शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला टी–२० विश्वकप : यूएईसँग नेपाल ४८ रनले पराजित

आइतबार, १२ मङ्सिर २०७८, १५ : ०४
आइतबार, १२ मङ्सिर २०७८

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएई विरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो । 

शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।  जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो । 

नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् ।  युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो ।  युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्ध शतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए । 

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथो खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो । 

हारसँगै नेपालले सन् २०२३ मा हुने टी(२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप