शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली उम्मेदवार बन्न नपाउने भएपछि विधान फेरियो

तेस्रोपटक अध्यक्षको उम्मेदवार बन्न ओलीलाई बाटो खुल्यो
आइतबार, १२ मङ्सिर २०७८, ११ : १३
आइतबार, १२ मङ्सिर २०७८

गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ ।

गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन पाउँदैनन् । एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ एमालेको विधानमा व्यवस्था छ ।

नेकपा एमालेको विधान–२०७८ को धारा ६४(१) मा भनिएको छ, ‘पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन पाउने छैन ।’

एमाले अध्यक्ष ओली आठौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका थिए । माधव नेपालको साथ लिएर चुनाव लडेका उनी त्यसबेला झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । नवौँ महाधिवेशनमा ओली दोस्रोचोटि अध्यक्षको उम्मेदवार बने र जिते । त्यसबेला उनले माधव नेपाललाई अध्यक्षमा हराएका थिए ।

अहिले दसौँ महाधिवेशनमा ओली तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् । तर, दुई महिनाअघि ओलीकै नेतृत्वमा विधान महाधिवेशनबाट पारित विधानले उनलाई तेस्रोचोटि अध्यक्ष पदमा उम्मेदवार बन्न रोक लगायो ।

हेर्नुहोस् विधान

आफ्नै नेतृत्वमा पारित विधानले ओलीलाई तेस्रोपटक अध्यक्ष पदका लागि उम्मेदवार बन्न रोक लगाएपछि शुक्रबार राति विधानको धारा ६४(१) लाई संशोधन गरेर ओलीका लागि तेस्रोपटक चुनाव लड्ने बाटो खोलिएको छ ।

पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी ‘उम्मेदवार हुन पाउने छैन ।’ भन्ने प्रावधानलाई सच्याएर ‘दुईपटक भन्दा बढी एउटै पदमा रहन पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

ओलीले पहिलोपटक हारेको र दोस्रो पटक जितेको हुनाले अब फेरि एकचोटि अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गरिएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘गोदावरीमा पारित विधान नसच्याएको भए ओलीजी उम्मदेवारै बन्न नपाउनुहुनेरहेछ । त्यसैले बाधा अड्काऊ फुकाउनका लागि विधान संशोधन गरेर उहाँलाई अध्यक्ष बन्ने बाटो खोलिएको हो ।’

त्यसो त एमालेले यसअघि ७० वर्ष पुगेको व्यक्ति उम्मेदवार बन्न नपाउने विधानमा व्यवस्था गरेको थियो । तर, गोदावरीको विधान महाधिवेशनले केपी ओलीलाई लक्षित गरी ७० वर्ष कटे पनि पदमा रहन पाउने गरी विधान सच्याइसकेको छ ।

केपी ओली यही फागुनमा ७० वर्ष पुग्दैछन् । गोदावरीमा पारित एमालेको विधानको धारा ६४ (२) मा ओलीलाई सजिलो पार्दै भनिएको छ, ‘निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ । तर, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिनेछैन ।’

पोलिटब्यूरोको काम कर्तव्य र अधिकार तोकियो

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्ष बन्ने मार्ग प्रशस्त गर्नुका साथै ९९ सदस्यीय पोलिटब्यूरो कमिटीको पनि व्यवस्था थप गरेको छ । साथै पोलिटब्यूरो कमिटीको काम कर्तव्य र अधिकार पनि शुक्रबार संशोधित विधानमा थप गरिएको छ ।

यसका साथै २२५ सदस्यीय कमिटीलाई ३०१ बनाउने र पदाधिकारीको सङ्ख्या १५ बाट बढाएर १९ बनाउने गरी एमालेले विधानमा संशोधन गरेको छ । शुक्रबार संशोधित विधान शनिबार राति बन्दसत्रबाट पारित भइसकेको एमाले नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप