मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा माओवादीको ६ पालिकामा अधिवेशन बाँकी

सोमबार, १३ मङ्सिर २०७८, २१ : २५
सोमबार, १३ मङ्सिर २०७८

सत्तारुढ नेकपा माओवादी केन्द्रले धनुषाको १८  स्थानीय तहमध्ये अधिकांशमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा निर्वाचन सम्पन्न गर्न बाकी रहेको नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दीपक यादवले जानकारी दिए ।

धनुषामा गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिलाविहारी नगरपालिका, विदेह नगरपालिका, औरही गाउँपालिका, हँसपुर नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसरहनीया गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दनी गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका र धनौजी गाउँपालिकामा भने अझैसम्म पनि अधिवेशन हुन नसकेको संयोजक दीपक यादवले बताए । उनका अनुसार १२ वटा पालिकामा सर्वसम्मतरुपमा अध्यक्षसहित ६५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका नेकपा माओवादी केन्द्रको अध्यक्षमा महेशलाल यादव चयन भएका छन् । प्रथम गणेशमान चारनाथ नगरपालिका अधिवेशनबाट अध्यक्षमा महेश यादवको अध्यक्षतामा ६५ सदस्य नगर कमिटी सर्वसम्मतिबाट चयन गरेको जनाइएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मल्ल, उपाध्यक्ष दायाराम यादव, उपाध्यक्ष श्रीबिन्दु मास्के चयन भएका छन् । त्यस्तै सचिवमा कृष्णा राउत, सह सचिवमा मीनप्रसाद घिमिरे, कोषाध्यक्षमा विष्णुदेव यादव छन् ।

त्यस्तै विदेह नगरपालिका समितिको अध्यक्षमा दुखी मण्डल, उपाध्यक्षमा शिव कुमार गोइत, जयराम मण्डल र रामश्रेष्ठ मुखिया, सचिवमा विनोद गोहितमान, सह–सचिवमा दिल कुमार पासमान र कोषाध्यक्षमा उमेदा खातुन लगायत पदाधिकारीहरू सर्वसम्मतरुपमा चयन भएको छ ।

त्यसैगरी हँसपुर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम नगर अधिवेशनबाट सुनिल कुमार यादव नगर अध्यक्ष, राजगिर मण्डल, रामहिदय साह, चुलहाई पासमान उपाध्यक्ष, बलराम मण्डल सचिव, हेमशंकर यादव सहसचिव, पुजा कुमारी साह कोषाध्यक्ष लगायत ६५ सदस्यीय नगर समिति निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै मिथिला बिहारी नगरपालिका कार्यसमितिको नगर अध्यक्षमा प्रदीप नारायण शाह, वरिष्ठ उपाध्यक्षमा सुरेशकुमार मण्डल, सचिवमा सञ्जय कुमार शर्मालगायत ६५ जना कमिटीहरू निर्विरोध चयन भएको छन् ।

त्यस्तै शहिदनगर नगरपालिका कार्यसमितिको नगर अधिवेशनबाट तनुकलाल कुसियैत यादवको अध्यक्षतामा सर्वसहमतिरुपबाट उपाध्यक्षमा सुरेश कापर, हेमशंकर भण्डारी, अर्विन्द चौधरी, सचिवमा रामकिशोर पासमान, सहसचिवमा रुपेश बिराजी र कोषाध्यक्षमा उर्मिला देवि मल्लिकलगायतका चयन भएका छन् ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) सबैला नगरपालिकामा भएको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा कारीराम यादव, उपाध्यक्षमा त्रय पलट यादव, शेराज राईन र महेश यादव, सचिव राजकुमार यादव र कोषाध्यक्षमा निर्मला परियारलगायत ६५ सदस्यीय नगर कमिटी सर्वसम्मतरुपमा चयन गरिएको छ ।

त्यस्तै औरही गाउँपालिका कार्यसमितिको अध्यक्षमा सहसराम ठाकुरलाई सर्वसम्मतरुपमा  चयन गर्दै ६५ सदस्य कमिटी गठन गरिएको छ ।

कमला नगरपालिकामा अधिवेशन सम्पन्न भए पनि नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतरुपमै नेतृत्व चयन हुने भएकाले अध्यक्षमा दुई जनाले दावी गरेपछि नेतृत्व चयन हुन नसकेको स्थानीय नेता देवु यादवले जनाए । उनले आज बेलुकीसम्ममा सर्वसम्मतरुपमै नेतृत्व पदाधिकारी सहित कार्यसमिति सर्वसम्मतरुपमै चयन गरिने योजना रहेको बताए ।

अधिवेशन गर्न बाँकी रहेका आधा दर्जन पालिकामा छिट्टै नै गरिने जिल्ला संयोजक दीपक यादवले बताए । उनले ६ वटा पालिकामा अधिवेशन हुन नसक्नुको कारण प्राविधिक समस्या रहेको स्पष्ट पारे । सर्वसम्मतरुपमै नेतृत्व चयन गरिने भएको हुनाले पालिका अधिवेशन सम्पन्न हुन ढिलाई भएको समेत उनले स्वीकारे ।

माओवादी केन्द्र धनुषाले धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका र धनौजी गाउँपालिकामा भने अझैसम्म पनि पालिका अधिवेशन गर्न सकेका छैनन् ।

पालिका अधिवेशन सम्पन्न गर्नका लागि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका पूर्वमन्त्री मातृकाप्रसाद यादव, शिक्षा विज्ञान प्रविधि राज्य मन्त्री बोधमाया यादव, माओवादी केन्द्रका प्रदेश इन्चार्ज गणेश साह, प्रदेश सचिव श्रवण यादवलगायतका नेताहरू अहिले निकै व्यस्त रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप