शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी नफुटाउने सङ्कल्प गर्दै कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

‘पहिलो पटक उम्मेदवारी दिँदा असहज महसुस गर्दैछु’
सोमबार, १३ मङ्सिर २०७८, १४ : १८
सोमबार, १३ मङ्सिर २०७८

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

२०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’

थापाले राप्रपाको इतिहासमा महाधिवेशनपछि पार्टी फुट्ने देखिएको हुँदा टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न अपिलसमेत गरे । ‘महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिले फुट्न नदिने सङ्कल्प गरौँ,’ उनले भने ।

थापाले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसभन्दा अघि पार्टीभित्र कहिले पनि भोट नमागेको र उम्मेदवारी पनि नदिएको स्मरण गरे । उनले भने, ‘उम्मेदवारी नदिँदा पनि देशभरका साथीहरूबाट  अत्यधिक बहुमत प्राप्त गरेँ । तर आज उम्मेदवारी घोषणा गर्ने र भोट पनि माग्नुपर्ने अवस्था आयो । यो परिस्थिति जन्य बाध्यता हो । मैले केही असहज महसुस पनि गरिरहेको छु ।’ 

अर्का अध्यक्ष पशुपति शमशेर राणाले अध्यक्ष पदमा उम्मेदवारी नदिने र प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण महाधिवेशनमा सहमति मै नेतृत्व चयन गर्ने आशा व्यक्त गरे । उनले संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रम लोकेन्द्रबहादुर चन्द, दिवङ्गत नेता राजेश्वर देवकोटा, पद्मसुन्दर लावती लगायतलाई सम्झिएका थिए ।

२०६२÷६३ पछि बाहिरी शक्तिको दबाब र प्रभाव र केही दलका कारण देश धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको अघि बढेको उल्लेख गरे । देशमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र आवश्यक  रहेको पार्टीको धारणा रहेको पनि स्पष्ट पारे ।  संघीयतालाई देशले धान्न नै नसक्ने बताउँदै सुदृढ स्थानीय शासन प्रणालीको पक्ष राप्रपा रहेको पनि जिकिर गरे । थापाअघि राजेन्द्र लिङदेनले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप