बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बादल दोस्रोपटक ब्याटलमा, पूर्वमाओवादीको परीक्षा, को होला आउट ?

सोमबार, १३ मङ्सिर २०७८, १३ : ४५
सोमबार, १३ मङ्सिर २०७८

रामबहादुर थापा बादल संस्थापन पक्षबाट नेकपा एमालेको उपाध्यक्षमा प्रस्तावित छन् । तर, उनले अब चुनाव लडेर एमालेका घघडान नेतालाई हराउँदै उपाध्यक्ष पद सुनिश्चित गर्नुपर्ने परिबन्द आइलागेको छ । एमालेका पुराना एवं चर्चित नेताहरू सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीमध्ये एकजनालाई हराएपछि मात्रै बादलले नेकपा एमालेको उपाध्यक्ष बन्न पाउनेछन् ।

एमालेको उपाध्यक्ष पदमा ६ सिट छन् । यसमा अहिले ७ जना दाबेदार छन् । ६ जना एमाले पृष्ठभूमिका नेताहरू छन् भने रामबहादुर थापा बादल पूर्वमाओवादी खेमाबाट केपी ओलीको सिफारिसमा उम्मेदवार बनेका छन् । यसअघि राष्ट्रियसभाको चुनावमा बादल एमालेभित्रकै अन्तर्विरोधको शिकार बनेर डा. खिमलाल देवकोटासँग पराजित भएका थिए । माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि बादलले अहिले दोस्रोपटक चुनावी ब्याटलमा आफूलाई होमेका छन् ।

एमाले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले अब आफ्नो पुराना ६ जना नेताहरूलाई उपाध्यक्षमा रोज्ने कि पूर्वमाओवादीबाट आएका बादललाई रोज्ने भनेर निधो गर्नुपर्ने भएको छ ।  तथापि, बादल केपी ओलीकै सिफारिसमा उम्मेदवार बनाइएकाले उनको पोजिसन कमजोर नहुने विश्वास ओली पक्षका नेताहरूको छ ।  

​एउटा संयोग के देखिएको छ भने वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा एमाले पृष्ठभूमिकै नेताहरू उठेका हुनाले त्यहाँ कसैले पनि दाबी गरेन र पाँचवटा पदहरू निर्विरोध भइसके । तर, पूर्वमाओवादी नेताहरू उठेको उपाध्यक्ष र सचिव पदमा भने बागी उम्मेदवारी परेको हुनाले  ‘एमाले भर्सेस माओवादी’ को रूप लिने सम्भावना रहेको नेताहरू बताउँछन् ।

एकजना पूर्वमाओवादी नेताले रातोपाटीसँग भने, ‘हामीलाई पनि थोरै त्यस्तो डर छ, तर अहिलेको नेकपा एमालेलाई नेकपाकै निरन्तरताका रूपमा लिनुपर्छ र एकताको भाव झल्काउनका लागि पनि हामी (पूर्व माओवादी) लाई जिताउनैपर्छ भन्ने लाग्छ ।’

उपाध्यक्षमा रामबहादुर थापा बादललाई सकस परेजस्तै सचिवमा उम्मेदवारी दिएका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्टराई पनि एमाले पृष्ठभूमिका नेताहरूलाई हराएर आफ्नो सिट सुरक्षित गर्नुपर्ने चुनौती थपिएको छ ।

७ वटा सचिवका लागि ९ जनाले प्रतिस्पर्धामा भाग लिएका छन् । तीमध्ये पूर्वमाओवादीबाट सचिवमा उम्मेदवार टोपबहादुर रायमाझी र लेखराज भट्ट छन् । बाँकी एमाले पृष्ठभूमिका योगेश भट्टराई र गोकर्ण विष्ट नवौँ महाधिवेशनकै सचिव भएकाले बलिया दाबेदार हुन् । त्यस्तै छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पदमा अर्याल पनि ओली पक्षकै भएकाले बलिया दाबेदार हुन् ।

चीनका लागि पूर्व राजदूतसमेत रहेका टंक कार्की एमालेका पुराना एवं त्यागी नेता हुन्, जससँग चुनावी प्रतिस्पर्धा गर्न टोपबहादुर रायमाझी र लेखराज भट्टराई भारी पर्न सक्ने एमाले नेताहरू बताउँछन् । त्यस्तै प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका भीम आचार्य पनि नवौँ महाधिवेशनका सचिव रहेको हुनाले उनी पनि एमालेका पुराना हस्ती मानिन्छन् ।

सचिव पदमा प्रतिस्पर्धा गर्नेहरूमध्ये दुईजना पूर्वमाओवादी पृष्ठभूमिका छन् भने चारजना १० बुँदे पक्षधर छन् । ओली समूहबाट सचिवका दाबेदार तीनजना छन् ।

भीम रावलले कति भोट ल्याउलान् ?

अध्यक्ष पदमा केपी ओलीसँग चुनाव लडिरहेका भीम रावलले कति भोट ल्याउलान् भन्ने जोड घटाउ एमालेभित्र र बाहिर सुरु भएको छ । रावलले चुनावै जित्न नसके पनि ओलीविरुद्ध उम्मेदवारी दिएर राजनीतिक रूपमा जितिसकेको बताउनेहरू पनि छन् । जहाँसम्म भोटको कुरा हो १० बुँदे पक्षधरहरूले आफ्नो पक्षमा ५ सयको हाराहारीमा भोट रहेको बताउँदै आएको छन् ।

उता उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धामा उत्रेका पूर्वमाओवादी समूहका नेताहरू आफूहरूसँग १८० मत रहेको बताउँछन् । तर, ओली पक्षको साथ भएकाले चुनाव जितिने उनीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप