बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको हिसाब–किताब : को–को पर्दैछन् पदाधिकारीमा ?

आइतबार, १२ मङ्सिर २०७८, १४ : ५४
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सौराहामा जारी बन्द सत्र रोकेर अबको केही घण्टापछि सहमतिका आधारमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गर्ने तयारी अगाडि बढाएका छन् । यसक्रममा ओलीले पूर्वमाओवादी र १० बुँदे पक्षधर नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् । उनले आफ्नो समूहका नेतासँग पनि ओलीले छलफल गरिरहेका छन् ।

सहमतिका आधारमा नेतृत्व चयन गर्ने गृहकार्यका क्रममा १९ सदस्यीय पदाधिकारीको टिम बनाउने ओलीलाई सकस परिरहेको छ । आकांक्षीहरु धेरै रहेका तर पदहरू सीमित रहेकाले सबैलाई कसरी चित्त बुझाउने भन्नेमा ओलीले ‘होमवर्क’ गरिरहेको नेताहरूले बताएका छन् । महाधिवेशन स्थलमा रहेका एमाले नेताहरूले दिएको जानकारी अनुसार पदाधिकारी टिममा भइरहेको अहिलेसम्मको गृहकार्य यस्तो छ–  

अध्यक्षका दाबेदार

पार्टीको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल दुईजनाले दाबी गरेका छन् । तेस्रोपटक अध्यक्षमा लड्न ओलीले विधानसमेत सच्याइसकेका छन् । तर, रावलले जति भोट आए पनि अध्यक्षमा चुनाव लडेरै छाड्ने अडान लिएका कारण अध्यक्ष पदमा सर्वसम्मत हुने स्थिति अहिलेसम्म बनिसकेको छैन । केपी ओलीले चाहिँ रावललाई उपाध्यक्षमै दोहोर्‍याएर सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् ।   

वरिष्ठ उपाध्यक्ष

अध्यक्षपछिको वरिष्ठ उपाध्यक्ष पदमा भने ईश्वर पोखरेलबाहेक अरूको दाबी परेको छैन । पोखरेलकै लागि विधानमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको एमाले नेताहरू बताउँछन् । अहिलेसम्मको स्थिति हेर्दा वरिष्ठ उपाध्यक्षमा पोखरेल सर्वसम्मत हुने सम्भावना बढेको नेताहरू बताउँछन् ।   

उपाध्यक्ष (६ सीट)

एमालेमा ६ जना उपाध्यक्षको सीट छ । विधान महाधिवेशनले ५ जना उपाध्यक्ष तय गरेकोमा नेताहरूको व्यवस्थापनका लागि ६ जना उपाध्यक्ष बनाउने गरी विधान संशोधन गरिएको छ ।

अहिलेसम्म खुलेर आएका उपाध्यक्षका दाबेदारहरू ५ जना छन् । तर, महासचिवका दाबेदारहरूलाई व्यवस्थापन गर्दा अन्यलाई पनि उपाध्यक्ष बनाउनुपर्ने भएकाले ६ जना उपाध्यक्ष छान्न सजिलो छैन ।

अहिलेसम्म अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा (बादल), घनश्याम भुसाल र देवराज घिमिरेले उपाध्यक्षमा दाबी गरेका छन् । यीमध्ये वर्तमान उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगको प्रमुख बनाउने ओलीको प्रस्ताव प्रस्ताव छ ।

झापाली नेता देवराजलाई ‘ब्याक’ हुन लगाउने र महासचिव दाबी गरिरहेका केही नेतालाई उपाध्यक्षमा तान्ने ओलीको प्रस्ताव छ । उनले भीम रावललाई पनि उपाध्यक्षमै अटाउन चाहेका छन् ।

यसो गर्दा उपाध्यक्ष बनाउनुपर्ने नेताहरूको सङ्ख्या बढ्न गई ८ पुग्छ । किनभने, भीम रावल, अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्वाङ, घनश्याम भुसाल, विष्णु पौडेल, रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा समेट्नुपर्ने बाध्यता ओलीसामु छ ।

अध्यक्ष ओलीले सुरेन्द्र पाण्डेलाई उपमहासचिव प्रस्ताव गरेका छन्, तर उनले पहिल्यै महासचिवमा ६ भोटले हारेको हुनाले त्यो भन्दा तल नजाने भन्दै महासचिव नपाए उपाध्यक्ष पाउनुपर्ने अडान राखेका छन् ।

त्यस्तै, महासचिव मागेका विष्णु पौडेललाई पनि उपाध्यक्षमा व्यवस्थापन गर्नुपर्ने चुनौती ओलीसामु छ । त्यसैले ६ वटा उपाध्यक्षको सीटमा ८ नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या ओलीलाई परेको देखिन्छ ।  

महासचिवमा ‘टफ’ प्रतिस्पर्धा

सौराहामा रहेका एमाले नेताहरूको भनाइ अनुसार पदाधिकारीमध्ये सबैभन्दा ‘टफ’ प्रतिस्पर्धा महासचिव पदमा देखा परेको छ । एउटा सिट रहेको महासचिवका दाबेदार नेताहरूमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यीमध्येबाट ओलीले शंकर पोखरेललाई महासचिव बनाउन चाहेको नेताहरू बताउँछन् । तर, यसो गर्दा गुरुङ, पौडेल र नेम्वाङलाई उपाध्यक्ष बनाउनुपर्ने बाध्यता छ । प्रदीप ज्ञवाली र

ज्ञवाली र पाण्डेलाई भने उपमहासचिव बनाउने ओलीको प्रस्ताव छ । तर, यो प्रस्ताव ज्ञवालीले माने पनि पाण्डेले उपाध्यक्ष दाबी गर्ने स्रोत बताउँछ ।  

उपमहासचिव (३ सीट)

एमालेमा उपमहासचिव तीनजना बन्न पाउँछन् । अहिलेसम्म  गोकर्ण विष्ट, भीम आचार्य, विन्दा पाण्डे लगायतले उपमहासचिवमा दाबी गरेका छन् । निवर्तमान सचिव योगेश भट्टराईले सचिवमै चित्त बुझाउने बताइसकेका छन् भने प्रदीप ज्ञवालीले महासचिव दाबी गरेका छन् । तर, ओलीले ज्ञवालीलाई उपमहासचिवमै सहमत गराउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।

सचिवका दाबेदारहरू अधिक रहेको र उपाध्यक्ष एवं महासचिवका दाबेदारहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने अवस्थामा निवर्तमान सचिवहरूमध्येबाटै तीनजना उपमहासचिव बनाउने बाध्यता एकातिर  छ भने अर्कोतर्फ महिला, दलित र मधेसी क्लस्टरलाई पनि नेतृत्वमा ल्याएको सन्देश दिनुपर्ने भएकाले नयाँले समेत उपमहासचिवमा चान्स पाउने सम्भावना रहेको स्रोतले बतायो ।

तथापि, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र सुरेन्द्र पाण्डेलाई उपमहासचिव बनाउने ओलीको चाहना रहेको एमाले नेताहरू बताउँछन् ।   

सचिव : ७ सिट, २७ बढीको दाबी

एमालेमा सचिवका दाबेदारहरू अत्यधिक देखिएका छन् । अहिलेसम्म ७ वटा सचिव पदका दाबेदारहरूमा योगेश भट्टराई, रघुजी पन्त, किरण गुरुङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, विष्णु रिमाल, डा. शिवमाया तुम्वाहाम्फे, पदमा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र यमलाल कँडेल छन् । त्यसैगरी, गोकुल बास्कोटा, खगराज अधिकारी, शेरबहादुर तामाङ, विशाल भट्टराई, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ राजेन्द्र गौतम, रघुवीर महासेठ, ठाकुर गैरे, अरुण नेपाल, महेश बस्नेत, गुरु बराल, शेरधन राई, कर्ण थापा र हिक्मत कार्कीसमेतले सचिवमा दाबी गरेका छन् । यीमध्येबाट ओलीले ७ जना सचिव छान्नुपर्ने छ ।

ओलीले पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये एकजनालाई सचिव बनाउने प्रस्ताव गरेको बुझिएको छ । योगेश भट्टराई पुरानै भइहाले । आफू निकटका विष्णु रिमाल पनि ओलीको प्राथमिकतामा छन् । त्यस्तै, महिलाबाट शिवमाया र पदमा अर्यालमध्ये एकले चान्स पाउने बताइएको छ । विन्दा पाण्डेले उपमहासचिव नपाएमा उनी सचिव बन्ने सम्भावना छ । त्यसपछि बाँकी तीन सीटमा भूगोल, प्रदेश र जातीय क्लष्टरहरु मिलाउनुपर्ने बाध्यता छ ।

पदाधिकारी बाहेक केन्द्रीय सदस्यहरूमा प्रदेशगत रूपमा  सहमति जुटाउनका लागि छलफल भइरहेको महाधिवेशनमा सहभागी नेताहरूले जानकारी दिएका छन् । सहमति जुटाएर आजै बन्दसत्रमा नामावली प्रस्तुत गर्ने अध्यक्ष केपी शर्मा ओलीको योजना छ । तर, सहमति नजुटेका पदहरूमा चुनाव हुने नेताहरूले बताएका छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप