बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेली डान्समा झुमेको टोकियो

मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ५५
मङ्गलबार, १४ मङ्सिर २०७८

कसै–कसैलाई सुरुमा बेली डान्स अलि अश्लील पो हो कि भन्ने पनि लाग्न सक्छ । मलाई पनि केही समय यस्तै लागेको थियो । वास्तवमा शरीरमा लुगाको मात्रा कमी हुँदैमा र शरीरसँग जोडिएका विभिन्न अङ्ग–प्रत्यङ्गहरूलाई बेग्लाबेग्लै नचाउँदैमा मान्छे अश्लील बन्ने होइन । मान्छे त चरित्रले पो अश्लील वा श्लील बन्ने हो । बेली डान्सको इतिहास कताबाट सुरु भएको थाहा नभए पनि हेर्ने रहर निकै थियो । समय–समयमा न्युयोर्कतिरको भोजभतेरमा केही मित्रहरूले पैसा तिरेर त कसैले साथीको रूपमा यस्ता नाचहरू हामीलाई देखाएर मनोरञ्जन दिइरहनु हुन्थ्यो । 

साधारणतयाः यो प्रथा मध्यपूर्वतिरका सबै मुस्लिम देशहरूमा खुबै चलेको कुरा सुनेकी थिएँ । यसबारेमा अभैm जान्ने उत्सुकता बढेकोले खोजी गर्दा यो पहिलेको फ्रेन्च कोलोनी अल्जेरियाबाट सुरु भएको रहेछ । भिक्टोरियन कालमा अल्जेरियाको ‘ओलेड नेल’ नृत्यलाई फ्रेन्चले ‘दँस दु भन्थ्र’ अर्थात् पेटको नृत्य भन्न थालेपछि पश्चिमी मुलुकहरूले यसलाई बेली डान्स भनेर नामकरण गरेका रहेछन् । यो नृत्य प्रायः गरेर एकल नै हुन्छ । यो नृत्यमा सामूहिकता मिसाउँदा अलि खल्लो हुन्छ । 

(बेली डान्समा मस्त जापानी नृत्याङ्गनाहरू)

शरीरको माथिल्लो भागका सबै अङ्गहरूलाई पालैपालो नचाउन सक्नु यो नाचको विशेषता हो । अझ योभन्दा बढी भन्ने हो भने हिपलाई किसिम किसिमले हल्लाउन सक्नु यसको मुख्य आकर्षण हो । छातीमा रहेका करङका भागहरूलाई तल–माथि दायाँ–बायाँ घुमाउँदै हल्लाउनु, टमक्क परेका वक्षस्थलहरूलाई घुमाउनु, पेटलाई तल–माथि लैजान सक्नु र भित्र–बाहिर निकाल्न सक्नु ठूलो चुनौतीको विषय हो । जो यो कार्यमा सफल हुन्छ, उसले मात्र बेली डान्समा भाग लिन सक्छ । यसले पेटलगायत शरीरका अन्य भागहरूको कसरत हुन जान्छ । जिउलाई उत्तानो परेर पछाडि आधाआधी ढाल्ने, अगाडि निहुरने, सङ्गीतको तालमा शरीरका अङ्गहरूलाई नचाएर मान्छेहरूलाई मनोरञ्जन दिनुकासाथै नृत्य गर्नेका लागि पर्याप्त शारीरिक अभ्यास पुग्ने कुरा साबित भएको रहेछ । यसका लागि धेरै सङ्गीतका साधनहरूको आवश्यकता पनि पर्दैन । तबला वा तबलाजस्तै खैँजडीले विभिन्न बिटमा सङ्गीतको ताल दिँदै नृत्याङ्गनालाई नचाउन सफल हुन्छ । नेपालका कुनै पनि रेस्टुरेन्टहरू वा ठूला होटलहरूमा म गएकी छैन । तर नाचगान र मनोरञ्जनका लागि खुलेका होटल र रेस्टुरेन्टहरू धेरै छन् भन्ने मैले पनि सुनेकी छु । तिनीहरूमा बेली डान्स देखाइन्छ वा देखाइन्न, त्योचाहिँ मलाई थाहा भएन ।

आजभोलि नेपाली व्यवसायीहरू विश्वभर पैmलिइसकेका छन् । जापानमा पनि नेपाली व्यवसायीहरू धेरै रहेछन् । भवन भट्टजीले त टोकियोमा एयरलाइन्स तथा तारे होटलहरू नै स्थापना गरिसक्नु भएको रहेछ । हामीलाई त थाहै थिएन । उहाँ हाम्रा मित्र शिशिरभाइको भाइ हुनुहुँदो रहेछ । पहिले थाहा पाएको भएर भेट्ने कोसिस गर्ने थियौँ । यस्ता राम्रा र प्रगतिका कुराले नेपाल र नेपालीलाई जहिले पनि गर्वको बोध गराउँछ । अन्य देशका मान्छेको अगाडि शिर ठाडो भएको अनुभव हुन्छ । नेपालीहरू जहाँ गए पनि जहाँ बसे पनि इमानदारीसँग पैसा कमाउन सक्नु, प्रोफेसनल बन्न सक्नु भनेको नेपालकै गौरवको कुरा हो जस्तो मलाई लाग्छ । 

टोकियो सहरमा घुम्ने क्रम चल्दै थियो । ठूला–ठूला भवनहरू नियाल्दै, सुन्दर पार्कहरूको अवलोकन गर्दै, चौडा र सफा सडकहरू हेर्दै हामी टोकियोका गल्लीगल्ली चाहरिरहेका थियौँ । रोपन्जी हिलस, मोरी टावरबाट दृश्यावलोकन गरिसकेपछि हामी एउटा नेपाली रेस्टुरेन्टमा पुग्यौँ । त्यतिबेला बेलुकीको ८ बजिसकेको थियो । हाम्रा मित्र तापसजी र विनीता बहिनीले केही दिनअगाडि नै जापानको बेली डान्स हेर्न जाने योजना बनाउनुभएको थियो ।

नेपाली रेस्टुरेन्ट एउटा ठूलो भवनको दोस्रो तल्लामा थियो । रेस्टुरेन्टको नाम ‘मन्दिर’ थियो । नाम नसुहाएको जस्तो मलाई लाग्यो । बेलुकी भएर होला, सबै अफिसहरू बन्द भइसकेका थिए । भवनभित्र मान्छेको ओहोरदोहोरको भीडभाड थिएन । रेष्टुरेण्टको ढोकामा नेपाली शैलीमा बनाइएको काठको ढोका टाँसिएको थियो । नेपाल चिन्नेले देख्नासाथै नेपालको हुनुपर्छ भनेर अनुमान लगाउन सक्छन् । हामी भित्र पस्यौँ । जाँदाजाँदै ढोकैमा काउन्टर थियो । त्यसको अगाडि करिब ५–६ फिटजति अग्लो पशुपतिनाथको मूर्ति सजाइएको थियो । रेस्टुरेस्टका भित्ताहरूमा सुन्तला रङ पोतिएको थियो । अनि ठाउँ–ठाउँमा नेपाली काठको बुट्टे झ्यालहरू टाँगिएका थिए । बीच–बीचमा विश्वमा प्रसिद्धि पाएका नेपालका गगनचुम्बी हिमशिखरहरूको तस्बिर सजाइएको थियो । बत्तीको मधुरो प्रकाशमा त्यहाँ एक किसिमले सानो नेपाल देख्न सकिन्थ्यो । न्युयोर्कको ज्याक्सन हाइट्समा सोनाम लामाको याक रेस्टुरेस्ट पनि अहिले नेपाली वास्तुकलाले भरिभराउ भएको छ । मूल ढोकामै नेपाली शैलीको काठको ढोका जडान गरिएको छ । नेपाल थाहा हुने विदेशीले यो नेपालीको रेस्टुरेन्ट हुनुपर्छ भनेर ठ्याक्कै थाहा पाउन सक्छन् । नेपाली व्यावसायीहरूले विदेशमा नेपाल र नेपालीलाई चिनाउने राम्रा–राम्रा तरिकाहरू अपनाएको कुरालाई हामी नेपालीले खुलेर प्रशंसा गर्न सक्नुपर्छ । म यस्तो पुनीत काममा किन पछि पर्थें र !

(टोकियोमा नेपाली रेस्टुरेन्टको प्रवेशद्वार)

खानेकुराका बारेमा मलाई त्यति चासो नभएकाले सामान्य खानाहरू खाँदै म बेली नृत्याङ्गनाहरूको प्रतीक्षामा समय कुरिरहेँ । करिब ९ बजेतिर साना–साना कदका चार–पाँच जना केटीहरू स्कुले ब्याग च्यापेर हस्याङ—फस्याङ गर्दै रेस्टुरेन्टभित्र छिरे । ग्राहक बस्ने ठाउँतिर हेर्दै नहेरी उनीहरू सीधै भित्री कोठामा छिरे । मलाई लाग्यो, यिनै हुनुपर्छ बेली नृत्याङ्गनाहरू । रेस्टुरेन्टमा ग्राहकहरूको भीडै नभए पनि व्यवसाय चल्न सक्ने पर्याप्त ग्राहक थिए । नेपाली र जापानी झन्डै–झन्डैै आधा–आधा भागमा विभाजित थिए ।  

जापानीहरू औसतमा छोटा कदका हुने रहेछन् । त्यसमा पनि महिलाहरू त होचै भन्नुपर्छ । अनि धेरैजसो जापानीहरूको गोलो अनुहार चट्ट मिलेको, दाँत भने नमिलेको । एउटै दाँत नौतिर फर्केको । किन त्यति पनि नबनाएको होला ! नमिलेको दाँत मिलाउन नसकिने होइन । खालि केही समय लाग्ने त हो । एकैछिनमा मधुरो सङ्गीतको धुन बज्न थाल्यो । धुन बिस्तारै चर्को हुँदै गयो । तिनै केटीहरूमध्येकी एक जना झिलमिले सितारा लुगामा देखिइन् । ग्राहक सबैले सक्दो बलले ताली पिटेर उनलाई मञ्चमा स्वागत ग¥यौँ । त्यसपछि पालैपालो अरू दुई जना आए । उनीहरूको शरीरमा जम्मा तीन टुक्रा कपडाहरू थिए । वक्षस्थललाई मात्र छोप्ने झिलझिल सितारा र मुगाहरूको छोटो ब्रा थियो । त्यसको बीचबाट एउटा पूmलजस्तो फुर्को अलि तलसम्म झारिएको थियो । कसैकोमा दुइटा फुर्का पनि थिए । दुवै पाखुरामा करिब एक इन्चजति चौडाइ भएका उस्तै टल्कने कपडा बाँधिएका थिए । कसैका भने टल्कने चार–पाँचवटा चुराजस्ता पनि थिए । कम्मरभन्दा तल लामो दुवैतिर तिघ्रापट्टि चिरिएको लेहङ्गाजस्तो थियो । त्यसको नाम मलाई थाहा भएन । बत्तीको प्रकाशमा उठ्दा, बस्दा, घुम्दा उनीहरूको शरीरका सबै भागहरू धिपिक—धिपिक बले जस्ता देखिन्थे । 

पालैपालो नाच सुरु भइसकेको थियो । कहिले उनीहरू आफ्नो सलसलाउँदो कपाललाई चारैतिर नचाउँथे त कहिले आफ्ना वक्षस्थललाई थरररररर हल्लाउँथे । उनीहरूले वक्षस्थल हल्लाउँदा पनि ग्राहकहरू लामो ताली पिट्थे, नाइटोलाई नौतिर बङ्ग्याउँदा पनि ताली पिट्थे । ग्राहकलाई हिप देखाउँदै कहिले तल कहिले माथि, कहिले थररररर पार्थे । सङ्गीत बन्द नहुञ्जेल तालीले विश्राम नै पाएन । बिचरा ग्राहकहरूको हात कति दुख्यो होला ! दिनभरि काम गरेर थाकेको छु भनेर घरमा आपूmले खाएको प्लेट पनि नपखाल्ने ग्राहकहरू कति थिए होलान् त्यहाँ ! सबै कलाकारहरूको लुगाको रङ फरक–फरक नभएको भए त हामीलाई मोनोटोनस पनि हुन्थ्यो होला । किनकि उनीहरू सबैलाई हामी उस्तै–उस्तै देख्दा रहेछाँै । उनीहरूको उचाइ, अनुहार, जीउडाल करीब–करीब उस्तै–उस्तै साइजका थिए । हामी मख्ख परेर उठेर ताली बजाएको देखेर कुनै–कुनै केटीहरू त हामीलाई लिन तल फ्लोरमै आए । हामी पनि रमाइलो लागेकाले बोलाउनासाथै उठेर मञ्चतिर दौडिहाल्यौँ । जाने पनि नजाने पनि कोसिस गर्ने त हो नि ! हामीले पनि स्टेजमै गएर बेली डान्समा मनोरञ्जन ग¥यौँ, झुल्ने प्रयास ग¥यौँ । दुई–तीन घन्टा बितेको हामीलाई पत्तै भएन । समय त सुलुत्तै बगिसकेछ । उनीहरूसँगै बसेर एक–दुई फोटो खिच्ने रहर भयो । हामी स्टेजतिर लाग्यौँ । उनीहरूले पनि रमाइलो मानिरहे । तस्वीर खिच्नेको पनि भीड भयो । कार्यक्रमको अन्त्यमा सामूहिक तस्बिर खिचे जस्तै भयो यहाँ पनि । 

(विनीता बहिनी, जापानी कलाकार र म) 

त्यतिन्जेलसम्ममा हाम्रो खाना र पिउना दुवै सकिइसकेको थियो । हामी घर प्रस्थान गर्ने तरखरमा लाग्यौँ । जापानी केटीहरू निकै छरिता हुँदा रहेछन् । चार–पाँच मिनेटभित्रै उनीहरू लुगा फेरेर फेरि त्यही स्कुले ब्यागमा सबैलाई सायोनारा भन्दै हात हल्लाउँदै बाहिर लागे । 

(हालै प्रकाशित गीता खत्रीको उडेको आकाश, डुलेको धर्ती नियात्रा सङ्ग्रहबाट)

–न्युयोर्क

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप