बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशमानको पर्खाइमा रामचन्द्रका दुई घण्टा : अनि त्यो फोन...

सोमबार, १३ मङ्सिर २०७८, २२ : १९
सोमबार, १३ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापतिका दाबेदार रहेका संस्थापन इतर पक्षीय नेताबीच आइतबार साझा छलफल गर्ने तयारी थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले दिउँसो बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा ‘नेपाली काँग्रेसको अबको बाटो : रूपान्तरणका १० सूत्र’ नामक अवधारणापत्र सार्वजनिक गरे ।

महामन्त्री डा. शशांक कोइराला, पूर्वसह-महामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत केन्द्रीय सदस्य जीवन परियारलगायतलाई साथमा राखेर आफ्नो समूहको १४ औँ महाधिवेशनको एजेन्डाका रूपमा उक्त अवधारणा पत्र सार्वजनिक गरेका थिए ।

उक्त कार्यक्रममा पौडेल समूहमा सभापतिका दाबेदार प्रकाशमान सिंह र शेखर कोइराला भने पौडेलले बेलाउँदा पनि गएनन् । अवधारणापत्र सार्वजनिक कार्यक्रममा नआएका नेता प्रकाशमान र शेखर गोप्य छलफलमा सहभागी हुने पौडेलको अपेक्षा थियो ।

सोही अनुसार पौडेलले आइतबार साँझ सभापतिका ४ जना दाबेदारसहितको बैठक बोलाएका थिए । जसको संयोजन नेपाली काँग्रेस ओखलढुङ्गाका नेता बालकृष्ण दाहालले गरेका थिए । ओखलढुङ्गाको जिल्ला सभापतिमा पराजित भएर काठमाडौँ झरेका दाहाल पौडेल समूह मिलाउन प्रयासमा छन् ।

दाहालले आइतबार दिउँसो पौडेल पक्षका सभापतिका दाबेदार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालालाई छलफलमा जुटाउन असफल भए पनि दाहालले हार मानेका थिए । उनले सोही साँझ उनीहरूबीच छलफल गराउने प्रयासमा थिए ।

यसअघि बसेको पौडेल समूहको छलफलमा सहभागी नभएका सिंहलाई आइतबार सहभागी गराउन वरिष्ठ नेता पौडेलले नै निकै प्रयास गरेका थिए । केही दिनअघि सिंहको निवास चाक्सीबारी पुगेर पौडेलले एक्लै अगाडि नबढ्न सिंहलाई सुझाएका थिए । हिजो पनि पौडेलले फोन नै गरेर छलफलमा आउन आग्रह गरेका थिए । तर दिउँसो भ्याउँदिन भनेका नेता सिंहले साँझ पनि छलफलमा सहभागी हुने इच्छा देखाएनन् ।

आइबार साँझ ६ बजेदेखि ८ बजेभित्र चार नेताबीच गोप्य छलफल गराउने दाहालको प्रयास असफल भयो । सबै नेतालाई दिउँसै जानकारी पठाइएका दाहाल प्रकाशमानले नआउने जनाएपछि निरास भए ।

स्रोतले भन्यो, ‘हिजो दिउँसो चार जना बस्ने भन्ने कुरा थियो । तर प्रकाशमान सिंह दाइले अहिले म भ्याउँदिनँ । बेलुका  ५–६ बजेतिर बसौं भन्नुभयो ।’ तर सिंहले अन्तिममा फोन गरेर पौडेल समूहको बैठकमा सहभागी हुने जनाउ दिए । ‘उहाँ ६ बजे पनि आउनुभएन । अनि ७ बजेतिर फोन गरेर म तपाईँको बैठक-सैठकमा आउँदैन भनिदिनुभयो,’ पौडेल निकट स्रोतले भन्यो ।

सिंहले छलफल समेत गर्न नचाहेपछि पौडेलसहित नेताहरू आक्रोशित छन् । सोमबार शेखरसँगको भेटमा प्रकाशमानले आफूलाई २ घण्टा होटेलमा कुराएर अन्तिममा नआएको पौडेलले गुनासो पोखेका थिए ।

‘हामी भेट्ने भनेको ठाउँमा ५ बजेदेखि ७ बजेसम्म कुरेँ । तर अन्तिममा प्रकाशमानले तपाईँहरूको बैठकमा आउँदिनँ भन्नुभयो । उहाँ तरिका राम्रो भएन ,’ शेखरसामु पौडेलले सिंहप्रति गुनासो पोखे । यता सोमबार सिंहले बागमती प्रदेश सभापतिको उम्मेदवारका विषयमा छलफल गर्न अर्जुननरसिंह केसी, रामशरण महत र गगन थापालाई बोलाएका थिए ।

उक्त छलफलमा केसीले ४ जना नेताहरू छलफलमा बस्न गरेको आग्रह पनि सिंहले अस्वीकार गरेका छन् । सिंहले पौडेल, शशांक र शेखरसँग छलफल गर्नुको अर्थ नरहेको बताएका स्रोतले रातोपाटीलाई बतायो ।

केसीलाई जवाफ दिँदै सिंहले भने, ‘कति बस्ने १ वर्षदेखि बसेको बस्यौँ । अर्थहीन बैठक बसेर के काम ? । म कोहीसँग पनि बस्दिनँ । कुराकानी पनि गर्दिनँ ।’ पछिल्लो समय सिंह र पौडेलबीच सम्बन्ध पनि सुमधुर छैन ।

गत असोज २२ गते मन्त्रिपरिषद् विस्तार गर्दा सरकारमा पौडेल समूहको प्रतिनिधित्व गराउँदा आफूलाई बाइपास गरेको सिंहको गुनासो छ । यस्तै पार्टीको जिल्ला तहका अधिवेशनमा पौडेल र  कोइराला समूहबाट साथ नपाएको सिंह बताउँदै आएका छन् ।

पौडेल र नेता शेखर कोइरालाबीच पछिल्लो समय हिमचिम बाक्लिएपछि सिंह पौडेलसँग सशङ्कित देखाएको पाइन्छ ।

शेखरको सम्पर्क कार्यालयमा जमघट

बालुवाटारस्थित नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा वरिष्ठ नेता पौडेल, शेखर कोइराला गगन थापा र चन्द्र भण्डारीबीच छलफल भएको छ । सोमबार बिहान विराटनगर जानुअघि गगन थापा चन्द्र भण्डारी लगायतका नेतालाई बालुवाटार बेलाएका थिए । तर पौडेल भने सभापति शेरबहादुर देउवासँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार जाने क्रममा शेखरको सम्पर्क कार्यालय पसेका थिए । त्यस क्रममा शेखर र पौडेलबीच भेटवार्ता भएको थियो । 

पौडेलले शशांक, प्रकाशमान र शेखर मिलेर आउन नसक्ने भए आफूलाई सहयोग गर्न भनेका थिए । ‘तपाईँहरू मिल्नुभयो भने तपाईँ मध्ये एक जना सभापतिमा अगाडि आउनुस्,’ शेखरलाई पौडेलले भने, ‘तपाईँ मिलेर आउनुभयो भने मेरो कुरा केही छैन । तर तपाईँ नमिल्दा मलाई सहयोग गर्नुस् ।’

पौडेलले कात्तिक अन्तिम साता आफू पक्षीय नेताहरूको बैठकमा पनि सोही प्रस्ताव राखेका थिए । पौडेलले पुरानै कुरा दोहोर्‍याएपछि शेखरले आफूहरू छलफलमै रहेका जवाफ दिएका थिए । त्यसपछि शेखर कोइरालाले गगन थापा, चन्द्र भण्डारी, पुरञ्जन आचार्य लगायतसँग छलफल गरेका थिए । शेखरले आज सभापतिका दाबेदारसँग छलफल गर्ने तयारी भएपछि मोरङ जिल्ला सभापतिको चुनाव दोस्रो चरणमा गएपछि उनी विराटनगर गएका छन् ।

गृह जिल्ला मोरङमा आफू पक्षीय जिल्ला सभापति ल्याउन केही मिलाउनु पर्ने भन्दै कोइराला विराटनगरतिर लागेको बुझिएको छ । त्यहाँबाट फर्किएपछि थप कुराकानी गर्ने सहमति भएको छलफलमा सहभागी भए नेताले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप