बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘डेगेन्द्र राजवंशीको आत्महत्यात्मक हत्या’

एमाले मुख्यालयमा आत्महत्या गर्ने राजवंशी काव्यबिम्बमा
शनिबार, ११ मङ्सिर २०७८, १५ : ३०
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेको तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा आन्दोलनका योद्धा एवं कम्युनिस्ट कार्यकर्ता डेगेन्द्र राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ कविता संग्रह अघिल्लो साता बजारमा आयो । ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ शीर्षकको पुस्तक कवि निभाको चौथो कविता कृति हो ।

निभाले राजवंशीको आत्महत्यालाई ‘नृशंसतापूर्वक’ गरिएको ‘आत्महत्यात्मक हत्या’ भनेका छन् । ‘आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे, त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोर्‍यो,’ नयाँ कविता सङ्ग्रहका सन्दर्भमा प्रकाशन संस्था ‘बेला पब्लिकेसन्स’का सम्पादक विनोदविक्रम केसी भन्छन् , ‘अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण विम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए, यो कविता सङ्ग्रह डेगेन्द्रकै नाममा सचोट र सआक्रोश समर्पित छ ।’

कम्युनिस्ट कविका रुपमा परिचित विमल निभा आफूलाई मार्क्सवादी विचारधारसँग सम्वद्ध लेखकका रुपमा चिनाउँछन् । निभाका मित्र तथा समीक्षक शार्दूल भट्टराई ‘कम्युनिस्ट पार्टीमा नरहेका कम्युनिस्ट लेखक’ भनेर निभाको मूल्यांकन गर्छन् ।

साँढे पाँच दशकदेखि कविता कर्ममा समर्पित कवि निभा थोरै तर शक्तिशाली कविता लेख्ने साधक मानिन्छन् । ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ पुस्तकमा उनका ७० वटा अप्रकाशित कविता संग्रहित छन् ।

निभाका यसअघि तीन कविता संग्र्रह, ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्ध संग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन् । निभाले पत्रिकाहरुमा लामो समयदेखि व्यंग्य स्तम्भ पनि लेख्दै आएका छन् ।

प्रस्तुत छ संग्रहको शीर्ष कविता–

डेगेन्द्र राजवंशीको आत्महत्या

–विमल निभा

हाम्रो स्मृतिको

कुनै एकान्त कुनामा

के डेगेन्द्र राजवंशीले

गरेको हो आत्महत्या ?

नेपाल कम्युनिस्ट पार्टीको

हेडक्वार्टरमा भएको

कमरेड डेगेन्द्र राजवंशीको

आत्महत्याको समाचार

जत्तिकै साँचो हो

त्यत्तिकै झूटो पनि

झापा सङ्घर्षका एक

योद्धा कमरेड डेगेन्द्र राजवंशीले

आत्महत्या गरेको भए पनि

त्यो आत्महत्या होइन

कुनै पनि जीवन्त योद्धाले

आत्महत्या गर्छ ?

त्यो हत्या हुन्छ सुनियोजित

र, कमरेड डेगेन्द्र राजवंशीको

आत्महत्यामा यस समयको

सबैभन्दा क्रूर हत्यागाथा

छिपेको हुनुपर्छ जरूर

(यो हत्याराहरुलाई

थाहा छ राम्ररी)

नेपाल कम्युनिस्ट पार्टीको

त्यो हेडक्वार्टरमा

जहाँ कमरेड डेगेन्द्र राजवंशीको

आत्महत्यात्मक हत्या

भएको थियो नृशंसतापूर्वक

त्यहाँ बिहानैदेखि नै

पोलिटब्युरोको मिटिङ

भइरहने गर्छ प्रतिदिन

र, पार्टी अध्यक्ष, उपाध्यक्ष,

महासचिव, उपमहासचिव,

र, स्थायी कमिटीका मेम्बरहरु

गरिब, दुःखी र सर्वहाराहरुका

सम्पूर्ण पक्षमा गर्ने गर्छन्

निरन्तर लामा–लामा

अलौकिक बहस,

छलफल र वार्ता

(दिन–दिनभरि नै)

त्यसपछि अँध्यारो रात हुन्छ

र प्रारम्भ हुने गर्छ एक्कासि

विचित्र प्रकारको हलचल,

खलबली र कोलाहल

उसो भए के कमरेड

डेगेन्द्र राजवंशीको आत्मा

अशान्त भएर भट्किरहेको हो त

नेपाल कम्युनिष्ट पार्टीको

हेडक्वार्टरमा रातभर ?

होइन, यो गलत हो बिलकुलै

कुनै सत्यता छैन यसमा

किनभने, त्यहाँ याने

नेपाल कम्युनिस्ट पार्टीको

हेडक्वार्टरमा एक होइन

अनेकन् चञ्चल आत्माहरु

गरिरहन्छन् तीव्र चहलकदमी

र, कदाचित् एउटा आत्मा

कमरेड डेगेन्द्र राजवंशीको हो भने

अन्य आत्माहरु कसका हुन् ?

कुनै दिन इतिहासको तीक्ष्ण

अन्वेषक चेतनाले प्रकाशित

गरिछाड्ने छ सर्वाङ्ग

त्यो नेपाल कम्युनिस्ट पार्टीको

हेडक्वार्टरमा कुनै

हलिउडको हरर सिनेमाजस्तै

रात–रात–रातभर

विचरण गर्ने आत्मा (हरु)

कमरेड डेगेन्द्र राजवंशीको नभएर

शत–प्रतिशत नै

नेपाल कम्युनिस्ट पार्टीको

हेडक्वार्टरस्थित

विचारशून्य, सिद्धान्तभ्रष्ट

र ‘अकम्युनिस्ट’ शब्दमा फिट

सायद एक दर्जन

होइन, सात दर्जन

होइन, होइन, नौ दर्जन

अर्थात्, एक सय आठवटा

श्वासवान शव याने

पूरै नक्कली जीवितहरुका

पराभौतिक शरीर थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप