शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हालन्डको कीर्तिमानमा डर्टमण्डको पुनरागमन, बायर्नले बनायो गोलको नयाँ रेकर्ड

आइतबार, १२ मङ्सिर २०७८, ०८ : ३८
आइतबार, १२ मङ्सिर २०७८

वुल्फ्सवर्गलाई हराउने क्रममा अर्लिङ ब्राउट हालान्डले गोल गर्दै बुन्डेस लिगामा ५० गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । शनिबार राति भएको खेलमा डर्टमण्ड ३–१ गोलले विजयी बनेको हो ।

खेलमा अग्रता भने वुल्फ्सवर्गले लिएको थियो । वोउट वेगहोर्स्टले खेलको दोस्रो मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ३५ औँ मिनेटमा एमरे च्यानले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा डोनयेल मालेनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । ८० औँ मिनेटमा हालन्डले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

योसँगै मात्र २१ वर्ष १२९ दिनमा नोर्वेजियन खेलाडीले जर्मनीको शीर्ष लिगमा ५० गोल पूरा गर्न सफल भएका छन् । यो सिजन उनले सबै प्रतियोगितामा ११ खेलमा १४ गोल गरेका छन् । जीतसँगै डर्टमण्ड ३० अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

उता, शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले अर्मिनिया बेइलेफेल्डलाई १–० गोलले पराजित गर्‍यो । लेरोय सानेको एकमात्र गोल खेलमा निर्णायक बन्यो । योसँगै बायर्नले ४४ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २०२१ मा बायर्नले १०२ गोल गरिसकेको छ । सन् १९७७ मा कोलोग्नेले १०१ गोल गरेर कीर्तिमान बनाएको थियो । बायर्नको ३१ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप