शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा अब गठबन्धन नभए पनि माओवादीले चुनाव जित्छ : यमबहादुर परियार

शुक्रबार, १० मङ्सिर २०७८, ०९ : ५८
शुक्रबार, १० मङ्सिर २०७८

माओवादी केन्द्र चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ले जिल्लामा माओवादी केन्द्र पहिलेभन्दा निकै बलियो भएको दाबी गरेका छन् । एमालेले माओवादी केन्द्रको जनमतलाई प्रभाव पार्न चितवनमा महाधिवेशन गर्न लागे पनि त्यसले केही फरक नपर्ने उनले बताए ।

माओवादी केन्द्रका सदस्य सङ्ख्या जिल्लामा पहिलाको तुलनामा ७ हजार बढेको दाबी गर्दै उनले अब गठबन्धन नै नभए पनि आफ्नो पार्टीले जिल्लाबाट सहजै चुनाव जित्ने बताए । केन्द्रले आवश्यक ठानेमा गठबन्धन बनाएर जाँदा राम्रो हुने तर गठबन्धन नभए पनि जिल्लामा माओवादी केन्द्र पहिलेभन्दा बलियो भएकाले चुनाव जित्न कठिनाइ नहुने उनको भनाइ छ ।

यिनै विविध विषयमा केन्द्रित रहेर रातोपाटी सम्वाददाता शम्भु दंगाल र गणेश दुलालले माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष परियार कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

चितवनमा माओवादी केन्द्रको राजनीतिक गतिविधि कसरी अघि बढिरहेको छ ?

राजनीतिक र साङ्गठनिक गतिविधि भनेको एक अर्काको परिपूरक विषय हो । राजनीतिले नै सबै कुराको फैसला गर्दछ । हामीले राजनीतिक र साङ्गठनिक गतिविधि एकैसाथ अघि बढाइरहेका छौँ । विचारलाई परिष्कृत, परिमार्जित गर्ने, एक्काइसौँ शताब्दीको क्रान्तिको मोडललाई नयाँ ढङ्गबाट विकास गर्दै नेपालको क्रान्तिकारी आन्दोलनमा यसलाई कसरी सम्पन्न गर्न सकिन्छ, कसरी समाजवादी यात्रामा हामी अगाडि बढ्न सक्छौँ भन्ने उद्देश्यसहित अहिले माओवादी केन्द्र साङ्गठनिक अभियान लिएर अघि बढिरहेको छ ।

तर चितवनमा माओवादी केन्द्र निकै कमजोर रहेछ नि ?

द्वन्द्ववादको नियम के हुन्छ भने न्यूनतमबाट अधिकतम; अधिकतमबाट न्यूनतम, सानोबाट ठुलो; ठुलोबाट सानो, छिपछिपबाट गहिराई; गहिराइबाट छिपछिप भन्ने एउटा भनाइ छ । यो यथार्थ पनि हो । हामी २०६४ सालमा ठुलो पार्टी थियौँ । जिल्लामा पनि ठुलो पार्टी थियो । यो हामी सबैलाई थाहा छ । त्यसपछि क्रमशः हाम्रो पार्टीमा टुटफुट, विभाजन र केही समस्या देखिए । हामी किन कमजोर भयौँ भन्ने ढङ्गबाट पहिचान पनि गरेका छौँ । हामीले त्यसलाई सही विश्लेषण गरेका छौँ । यस अर्थ अब नयाँ गतिका साथ नेपाली जनतालाई सँगै लिएर २१ औँ शताब्दीको समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्दै छौँ । संसदीय प्रणालीमा हामी तेस्रो स्थानमा छौँ । चितवन जिल्लामा हामी अहिले कमजोर छैनौँ ।

तपाईं कमजोर छैनौँ भन्नुहुन्छ, यहाँ त माओवादी केन्द्रले गठबन्धन नबनाई चुनाव जित्न सक्ने अवस्था नै रहेनछ त ?

कहाँ गठबन्धनका कारणमात्र चुनाव जितेका छौँ त हामीले ? माडीमा कोसँग हाम्रो गठबन्धन भएको थियो र ? स्थानीय तहको निर्वाचनमा हामीले वडाहरू जितेका छौँ । हाम्रो मेयरले जित्नु भएको छ । हाम्रो क्षमता, प्रभाव, साङ्गठनिक गतिविधि तीव्र रूपले अगाडि बढेको छ । त्यसैले त्यहाँबाट हामी अलि अगाडि बढेका छौँ ।

भरतपुर महानगरमा रेणु दाहालले काँग्रेससँगको गठबन्धनबाट चुनाव जितेकी हुन् । अध्यक्ष प्रचण्डले पनि बाम गठबन्धनबाट निर्वाचन जितेका हुन् । गठबन्धनबिना चुनाव जित्न नसक्ने तपाईंहरु कमजोर होइन र ?

कस्तो प्रकारको कमजोर भनेको हो ? यो देशमा नेकपा माओवादीले उठाएका राजनीतिक एजेन्डाहरू अहिले तपाई हामी सबै त्यसैको वरिपरि छौँ । तर संसदीय अभ्यासमा बुलेटभन्दा पनि ब्यालेटको कुरा मुख्य हुन्छ र ब्यालेटको हिसाबले माओवादी केन्द्र तेस्रो पार्टी नै हो । अहिले नै हामीले हाम्रो पार्टीको आकारको कुरा गर्ने हो भने पनि देशव्यापी रूपमा ८ लाख भन्दा बढी पार्टी सदस्य नवीकरण भइसकेको छ । ८ लाखमा सामान्यतः एउटा पार्टी सदस्यले ४ जनालाई कभर गर्न सक्यो भने पनि कमसेकम ३२ लाख मतदाता अहिले नेकपा माओवादी केन्द्रको वरिपरि छन् । ३२ लाख मत प्राप्त गर्ने बित्तिकै त्यो पार्टी कुन स्तरको हुन्छ आफै मूल्याङ्कन गर्नुहोला ।

अन्य हिसाबले हामी बलियो नै छौँ तर मतको हिसाबले हामी कमजोर देखिएका हौँ । अब हामी त्यो मतलाई कसरी बढाउने भन्नेतर्फ अगाडि बढेका छौँ । नेपाली जनतामा जाने, पार्टी कमिटी चुस्त दुरुस्त बनाउने, समावेशी चरित्रको पार्टी कमिटी बनाउने भन्ने उद्देश्यसहित हामी सङ्गठनको अभियानमा छौँ । त्यसैले हामी नेकपा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने तयारीमा छौँ । देशमा पहिलो बनिसकेपछि चितवनमा पनि पहिलो बन्छौँ । यहाँलाई अवगत गराउन चाहन्छु, गएको निर्वाचनमा हामीले चितवनबाट समानुपातिक तर्फ ४३ हजार मत प्राप्त गरेका थियौँ । जिल्लामा पार्टी सदस्य २३ हजार ८८७ जना छन् ।

तपाईंले यो दाबी गर्दै गर्दा माओवादी केन्द्रका एक बलिया नेता रामबहादुर थापा ‘बादल’ नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । उनीसँगै ठुलो सङ्ख्यामा कार्यकर्ता पङ्क्ति पनि एमालेमा लागेका छन् । अब त यहाँ माओवादी केन्द्रलाई झन् गाह्रो हुँदैन र ?

बादल नेता नै हुनुहुन्थ्यो । अहिले पनि एमालेमा सक्रिय नै हुनुहुन्छ । बादल कमरेडले पनि भोट त एउटा नै हाल्ने हो । उहाँले भोट हालेर २ वटाको मान्यता हुँदैन । बादल कमरेडजस्ता हजारौँ मानिस विभिन्न राजनीतिक पार्टी छोडेर नेकपा माओवादी केन्द्रको विचार, नीति, योजना र संगठनमा अवद्ध भएका छन् । तपाईले विगत २/३ महिनामा पश्चिम चितवनमा खासगरी, भरतपुर महानगरपालिका र माडीको विशेष क्षेत्रतिर हेर्ने हो भने त्यो सङ्ख्याभन्दा दोब्बर बढी पार्टीमा प्रवेश गरेका छन् । अब हामी चितवनमा पहिलो पार्टी हुन्छौँ । हिजो हाम्रो संगठन पनि चुस्त दुरुस्त थिएन । हामीले संगठन निर्माण र विस्तारका लागि देशव्यापी रूपमा सम्मेलनहरु गरेका छौँ । वैचारिक राजनीतिक ढङ्गबाट पार्टीको नेतृत्व श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले गर्नुभएको छ । गठबन्धन हाम्रै पार्टीको नेतृत्वमा भएको छ । यद्यपि दलीय हिसाबले हामीभन्दा काँग्रेस ठुलो पार्टी हो तर यो गठबन्धन बनाउन र यो सरकार बनाउन तथा प्रतिगमन विरुद्धको आन्दोलनमा जेहाद छेड्न हाम्रो पार्टी र हाम्रो नेतृत्वको भूमिका छ । त्यसैले वैचारिक राजनीतिक एजेण्डाका रूपमा पनि हामीले लिड गरेका छौँ ।

चितवनका काँग्रेस नेताहरू माओवादीसँगको गठबन्धन मान्दैनौँ भनिरहेका रहेछन् । यहाँ त काँग्रेस एक्लै हिँड्छ रे ! तपाईंहरुलाई अप्ठ्यारो पर्दैन ?

उहाँहरूको कुरा एउटा पाटो छ । उहाँहरू किन त्यो गठबन्धनमा हुनुहुन्छ त ? गठबन्धनको ठुलो दलको हिसाबले अहिले रामचन्द्र पौडेलले त्यसको नेतृत्व गरिरहनु भएको छ । त्यो स्वाभाविक रूपमा तलसम्म आउँछ । उहाँहरूको कुण्ठा, पीडा पनि होला । तर के बुझ्न जरुरी छ भने गत स्थानीय तहको निर्वाचनमा पनि उहाँको उम्मेदवार उहाँहरूको भोटले मात्र जित्ने स्थिति थिएन । नेकपा माओवादी केन्द्रको मत र जनताको सपोर्ट गरेरमात्र उहाँहरूको जनप्रतिनिधिले जितेका हुन् । गठबन्धनका बारेमा तल उहाँहरूको आक्रोश एक ठाउँमा होला ।

आगामी राष्ट्रियसभा निर्वाचन र अन्य निर्वाचनमा पनि गठबन्धनबाटै अघि बढ्ने केन्द्रीयस्तरमा एउटा सहमति भएको छ । सोही अनुसार अहिले प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेर बसेको एमालेको साइज निकै घट्ने छ र माओवादी केन्द्रको साइज बढ्ने छ । त्यसैले गठबन्धन अगाडि बढेर जान्छ । देशव्यापी रूपमा काँग्रेससँग गठबन्धन हुन सकेन भने पनि केही स्थानमा तालमेल हुन सक्छ । गठबन्धनका अन्य दलहरूसँग सहकार्य कायम रहन्छ । यसको अर्थ हामी सशक्त नै हुन्छौँ । गठबन्धनले मात्र बलियो हुने होइन । आफ्नै विचार, सङ्गठनको आधार र जनताको विश्वास जितेर माओवादी आफै सशक्त बन्नु पर्छ ।

माओवादी केन्द्रले चितवनमा २०६४ सालमा पाएको जनमत किन जोगाउन सकेन ?

माओवादी केन्द्रको जनमत बढिरहेको छ । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरण र टुटफुटको प्रक्रिया निरन्तर चल्छ । २००६ सालमा स्थापना भएको नेकपा पटक–पटक विभाजन भएको छ । पुनः गठन भएर एकताबद्ध पनि भएको छ । त्यसैको स्वरूप बादल कमरेडको बहिर्गमन भएको हो माओवादी आन्दोलनबाट । त्यसकारण देशव्यापी रूपमा नेकपा माओवादी केन्द्रको जनआधार बढ्दै गएको कसैले पनि न्यूनीकरण गरेर सम्भव छैन । आन्दोलनको क्रममा यो प्रक्रिया जारी रहन्छ । बाबुरामजीको पनि बहिर्गमन भएको हो । उहाँजस्तो शक्तिशाली नेता गएपछि माओवादी केन्द्र धेरै कमजोर हुन्छ भन्ने थियो तर त्यसो भएन ।

अर्को कुरा, माओवादी एउटा जीवन्त पार्टी हो । हिजो युद्ध लडेर आएको पार्टी हो । केही साथीहरु बहिर्गमन भएर जानुभयो तर माओवादीको आत्मा, विचार, सम्मान, लक्ष्य र उद्देश्य विचलन भएको छैन । कमजोरमात्र भएको हो । अलिअलि हामीले बिगार्‍यौँ ।

नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशन चितवनमा गर्दैछ, यसलाई तपाईहरुले कसरी लिनु भएको छ ?

कम्युनिष्ट पार्टीहरूको भेला, सम्मेलन, महाधिवेशन यो भइरहन्छ । नेकपा एमाले विभाजित भएको छ । विभाजित अवस्थामा उहाँहरू अलिअलि तङ्ग्रिन खोज्नुभएको छ । अलिअलि धक्का पनि उहाँहरूलाई लागेको छ । उहाँहरूले चितवन नै रोज्नु भयो, पर्यटकीय हिसाबले राम्रो पनि छ । हामीले यसलाई अन्यथा रूपमा लिन मिल्दैन ।

यो महाधिवेशनको रणनीतिक अर्थ छ पनि भनिएको छ । विशेष गरी प्रचण्डको निर्वाचन क्षेत्र पनि चितवन नै भएकोले एमालेले आफ्नो पक्षमा जनमत बढाउने रणनीति बनाएको भन्ने छ । यसले त तपाईहरुलाई घाटा होला नि ?

हिजो तटस्थ रहेका साथीहरुले पनि नेकपा माओवादी केन्द्रभन्दा अर्को विकल्प छैन भनेर १५ हजार ४९० पार्टी सदस्य रहेको चितवन जिल्लामा अहिले २३ हजार ८ सय ८७ पुग्नु भनेको जनमत कसको कता छ भन्ने कुरालाई प्रष्ट पारेको छ । महाधिवेशन गरेर जनमत पाउँछु भन्ने आशा र अवसर लिन पाइन्छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । तर यसबीचमा हाम्रो विकास र विस्तार भएको छ । उहाँहरूले डोमिनेट गर्न खोजेर हामी कमजोर हुने पनि होइन । उहाँहरूको निरन्तरताको प्रक्रिया हो । राजनीतिक रूपले के लक्ष्य राख्नु भएको छ, त्यो उहाँहरूको कुरा हो । उहाँहरूले यो कार्यक्रम राखिसकेपछि त सयौँका सयौँ कार्यकर्ता एमालेमा प्रवेश गर्नुपर्ने हो नि । अन्य पार्टीका नेता कार्यकर्ता उहाँहरूको पार्टीमा जानुपर्ने हो, तर त्यस्तो छैन । बरु कतिपय उहाँहरूको पार्टी छोडेर अन्त लाग्नु भएको छ । उहाँहरूले जुनसुकै रणनीति अपनाए पनि हामीले यसलाई स्वाभाविक रूपले लिएका छौँ ।

प्रचण्ड कै निर्वाचन क्षेत्रको माडी अयोध्यापुरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामको मन्दिर स्थापना गरेका छन् । मन्दिर स्थापनापछि त्यहाँ एमालेको लोकप्रियता बढेको भन्ने कुरा छ । यसले पनि तपाईहरुको मत घट्छ भन्ने कुरा छ नि ?

पहिले माडीमा हाम्रो पार्टी सदस्य १५/१६ सय थियो । अहिले राम मन्दिरको कुरा गरिसकेपछि केपी ओली प्रवृत्ति त्यहाँ परास्त भएको छ । अहिले त्यहाँ माओवादी केन्द्रको ३८ सय पार्टी सदस्य पुगिसकेको छ । बरु विस्तार भएको छ हाम्रो सङ्गठनको आकार । उहाँहरू कमजोर हुनु भएको छ । पार्टीमा आवद्ध पुराना नेता तथा कार्यकर्ताहरु हाम्रोमा आउनु भएको छ । एमालेले राम मन्दिरको कुरा उठाएर हाम्रो पार्टी कमजोर हुँदैन । प्रमाणित भएर त्यो कुरा आउँछ भने हामी आदर सम्मान नै गर्छौं ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप