ad

एमालेमा हुर्कँदो राजतन्त्र

person explore access_timeमंसिर ९, २०७८ chat_bubble_outline1

नेपालका मुख्य राजनीतिक दलहरू यतिबेला आ–आफ्ना महाधिवेशनमा होमिएका छन् । राजनीतिक पार्टीका लागि महाधिवेशन एक आवस्यक र अनिवार्य प्रक्रिया हो । यसले पार्टी जीवनमा पुनर्ताजगी पैदा गर्दछ । नेपालको संविधान र निर्वाचन कानुनले राजनीतिक दलहरूलाई आवधिक महाधिवेशन अनिवार्य शर्त बनाइदिएको छ ।


संविधानको धारा २९६ ले राजनीतिक दलहरूको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा ५ वर्षभित्र हुन नसके त्यसको ५ महिना थप गर्न सकिने व्यवस्था संविधानमा छ । त्यसको परिपालना गर्दै दलहरूले आफ्ना महाधिवेशन गर्न ढिला भैसकेका कारण हतार हतार महाधिवेशन सम्पन्न गर्न उद्धत छन् ।



कर्मकाण्डी महाधिवेशन



नेकपा एमाले यतिबेला एकता र विभाजनको कटु अनुभव सँगालेर दशौं महाधिवेशनको आयोजना गर्दैछ । उसले भर्खरै ललितपुरमा विधान अधिवेशन सकेर चितवनमा महाधिवेशनको तयारी गरेको हो । नेकपा विभाजन लगत्तै एमाले विभाजनको पनि (सुखद ?) परिणाम व्यहोरेको एमाले महाधिवेशनमा अघिल्ला पटकमा झैं धेरैको चासो र ध्यानाकर्षण रहेको देखिन्न । किनकी एमाले महाधिवेशन यसपटक एउटा कर्मकाण्डी औपचारिकतामा सम्पन्न हुन गइरहेको छ ।



माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले पार्टी छाडेर गैसकेको र पार्टीमा अध्यक्ष केपी ओलीको एकलौटी बर्चस्व रहेको सन्दर्भमा उनैलाई स्थापित गर्नेगरी नेतृत्व चयनको विधि पुर्याउनु बाहेक महाधिवेशनको अर्को खास कार्यभार छैन । 



अहिले एमालेमा न त कुनै विचारको बहस छ, न वैकल्पिक नेतृत्वबारे कुनै बहस छ । जनताको बहुदलीय जनवादलाई थप व्याख्या, परिस्कृत र समृध्द तुल्याउने खाँचो पनि एमालेले जरुरी ठानेको छैन । ‘जवज–जिन्दावाद’ भन्न पाए पुगिहाल्छ । एमालेका लागि विचार, राजनीति, दर्शन, संगठन, नेतृत्व सबैथोक अहिले केपी बा हो । नेतृत्वमा प्राधिकार स्थापित गर्ने ढंगले अगाडि बढिरहेको एमालेमा ‘केपी बा आई लभ यु’ भन्नेहरू बाहेक अरु बाँकी छैनन्,एकाध छन् भने पनि मरेतुल्य छन् । विगतमा संसद विघटनपछि केहीदिन प्रतिगमनकारी भन्दै ओली बा प्रति कटाक्ष गर्ने, कराउनेहरू पनि अहिले भिजेको बिरालोझैँ लुत्रुक्क परेर ‘केपी बा’कोशरण परेका छन् । 



हिजो सडकमै उत्रेर नेतृत्वको विरुध्दमा उत्पात कराउनेहरू आज एक्कासी किन चुप छन् वा किन भक्तिगान गर्दैछन् बुझ्न कठिन छैन । किनकी, ओली बा को पार्टीमा उनको विरोध र आलोचना गर्नेहरूको खैरियत छैन भन्ने कुरा तथाकथित प्रतिगमन विरोधी वागी नेताहरूलाई राम्रोसँग थाहा छ । त्यसैले, उनीहरू कि मौन छन् कि महिमा गाउन व्यस्त छन् ।

पात्र, प्रवृत्ति र परिस्थितिमा फेरबदल नभएको अवस्थामा उनीहरूको नेतृत्व भक्तिमा १२० डिग्रीको फरक देखापर्नु आश्चर्यजनक मात्र छैन, अस्वभाविक पनि छ । उनीहरू हिजो नेतृत्वको आलोचना गर्दा ठिक थिए या आज नेतृत्वको भक्तिगान गर्दा ठिक छन्, त्यसको जवाफ एकदिन दिनैपर्छ ।

अहिले एमालेमा न त कुनै विचारको बहस छ, न वैकल्पिक नेतृत्वबारे कुनै बहस छ । जनताको बहुदलीय जनवादलाई थप व्याख्या, परिस्कृत र समृध्द तुल्याउने खाँचो पनि एमालेले जरुरी ठानेको छैन । ‘जवज–जिन्दावाद’ भन्न पाए पुगिहाल्छ । एमालेका लागि विचार, राजनीति, दर्शन, संगठन, नेतृत्व सबैथोक अहिले केपी बा हो ।

हेटौंडा महाधिवेशनको झल्को
एमाले महाधिवेशनको अहिलेको तामझाम ठ्याक्कै ०६९ सालमा माओवादीको हेटौंडा महाधिवेशनको जस्तै छ । झण्डै १० बर्षपछि उस्तै परिस्थितिको सामना गर्दै एमाले महाधिवेशन हुँदैछ । उ बेला माओवादी देशको सबैभन्दा ठूलो दल थियो, अहिले एमाले ठूलो दल छ । उ बेला माओवादीबाट वैद्य, बादल, विप्लवहरु फुटेर गएका थिए ।

अहिले एमालेबाट माधव, झलनाथ, वामदेवहरू अलग्गिएर गएका छन् । उ बेला माओवादीको तामझाम र फूर्तिफार्ति अहिले एमालेको भन्दा कम थिएन । त्यसबेलाको माओवादीले जस्तै महाधिवेशनको एक बर्षपछि एमालेले आम चुनावको सामना गर्नेछ ।

पार्टी फुटको असर र सरकारमा रहेर जनताको पक्षमा अपेक्षाकृत काम गर्न नसकेको यथार्थलाई नजरअन्दाज गर्दै एकलौटी बहुमत ल्याउने दावाका साथ २०७० सालको आमचुनावमा जाँदा उतिबेला माओवादीको जे हालत भयो, अहिले एमालेको पनि त्यहि हालत हुन्छ भनि ठोकुवा गर्न नमिले पनि अनुमान गर्न सकिन्छ । उ बेला प्रचण्ड–बाबुरामको मेची–काली अभियानमा जम्मा भएको भीड र जनलहर अहिले ओली बा वरिपरि जम्मा हुने भीडजस्तै थामिनसक्नु थियो ।

माओवादीभन्दा एमाले अलि बढी व्यवस्थित, संगठित र परिपक्व देखिन्छ । त्यो भनेको नौ लाख हाराहारी पार्टी सदस्य रहेको जनमत हो । त्यति जनमतले एमालेलाई उनीहरूले दावा गरेझैं बहुमतका साथ सत्तामा फेरि पुर्याउँदैन । त्यसमा जनताको विश्वास, भरोसा र आकर्षण जोडिनुपर्छ ।

एमाले–माओवादी बीचको एकतालाई सत्तामा जाने भर्‍याङ मात्र ठान्ने, पार्टी विभाजनका लागि मलजल गर्ने र विभाजन हुँदा हर्षबढाइँ गर्ने, आफ्नो बहुमत रहेको संसदलाई पटक–पटक संविधान मिचेर विघटन गर्ने, सहयात्री नेताहरूलाई अपमानित र गालीगलौज गर्दै पार्टीबाट निकाल्ने, कामभन्दा कुरा बढी गर्ने आदि आरोप खेपिरहेका एमाले नेतृत्वलाई तुलनात्मक रुपमा व्यवस्थित पार्टी र सुदृढ संगठनको जामाले मात्र थेग्न सक्छ कि सक्दैन, त्यो हेर्न निर्वाचनसम्म कुर्नैपर्छ ।

एमालेका लागि अहिले ओली बा नै सबैथोक हो । पार्टी, सिद्धान्त र विचारभन्दा माथि ओली बालाई राखेर कस्तो कम्यूनिष्ट आदर्श र संस्कार एमालेले सिकाउन खोज्दैछ थाहा छैन । यस्तो रवैयाले पार्टीमा एकलव्य र श्रवणकुमार हैन लिनप्याओ मात्र जन्मन्छन् भन्ने हेक्का उसलाई हुनुपर्ने हो । लेनिनवादी सांगठनिक पद्दति र सामूहिक नेतृत्व प्रणालीलाई तिलाञ्जली दिएर एमालेले पार्टी भित्रको राजतन्त्रलाई स्थापित गर्न खोजेको प्रष्टै देखिन्छ । 

खै आन्तरिक लोकतन्त्र ?
एमालेमा आन्तरिक लोकतन्त्र मजबुत थियो । पार्टी कमिटीहरू चुस्त, दुरुस्त र व्यवस्थित थिए । वडा तहदेखि केन्द्रसम्म अधिवेशन भएर जनवादको अभ्यास गर्दै कमिटी प्रणाली चुनिन्थे, जहाँ नेताहरूले गुटगत आग्रह पूर्वाग्रह पालेर कसैलाई निषेध गर्न खोजे पनि कार्यकर्ताले विवेक पुर्याउँथे ।

काम र क्षमताका प्रदर्शन गरेर अगाडी बढ्न एमालेमा प्रसस्त ठाउँ थियो । नेताहरूले बनाएका प्यानल र जारी गरेका गुटगत ह्वीप परवाह नगरी विवेकसम्मत फैसला गर्दथे । नवौं महाधिवेशन त्यसको एउटा सुन्दर उदाहरण हो ।  तर, अहिले परिस्थिति भिन्न छ । ओली बाले नचाहेसम्म एमालेमा कसैको दाल गल्नेवाला छैन । काम, लगनशीलता र ईमान्दारीताको खास अर्थ छैन अचेल । नेतृत्वको अघिपछि लागेर स्तुतीगान गाउनु पर्दछ । भगवान्झैं मानेर पूजाआजा गर्नुपर्दछ । धुप, दीप, नैवेद्य चढाउनु पर्दछ, तब मात्र भगवान्रुपी ओली बा खुसी भएर तथास्तु भन्नेछन् ।

यही मान्यता तलदेखि माथिसम्म स्थापित भएको छ । त्यसैको सिको गर्दै माओवादीबाट गएका नेताहरू पनि अरुभन्दा अगाडी बढेर ‘गोपीकृष्ण कहु’ भन्न थालेका छन् । उनीहरूको आवाज यति धेरै कर्कश सुनिन्छ कि भनिसाध्य छैन । उनीहरूले अस्वभाविक चाकडी भजाउनुभन्दा मौन बसेकै बढी सुहाउँछ । 

विगतमा राक्षसीकरण गरिएका अध्यक्ष ओली बाको तात्कालीन प्रवृत्ति, चरित्र, अहमता आदिमा तात्विक परिवर्तन नआई नेताहरूले क्षणभरमा देवत्वकरण गर्न थाल्छन् भने बुझ्नु पर्दछ पार्टीभित्र आलोचनात्मक चेतको सत्यानाश भएको छ । आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने भीम रावलको घोषणालाई समेत आश्चर्यजनक र अस्वाभाविक कदमको रुपमा एमालेपंक्तिले व्याख्या गर्दैछ ।

अरु त अरु, हिजोका १० बुँदेवाला वागी नेताहरूसमेत रावलको यो कदमप्रति जिव्रो टोकेर अस्वाभाविक मानिरहेका छन् । जित–हार त परको कुरा, ओली बा विरुद्ध उमेदवारी दिने आँट गर्नु नै रावलका लागि सानोतिनो जित हो । यद्यपि, धेरैलाई शंका छ, उनको उमेदवारी घोषणा अरु नै कुनै पदका लागि बार्गेनिङ फण्डा हो, वास्तविक उमेदवारी हुने छैन । त्यसो गरेभने आवेशमा आई सांसदबाट राजीनामा गर्दा घटेको वजन अरु बढी घटेर प्वाँखजस्ता हल्का हुनेछन् उनी ।

अहिले सर्वसम्मतको नाममा पार्टीभित्र आन्तरिक लोकतन्त्र अर्थात् जनवादको अभ्यासलाई पनि बन्ध्याकरण गर्न खोजिँदैछ । त्यसमा पनि आफूले चाहेको पदमा सर्वसम्मत, नचाहेको पदमा प्रतिस्पर्धाको दोहोरो मापदण्ड बनाईंदै छ । को को के के पदाधिकारी बन्ने भन्नेकुरा महाधिवेशन प्रतिनिधिले हैन, सबै ओलीबाले तय गर्नेछन् । त्यसैले त सबैजना अहिले ओलीबाको मुख ताकेर बसेका छन् । आकांक्षीहरूको चित्त बुझाएर सर्वसम्मत नेतृत्व चयन गर्नु एमालेका लागि यतिवेला फलामको च्युरा चपाउनुसरह हुनेछ । 

एमालेले ओली बाको देवत्वकरण गर्दै व्यक्तिपूजालाई यतिधेरै प्रश्रय दिएको छ कि कम्युनिष्ट पार्टी हो भन्न नै लाज लाग्ने अवस्था बनाएको छ । चाकडी र व्यक्तिपूजा सामन्तवादी सोचको अवशेष हो । सामन्ती राजतन्त्रमा पनि नभएको चाकडी संस्कार र चरम व्यक्तिवाद अहिले एमालेमा हुर्कँदो सर्वोपरि ग्राह्य गुण हो । 

एमालेका लागि अहिले ओली बा नै सबैथोक हो । पार्टी, सिद्धान्त र विचारभन्दा माथि ओली बालाई राखेर कस्तो कम्युनिष्ट आदर्श र संस्कार एमालेले सिकाउन खोज्दैछ थाहा छैन । यस्तो रवैयाले पार्टीमा एकलव्य र श्रवणकुमार हैन लिनप्याओ मात्र जन्मन्छन् भन्ने हेक्का उसलाई हुनुपर्ने हो । लेनिनवादी सांगठनिक पद्दति र सामूहिक नेतृत्व प्रणालीलाई तिलाञ्जली दिएर एमालेले पार्टी भित्रको राजतन्त्रलाई स्थापित गर्न खोजेको प्रष्टै देखिन्छ । 

नेतृत्वको केन्द्रीकरण, ओठेभक्ति र स्तुतीगानले पार्टीलाई फाइदा होइन, क्षति गराउँछ भन्ने कुरा माओवादीको प्रचण्डपथबाट पाठ सिक्नुपर्ने हो । प्रचण्डपथ होइन, प्रचण्डवाद नै भन्नुपर्छ भन्दै अस्वभाविक प्रशंसा गर्नेहरू आज प्रचण्डसँग छैनन्, धारे हातले सराप्दै अन्यत्रै पुगेका छन् । त्यसैले, स्तुतीगान र अति प्रशंसामा रमाउने गल्ती एमाले नेतृत्वले नगरेकै जाती हुन्छ ।

ओली बा वा एमालेको ओरालो यात्रा सुरु भएपछि सबैभन्दा चर्को स्वरमा गाली गर्ने र धारे हात लगाएर साथ छोड्ने पनि सबैभन्दा पहिले तिनै आज पूजा गर्नेहरू हुन्छन भन्ने कुरा एमाले नेतृत्वले हेक्का राखोस् । भीडकै कुरा गर्ने हो भने पनि राजतन्त्रको अन्तिम दिनतिर राजा ज्ञानेन्द्रको सवारीमा देखिने भीडलाई नियाले पुग्छ । राजतन्त्र ढल्दा त्यही भीड गणतन्त्रको दीपावली गर्न सडकमा ओर्लेको थियो । आँखै अगाडिको त्यो ताजा घटनालाई हृदयङ्गम गर्न सके एमालेभित्र राजतन्त्र हुर्कने थिएन कि ?

ओली बा वा एमालेको ओरालो यात्रा सुरु भएपछि सबैभन्दा चर्को स्वरमा गाली गर्ने र धारेहात लगाएर साथ छोड्ने पनि सबैभन्दा पहिले तिनै आज पूजा गर्नेहरू हुन्छन भन्नेकुरा एमाले नेतृत्वले हेक्का राखोस् । भीडकै कुरा गर्ने हो भने पनि राजतन्त्रको अन्तिम दिनतिर राजा ज्ञानेन्द्रको सवारीमा देखिने भीडलाई नियाले पुग्छ । राजतन्त्र ढल्दा त्यही भीड गणतन्त्रको दीपावली गर्न सडकमा ओर्लेको थियो । आँखै अगाडिको त्यो ताजा घटनालाई हृदयङ्गम गर्न सके एमालेभित्र राजतन्त्र हुर्कने थिएन कि ?

एमाले विधान अधिवेशनले केपी ओली सरकारको पालामा भएको संसद् विघटन बाध्यात्मक भएको उल्लेख गरेको भएपनि त्यसबारे थप छलफल हुनुपर्ने माग पार्टीमा सेलाएको छैन । खासगरी विगतमा माधव नेपाल समूहमा लागेर अध्यक्ष ओलीलाई प्रतिगमनको नाइके बताउँदै आएका १० नेताहरूका १० बुँदे रोदनका बारेमा छलफल हुनुपर्ने माग जारी नै छ । यद्यपि यो रोदन र क्रन्दनको एमालेभित्र खास औचित्य चाहिँ छैन ।

 ‘विधान महाधिवेशनमा पार्टी एकतालाई जोगाएर लैजानुपर्ने विषय महत्वपूर्ण भएकाले कतिपय विवादित विषय थाती राखेर जाऔँ भनेका छौं । त्यसैले कतिपय तटस्थ किसिमका भाषाहरू पनि दस्तावेजमा परेका छन् । तर पनि प्रतिनिधिसभा विघटनको विषय ठूलो राष्ट्रिय बहसको विषय बन्ने नै छ ।’

उपाध्यक्ष भीम रावल भन्दैछन् । विधान महाधिवेशन अघिको केन्द्रीय कमिटी बैठकमा यस विषयमा महाधिवेशनमा समीक्षा गर्ने भनिएको अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि बताउँछन् ।  तर, असन्तुष्ट पक्षका नेताहरू जति कराएपनि संसद विघटनलगायतका घटनामा ओलीले आत्मालोचना गर्ने छैनन् । अलिकति लचिलो हुने, आफ्ना कमीकमजोरीहरू देख्ने, स्वीकार्ने र सच्चाउने स्वभाव उनको हुन्थ्यो भने न नेकपा फुट्थ्यो, न एमाले फुट्थ्यो । त्यसकारण तत्तत् बिषयमा पार्टीभित्र समीक्षा हुने र अध्यक्ष ओलीले आत्मालोचना गर्ने कल्पना गर्नु ‘मनको लड्डु घ्युसित’ खानुजस्तै हो ।

देशको जिम्मेवार राजनीतिक दलको महाधिवेशन राष्ट्रिय, अन्तर्राष्ट्रिय चासोको बिषय रहने गर्दछ । कुनै बेला एमाले महाधिवेशन पनि राजनीतिक वैचारिक छलफलको बिषय बन्ने गर्दथ्यो । तिनले नेपाली राजनीतिलाई तरंगित पार्ने गर्थे । महाधिवेशन अगावै पार्टीको वैचारिक कार्यदिशा, रणनीति र कार्यनीति, एजेण्डा र कार्यक्रममाथि सघन बहस, छलफल हुन्थ्यो । महाधिवेशन प्रतिनिधिहरूवीचमा मात्रै होइन, पार्टीका तल्लो तहसम्म वैचारिक वहस र छलफल हुने गर्दथ्यो । महाधिवेशन अगावै प्रतिवेदन र दस्तावेजहरू अध्ययनका लागि पार्टी सदस्यहरूका हात–हातमा पुग्दथ्यो । 

आज परिस्थिति भिन्न छ । एमाले पार्टीमा अहिले विचारको बहस खास छैन । विधान अधिवेशन भरखरै सकिएको छ । महाधिवेशनको मुखैमा करोडौं खर्च गरेर अलग्गै विधान अधिवेशन किन आवस्यक ठानियो थाहा छैन । त्यसले दशौं महाधिवेशनको काम अलिक छोट्याउने काम मात्र गरेको हो । ओली बा को देवत्वकरण र व्यक्ति पूजामा केन्द्रीत विधान अधिवेशनपछि अब चितवन महाधिवेशन पनि त्योभन्दा भिन्न काम गरेर सम्पन्न हुने छैन । 

एमाले नेताहरूले ओलीबाको आलोचना गर्नेहरू नेपाली हुन सक्दैनन्, देशद्रोही हुन् भन्न थालेका छन् । उनीहरूको स्तुतीगान, अभिव्यक्ति, भाषण र व्यवहारहरू हेर्दा भन्न सकिन्छ, ओली बाको मस्कटमुन्तिर उभिएर एउटा सेल्फी खिचेपछि महाधिवेशन सफल भएको मानिने छ । अरु गतिविधिहरू तपसिलका विषय हुनेछन् ।

भुत्ते चेतना
एमाले पार्टीमा आलोचनात्मक चेत भुत्ते पारिएको छ । अन्तर संघर्ष वर्जित गरिएको छ । मानौं पार्टीमा एकमना एकता र ओली बा प्रतिको एकनिष्ठता नै सबैथोक हो । ओली बाको डायरीमा प्रशंसा सिवाय केही छैन । पार्टी जीवनमा आलोचना र आत्मालोचनाको कति धेरै महत्व छ भन्ने कुरा सबैले बिर्सिए जस्तो लाग्छ ।

नेतृत्वको आलोचना गर्ने सबैलाई बैरी देख्ने र खेदेर भित्तामा पुर्याउने प्राधिकारयुक्त नेतृत्वका अगाडी बाँकी नेताहरू भिजेका बिराला हुन् । म्याउँ गर्न सक्ने हुतिसमेत कसैको छैन । नभए, ओलीबाकै नेतृत्वमा पार्टी भत्किदा, संसद भत्किँदा, केन्द्रीय सरकार, चारवटा प्रदेश सरकारबाट हातधुनु पर्दा, आसन्न राष्ट्रिय सभा निर्वाचनमा पत्तासाफ हुने स्थिति देखिंदासमेत नेतृत्वको क्षमतामाथि कसैले प्रश्न गर्नु पर्दैन ?

चुनावपछि फेरि एमाले सत्तामा फर्कने उद्घोष गर्नु, आशा राख्नु र कार्यकर्ताको मनोबल उचो पार्नु स्वभाविक हो । माओवादी पनि सबै दललाई देखाइदिने भन्दै २०७० को चुनावमा त्यसैगरी हामफालेको थियो ।नतिजा के भयो भनिरहनु पर्दैन । अहिले एमाले महाधिवेशनमा देखिएको तामझाम र चुरिफुरीले उबेला यसैगरी माओवादीले भोग्नु परेको जस्तो नौवत नदोहोरियोस् शुभकामना छ । कटवाल प्रकरणपछि माओवादीलाई पुनः सत्तामा फर्किन कति पापड बेल्नु पर्यो दुनियाँ जगजाहेर छ । चुलिएको घमण्ड र अहंकारले कसैलाई फाईदा गर्दैन । एमाले नेतृत्वमा देखिएको घमण्ड र अहंकारले उसलाई वा देशलाई फाईदा गरेछ भने त्यो अपवाद हुनेछ । 

ओली बा पनि मान्छे भएको हुनाले केही कमी कमजोरी हुन सक्छन् भनेर एमालेभित्र कोही स्वीकार्दैन । त्यो नै एमालेका लागि मुख्य चुनौती हुनेछ । एमालेमा यसलाई नेतृत्वप्रतिको आस्था, विश्वास र मर्यादा भनेर अर्थ्याउने गरिन्छ । विरोधीले आरिश मात्र गरेको ठानिन्छ । नेतृत्व स्थापित हुन नदिन गरिएको रोइलो हो भनेर अर्थ्याईन्छ ।

नेतृत्व स्थापित हुने विचार र योगदानले हो, घमण्ड र अहंकारले होइन । गाली वा तालीले पनि होइन । पार्टीमा अवसर, हैसियत र जिम्मेवारीबाट बढारिने डर, त्रास र आतंक सिर्जना गरेर कायम गरिएको एकमना एकता वा एकनिष्ठता कुनै दिन तासको घरझैं गर्ल्यामगुर्लम ढल्ने खतरा रहन्छ । एमालेजनमा चेतना भया !

लामिछाने माओवादी केन्द्रबाट २०६४ सालको संविधानसभाको चुनावमा मकवानपुर–३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 



 


 

कमेन्ट

  1. Nov. 26, 2021, 5:03 a.m. rajendra thapa
    एमाले आज एक कल्टको पुर्ण नियन्त्रणमा हुनुमा कल्टको मात्र दोष होइन, तेसपछीका अरु सिनियर नेताहरुको पद र शक्ति को एक मात्र चाहना को कारणले पनि हो । राज सत्ता र जनसत्ताको फरक नै नरहनु भनेको 70 पछिको माओवादीको प्रचन्ड पुजा को स्थिति र तेसपछीको सिधा माओवादीको विनास यात्राको पथमा जानू हो । काङ्ग्रेस जस्तै एमाले पनि सानासाना काडरहरुले गाउँ गाउंबाट कष्टकर तरिकाले बिकसित गरेको पार्टी हो । तेसमा ओलीको प्रचण्ड कल्ट बिनासको संकेत त होइन ? महाअधिवेसनको प्रतिनिधि छनौटलाई भन्न भने चुनाब भनिएको तर काथर र कमजोर तथा ओलीबाको मलद्वारबाट पद पाउने अाशाका कारण सर्वसम्मत सर्वसम्मत भनेर रोइरहेका छन् । यौटा भिम रावलको घोषणाले मात्र यसलाई प्रजातान्त्रिक पार्टी बनाउन सक्दैन । सबै माल लिन मलद्वार कुर्नेको भिडको यो एक बिद्रोहको पनि महत्व छैन किनभने रावल पद नपाएसम्म संधै कराउंछन् राजिनामा आदी पनि दिन्छन् र अन्तमा पद पाएपछि सबैभन्दा अघाडी मलद्वारमा पसेको ईतिहास बारबार बारबार .... । खैर मदनको यो पार्टीको राजतन्त्र शिघ्र सकियोस् । नत्र .... # शायद आज ओली बाले प्रचन्ड र माधवहरुको नाम र परमादेश को आरोपहरु बिषय आधा घन्टा बोलेर बांकी एक घन्टा उखानले हसाउने छन् । ताली बजाएर करतलध्वनीले लप यु ओली बा ... /
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।