शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा गण्डकी प्रदेश विद्यालय नाटक महोत्सव हुँदै

शुक्रबार, १० मङ्सिर २०७८, २१ : २७
शुक्रबार, १० मङ्सिर २०७८

पोखरामा नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको हो । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका ११ जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । 

‘विद्यालयमा रङ्गमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्यक्रमको आयोजना गरिने उनले बताए । ‘महोत्सवमा सहभागीताका लागि विभिन्न छनोट चरण पारगर्नुपर्ने छ,उनले भने,‘पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ, त्यसको लागि पौष ३ गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने छ।’ 

कथावस्तुको अध्ययन पछि केही सिमित नाटक दोस्रो चरणकोलागि छनोट गरिने आयोजकको भनाई छ । दोस्रो चरणमा छनोट भएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । 

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको छ ।

पोखरा थिएटरले गएको वर्षदेखि गण्डकी विद्यालय स्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि पोखरा महानगरपालिका स्तरीय नाटक महोत्सव समेत आयोजना गरिएको थियो ।महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप