ad
ग्राउन्ड जिरो

‘महासचिवमा ६ भोटले हारेको हुँ, योभन्दा तल जान्नँ’

सुरेन्द्र पाण्डेको प्रश्न : सहमति गर्नु कसरी अलोकतान्त्रिक ?

person explore access_timeमंसिर ९, २०७८ chat_bubble_outline0

राजकुमार सिग्देल/फणिन्द्र नेपाल (चितवन)


नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव वा सोभन्दा माथिको पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवौं महाधिवेशनमा ईश्वर पोख्रेलसँग ६ भोटले महासचिवमा हारेका पाण्डेले योभन्दा तल उम्मेदवारी नदिने रातोपाटीलाई बताए ।



विगतमा माधव नेपाल समूहमा रहे पनि एकीकृत समाजवादीमा नलागी एमालेमै रहेका पाण्डे ‘१० भाइ समूह’का नेतासमेत हुन् । तर, अहिले प्यानल बनाउन नपाउने भनिएकाले १० भाइका तर्फबाट सामुहिक उम्मेदवारी घोषणा गर्ने स्थिति छैन । त्यसैले, भीम रावलले एक्लै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।



महासचिवका सम्भावित प्रत्यासी पाण्डे भने आफूले उम्मेदवारी घोषणा गर्नुभन्दा पनि सहमतिमै महासचिव बन्ने प्रयासमा रहेको कुराकानीका क्रममा खुलेको छ । महाधिवेशनस्थल चितवनबाट रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले पनि सहमतिको प्रयास भइरहेको छ । हाम्रो पार्टीमा अहिलेसम्म को उम्मेदवार भन्ने यकिन नै छैन । पार्टीभित्र सकभर हामी सहमतिको प्रयास गर्छौं ।’



प्रस्तुत छ, चितवनका सांसदसमेत रहेका पाण्डेसँग महाधिवेशनको तयारी र नेतृत्वको विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :    



नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि सुरु हुँदैछ । तपाईं महाधिवेशनस्थलमै खटिनुभएको छ । तयारी कसरी भइरहेको छ ?



महाधिवेशनको तयारीका दुई पक्ष छन् । एउटा भित्री पक्ष र अर्को बाहिरी पक्ष । भित्री पक्षको कुरा गर्दा यसपटकको महाधिवेशन मूलरूपमा नेतृत्व निर्वाचनको महाधिवेशन हो । नीति र विधि हामीले विधान महाधिवेशनबाटै टुङ्ग्याइसकेका छौँ । त्यसैले, यहाँ मुख्यरूपमा हाम्रा दुईवटा काम हुन्छन् । एउटा– ठूलो जनसहभागितामा उद्घाटन सत्र गर्ने । अर्को– नेतृत्व चयनका लागि बन्दसत्र गर्ने ।

बन्दसत्र र नेतृत्वको छनोटका लागि प्रतिनिधि निश्चित गर्ने काम भइसकेको छ । निर्वाचित र मनोनित सबै गरेर २३ सय प्रतिनिधि टुङ्गिसकेकाले उहाँहरू अब चितवनमा आउने क्रम सुरु हुन्छ, यो भयो हाम्रो भित्री तयारीको पाटो ।

दोस्रो, महाधिवेशनका लागि भौतिक तयारी छ । भौतिक व्यवस्थापनका सवालमा नारायणी नदी किनारमा मञ्च निर्माणको काम अन्तिम तयारीमा पुगेको छ । तपाईंहरूलाई अहिले पनि तयारी बाँकी रह्यो कि भन्ने लागेको होला, तर त्यहाँ अहोरात्र कालिगढ र स्वयंसेवक खटिरहेका छन् । भरे बेलुका वा भोलि बिहानसम्म अन्तिम परीक्षण गर्ने भनेका छौँ ।

मञ्चको माथिल्लो कर्नरमा मञ्च बस्छ । त्यसमा सातवटा इन्ट्री प्वाइन्ट छन् । सबभन्दा उत्तरतिरको प्वाइन्टबाट भीआईपी र मञ्चसँग सम्बन्धित अतिथिहरू र नेताहरूको प्रवेश हुन्छ । बाँकी ६ वटा प्वाइन्टबाट प्रतिनिधि वा उद्घाटन सत्रमा सहभागी हुने जनसमुदायहरूको प्रवेश हुने गरी व्यवस्था मिलाएका छौँ ।

त्यस्तै, उदघाटन स्थलमा ६ वटा खण्डको व्यवस्था गरेका छौँ । एउटा माथिल्लो मञ्च खण्ड हुनेछ । भाषण लामो हुने भएकाले नसुनिने हुन्छ कि भनेर ठाउँ–ठाउँमा डिस्प्ले राख्ने र माइक नारायणी पारिपटिट् पनि राख्नेछौँ । माइकको व्यवस्थाका लागि प्राविधिक टोलीसँग छलफल भइरहेको छ ।

सहभागी हुन जो आउँछ, निजी गाडी वा मोटरसाइकल पार्किङका लागि १३ वटा स्थान तय गरिएको छ । वारि र पारि दुवैतिर त्यो हुनेछ । सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि हामीले सुरक्षा अधिकारीसँग निरन्तर छलफल चलिरहेको छ । हिजो मात्रै पनि हामीले छलफल गर्यौँ । केन्द्रीय तहमा पनि अस्ति मात्र गृहसचिवसहित तीनवटै सुरक्षा सङ्गठनका प्रमुखहरूसँग छलफल गरेका छौँ । त्यसमा एआईजी लेबलको कमान्डमा सुरक्षा कमान्डमा खटिनेछ ।

आजै सुरक्षाकर्मीको नेतृत्व चितवन आउँदैछ । सुरक्षालाई ध्यानमा राखेर सङ्ख्या पनि बढाइएको छ भने ट्राफिक प्रहरीको सङ्ख्या पनि बढाइएको छ । ८० जना ट्राफिक थप्ने कुरा भएको छ । पूर्व र पश्चिमका दुवै जिल्ला नवलपुर र चितवनको पनि समन्वयमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।

भोटिङ मेसिनबाट भोट गर्न ४० जनाको प्राविधिक टोली बसेको छ । १०० वटा मेसिनमध्ये ९२ वटाबाट भोट हुनेछ । १ सयमध्ये आठवटा मार्जिनमा राख्ने भनेका छौँ ।

विभिन्न ठाउँमा गेट, स्वागतद्वार बनाउने, सुन्दर बनाउने काम पनि भइरहेको छ । सबभन्दा धेरै मानिस आउने भएकाले आजैदेखि देशभरबाट मानिस आउने क्रम सुरु हुनेछ । कतिपयले गाडीमै खानुपर्ने स्थिति छ । होटलमा खाना नहुन सक्ने भएकाले आ–आफ्नो व्यस्था आफैंले गर्नु भनेका छौँ ।

कार्यक्रममा कोही इमरजेन्सी बिरामी भएको खण्डमा वा उनीहरूलाई पार गराउनुपरेको अवस्थामा इमरजेन्सी एक्जिटको व्यवस्था गरेका छौँ । एम्बुलेन्स, दमकल या कसैलाई प्लेन छुट्ने भयो भने उहाँहरूलाई अवरोध नहोस् भन्नका लागि व्यवस्था मिलाएका छौँ । यसरी नारायणी किनारमा हुने उद्घाटन सत्रको व्यवस्थापन भएको छ ।

बन्दसत्र होटल सेभेन स्टार (सौराहा) परिसरको बाहिरतर्फ आरम्भ हुनेछ । १० गते बेलुका केन्द्रीय समितिको बैठक सौराहामा नै बस्ने छ । आमसभा सकिएपछि मास आ–आफ्नो घर फर्कनेछ भने  नेता, प्रतिनिधि स्वयंसेवक सौराहामा नै आउनुहुनेछ ।

सौराहामा हुने सत्रका लाग ५ सय र नारायणीमा हुने उद्घाटन सत्रका लागि ५ हजारको सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरेका छौँ । नारायणीमा टोपी लगाएका र सौराहामा पोसाकसहितका व्यक्ति हुनेछन् । क्यूआर कोड ट्रेस गरेर मात्रै उहाँहरूले त्यहाँ प्रवेश गराउनुहुनेछ ।

भोटिङ मेसिनबाट भोट गर्न ४० जनाको प्राविधिक टोली बसेको छ । १०० वटा मेसिनमध्ये ९२ वटाबाट भोट हुनेछ । १ सयमध्ये आठवटा मार्जिनमा राख्ने भनेका छौँ ।

शनिबारको भित्री सत्रमा विदेशी अतिथिहरूले सम्बोधन गर्ने कार्यक्रम छ भने उद्घाटन सत्रमा देशभित्रका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्र, जसपा, लोसपाका उपेन्द्रजी, महन्तजी, राप्रपाबाट कमल थापा तथा राजमोबाट चित्रबहादुर केसी, नेमकिपाबाट अध्यक्ष वा कोही अरू नेता आउने कुरा भएको छ ।

यो महाधिवेशनबाट एमालेको साँचो ‘स्ट्रेन्थ’ के हो ? अहिले नेकपा एमाले विभाजित, टुटफुट भयो भन्ने कुरा गरिरहेका छन् । यसमा हिजो एमाले जस्तो थियो, त्यस्तै छ, नेकपा एमालेले एक्लै बहुमत ल्याउन सक्छ, आउने चुनावमा हामी एक्लै अघि बढेर बहुमत ल्याउँछन् भन्ने उद्घोष यो महाधिवेशनले गर्नेछ । यही आत्मविश्वासका साथ यहाँ आउने मानिसहरू फर्केर जानेछन् । देशभर नयाँ रक्तसञ्चार, नयाँ आँट, भरोसा दिएर हामी पठाउँछौँ ।

भित्री सत्रमा विदेशी अतिथिहरूले आउन नसकेका अतिथिहरूले पठाएको सन्देशहरू पनि सुनाउनुहुनेछ । बन्दसत्र सुरु भएपछि अध्यक्षको मन्तव्य हुनेछ । त्यसपछि बहस नोट कमिटीहरू निर्माण हुनेछन् । त्यसपछि निर्वाचन आयोगले अध्यक्ष मण्डललाई केही निर्देशन दिनेछ निर्वाचनको प्रक्रिया अघि बढाउ भनेर । त्यसपछि निर्वाचनमा उम्मेदवारी दिनेदेखि फिर्ताको काम ११ गते सकेर १२ गते बिहान ८ बजे मतदानको प्रक्रिया सुरु हुनेछ । सोही दिन बेलुका सम्भवतः नतिजा आउनेछ । तर, १३ गते नतिजा सुनाउने काम हुनेछ । त्यसपछि स्वयंसेवकहरू राखेर धन्यवाद दिएर बिदाइसहित नेतृत्व आ–आफ्नो क्षेत्रमा फर्कने तयारीमा छौँ ।

व्यवस्थापकीय पक्षको तयारीबारे तपाईंले विस्तृतमा भन्नुभयो । चितवन तपाईंको गृहजिल्ला पनि हो । यो जिल्लामा एमालेले ५ लाखभन्दा बढी मानिस जुटाएर महाधिवेशन गर्दैछ । तपाईंलाई चाहिँ कस्तो अनुभूति भइरहेको छ ?

यो महाधिवेशनमा चुनौती र अवसर दुवै छन् । चुनौती यति धेरै मास जुटाउनु पनि छ । त्यसका लागि देशैभर साथीहरू अहोरात्र खटिरहनुभएको छ । गाउँगाउँ टोलमा गएर मानिसहरूलाई महाधिवेशनमा आउन भनिरहनुभएको छ एकातिर । अर्कोतिर, आइरहेका मानिसहरूलाई महाधिवेशनस्थलमा पुर्याउने कसरी र फर्काउने कसरी भन्ने चिन्ता पनि छ । गाडी र यातायातका साधन अभाव भएर पनि समस्या भइरहेका छन् ।

अर्कोतिर, यो महाधिवेशनबाट एमालेको साँचो ‘स्ट्रेन्थ’ के हो ? अहिले नेकपा एमाले विभाजित, टुटफुट भयो भन्ने कुरा गरिरहेका छन् । यसमा हिजो एमाले जस्तो थियो, त्यस्तै छ, नेकपा एमालेले एक्लै बहुमत ल्याउन सक्छ, आउने चुनावमा हामी एक्लै अघि बढेर बहुमत ल्याउँछन् भन्ने उद्घोष यो महाधिवेशनले गर्नेछ । यही आत्मविश्वासका साथ यहाँ आउने मानिसहरू फर्केर जानेछन् । देशभर नयाँ रक्तसञ्चार, नयाँ आँट, भरोसा दिएर हामी पठाउँछौँ ।

चितवनमा एमालेले एक हिसाबले शक्ति प्रदर्शन पनि गर्दैछ । तर, मङ्सिर १० गतेको एमाले र १३ गतेको एमालेमा कति भिन्नता हुन पुग्ला ?

शक्ति प्रदर्शन एउटा पाटो भयो । सँगसँगै हामीले एकता, नयाँ उत्साह र नयाँ ऊर्जाको एमाले तपाईंहरूले पाउनुहुनेछ । भोलि जनप्रदर्शनमा देशभरिबाट मान्छेहरू आउनुहुनेछ । नेता, नेतृत्वले हाम्रो जिम्मेवारी यो हो भनेर सम्बोधन गर्नुहुनेछ । अगाडिको यात्रा यस्तो हुनेछ पनि भन्नुहुनेछ । दोस्रोतर्फ, हामीले हाम्रो नेतृत्व सफलतापूर्वक निर्वाचित गरेर १३ गतेपछि एमाले एक ढिक्का, एकीकृत र सङ्कल्पका साथ हिँड्ने कसम खाएको एमाले हुनेछ भन्ने कुराको सार्वजनिकीकरण गर्ने काम हुनेछ ।

एमालेमा नेतृत्वका आकाङ्क्षी धेरै नेता देखिएका छन् । सहमतिमा नेतृत्व चयनका कुरा पनि आइरहेका छन् भने उम्मेदवारी घोषणा गर्ने लहर पनि चलिरहेको छ । सहमतिका लागि चाहिँ के भइरहेको छ ?

अहिले पनि सहमतिको प्रयास भइरहेको छ । हाम्रो पार्टीमा अहिलेसम्म को उम्मेदवार भन्ने यकिन नै छैन । ११ गते मनोनयनको प्रक्रिया सुरु नहुँदासम्म कोही उम्मेदवार पनि छैनन्, सबै उम्मेदवार छन् भन्ने बुझ्न सकिन्छ । किनभने, सबैले उम्मेदवारी दिन सक्ने अवस्था छ, कसैले दिइसकेको अवस्था पनि छैन । त्यसैले, अहिले अनुमानकै भरमा हुन् । दोस्रो, यसबीचमा अनौपचारिक छलफल वा कुराकानीमा हामीले सकभर सहमतिमा नेतृत्व निर्माण गरौँ है भनिरहेका छौँ । त्यसले पार्टीलाई एकताबद्ध गर्न मद्दत पुग्छ ।

सहमति गर्नु भनेको पार्टीलाई उच्च समझदारीमा लानु पनि हो । सबै व्यक्तिहरूका क्षमताहरूलाई निर्वाचनले त्यो क्षमताअनुसार जिम्मेवारी नदिन पनि सक्छ । जो जित्छ, त्यो निर्वाचनमा जाने भयो, जो हार्छ त्यो बाहिर पर्नेभयो । सहमति र समझदारीमा जाँदा त व्यक्तिहरूको योग्यता र क्षमताको आधारमा नेतृत्वले सुझबुझ राख्दा त झन् परिपक्व हुन सक्छ ।

सहमतिकै रटान किन नि ? लोकतन्त्रमा प्रतिस्पर्धा गर्न डराएको त होइन ?

स्थायी प्रतिस्पर्धा विपक्षीहरूसँग गरिन्छ । पार्टीका साथीहरू वा कामरेडहरूसँग सहमति हँुदैन र ? सहमति गर्नु अलोकतान्त्रिक हो, त्यसले नेतृत्व निर्माण गर्दा बिग्रन्छ, चुनाव लड्दा मात्रै सही हुन्छ भन्नु उचित होइन । पार्टीभित्र सकभर हामी सहमतिको प्रयास गर्छौं । त्यो लोकतान्त्रिक नै हो । अझ भन्नुहुन्छ भने पहिला–पहिला सबैजसो पार्टीहरूको सहमतिमै नेतृत्व अध्यक्षमण्डलले सार्वजनिक गथ्र्यो  र सबैले त्यसैलाई समर्थन गर्थे । अहिले पनि कतिपय पार्टीमा त्यो प्रक्रिया जारी नै छ । हामीले हिजो नेकपा बनाउँदा नेकपा माओवादी केन्द्रसँग पहिलो महाधिवेशन एकताको बनाउँछौँ, सहमतिको हुनेछ भनेका थियौँ । सायद विभाजनको स्थिति नआएको भए त्यो पनि सहमतिको महाधिवेशन हुनसक्थ्यो । त्यसकारण सहमति गर्नु अलोकतान्त्रिक कुरा होइन ।

सहमति गर्नु भनेको पार्टीलाई उच्च समझदारीमा लानु पनि हो । सबै व्यक्तिहरूका क्षमताहरूलाई निर्वाचनले त्यो क्षमताअनुसार जिम्मेवारी नदिन पनि सक्छ । जो जित्छ, त्यो निर्वाचनमा जाने भयो, जो हार्छ त्यो बाहिर पर्नेभयो । सहमति र समझदारीमा जाँदा त व्यक्तिहरूको योग्यता र क्षमताको आधारमा नेतृत्वले सुझबुझ राख्दा त झन् परिपक्व हुन सक्छ ।

त्यो हो कि शीर्ष नेताहरूको पद जाला भन्ने डर हो ?

त्यो होइन ।

विगतका महाधिवेशनहरूमा नेताहरूबाट उम्मेदवारी घोषणा गर्ने लहर नै थियो । तर, योपटक आकाङ्क्षी धेरै भए पनि खासै खुलेको देखिँदैन । उम्मेदवार मौन बसिरहनुको रहस्य के हो ?

मैले अगाडि पनि भनेँ, पार्टीले अहिले खेपिरहेको विशेष परिस्थितिमा महाधिवेशन भइरहेको छ । दोस्रो हाम्रो आफ्नै हिजोको अभ्यासको पुनर्मूल्याङ्कन पनि हो । हामीले हिजो आठौँ र नवौँ महाधिवेशनमा लोकतान्त्रिकीकरण गर्यौँ । लोकतान्त्रिकीकरणको कुरा गरेर हामी निर्वाचनमा गयौँ । तर, निर्वाचनमा जानु नै गलत थिएन । भोलि पनि निर्वाचन चाहिएला । तर, हाम्रो हिजो गरेको अभ्यास कहाँ गएर टुङ्गियो भन्दा विभाजनमा गयो । चुनाव गर्ने, प्रतिस्पर्धा गर्ने, पार्टी टुक्रिने हो भने यो त लोकतान्त्रिक भएन । यो त आन्दोलनको नोक्सानदायी पक्ष भयो ।

त्यसकारणले हिजोका अनुभवहरूको पनि समीक्षा गर्दै अहिलेको स्थितिमा अलि पर जाऔँ भन्न खोजिएको हो । दोस्रोतर्फ हामीले प्यानल नबनाइकन व्यक्तिगतरूपमा प्रतिस्पर्धा गर्न सक्छौँ कि सक्दैनौँ ? त्यो कुराको पनि हामीबीच खोजी हुन्छ ।

अहिले पनि कतिपय माथिल्लो तह अर्थात् पदाधिकारीमा सहमति हुँदा पनि केन्द्रीय कमिटीमा निर्वाचन हुन पनि सक्छ । किनकि आकाङ्क्षी धेरै छन्, म्यानेज गर्न गाह्रो छ ।  पदाधिकारीमा भन्दा तलका आकाङ्क्षी बढी छन् । त्यसो हुँदा केही पदमा सहमति, केही पदमा निर्वाचन या सबै सहमति, यसो हुनाले त्यो ढोका बन्द भैसकेको या हुँदैनहुने भन्ने कुरा होइन । खालि अहिलेको आवश्यकता, अहिलेको परिस्थितिलाई हेरेर विगतका हाम्रा केही अनुभवको पनि मूल्याङ्कनद्वारा अहिले सहमतिमा जानु उचित हो कि भन्ने लाग्छ ।

नेकपा एमाले नरुचाउनेहरूको अपेक्षा पनि होला । तर, एमाले प्रवेशको लहर यति तीव्र देखिएको छ कि यस्तो कठिनाइका बीच पनि सबै पार्टी छाडेर प्रवेश गर्नेको लहर देखिएको छ । यसकारणले अन्त जानेछन् भन्ने हुुँदैन । पहिला त अन्तको भविष्य सुरक्षित हुनुपर्यो नि !

अहिले एमालेमै पनि दुई धार देखिएको छ । १० बुँदे पक्षधरलगायत तपाईंहरू पक्षधर नेताहरूको व्यवस्थापनको प्रश्न छ । अर्कातिर माओवादीबाट आएका नेताहरूको व्यवस्थापनको प्रश्न पनि छ । स्वयं अध्यक्ष निकटका नेताहरूको व्यवस्थापन पनि गर्नुपर्ने छ । यस्तो अवस्थामा व्यवस्थापन कति महत्वपूर्ण छ ?

चुनौतीपूर्ण त छ । तर, असम्भवचाहिँ छैन । मैले अघि पनि भनेँ, हिजो एकता भएर नेकपा माओवादी जो छाडेर जानुभयो नि प्रचण्डजीसहित, त्यहाँ पनि हामीले सहमति गर्छौँ भनेका थियौँ । उहाँहरू बसेको भए पनि हामीबीच सहमति कसरी गर्ने भनेर एउटा चिज हुन्थ्यो होला ।

माधव नेपालजी यहाँ बसिरहेको भए सहमतिको कुरा हुन सक्थ्यो होला । त्यस हुनाले सहमति हिजो पनि हामीले महसुस गरेका थियौँ भने आज पनि आवश्यकता घटेको होइन । व्यवस्थापन गर्न हिजो जुन चुनौती थियो आज पनि चुनौती त छँदैछन् । तर, असम्भव कुरा छैन । प्रयास गर्दा नहुने कुरा छैन । किनभने, नेताहरूको क्षमता पनि हामीलाई थाहा छ, रुचि पनि थाहा छ र उनीहरूले खेल्नसक्ने भूमिका पनि थाहा छ भने त नेता र नेतृत्वहरु बसेर एउटा एउटा सहमतिमा पुग्न कुनै गाह्रो हुन्छ र ?

तर, सीमित पदहरू छन्, आकाङ्क्षीहरू धेरै छन्, त्यसले गर्दा एमाले महाधिवेशनपछि धेरै नेताहरू पार्टी छाड्न सक्ने खतरा पनि छ भनिन्छ नि ?

मलाई त्यस्तो लाग्दैन । त्यो हुन्छ, अनि ढ्वाङ थापेर बसौँ भन्ने होला कतिपयमा । नेकपा एमाले नरुचाउनेहरूको अपेक्षा पनि होला । तर, एमाले प्रवेशको लहर यति तीव्र देखिएको छ कि यस्तो कठिनाइका बीच पनि सबै पार्टी छाडेर प्रवेश गर्नेको लहर देखिएको छ । यसकारणले अन्त जानेछन् भन्ने हुुँदैन । पहिला त अन्तको भविश्य सुरक्षित हुनुपर्यो नि !

दशौँ महाधिवेशनपछि सुरेन्द्र पाण्डेलाई एमालेमा कुन भूमिकामा देख्न पाइन्छ ?

पार्टीले जे आवश्यक ठान्छ, त्यही भूमिकामा रहन तयार छु । नवौँ महाधिवेशनमा प्राविधिक कारणले मात्रै म महासचिवमा पराजित भएको हुँ । त्यतिबेला म ६ मतले पराजित भएको थिएँ । मेरो भूमिका र क्षमताअनुसार मेरो के जिम्मेवारी हुनुपर्छ भनेर नेता–कार्यकर्ता जिम्मेवार हुनुहुन्छ । त्यसहिसाबले यो कुरा हामीले सहमतिमै टुङ्ग्याउन सक्छौँ ।

महासचिवमा प्रतिस्पर्धा गरिसक्नुभएको तपाईं त्योभन्दा तल त पक्कै झर्नुहुन्न होला, उम्मेदवारीबारे के सोचिरहनुभएको छ ?

त्योभन्दा तल त म जान्नँ । जुन भए पनि हुन्छ, जस्तो जिम्मेवारी भए पनि हुन्छ भन्ने कुरा हुँदैन । मैले हिजै पनि सरकारमा जाने कुरामा म अर्थमन्त्री पाउने भए हुन्छु, अरू मन्त्रीमा म जान्नँ भनेको थिएँ । मेरो कुनै दुखेसो पनि त्यसमा छैन । पार्टीलाई सहयोग हुन्छ, प्रधानमन्त्रीलाई सहयोग हुन्छ भनेर मैले त्यसबेला भनेको थिएँ । त्यस्तो कुनै गुनासो सार्वजनिक रूपमा गर्दा पनि गरिनँ । मैले आफ्नो हिसाबले संसद्मा होस् या बाहिर बोलेर लेखेर गरिरहेको थिएँ । पार्टीका कार्यक्रम, पार्टीले अगाडि सारेका उपलब्धिहरूको डिफेन्ड गर्ने कुरामा कुनै सदस्य वा मन्त्रीले भन्दा मैले कम भूमिका त खेलिनँ । पार्लियामेन्टका भाषणहरू तपाईंहरूले सुन्नुभयो होला, अनेक तथ्य, तर्क दिएर नेकपा एमालेले गरिरहेका कामहरूको पुष्ट्याइँ गर्ने काम मैले गर्दै आएको छु । त्यसकारणले त्यसमा कुनै कमी हुँदैन ।

भनेपछि, पार्टीले उचित जिम्मेवारी दिन्छ भन्ने अपेक्षा नै छ ?

यत्रो पार्टीले जिम्मेवारी दिने कुरामा अनुचित कुरा गर्ला र ? हामी अनेकन खालका उतार–चढाव भोगेर आएका नेता कार्यकर्ता भएको हुनाले यसको दायाँ–बायाँ, पूर्व–पश्चिम सबैतिर नेता–कार्यकर्ता छौँ हामी । पार्टी भइसकेपछि, पार्टीका केही सीमा हुनेरहेछन् । हिजोका भयङ्कर मित्रहरू पनि एउटा अवसर हुन्छ र दुईटैले त्यसमा आकाङ्क्षा गर्छन् । त्यो आकाङ्क्षाले कुन ढङ्गले सम्बोधन गर्ने भन्ने विधि अन्योल हुँदा यसलाई फालेपछि मात्रै मेरो पालो आउँछ कि भन्ने हिसाबले एकले अर्कालाई कमजोर गर्न खोज्ने जस्ता प्रयास पनि हुन सक्छन् । यो एउटा चरित्र हो । क्रान्तिका बेला यस्तो हुँदैन । तर, सत्ताका बेला यस्तो हुन सक्छ । सत्ताको अवसरको बाँडफाँटको कुरालाई नै त्यो हुने गरेको देखिन्छ । हाम्रो पार्टीमा, बाहिरको पार्टीमा यो प्रवृत्ति देख्ने गरिन्छ ।

नत्र भने त हामी एउटै थालमा खाएर, एउटै ओछ्यानमा सुतेर अभाव र अप्ठ्यारासँग पनि सँगसँगै मुकाबिला गरेर आफूले नखुवाएर अर्को साथीलाई खुवाउँथ्यौँ । किनभने, हामी त्यो संस्कारबाट नआएको भए हामी यत्रो पार्टी बनाउँदैनथ्यौँ नि । उहीबेला तलमाथि, तहस–नहस हुन्थ्यो नि । त्यो विश्वास र सहमतिले नै यहाँ आइपुगेका हौँ ।

अन्त्यमा, रातोपाटीमार्फत के भन्न चाहनुहुन्छ ?

महाधिवेशन एकता, सहमति र नयाँ ऊर्जाका साथ सम्बोधन गर्नेगरी आयोजना गर्दैछौँ । मूल व्यवस्थापन समितिको सहसंयोजकको हैसियतमा प्रतिनिधिहरूमा कुनै सम्पर्क, समन्वयमा कठिनाइ भएमा हाम्रो सचिवालयमा सम्पर्क गर्ने र त्यसको सम्बोधन गर्नका लागि हामी तयारीमा छौँ । उहाँहरूले अहिलेको पार्टीको अवस्था देख्नुभएको छ ।

तलका प्रतिनिधिहरूले नेताहरूलाई खबरदारी गरिरहेका छन् । तर, सहमति गरेर आउन सक्नेले माथि सहमति हुन्छ कि हुँदैन ? गर्न सकिन्छ, गर्नुपर्छ भन्ने तपाईंहरूको जुन दबाब छ, यो दबाब पार्टी एकताको चिन्ता र चासो हो । त्यो चासोलाई अन्तिमसम्म पनि पार्टीको एकता, पार्टीको प्रभाव र शक्तिलाई अगाडि बढाउन खेल्ने भूमिका निरन्तर खेल्नुहोस् । त्यसका लागि म अनुरोध गर्न चाहन्छु  ।

भोलि नारायणी नदी किनारको आमसभामा सबै कार्यकर्ता तथा जनसमुदायलाई आउनका लागि पनि अनुरोध गर्न चाहन्छु । ठूलो कार्यक्रम भएकाले सानातिना त्यस्तो कुनै कठिनाइ भए पनि त्यसलाई आम जनसमुदायले क्षमा दिनुहुनेछ भन्ने विश्वास छ ।

(तस्बिर/भिडियो– सुवास श्रेष्ठ) 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।