शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार १० हजार बढी एचआईभी सङ्क्रमितबारे बेखबर, जोखिम झन् बढ्यो

मङ्गलबार, १४ मङ्सिर २०७८, २१ : ०८
मङ्गलबार, १४ मङ्सिर २०७८

१४ मङ्सिर, काठमाडौँ । सरकार दश हजार भन्दा बढी एचआईभी सङ्क्रमितको अवस्था बारे बेखबर छ । ठुलो सङ्ख्यामा सङ्क्रमितहरू सरकारको रेकर्डमा नहुँदा सङ्क्रमण फैलने उच्च जोखिम बढेको छ । नेपालमा हाल ३० हजार ३००  जना सङ्क्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ अर्थात् ५४ प्रतिशत छन् भने महिला १३ हजार ९८६ अर्थात् ४६ प्रतिशत रहेका छन् । जसमा एचआईभी सङ्क्रमित गर्भवती २१६ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । 

यद्यपि  (एआरबी)  अर्थात् एन्टी रेक्टो भाइरल ड्रग औषधि सेवन गर्ने अनुमानित २० हजार जना मात्रै रहेको नियन्त्रण केन्द्रले जनाएको छ । अनुमानित १० हजार भन्दा बढी सङ्क्रमित परीक्षण, औषधि र परामर्शविहीन हुँदा एचआईभी सङ्क्रमण फैलने खतरा बढेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुख डा. सुधा देवकोटाले बताइन् ।

एचआईभी तथा एड्स प्राणघातक रोग नभएर क्रोनिक रोग भए पनि सरकारी तथ्याङ्कमा ठुलो सङ्ख्यामा सङ्क्रमित नसमेटिँदा चुनौती थपिएको उनको भनाइ छ । सरकारले २०३० सम्ममा एचआईभी सङ्क्रमण शून्य बनाउने लक्ष्य राखेको छ । विगतको तुलनामा सङ्क्रमितको सङ्ख्या घटे पनि सम्पर्क विहीन सङ्क्रमितलाई उपचारको दायरामा ल्याउन चुकेको जनस्वास्थ्यविद्हरूको आरोप छ ।

लक्ष्यमा पुग्न चुनौती  

सरकारले लक्ष्य सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लिएको छ । नयाँ एचआईभी सङ्क्रमण, एड्स सम्बन्धित मृत्युको सङ्ख्या शून्य बनाउने र एचआईभी सम्बन्धी भेदभाव कम गर्ने लक्ष्य राखेको छ । सङ्क्रमितले नियमित औषधि सेवन गरेको खण्डमा अन्य सामान्य व्यक्तिको झैँ स्वस्थ हुन सक्ने भए पनि सामाजिक भेदभाव र लाल्छानाका कारण सङ्क्रमित खुलेर बाहिर आउने वातावरण बनाउन लागि पर्ने डा. देवकोटा बताउँछिन् । ‘परीक्षण, औषधि र परामर्शको पहुँचमा नपुगेका व्यक्ति पारिवारिक, सामाजिक तथा आर्थिक र मनोवैज्ञानिक  रूपमा विभेद खेप्न पर्ने भएकाले आफूमा भएको सङ्क्रमणप्रति बेवास्ता गर्दै आएका छन्,’ उनले भनिन्, ‘सङ्क्रमण पुष्टि भएर लाल्छाना भेदभाव भोगेका नि बास र गासको पनि व्यवस्थापन गर्न नसक्नेलाई सरकारले व्यवस्थापन गर्नुपर्छ ।’

यता,सङ्क्रमित लान्छना र भेदभावको डरले उपचार, परामर्शमा नजाने, औषधि लिन नमान्ने गरेको पाइएको छ  । यस्तै,एचआईभी सङ्क्रमण हुँदा डराउनुपर्ने भनेको सबैभन्दा पहिला अवसरवादी रोगसँग डराउने पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी मेडिकल अफिसर डा. लीना देवकोटा बताउँछिन् । उनी भन्छिन्, यदि अवसरवादी रोग छैन भने अन्य रोग सङ्क्रमण जस्तै हो । जस्तै कोरोना सङ्क्रमण भन्छौ नि त्यस्तै यो एचआइभी इन्फेक्सन हो । एचआईभी भाइरस शरीरमा छिरेपछि त्यसको विरुद्ध औषधि खाइरहने हो । एचआईभीको औषधि नखाएर रोग प्रतिरोधात्मक क्षमता कम हुँदा अरू अवसरवादी रोग देखिदा यसलाई ‘एड्स’ भनिन्छ ।’  

सरकारले २०३० सम्ममा ९५.९५.९५ लक्ष्य राखेको छ । अर्थात् ९५ प्रतिशत एचआईभी सङ्क्रमितहरूको आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने बनाउने । ती मध्ये ९५ प्रतिशतलाई एआरवी औषधि उपचारको पहुँचमा पुर्‍याउने र ती औषधि खानेहरू मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार भाइरल लोड न्यून गर्ने लक्ष्य राखेको छ । यस्तै, नेपालले सन् २०२६ सम्ममा एचआईभी सङ्क्रमित आमाबाट बच्चामा हुने सङ्क्रमणको उन्मूलन गर्ने लक्ष्य समेत राखेको छ । नेपालमा वार्षिक रूपमा एड्स रोगका कारण ६३६ जनाको मृत्यु हुने गर्छ । 

काठमाडौँ र पोखरामा सङ्क्रमणको उच्च जोखिम

नेपालका ७७ वटै जिल्ला एआईभी सङ्क्रमित छन् । जसमध्ये काठमाडौँ उपत्यका र पोखरा उच्च जोखिम क्षेत्रका रूपमा चिनिने गर्छ । जहाँ सुईद्वारा लागूपदार्थ प्रयो गर्नेहरु, यौनकर्मी,समलिङ्गी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि बिदेसिनेहरू र जेलका कैदीहरूबाट सङ्क्रमण हुने गरेको केन्द्रका प्रवक्ता लोकराज बराल बताउँछन् । अन्य जिल्लाहरूमा एचआईभी सङ्क्रमणको जोखिम भए पनि उच्च जोखिम विशेष उपत्यका  क्षेत्र भएको उनले सुनाए । 
 
विश्वभर सङ्क्रमितको सङ्ख्या

विश्वमा हाल ३ करोड ७७ लाख व्यक्ति एचआईभी सङ्क्रमित छन् । यद्यपि २७ प्रतिशत सङ्क्रमित उपचारको पहुँचभन्दा बाहिर रहेको पाइएको छ ।  कुल एचआईभी सङ्क्रमित ३ करोड ७७ लाख मध्ये ७३ प्रतिशत अर्थात् २ करोड ७५ लाख सङ्क्रमितले मात्रै एन्टीरेट्रोभाइरल (एआरभी) उपचाररत रहेको रहेको पाइएको छ । गएको १० वर्षमा नयाँ १५ लाख एचआईभी सङ्क्रमित थपिएका छन् । यस्तै एशियामा मात्रै ५८ लाख व्यक्ति सङ्क्रमित छन् । जसमध्ये ३७ लाख एआरभी उपचारमा छन् । यस्तै गएको एक वर्षमा १३ हजार बालबालिका नयाँ सङ्क्रमित भएको पाइएको छ । २०२० मा मात्रै २ लाख ४० हजार नयाँ सङ्क्रमितको पुष्टि भएको छ । यस्तै २०२० मात्रै १ लाख ३० हजार व्यक्तिहरू एड्सकै कारण  ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप