शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा अनधिकृत पार्किङ गर्नेलाई नगर प्रहरीले फिल्डमै जरिवाना तिराउने

मोटरसाइकललाई ५ सय र गाडीलाई १ हजार जरिवाना
सोमबार, १३ मङ्सिर २०७८, १८ : १७
सोमबार, १३ मङ्सिर २०७८

ललितपुर महानगरपालिका क्षेत्रमा पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गर्नेलाई ‘अन द स्पट’ जरिवाना गर्न थालिएको छ । महानगरको छैटौँ नगर सभाको निर्णय अनुसार सोमबारबाट अनधिकृत रूपमा पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै जरिवाना लिन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए ।

 अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरिवाना तिराउँदा सर्वसाधारणले थप झन्झट व्यहोर्नुपर्ने ललितपुर महानगरको निष्कर्ष छ । ट्राफिक नियम उल्लङ्घन बापतको जरिवाना ट्राफिक प्रहरीले गर्दै आएपनि अनधिकृत पार्किङको जरिवाना गर्ने अधिकार नगरपालिकालाई छ ।

गल्ती गरेको ठाउँमा नै जरिवाना गर्दा चालक र यात्रुको समयको बचत हुने र झन्झट व्यहोर्नु नपर्ने ललितपुर महानगरका नगर प्रहरी प्रमुख हाछेथुले बताए । अनधिकृत पार्किङका कारण पैदल यात्रुले सहज रूपमा आवतजावत गर्नबाट वञ्चित भएका छन् भने, ट्राफिक जाम पनि बढ्ने गरेको छ ।
 
ट्राफिक जाम न्यूनीकरण गर्न र दुर्घटना कम गराउन महानगरले पार्किङ निषेध गरिएको ठाउँमा सवारी पार्किङ गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । नगर प्रहरीले मोटरसाइकललाई ५ सय र गाडीलाई १ हजार जरिवाना लिन थालेको छ । पार्किङ निषेध गरिएका ठाउँ, साँघुरो पाटो र पोटीमा सवारी राख्नेलाई जरिवाना गर्ने र चक्का लक गर्ने काम पनि सुरु गरिएको हाछेथुले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप