शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरी व्यथा लाग्दा पनि साइकल चलाएर अस्पताल पुगिन् न्युजिल्याण्डकी सांसद, स्वस्थ बच्चा जन्माइन्

सोमबार, १३ मङ्सिर २०७८, १० : ३९
सोमबार, १३ मङ्सिर २०७८

न्युजिल्याण्डकी सांसद जुली एनी जेन्टर आजकाल चर्चामा छिन् । साइकल चढेर अस्पताल पुगेर बच्चा जन्माएका कारण उनी चर्चामा आएकी छिन् । वास्तवमा जुलीलाई आइतबार बिहानै सुत्केरी व्यथा लाग्यो । त्यसपछि उनी आफ्नो विद्युतीय साइकल चढेर अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनलाई सुत्केरी गराए ।

जुलीले आफ्नो यो अनुभव सोसल मिडियामा सेयर गरेकी छिन् । उनले बच्चाको थुप्रै तस्बिर पोस्ट गर्दैै लेखिन्, ‘ठूलो खबर, बिहान ३ः०४ बजे हामीले परिवारको सबैभन्दा नयाँ सदस्यको स्वागत गर्यौं । सुत्केरी व्यथाले च्यापेका बेला साइकल चलाउने मेरो कुनै योजना थिएन तर यस्तै हुन लेखिएको थियो ।’

जुलीले लेखिन्, ‘राती २ बजे अस्पताल जानका लागि निस्कँदा मलाई खासै पीडा भएको थिएन । पछि पीडा बढेका कारण हामी अस्पताल पुग्न १० मिनेट ढिलो भयो । हामीसँग एउटा स्वस्थ र खुसी बच्चा छ जो पिताको काखमा सुतिरहेको छ । ’

जुलीले आरामदायी तरिकाले सुत्केरी गराएकोमा अस्पतालका कर्मचारीलाई धन्यवाद दिइन् ।

ग्रीन एमपीको नामले चर्चित छिन् जुलीः

सांसद जुली एनी जेन्टरलाई ग्रीन एमपीको नामले पनि चिनिन्छ । वातावरणको विषयमा आफ्नो अभियान चलाएका कारण उनी चर्चामा छाइरहन्छिन् । जुलीसँग अमेरिका र न्युजिल्याण्डको दोहोरो नागरिकता छ । उनी अमेरिकाको मिनसोटामा जन्मिएकी थिइन् तर सन् २००६ मा न्युजिल्याण्ड पुगेकी थिइन् । न्युजिल्याण्डको मिडिया अनुसार जुलीले सन् २०१८ मा पनि यसै गरी साइकल चलाएर अस्पताल पुगेर पहिलो सन्तान जन्माएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप