विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मानिसका भित्री र बाहिरी रूप मेरा साहित्यबाट छर्लङ्ग बुझिन्छ’

‘गीतसङ्गीत सुन्दासुन्दै रुने व्यक्ति मै हुँ’
शनिबार, ११ मंसिर २०७८, ०८ : २२
शनिबार, ११ मंसिर २०७८

माया ठकुरी नेपालकी नाम चलेकी साहित्यकार हुन् । भारतको लखनउमा जन्मिएर नेपाली साहित्यमा पहिचान बनाउन सफल ठकुरीका कतिपय रचना नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा पनि समावेश छ । थोरै भए पनि गहन कथाहरू लेखेकी उनका कतिपय कथा हिन्दी, बङ्गाली, तमिल, जापानी र अङ्ग्रेजी भाषामा समेत अनूदित छन् । ‘बौलाहा’ शीर्षकको कविताबाट साहित्य यात्रा थालेकी उनी ‘नेपाली साहित्य नारी रत्नको सम्मान’ प्राप्त गर्ने पहिलो स्रष्टा हुन् । ‘नजुरेको जोडी’, ‘गमलाको फूल’, ‘माया ठकुरीका कथाहरू’ देखि ‘चरी चिरबिर’ सम्म उनका ८ कृति प्रकाशनमा आएका छन् । पछिल्लो समय नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञका रूपमा रहेकी माया ठकुरीका जीवनका पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

मीठो पकाउन सक्छु

मेरो मनपर्ने खाना नेपाली दाल, भात, तरकारी र अचार हो । मस्यौरा, गुन्द्रुकलगायत पनि मनपर्छ । माछा, मासुलगायत सबथोक मीठो लाग्छ । मन नपर्ने खानेकुरा केही छैन ।

अहिलेको समय रेस्टुरेन्ट जाँदिनँ भन्दा पनि साथीभाइ, परिवार र आफन्तले लान्छन् । रेस्टुरेन्टको पिज्जा, चाउमिन जस्ता खानेकुरो मनपर्दैन । म त रेस्टुरेन्टमा पनि नेपाली खाना खोज्छु । सानोमा अर्काको घरमा काम गरेर हुर्किएकी हुँ । त्यसैले सबथोक मीठो पकाउन सक्छु ।

नियमित योगा

एक्सरसाइज नगरे त शरीर बाँधिए जस्तो लाग्छ । सानोमा काम गर्दा एक्सरसाइज हुन्थ्यो । अहिले नियमित योगा गर्नुपर्छ । मनको शान्तिका लागि ध्यान गर्छु ।

टाउकोदेखि पैतालासम्म शरीरका हरेक भागका लागि फरक फरक एक्सरसाइज गर्छु । यो कहाँबाट सिकेँ याद भएन । ७३ बर्षको उमेरमा पनि एक्सरसाइजका कारणले आफूलाई फिट एन्ड फाइन राख्न सफल छु । मर्निङ वाक र एक्सरसाइजका सामान प्रयोग भने कहिल्यै गरिनँ ।

सारी बेस्ट

पहिरनमा सारी बेस्ट लाग्छ । बाहिर निस्किँदा सधैँ सारीचोलो प्रयोग गर्छु । कुर्थासुरुवाल कहिलेकाहीँ घरमा रहँदा लगाउँछु । कुर्थासुरुवाल लगाएर घर बाहिर म कहिल्यै निस्किएकी छैन ।

हल्का रङ्ग भएको, चम्किलो र साझा कलरको पहिरन मलाई मनपर्छ । गहकिलो र महँगो पहिरन मनपर्दैन । पहिरनमा ब्रान्ड खोज्ने कहिल्यै रहेन । पछिल्लो समय प्रज्ञा प्रतिष्ठाको प्राज्ञ भएपछि धेरै मानिससँग भेटघाट, बाहिर हिँडडुल गरिरहनुपर्ने भएकाले पहिरन धेरै किन्न थालेकी छु ।

पुस्तकको किरो 

पहिलेदेखि नै म धेरै पुस्तक पढ्थेँ । त्यो बानी अझै छ । पहिले लखनउमा बस्दा हिन्दी भाषाका पढ्थेँ । अहिले हिन्दी, अङ्ग्रेजी र नेपाली लेखकका पुस्तकहरू पढ्छु । घरमा थुप्रै पुस्तक छन् ।

सामाजिक विषयमा लेखिएका, मनोवैज्ञानिक, व्यक्तिका जीवनी, ऐतिहासिक र धार्मिक पुस्तक पढ्न मनपर्छ । राजनीतिक विषयमा लेखिएका पुस्तक मनपर्दैन । आफ्नै जीवनीसमेत पुस्तकमा ल्याउने सोच छ ।

पछिल्लो समय सबै प्रकारका पुस्तक पढे पनि आफूलाई प्रेरणा मिल्ने, जीवन परिवर्तनमा सहयोग पुग्ने खालका पुस्तक बढी पढ्छु । धेरैले मलाई प्रज्ञा प्रतिष्ठानमा आएपछि आर्थिक अवस्था राम्रो भयो भन्छन् । त्यो होइन, प्रतिष्ठानमा आएपछि मेरो साहित्य झन् राम्रो भयो । साहित्यलाई अझै नजिकबाट बुझ्ने र सिक्ने मौका पाएँ ।

बोर्डर काट्न मनछैन

घुमघाममा रुचि छ । साथीभाइ, आफन्तसँग घुुम्छु । विदेशका केही देश पुगेकी छु । सुन्नेलाई अचम्म लाग्न सक्छ । सकभर देशको बोर्डर काटेर बाहिर मन छैन । श्रीमान् इन्जिनियर भएका कारणले देशको त्रिशूली, भैरहवा, दाङ, पोखरा, पाल्पा लगायत धेरै ठाउँ घुमेकी छु । प्राकृतिक सौन्दर्यले भरिएका रमाइला ठाउँ अझै घुम्न मन छ ।

केको फुर्सद ?

फुर्सद आफैमा भरपर्ने कुरो हो । अध्ययन धेरै गर्ने भएकाले फुर्सद मिल्दैन । धेरैभन्दा धेरै पढ्ने र लेख्ने गर्छु म । पढ्न, लेख्नबाट बचेको समय परिवारलाई दिन्छु । कहिलेकाहीँ फुर्सद भयो भने साथीभाइ, घरपरिवारसँग रमाउने र घुम्ने गर्छु ।

पौडी खेल्थेँ नि

अहिले त खेलकुदमा रुचि छैन । सानोमा खोलामा पौडी धेरै खेल्थेँ । त्यसपछि डोरी पनि खेलिन्थ्यो । अहिले त खेलकुद हेर्न समेत मन लाग्दैन ।

मोबाइल धेरै हराए

अहिले मसँग दुईवटा मोबाइल छन् । ब्रान्ड कुन भन्ने थाहा छैन । धेरै मोबाइल हराएकाले नातिहरूले बाहिर हिँड्दा नर्मल अर्थात् फोन गर्न र उठाउन मिल्ने र घरमा रहँदा राम्रो मोबाइल बोक्छु ।

मोबाइलमा फोन गर्ने, भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने, मेल चेक गर्ने लगायतका काममा प्रयोग गर्छु । जुम मिटिङसमेत गर्छु । धेरै मोबाइल हराएकाले बाहिर हिँड्दा महँगो बोक्दिनँ ।

घरमा टीभी छैन

अहिले त घरमा टीभी राखेकी छैन । पहिले थियो, अलिअलि हेरिन्थ्यो । छोरा, नातीहरू इन्टरनेटमै रमाउँछन् । म र श्रीमान्  हेर्दैहेर्दैनौँ । फिल्म हेर्न पनि रुचि छैन । हलमा गएको याद छैन ।

पच्चीस वर्ष शिक्षण

लगभग पच्चीस वर्ष शिक्षण पेसामा बिताएँ । पढ्नका लागि स्कुल नटेकेको मानिस म । शिक्षण पेसामा कसरी ? भन्ने प्रश्न उठ्छ । त्यो पछि भनौँला । शिक्षण गण्डकी बोर्डिङ स्कुल, त्रिशूली हाइस्कुल, पाल्पाको जनता माध्यामिक विद्यालय लगायत धेरै ठाउँमा गरेँ ।

साहित्यले परिचित भएँ

साहित्यले मलाई विश्वमा परिचित गरायो । मेरो साहित्यका कृति नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा समावेश छन् । कतिपय कथाहरू हिन्दी, बङ्गाली, तमिल, जापानी, अङ्ग्रेजी आदि भाषामा अनूवादित छन् । देशविदेशका पत्रपत्रिकाको प्रथामिकतामा पनि प्रशस्तै परेका छन् । मेरो पहिलो कृति ‘बौलाहा’ शीर्षकको कविता हो ।

१९६२ मा भारतको सिलोनबाट निस्कने एक हिन्दी पत्रिकाका लागि मैले एउटा कथा पठाएकी थिएँ । पत्रिकाले मेरो कथा अस्वीकृत गर्दै चिट्ठीसमेत पठाएछ । ‘कथा हामीलाई मनपर्यो । कथा आफ्नो भाषामा लेखेको भए झनै राम्रो हुन्थ्यो । लेख्दै जानू, एक दिन राम्रो कथाकार बन्न सक्छौ’ चिठ्ठीमा लेखिएको थियो ।

त्यो चिठ्ठी अस्वीकृत भएको भन्दा पनि राम्रो कथाकार हुन्छौँ भनेकाले मलाई छोयो । मैले चिठ्ठी देखाउँदै हिँडे । सबैले बौलाही भनेर गिल्ला गरे । त्यो मेरो इगो भो र मैले ‘बैलाही’ कविता लेखँे  ।

त्यसपछि मेरो साहित्यिक यात्रा सुरु भयो । पीडा र समाजका प्रश्न त्यसमा समेटेकी थिएँ । नजुरेको जोडी, गमलाको फूल,  साँघु तरेपछि, चौतारीको साक्षी,  माया ठकुरीका कथाहरू, इन्द्र धनु, आमा जान्नुहोस्, प्रियंवदा, चरी चिरबिर आदि मेरा बाहिर आएका कृति हुन् । म साहित्य कल्पनामा लेख्दिनँ । समाजमा जे देख्छु, जे भोग्छु, त्यो लेख्छु । मानिसको भित्री र बाहिर रूप कस्तो हुन्छ ? मेरो कथा पढ्नेले छर्लङ्ग बुझ्छन् ।

साहित्यका कारणले विभिन्न सङ्घसंस्था हुँदै अहिले म प्रज्ञा प्रतिष्ठाको प्राज्ञा भएकी छु । यसअगाडि प्राज्ञ सभा सदस्य मैले प्रतिष्ठानमा खासै केही काम गरेकी छैन । सिक्ने मौका भने धेरै पाएँ ।

सहित्यका कारणले मैनाली कथा पुरस्कार, जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर–पत्र, मैना पुरस्कार, खिल शर्मा– राजीवलोचन जोशी पुरस्कार, दीपज्योति सम्मान, ‘नेपाली साहित्य नारी रत्न’ लगायत थुप्रै पुरस्कार पाउन सफल छु ।

प्रेम विवाह गरेँ

विसं ०४२ मा मैले ब्राह्मण व्यक्तिसँग प्रेम विवाह गरेकी हुँ । उहाँ र म सिलोनमा एकै ठाउँमा हुर्किएका हौँ । सानैदेखि एकै ठाउँमा खेल्थ्याँै । त्यही सिलसिलामा हाम्रो विवाहको कुरा भयो र विवाह गर्यौँ ।

विवाहको समय प्रेम के हो मलाई केही थाहा थिए । त्यो उमेरमा प्रेम होइन आकर्षणले विवाह गरेँ । जब उमेर ढल्किँदै गयो, त्यसपछि मात्र प्रेम बस्यो र बुझेँ । साँच्चै भन्ने हो भने विवाह गरेर मलाई श्रीमान् र उनका परिवारले आश्रय दिएका हुन् । विवाह होइन, म भन्छु उहाँले मेरो उद्धार गरेको हो ।

सपना ठूलो छैन

नेपालका गाउँगाउँमा एकदमै राम्रा साहित्य लेख्ने प्रतिभा धेरै छन् । सोर्सफोर्स नभएका कारणले उनीहरूको साहित्य प्रतिभा बाहिर आउन सकेको छैन । उनीहरूको प्रतिभा बाहिर ल्याउने माध्यम बन्ने इच्छा छ ।

पढ्ने संस्कृति विकासका लागि मैले गाउँगाउँमा पुस्तक पठाउने गरिरहेकी छु । सहर र विकासित ठाउँमा मानिस मात्र होइन, गाउँका मानिसले पनि पढ्न पाऊन्, अगाडि बढून् भन्ने मेरो अर्काे सपना हो ।

गीत सुन्दा रुन्छु

भारतबाट शास्त्रीय सङ्गीत मैले सिकेको पनि छु । मेरा धेरै गीत अल इन्डिया रेडियो र रेडियो नेपालमा समेत रेकर्ड भएका छन् । गीतसङ्गीत त धेरै सुन्छु, गाउँछु पनि । गीतसङ्गीत सुन्दासुन्दै रुने व्यक्ति मै हँु नि । दुःख, पीडाका, प्रेमिल, ट्रेजेडी र समाजको प्रतिनिधित्व गर्ने गीत मनपर्छन् ।

हिन्दी, नेपाली जुनै प्रकारका पनि गीत सुन्छु । कहिलेकाहीँ साङ्गीतिक कार्यक्रममा अवसर मिल्यो भने गाउँछु । गीतबाट छाडा संस्कृति नभित्रियोस्, पहिलेको र वर्तमान अवस्थाको पनि चित्रण गरोस् भन्ने छ ।

भूल कति कति

जीवनमा भूलहरू कति हो कति ! भूल त पाइलैपिच्छे भएका छन् । भूल भयो भनेर कहिल्यै पछुताएर बसिनँ । त्योबाट पाठ सिक्दै अगाडि बढ्दै आएँ ।

अहिले पनि केही गर्दा भूल भयो भने किन यस्तो भयो भनेर पछुताउँदिनँ । नराम्रो ठूलै घटना हुन्थ्यो होला यसले टर्यो भन्छु ।  म भूलबाट सिकेर अगाडि बढ्छु ।

मापसे हल्का

मापसे हल्का गर्छु । सानोमा जाँड, रक्सी बनाउने छिमेकीको घरमा जान्थेँ । त्योबेला अलिअलि खान्थेँ । पछिल्लो समय घरमा आफन्तहरूको जमघट, विवाह, पार्टीमा हल्का वाइन लिन्छु ।

रोग केही छैन

त्यस्तो ठूलो रोग केही छैन । पछिल्लो समय अलिअलि प्रेसरले सताएको छ । त्यसका लागि औषधि खान्छु । बुढ्यौली उमेरका कारणले लाग्ने रोगहरू देखिन थालेको छ ।

मृत्यु सत्य हो 

मृत्यु ध्रुव सत्य हो । जीवनको अन्तिम सत्य र स्वाभाविक प्रक्रिया पनि । मृत्यु हुन्छ भनेर सबैले बुझेकै विषय हो । त्यो हुन्छ भनेर पहिल्यै जीवनबाट निरास हुनु त हँुदैन । जीवनको अत्यसम्म पनि हामीले आफूलाई सङ्घर्षशील बनाउँदै अगाडि बढ्दै जानुपर्छ । जीवन रहेसम्म सबैको राम्रो हुने काम गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप