ad
x
एमाले महाधिवेशन

नयाँ बहस : एमाले महाधिवेशन सफल कि असफल ?

राधाकृष्ण मैनाली भन्छन्– यो ‘असन्तोषको महाधिवेशन’ हो

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने घोषणा भएको थियो । सोहीअनुसार १० गते नारायणी किनारमा भव्य उपस्थिति एवं उत्साहका बीच महाधिवेशनको उद्घाटन भयो । एमाले नेताहरूले जनसागर आगामी चुनावमा एमालेले बहुमत ल्याउने र सरकार बनाउने घोषणा पनि सोही मञ्चबाट गरे ।


तर, सोही दिन राति बन्दसत्रका लागि सौराहा पुगेपछि भने नारायणी किनारमा देखिएको उत्साहमा एकाएक चिसोपानी छ्यापियो । १२ गते नै सक्ने भनिएको महाधिवेशन नेताहरूको व्यवस्थापकीय कमजोरीका कारण १३ गतेसम्म जारी छ ।



उद्घाटन कार्यक्रममा एमाले नेताहरूमा जुन उत्साह र विजयभाव देखिएको थियो, बन्दसत्र सञ्चालन गर्न नसकेर प्रतिनिधिहरूको बिल्लीबाठ भएसँगै नेतृत्वको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । नेतृत्वको कार्यक्षमतामा मात्र होइन, बागी नेता भीम रावल र घनश्याम भुसालले त यो महाधिवेशनमा लोकतन्त्रमाथि नै चीरहरण भएको र जबज एवं पार्टीको आन्तरिक लोकतन्त्रको खिल्ली उठेको निष्कर्ष निकालेका छन् ।





तीन दिनसम्म चुनाव टार्ने प्रयास



पार्टीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका ईश्वर पोखरेलले गत मङ्सिर ४ गते ‘नवयुग’ बुलेटिनमा एउटा लेख लेखेका थिए, जसमा पार्टीभित्रको लोकतन्त्र र दसौँ महाधिवेशनको तयारीबारे उनले यसो भनेका थिए –



‘नवौँ महाधिवेशनमा हामीले अचम्मको दृष्टान्त प्रस्तुत गर्‍यौँ । माथिदेखि तलसम्म प्यानल बनायौँ । लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने नाममा अत्यन्तै विभाजनलाई बढावा दिने अभ्यास गर्‍यौँ । लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने तर त्यसको परिणामलाई स्वीकार गर्न नसक्ने संस्कार बोकिरहेको हाम्रो स्थिति थियो । त्यसका दुखद परिणामहरू प्रकट भए । लोकतान्त्रिक अभ्यासका नाममा भएका कामले एमालेभित्र गुटबन्दीलाई स्थापित गरिदियो । अब हामी योग्यहरुमध्येबाट योग्य छान्दा प्यानल बनाउँदैनौँ । यो महाधिवेशनमा हाम्रो प्यानल बन्दैन । लिष्ट बाँडिँदैन । हामी पूर्ण लोकतान्त्रिक अभ्यासमा जान्छौँ ।



यसैगरी महाधिवेशनको कार्यतालिका, बन्दसत्र लगायतको कार्यसूचीबारे अर्का नेता सुरेन्द्र पाण्डेको भनाइ यस्तो थियो–

‘मंसीर ११ गते बिहान सम्भवतः बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । सुरुमा अध्यक्षको मन्तव्यपछि सम्भवतः अध्यक्ष मण्डल गठन गरेर उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउनेछौँ । साँझसम्म दाबी–विरोध फिर्ता लिने, १२ गते बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ । १२ गतेसम्म महाधिवेशनको सम्पूर्ण औपचारिक काम सम्पन्न हुनेछ । १३ गते बिहान नयाँ नेतृत्व छनोटसँगै सबै प्रतिनिधिलाई बिदाइ गर्ने तयारी भएको छ ।’

दसौँ महाधिवेशन सुरु हुनुभन्दा करिब एक महिना पहिले कात्तिक १७ गते एमाले प्रचार विभागका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले भनेका थिए, ‘नेतृत्व निर्वाचनको कार्य इलेक्ट्रोनिक भोटिङ मेशिन (ई–भोटिङ) को प्रयोग गरी सम्पन्न गरिनेछ ।’

केपी ओलीसँग अध्यक्षका प्रत्याशी बनेका नेता भीम रावल महाधिवेशनको प्रक्रियाबारे पार्टीमा भएको छलफलबारे स्मरण गर्दै जानकारी रातोपाटीसँग भन्छन्–

‘देशको सबैभन्दा ठुलो राजनीतिक दलले १० गतेदेखि १२ गतेसम्म महाधिवेशन गर्ने भनेर काठमाडौँबाट सम्पूर्ण योजना बनाएको थियो । खुल्लासत्र १० गते गर्ने र बन्दसत्र ११ गते बिहानदेखि गर्ने निर्णय भएको थियो । मनोनयनसम्बन्धी सम्पूर्ण कार्यक्रम ११ गते नै गर्ने, उम्मेदवारी फिर्ता लिने पनि ११ गते नै पूरा गर्ने र १२ गते बिहान ८ बजेदेखि भोटिङ मेसिनहरूबाट मतदान गर्ने भनेर पार्टीले सारा निर्णय गरेर हामी त्योअनुसार चितवन आएका थियौँ ।  तर, दुई दिनसम्म सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अलपत्र पारेर उनीहरूचाहिँ मान्छे नै हैनन् जस्तो व्यवहार गरियो । यो लोकतन्त्रका लागि धेरै नै खतरनाक सङ्केत हो । देशको सबैभन्दा ठुलो पार्टीले यस्तो गर्नु भनेको गैरजिम्मेवार र अत्यन्त आपत्तिजनक कुरा हो ।’

अन्ततः एमालेले निर्वाचन कार्यतालिका नै बनाएर भोटिङ मेसिनसमेत सौराहामा थुपारिसकेको अवस्थामा जसरी तीन दिनसम्म चुनावी प्रक्रिया नै रोकेर सहमतिका नाममा महाधिवेशन प्रतिनिधिहरूलाई झुलाउने काम गर्‍यो, यसबाट महाधिवेशनमा लोकतान्त्रिक अभ्यास कुण्ठित भएको आरोप उसमाथि लागेको छ । विधान संशोधन गरेर पदहरू थपिए पनि तीन दिनपछि अन्ततः निर्वाचनको प्रक्रियामै जानुपरेपछि एमाले नेतृत्वमाथि केपी ओली निकटकै केही युवा नेताहरूले समेत प्रश्न उठाएका छन् ।

महाधिवेशनमा लोकतन्त्र, जबज र प्रतिस्पर्धालाई कुण्ठित गरिएको आरोप बाहिरबाट अरूले लगाएको होइन, स्वयं एमालेकै नेताहरूले यस्तो गुनासो गरेका हुन् ।

पार्टीलाई दलाल पुँजीवादीहरूले कब्जा गर्न लागेको घनश्याम भुसालको गुनासो छ भने रावलले महाधिवेशनमा चुनाव लड्न नदिएर जबजकै खिल्ली उडाउन खोजिएको बताएका छन् ।

हुन त महाधिवेशनको बिट मार्न बाँकी नै छ । तर, पदाधिकारीहरू र केन्द्रीय सदस्यमा चुनिनेहरूको प्रायः चित्र बाहिर आइसकेको छ । अब एक रात मतदानको सामान्य बिरालो बाँध्ने विधा मात्रै बाँकी छ । यो स्थितिमा अब एमालेको दसौँ महाधिवेशनबारे समीक्षा सुरु गर्नु पक्कै पनि हतारो नहोला ।

के नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन सफल भएको मान्न सकिन्छ त ? केपी ओलीका समकालीन पूर्व एमाले नेता राधाकृष्ण मैनालीको विचारमा एमालेको दसौँ महाधिवेशन ‘असन्तोषको महाधिवेशन’ बन्न पुगेको छ । मैनालीको विश्लेषण जस्ताको त्यस्तै–

यसो हेर्दाखेरि टुप्पोमा गएर लोकतान्त्रिक अभ्यास गरेको जस्तो त उनीहरूले देखाएका छन् । तर, मलाई लाग्छ, यो महाधिवेशन पछाडि सन्तोषको लहरभन्दा पनि उकुस–मुकुसको आक्रोश लिएर कार्यकर्ताहरू फर्कन्छन् ।

एमालेको पाँचौँ महाधिवेशनमा त्यति ठुलो डिबेट भएर पनि मान्छेले बहस गर्न पाएकोमा एक किसिमको सन्तोष मानेका थिए । हार्दा पनि उनीहरू जोस लिएर फर्किएका थिए । सीपी, झलनाथहरु हार्दा पनि आफ्नो बुलन्दपन नै लिएर शीर ननिहुर्‍याइकन हिँडेका थिए ।

यो दसौँ महाधिवेशनचाहिँ ठ्याक्कै के छ भने सर्वसम्मतिका नाममा तलदेखि नै कार्यकर्ताहरू गुम्सिँदै गुम्सिँदै आए । तलैबाट मान्छेहरू गुम्सिएर आए । कार्यकर्ताहरूलाई के हुँदोरेहछ भने उनीहरूको महत्त्वाकाङ्क्षालाई खेल्ने ठाउँ चाहिँदो रहेछ ।

छैटौँ वा नवौँ महाधिवेशनमा जस्तो उछृङ्खलरुपले जान एउटै पार्टीमा मिल्दैन । त्यसबेला लोकतन्त्रका नाममा अराजकता थियो । अहिले त्यो अराजकतालाई नियन्त्रण गर्ने नाममा एक किसिमको निरङ्कुशता सुरु भयो । र, यो निरङ्कुशताले हिजो अराजकतामा मौलाएका नेताहरूलाई एकैचोटि निचोर्ने हुँदा आज यो निराशामा परिणत भयो ।

महाधिवेशनमा अस्ति के भनिएको थियो भने ८ सय जना महाधिवेशन प्रतिनिधिहरू उम्मेदवार हुन लालायित थिए । उम्मेदवारी दर्ता गर्न स्वतन्त्र छाडिदिएको भए ८ सय जनाले उम्मेदवारी दिने थिए अनि त्यसबाट ३०१ जना छानिन्थे । अहिले ३ सय मात्रै उम्मेदवार भए, अरू चाहिँ प्रतिनिधि मात्रै भए । यहाँ ती ८ यी जनालाई नै हामीलाई चाहिँ उठ्न दिइएन भन्ने पर्ने भो । ८ सय भन्दा बाहिर पनि थिए होलान् ईच्छा राख्नेहरू, तिनीहरूलाई पनि हामीलाई प्रतिस्पर्धा गर्न दिइएन भन्ने आक्रोश उनीहरूको मनमा बस्ने भयो ।

अब जो ३०० चुनिएर आउँछन्, तिनीहरू सबै पोलिटब्यूरोमा जान लालायित छन् । उनीहरूको जिजीविषा यस्तो छ कि सबै पोलिटब्यूरोमा जान चाहन्छन् । तर, सबैले त पाउँदैनन् । अनि पोलिटब्यूरोमा जति पुग्छन्, ती सबै स्थायी कमिटीमा जान चाहन्छन् । स्थायी कमिटीमा सबै त जान पाउँदैनन् । यसरी पदमा आउने, नआउने वा हार्ने र जित्ने दुवै पक्षमा असन्तोष हुने भो ।

किनभने, केपी ओलीदेखि नै यो महत्त्वाकाङ्क्षाको बीजारोपण भयो । उनी धेरैचोटि म क्लास दोहोर्‍याउँदिनँ भन्दै आएका मान्छे हुन् । अहिले आएर उनी आफैँ अध्यक्षमा उठे । ६ हजार मान्छेलाई राखेर, भात खुवाएर बनाएको विधान दुई महिना पनि टिकेन । ६ हजारले बनाएको विधान पनि हेरफेर त भइसक्यो । यति भएर पनि यसले सन्तोष कसैलाई दिन सकेको छैन ।

मेरो विचारमा पहिले अहिलेका एमालेका महाधिवेशनहरूको तुलना गर्दा मलाई अहिलेको यो दसौँ महाधिवेशनचाहिँ असन्तोषको महाधिवेशन हुने भयो । यहाँबाट सन्तोष लिएर कोही जान्छ जस्तो मलाई लाग्दैन । पद पाउने स्वयं अध्यक्ष ओलीलाई पनि सन्तोष के भएन भने म त निर्विरोध भइनँ । वरिष्ठलाई थुमथुम्याएर ल्याइएको छ तर म ओलीलाई बाहेक अरू कसैलाई नेतै मान्दिनँ भन्ने सुवास नेम्वाङलाई तल पुर्‍याइयो । त्यसकारण, यी कोही पनि सन्तुष्ट छैनन् । भीम रावललाई पनि अब जीते पनि सन्तोष हुँदैन । किनभने, प्यानल छैन । हारे पनि उनलाई सन्तोष हुने कुरै भएन ।

केही केही सामान्यखालका मान्छेहरू, जसले पद पाएका छन्, तिनीहरूले अलिअलि सन्तोष लेलान्, नभए धेरै प्रतिनिधिहरू पार्टीले केही गरेन, राम्रो निर्णय गरेन भन्दै असन्तोष लिएर जान्छन् । र, यो असन्तोषले गर्दा एमालेको लहर उठ्ने भन्दा पनि एमालेको लहरलाई तेजोवध गर्ने स्थिति आउँछ । उद्घाटनमा मान्छे धेरै ल्याएर मात्रै पनि हुँदैन । झमझमी नाचेको हेर्दा रमाइलो हुन्छ, तर त्यसले पोलिटिकल इनोभेसन त दिँदैन नि ।

महाधिवेशनमा सुरुदेखि नै सबैलाई प्रतिस्पर्धा गर्न दिएको भए त्यसले ठिकै हुन्थ्यो । पहिलेजस्तो उच्छृङ्खल नभइकन तलैदेखि चुन्दै चुन्दै लिएर आएको भए र माथि पनि त्यो हुन दिएको भए ओलीवादकै फेर समाउनेहरु नै धेरै आए पनि अरू खालका मानिसहरू पनि आउँथे र त्यसले असन्तोषलाई ‘भेन्टिलेसन’ दिन्थ्यो । आक्रोशलाई निकास दिन्थ्यो । अथवा महत्त्वाकांक्षाहरुलाई खेल्ने ठाउँ हुन्थ्यो । महत्त्वाकाङ्क्षा त नेतामा मात्रै होइन, तल कार्यकर्तामा पनि छ नि ।

केही वर्षयता पार्टीमा युवाहरूको जुन लहर आयो, यसलाई माथिले रियलाइजेसन गरेर ल्याउँदा त्यसले सकारात्मक रुप लिने रहेछ । तलैबाट सेन्टिमेन्ट ल्याइदिने हो भने त्यहाँ  त आक्रोश आउने भयो क्या । अहिले नेतामाथि जसरी जनतामा विकर्षण छ, कार्यकर्तामा पनि त्यही विकर्षण छ । यी पुरानालाई त हटाउनुपर्यो नि, किन नहटाइएको हो ? छाड्दै छाड्दैनन् भन्नेखालको कार्यकर्तामै नेताप्रतिको विकर्षण छ ।

अस्ति विधान महाधिवेशनमै मलाई केही केही साथीहरूले भन्थे, ओलीले खानेपानीको बोतलमा पनि फोटो छापेछन् । त्यो पानी खाएर बोतल भुइँमा फ्याँकिसेपछि तीन–चारचोटि ओलीकै फोटोमा लात्तले हिर्काउँदैथिए रे । मानिसहरुको एक किसिमको सेन्टिमेन्टल विरोध क्या । झ्याम्म झ्याम्म लात्ताले फोटोमाथि हिर्काउँछ । यो खालको सेन्टिमेन्ट बोल्न नसक्नेहरूमा पनि जागेको छ । ओलीलाई हटाएर अर्कोलाई नेता बनाएर जाने हिम्मत पनि छैन । ओलीकै विश्वास पनि छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।