शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याटु आर्टिस्टको निशानामा ४६ युवती : थप दुईले दिए ब्युरोमा जाहेरी

सोमबार, १३ मङ्सिर २०७८, १८ : २५
सोमबार, १३ मङ्सिर २०७८

सामाजिक सञ्जालमार्फत् किशोरी तथा युवतीसँग सम्पर्क गरी उनीहरूको नग्न फोटो तथा भिडियो लिई ब्ल्याकमेल गर्ने युवकविरुद्ध थप दुई किशोरीले जाहेरी दिएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सोमबार थप दुई किशोरीले आरोपी लव खड्गीविरुद्ध ब्युरोमा जाहेरी दिएका हुन् । 

साइबर ब्युरोका अनुसार किशोरी तथा युवतीसँग कुराकानी गरी उनीहरूबारे जानकारी लिने र त्यसैलाई आधार बनाएर ब्ल्याकमेल गरी उनीहरूको नग्न फोटो तथा भिडियो लिई ब्ल्याकमेल गर्ने खड्गीविरुद्ध सोमबार थप दुई जनाले ब्युरोमा उजुरी गरेका हुन् । एक १५ वर्षीय किशोरीको जाहेरीको आधारमा साइबर ब्युरोको टोलीले मङ्सिर २ गते खड्गीलाई बसन्तपुरबाट पक्राउ गरेको थियो । किशोरीलाई ब्ल्याकमेल गरी उनको नग्न तस्वीर र भिडियो बनाएको तथा भेट्नका लागि दबाब दिएपछि खड्गी पक्राउ परेका थिए । 

ब्युरोको टोलीले खड्गीलाई पक्राउ गरेपछि उनले प्रयोग गरेका डिजिटल साधनहरूको प्राविधिक परीक्षण गर्दा उनको मोबाइलमा ४६ जना किशोरी तथा युवतीको नग्न फोटो र भिडियो पाइएको थियो । आफू थाइल्याण्डको बैंककमा बस्ने व्यक्ति भएको भन्दै उनले नक्कली इन्स्टाग्राम र फेसबुक बनाएर सोही आधारमा कुराकानी गर्ने गरेका थिए । सोही आधारमा किशोरी तथा युवतीसँग कुराकानी गर्ने र उनीहरूको सबै जानकारी लिएपछि त्यही जानकारीलाई आधार बनाएर ब्ल्याकमेल गरी नग्न फोटो र भिडियो पठाउन लगाउने गरेका थिए । अनि जब किशोरी तथा युवतीहरूले नग्न फोटो र भिडियो पठाउँछन्, त्यसपछि त्यसलाई नै आधार बनाएर झनै अश्लील फोटो तथा भिडियो मगाउने र अश्लील गतिविधि समेत गर्न लगाउने गर्थे । अश्लील गतिविधि गर्न नमाने पहिलेको फोटो र भिडियो पोर्न साइटमा राखिदिने धम्कीसमेत दिने गरेका थिए ।

इन्स्टाग्राममा Ginp-Yeo-Ho​ नाम गरेको आइडी र अन्य दुईवटा इन्स्टाग्राम आइडीबाट खड्गीले विभिन्न किशोरी तथा युवतीलाई म्यासेज पठाई साथी बनाउने र उनीहरूसँग कुराकानी गर्दै नजिक हुन्थे । त्यसपछि उनीहरूलाई ब्ल्याकमेल गरी नग्न फोटो तथा भिडियो माग्थे र नमानेमा पहिलेका कुराकानी वा जानकारी परिवारका सदस्य वा अन्यलाई भनिदिने धम्की दिन्थे ।

इन्स्टाग्राममा बैंककको मान्छे भनेर कुराकानी गरिरहेकै समयमा खड्गीले कतिपयलाई आफ्नै सक्कली नामबाट पनि फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाउँथे । अनि त्यहीँबाट कुराकानी गर्थे र नजिक हुन्थे । त्यही क्रममा भएका अन्तरङ्ग कुराकानीको स्क्रिनसट, पठाइएका फोटो र भिडियोलाई संग्रहित गर्दै उनले आफूले भनेको जस्तो नगरे पोर्न साइटमा हालिदिने, परिवारका सदस्यलाई पठाइदिने धम्की दिन्थे । धम्कीपछि पीडितहरूले खड्गीलाई नग्न फोटो तथा भिडियो पठाउने तथा भिडियो च्याटमा अश्लील हरकत समेत गर्थे । खड्गी भने त्यसैलाई आधार बनाएर झनै ब्ल्याकमेल गर्थे र भेटघाट गर्न तथा यौनसम्बन्ध स्थापित गर्न धम्की दिन्थे । 

​सुरुमा एकजना पीडितको जाहेरीबाट खड्गी पक्राउ परेको भए पनि रातोपाटीमा समाचार आएपछि अहिले अन्य दुई किशोरीले जाहेरी दिएको ब्युरोले जनाएको छ । खड्गीबाट पीडित बनेका करिब डेढ दर्जन किशोरी तथा युवती ब्युरोको सम्पर्कमा आएको र उनीहरूसँग सम्पर्क भइरहेको ब्युरोले जनाएको छ । ब्युरोको टोलीले खड्गीको मोबाइलमा ४६ जना किशोरी तथा युवतीको नग्न फोटो र भिडियो भेट्टाएको थियो । उनीहरूमध्ये केही सम्पर्कमा रहे पनि कतिपय किशोरी तथा युवतीबारे जानकारी नभएको ब्युरोले जनाएको छ । पीडितहरूको गोपनीयतालाई ख्याल गर्नुपर्ने भएकाले परिवारमार्फत जान पनि अप्ठेरो परेको र अन्य पीडितसम्म पुग्न नसकिएको ब्युरोले जनाएको छ । अन्य पीडितको पनि जाहेरी आएपछि सबै जाहेरी र प्रमाणलाई एकैसाथ राखी साइबर अपराधमा मुद्दा चलाउने ब्युरोले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप