शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार

बिहीबार, ०९ मङ्सिर २०७८, २२ : १८
बिहीबार, ०९ मङ्सिर २०७८

गण्डकी प्रदेश सरकारले प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ । बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेका हुन् । 

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा कोभिडबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण समेत सुरु गरिएको छ । 
प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिकाका तथा मानवसेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त गण्डकी प्रदेश घोषणा गरिएको हो ।  
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार भौतिक विकास मात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत क्रियाशील रहेको बताए । पर्यटकीय नगरी पोखरामा सडकमा आश्रित मानवका कारण नकारात्मक सन्देश गइरहेको र अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताए । उनले भने, ‘सरकारले भौतिक विकाससँगै सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको छ ।’ 

सडक मानव व्यवस्थापनका लागि सरकारले मानव सेवा आश्रमसँग सम्झौता भएको छ । यसका लागि प्रदेश सरकारले आश्रमका रहेकालाई प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउनेछ । अहिले मानव सेवा आश्रमले गण्डकीका ४ जिल्लामा सेवा सञ्चालन गर्दै आएको छ । ती केन्द्रमा करिब ४ सय जना छन् । 

मुख्यमन्त्री पोखरेलले अभियान सफल बनाउन सम्पूर्ण प्रदेशवासीको सहयोग जरुरी रहेको बताए । उनले भने, ‘हामीले दिएको यो रकमले सबै खर्च पुग्छ भन्ने होइन, पवित्र काममा सरकारसँगै छ, भन्ने सन्देश दिनका लागि हामीले सम्झौता गरेका हौं ।’ 

मुख्यमन्त्री पोखरेलले सरकारले नागरिकले महसुस गर्ने गरी काम गर्दै आएको समेत बताए । सरकारमा आएको ५ महिनाको अवधिमा कुनै ठुला काम नसके पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको थियो । मुख्यमन्त्रीले भने, ‘हामी बालबालिकाका अभिभावक त दिन सक्दैनौं, तर ती बालबालिकालाई हामी अभिभावकत्व त दिन सक्छौं, भनेर यो अभियानलाई अगाडि बढाएका हौं ।’ 

कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गर्ने कार्यविधि पनि तयार भइसकेको र छिटै नै रकम हस्तान्तरण गरिने मुख्यमन्त्रीले बताए । बजेट र नीति तथा कार्यक्रममा उल्लेख गरिएका सबै प्रतिबद्धता पूरा गर्न अधिकांश कार्यविधि बनिसकेको भन्दै उनले अब धमाधम बजेट कार्यान्वयनमा जाने उल्लेख गरे । 

गण्डकी प्रदेश सरकारले कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई अध्ययनका लागि मासिक ५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड १९ महामारीका कारण अभिभावक गुमाएका बालबालिकाको अध्ययन अध्यापनका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था सरकारले चालू वर्षको बजेटमै गरेको थियो । 

सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क संकलन गरी कागजात पुगेकाहरुलाई बिहीबार रकम हस्तान्तरण गरिएको हो ।  बिहीबार ३९ जना मृतकका ६० जना बालबालिकालाई पहिलो चरणको राहत वितरण गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले बताए । मन्त्रालयमा १ सय १७ जनाको नाम प्राप्त भएकामा ८ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी १ सय ६२ मध्ये १ सय २ वटा निवेदनहरूको मापदण्ड बमोजिम कागजात पूरा हुन बाँकी छ । 

उनीहरुसँग बाँकी कागजात माग  गरिसकिएकाले त्यसपछि पनि थप राहत रकम प्रदान गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । पहिलो किस्ता अन्तर्गत कात्तिक मसान्तसम्मका लागि ११ लाख ५ हजार रुपैयाँ निकासा भएको थियो ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप