शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सहमतिमा नेतृत्व चयन गर्न गृहमन्त्रीको गृहकार्य

शनिबार, ११ मङ्सिर २०७८, ०७ : २३
शनिबार, ११ मङ्सिर २०७८

गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीमा नेपाली काँग्रेसको जिल्ला नेतृत्व सहमतिमा चुनिने पहल सुरु भएको छ । त्यसको लागि शुक्रबार तोकिएको महाअधिवेशन शनिवारका लागि सारिएको हो ।

रुपन्देहीमा यसअघि पालिका र क्षेत्रमा संस्थापन र इतर समूहले प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । पालिका  ३ गते र क्षेत्रको ६ गते प्यानलसहित मैदान उत्रिएको  दुवै पक्षहरू  अहिले  काँग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाँणको पहलमा जिल्ला नेतृत्व सहमतिबाटै चयन गर्न सहमत भएका हुन् ।  जिल्ला नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको भन्दै पार्टीले  सहमतिको लागि समय मागेपछि निर्वाचनको कार्यक्रम शनिबारका लागि सारिएको निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार सूचना जारी गर्दै निर्वाचन कार्यतालिका संशोधन गरी  मङ्सिर ११ गते शनिबारका लागि तय गरिएको जनाएको छ । सहमति गर्नको लागि बिहीबारदेखि नै पटक पटक नेतृत्वको छलफल भएको  थियो । संस्थापन र इतर समूहबाट जिल्लाका नेताहरूले जिल्ला कार्यसमितिमा भागबण्डा गर्ने लिखित सहमति गरेको नेताहरूले दाबी गरेका छन् । तर लिखित  सहमति पत्र सार्वजनिक गर्न मानेका छैनन् । यहाँ खास गरी  देउवा पौडेल समूहसँगै केन्द्रमा  देउवा प्यानल रहेका  सार्वजनिक लेखा समिति सभापति भरत शाह छुट्टै शक्ति रहेको छ । तसर्थ  तीन समूहको सहमतिमा नेतृत्व बन्ने देखिएको छ ।

गृहमन्त्री खाँणको पहलमा भैरहवामा बसेको बैठकमा तीन वटै समूहबाट प्रतिनिधित्व हुने गरी जिल्ला नेतृत्वमा भागबण्डा गर्ने भनिएको छ । जस अनुरूप सभापति, एक सचिव र सहसचिव संस्थापन पक्षले, दुई उपसभापति मध्ये एक जना भरत शाहले र एक जना संस्थापन इतर समूहले पाउने छ । संस्थापन इतर समूहले एक सचिव र सहसचिव पनि पाउने सहमति भएको स्रोतको दाबी रहेको छ । तर नेताहरू अहिले त्यो विषय बोल्न नसक्ने अवस्था रहेको बताउँछन् ।

कार्यसमितिमा क्षेत्रगत रूपमा निर्वाचित क्षेत्रीय सभापतिहरूले आ आफ्नो क्षेत्रबाट सदस्यको नाम सिफारिस गर्ने गरी सहमति भएको सभापति रज्जाकले बताए । गृहमन्त्री खाँणको नेतृत्वमा, लेखा समिति सभापति शाह, जिल्ला सभापति रज्जाक, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल,प्रतिनिधि सांसद प्रमोद यादव, प्रदेश सांसद अष्ठभुजा पाठक, क्षेत्र नं. ३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादवले सर्वसम्मत नेतृत्वका लागि  लिखित सहमति गरेको सभापति रज्जाकले बताएका छन् । सहमतिसँगै हालका जिल्ला सचिव रामकृष्ण खाँण जिल्ला सभापतिमा सर्वसम्मत हुने अन्तिम तयारी रहेको छ । यसअघि दुई कार्यकाल सचिव भएका थिए । उनले सभापतिमा जानको लागि व्यापक तयारी समेत गरेका थिए ।

सर्वसम्मत नेतृत्व भनिए पनि  पदाधिकारी र जिल्ला सदस्यमा भने को को पर्ने हुन अहिलेसम्म स्पष्ट नभएको आजको  महाधिवेशन तयारीमा रहेका कार्यकर्ताहरू अलमलमा परेका छन् । सहमतिमा दुवै पक्षका नेताहरू आगामी दिन केन्द्रीयदेखि अन्य लाभको पदका लैजान पहल गर्नको लागि सहमत भएको एक नेताले बताएका छन् । रज्जाकले दुवै समूहका नेताहरूको समेत आगामी दिनमा उपयुक्त व्यवस्थापन  गर्ने सर्तमा सहमति जुटेको  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप