनीति पार्टी नै बन्न नसक्ने अवस्था आयो ।

पछिल्लो पार्टी एकीकरणमा मैले पार्टी अध्यक्षत्रयलाई भनेको थिएँ – तपाईंहरूलाई यो अन्तिम मौका हो । तर यो दुई वर्षमा उहाँहरूबीच एकता हुन सकेन । उहाँले पार्टीलाई बन्धक बनाउनुभयो । राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने हाम्रो पार्टी इतिहासकै कमजोर किन भयो ? राजसंस्था र हिन्दु राष्ट्रप्रति यत्रो समर्थन देखिएको छ । तर हामी कमजोर भएका छौँ । अब नेतृत्व परिवर्तन भएन भने हामी प्रजा परिषद्को बाटोमा जान्छौँ । काँग्रेस, एमालेलाई असफल हुने छुट छ । तर हामीलाई त्यो छुट छैन ।

अहिले काँग्रेस र कम्युनिस्ट पार्टीहरू ठूला भए पनि जनताको अगाडि मुख देखाउने अवस्था छैन । त्यसैले राप्रपा अगाडि आउन सक्नुपर्छ । राप्रपा बलियो भएमा हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापना हुन्छ । त्यसैले हामीलाई असफल हुने छुट नै छैन । यो राप्रपाका नेता कार्यकर्ताका लागि अग्नि परीक्षा हो । हामी ३१ वर्षदेखि राप्रपामा रहेको खराबीको अन्त्य गर्न चाहन्छौँ । अब हामी पशुपतिशमशेर राणा, प्रकाशनचन्द्र लोहनी र कमल थापाका कार्यकर्ता हुने कि स्वाभिमानी राप्रपाका कार्यकर्ता बन्ने भन्ने यो सुवर्ण अवसर हो ।

अब पार्टीमा नेतृत्व मात्र परिवर्तन मात्र हुँदैन । पार्टीमा रहेका गुटगत परम्पराको अन्त्य हुन्छ । राप्रपामा आएको परिवर्तन अन्य पार्टीका लागि पनि सन्देश हुन्छ । किनभने काँग्रेस, एमाले र माओवादीका युवा नेताहरूले आँट गर्न सक्नुभएन । नेतृत्व परिवर्तनको धक्कु लगाएर आफ्नो पद मात्र सुरक्षित गर्नुभएको छ । राप्रपाले नेतृत्व परिवर्तन गरेर उदाहरण बन्दै छ ।

नेतृत्व हस्तान्तरणको कुरा गर्दा हाम्रा तीन जना अध्यक्षहरू तयार हुनुभएन । हामीले जबरजस्ती गर्नु परेको छ । अब राप्रपामा नेतृत्वको हस्तान्तरण पनि सहज हुनेछ ।

नेपालको राजनीतिमा एउटा सरकार पूरा टिक्न सकेको छैन । त्यसका पछाडि नेतृत्व हस्तान्तरण सहज नहुँदा हो । नेतृत्वमा पुगिसकेपछि कि घिसारेरै हटाउनुपर्ने नत्र ब्रह्मनालसम्म पुग्नुपर्ने अभ्यास छ । मेरो उम्मेदवारी तपाईंको विरुद्धमा होइन । राप्रपा जीवित रहे मात्र तपाईं राप्रपाको अध्यक्ष हुनुहुन्छ । राप्रपा रहेन भने तपाईंको इतिहास कहाँ रहन्छ ? तपाईंले राप्रपाको कार्यकर्तालाई अलमलमा नपारिइदिनुस् । म फेरि पनि भन्छु तपाईंको विरुद्धमा यो उम्मेदवारी होइन । हाम्रो यो कदमले बलियो बनाउन छ । महिलाले ९ महिनासम्म बच्चा पाउन नसकेन भने चुरा चलाउनुपर्छ । हामीले चुरा चलाएका छौँ । उहाँहरू राप्रपाको आमा हो भने राजेन्द्र लिङदेन बच्चा हो । त्यसैले राप्रपा बाउन चुरा चलाउँदा अलिकति चस्स हुन सक्छ । पछि उहाँहरू मुस्कुराउनु हुन्छ ।  अब हामी रोकिने अवस्था छैन ।

धवल शमशेर राणालाई महामन्त्री हुने पनि म घोषणा गर्न चाहन्छु । हाम्रो पार्टीमा युवाको उपस्थिति बलियो देखिएको छ । अब हामी हिन्दु राष्ट्र र राजसंस्थाका लागि सडक र सदनबाट अगाडि बढ्छौँ । संसद्मा दुई तिहाइ ल्याएर राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापन गर्छौँ । त्यो सम्भव नभए सडकबाट भएपछि हामीले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना हुन्छ । हाम्रो पार्टी भ्रष्टाचारविरुद्धमा खरो उत्रिन्छ । मैले अहिलेसम्म पनि कहीँ पनि भ्रष्टाचार छैन । म जुनसुकै मन्दिरमा पनि घुम्न तयार छु । म ५६ वर्षको भएँ । अब पार्टी चलाउन सक्षम छु ।  आर्थिक रूपमा पनि पार्टीलाई समस्या हुने छैन । कुनै विदेशी शक्तिबाट पैसा लिने छैनौँ । हाम्रै कार्यकर्ताबाट पार्टी चलाउन सकिन्छ । अब पार्टीमा एक व्यक्तिलाई सात ठाउँमा जिम्मेवारी दिइने छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप