शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशतमा सीमित, ६ प्रतिशतको लक्ष्य भेट्न सकेन

सोमबार, १३ मङ्सिर २०७८, १७ : ५४
सोमबार, १३ मङ्सिर २०७८

केन्द्रीय तथ्याङ्क विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत र उत्पादकको मूल्यमा ४.०१ प्रतिशत रहेको अनुमान गरेको छ । अघिल्लो वर्ष त्यस्तो वृद्धिदर क्रमशः २.१२ प्रतिशत र २.०९ प्रतिशतले ऋणात्मक रहेको थियो । 

२०७७/७८ को पहिलो त्रैमासमा कोभिडको असर तुलनात्मक रूपमा कम भएकाले निषेधाज्ञा र बन्दाबन्दी खुकुलो हुँदा आर्थिक गतिविधिमा सुधार आई आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा उच्च रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपि, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा नेपाल सरकारले राखेको कम्तीमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य समीक्षा वर्षमा भेट्न सकेन । 

आर्थिक वृद्धिको प्रारम्भिक तथ्याङ्कको आधारमा समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २.६४ प्रतिशत र गैर–कृषि क्षेत्रको उत्पादन ४.५७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अनुमान छ । अघिल्लो वर्ष कृषि क्षेत्रको उत्पादन २.२३ प्रतिशत तथा गैर–कृषि क्षेत्रको उत्पादन ३.९१ प्रतिशतले ऋणात्मक रहेको थियो । 

समीक्षा वर्षमा गैर कृषि क्षेत्र अन्तर्गत उद्योग क्षेत्रको उत्पादन ५.०५ प्रतिशत र सेवा क्षेत्रको उत्पादन ४.४३ प्रतिशतले वृद्धि भएको अनुमान छ । आधारभूत मूल्यमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.६९ प्रतिशतले ऋणात्मक रहेको थियो भने सेवा क्षेत्रको वृद्धिदर ३.९७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

कुल गार्हस्थ्य उत्पादनको क्षेत्रगत संरचना

समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग तथा सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा यी क्षेत्रहरूको अंश क्रमशः २६.२१ प्रतिशत, १३.३७ प्रतिशत र ६०.४२ प्रतिशत रहेको थियो ।

प्रदेशगत आर्थिक वृद्धि तुलना गर्दा आर्थिक वर्ष २०७७/७८ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको ३७.६८ प्रतिशत रहेको छ भने सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ४.०३ प्रतिशत रहेको अनुमान छ ।

वृहत् औद्योगिक वर्गीकरणको आधारमा समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र तृतीय क्षेत्रको अंश क्रमशः २६.४१ प्रतिशत, १२.५३ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा यी क्षेत्रहरूको अंश क्रमशः २६.८० प्रतिशत, १२.७८ प्रतिशत र ६०.४२ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप