बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेसँग सहकार्य गर्न चीन तयार, कम्बोडियाका सांसदले भने – ‘ओली ग्रेट म्यान’

शनिबार, ११ मङ्सिर २०७८, १८ : १३
शनिबार, ११ मङ्सिर २०७८

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरे । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ । उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ । सन्देशमा भनिएको छ, ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ । राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाईमा पुगेको छ । एमालेले सकारात्मक योगदान पुर्याएको छ । चीन नेपालसँग काम गर्न तयार छ । पारस्परिक सम्मान र समृद्धिका लागि एमालेसँग मिलेर काम गर्न तयार छ ।’

टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन् । उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग वसर मिल्नेछ जनाएका छन्। साधै महाधिवेशनको शुभकामनाका पनि दिएका छन् ।

भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ । सन्देशमा पार्टीको सुदृढीकरण र सुखी नेपाली समृद्ध नेपाल अभियानले नयाँ उचाइ लिने उल्लेख छ । यस्तै, नेपाल र भियतनामबीचको सम्बन्ध सुदृढ र प्रगाढ रूपमा विकास हुने विश्वास व्यक्त गरेको छ ।

श्रीलंकाको जेबिपीका नेता विजिता लेडारले एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिए ।  उनले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेको र एमालेसँग सहकार्य पनि गरिरहेको बताए । उनले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताए ।

कार्यकर्ममा सम्बोधन गर्दै सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताए । उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका छन् ।  उनले भने, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनु भएको छ । हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ ।’ उनले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताए ।

कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिएका छन् । उनले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर शुभकामना दिएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा होस् भन्ने कामना पनि गरेका छन् । यस्तै, नेपाल र कम्बोडियाबबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताए । राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनु पर्ने बताए ।

सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गरेका थिए । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना गरे । सोही अवसरमा उनले भने ‘ओली ‘ग्रेट म्यान’ हुन् । दुई देशबीच सम्बन्ध हार्दिक छ। सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ।’ सोही क्रममा उनले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गरेका थिए ।

सोनियाको पत्र छोडेर फर्किए अखिलेश

कांग्रेस आईका नेता अखिलेश यादव काठमाडौंहुँदै चितवन पुगेर फर्किएका छन् । बन्द सत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोनिया गान्धीले पठाएको पत्र छोडेका छन् ।

सोनियाको पत्रमा भनिएको छ, ‘म सहभागी भएर शुभकामना दिन चाहेको थिए । तर, परिस्थितिले सकिएन । निमन्त्रणा गरेकोमा धन्यवाद । महाधिवेशन सफल होस् शुभकामना ।’ भारतीय जनता पार्टीका हर्षवद्र्धन शुक्रबारको उद्घाटनसत्रमा सहभागी भई फर्किएका थिए ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्दसत्र सञ्चालन भइरहेको छ । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा शुक्रबार पार्टीका अध्यक्ष ओलीबाट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप