ad
x
राजनीति

सीपी मैनालीको विश्लेषण : राजा महेन्द्र राष्ट्रवादी

‘हिजो भारतीयले गोली ठोक्थे, अहिले तुइन काटेर नेपाली मार्छन्’

person explore access_timeमंसिर १५, २०७८ chat_bubble_outline0

राप्रपाको महाधिवेशनले वाञ्छित लक्ष्य प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु । यो शुभकामलाई जोड दिनका लागि दुईवटा पृष्ठभूमि उल्लेख गर्छु । हामीले २००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ । तीनवटा राजनीतिक परिवर्तनप्रति नेपालका राजनीतिज्ञ र राजनीतिक पार्टीहरूको विश्लेषण, मूल्यांकन एकपाखे रहेको धारणा हामीले चितवनमा कार्तिक २७ देखि २९ मा गरिएको आठौँ राष्ट्रिय महाधिवेशनमा संस्थागत गरेका छौँ ।


२००७ साल, २०४६ साल र २०६३ साल जुन राजनीतिक परिवर्तन भए, निःसन्देह ती प्रजातान्त्रिक राजनीतिक परिवर्तन हुन् । तर इतिहास र तथ्य केलाउँदा हामीले के देख्यौँ भने तिनीहरु प्रजातान्त्रिक परिवर्तनमात्र नभएर अवाञ्छित बाह्य प्रभाव र अनुचित बाह्य हस्तक्षेपसहितका प्रजातान्त्रिक परिवर्तन हुन् । मैले व्याख्या गरिनँ ।



हामीले इतिहास पढेका छौँ । र दूर्गति भोगेका छौँ । हामी प्रष्ट छौँ । हामीले अहिलेसम्म तिनीहरुलाई प्रजातान्त्रिक परिवर्तन भन्दै गयौँ । र, हामीमाथि थोपरिएका अवाञ्छित बाह्य हस्तक्षेप र प्रभावलाई हामीले अन्देखा ग-यौँ । शिवाय २००७ सालपछि २०११ साल चैत १ गते राजा बनेका महेन्द्रले त्यसबेला दिल्ली सम्झौताबाट आएका जुन अवाञ्छित प्रभाव र हस्तक्षेप थिए, अधिकांशलाई वहाँले खारेज गरिदिनुभयो । यदि वहाँले पहिलो दिल्ली सम्झौताबाट आएको पाँचौ कुरा विधानसभा भन्ने संयन्त्रको चुनाव गरेर त्यसमार्फत नेपालको संविधान ल्याउने कुरा, त्यसभित्र लुकेको जुन मनसाय थियो, त्यसलाई देशका अरु नागरिक नेताहरुले बुझेको मैले देखिनँ ।



बुझे त युवराज महेन्द्रले, बुझे त राजा महेन्द्रले । त्यसको एक शब्द सार्वजनिक विरोध नगरी, पन्छाउँदै पन्छाउँदै विधानसभालाई तुहाइ दिए । तब नेपाल आज जिउँदो छ । बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा ७० वर्ष–७२ वर्ष लगाएर एकीकरण भयो । त्यसपछिका कयौँ श्री ३, श्री ५ हरु एउटा दुईटाले देशको पक्षमा काम गरेका छन् । तर, सिङ्गो नेपाल भारतमा गाभिएको सिक्किम हुनबाट रोक्नका निम्ति, सिङ्गो नेपाललाई भुटान बन्नबाट रोक्नका निम्ति कुनै नेताले, कुनै नेपालीले पृथ्वी नारायण शाहपछि कदम चालेको छ भने ती राजा महेन्द्र नै हुन् ।





​अहिले पनि मलाई दुःख लाग्छ, देशका धुरन्धर राजनीतिज्ञहरू ६० वर्षदेखि हामीले विधानसभा मागेको बल्ल पायौँ भन्छन् । तपाईंले २००९–०१० सालमा विधानसभा पाएको भए त्यतिबेला नै सिक्किम बन्नुहुन्थ्यो । त्यसबेला नै तपाईं भुटान बन्नुहुन्थ्यो । त्यो विधानसभा नेपालीहरुको माग नै होइन । नेहरुजीले त्यो आफ्नो निम्ति राखेको पहिलो दिल्ली सम्झौताको अन्तिम एजेन्डा हो । यसलाई महेन्द्रले चिन्नुभयो, वहाँले पन्छाउनुभयो, तुहाइदिनुभयो । २०२६ सालमा उत्तरी चेकपोस्टमा बसेका साढे सात सयजति भारतीय सेनालाई फिर्ता गरिदिनुभयो । नेपाल जोगियो । त्यसैकारण सीपी मैनाली राजा महेन्द्रलाई राष्ट्रवादी भन्छ ।



मैले २०४६ सालपछि प्रज्ञा प्रतिष्ठानको हलमा पनि भनेको थिएँ, उनी राष्ट्रवादी हुन् । यद्यपि, वहाँको ‘वे अफ विइङ थिंग्स’ मा भने म सहमत छैन । वहाँले २०१७ साल पुस १ गते जुन कदम चाल्नुभयो, त्यसलाई हाम्रो आठौँ महाधिवेशनले भर्खरै दक्षिणपन्थी राष्ट्रवादी कदम थियो भनेर भनेको छ । दक्षिणपन्थले निरंकुशतन्त्रलाई ल्यायो । त्यसको पूरा विरोध गरिनुपर्थ्यो भनेर मैले पनि गरेँ । गर्यौँ, त्यसलाई बदल्यौँ । तर, वहाँको राष्ट्रवादी कदम, समाज सुधारका कदमलाई उत्तिनै, शतप्रतिशत विरोध गर्नु भने गलत थियो । काँग्रेसले विरोध गर्नु पनि गलत थियो, सीपी मैनालीले विरोध गर्नु पनि गलत थियो । अरुको त अरुले भन्लान् । त्यसलाई हामीले विश्लेषणात्मक ढंगले हेर्नुपर्थ्यो र जति ठिक थियो, त्यसलाई सकारात्मक भाव राख्ने र कमी कमजोरीलाई आलोचना गर्ने गर्नुपर्थ्यो । तर, हामीले त्यसो गरेनौँ ।



२०४६ सालको परिवर्तन पनि अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेपसहितको परिवर्तन हो, हो हो । र, हाम्रो पुष्पकमल दाहालले नेतृत्व गरेको जुन २०६३ सालको परिवर्तन छ, त्यसले पनि अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप ल्यायो, ल्यायो, ल्यायो । २००७ सालपछि राजा महेन्द्रजस्तो राष्ट्रवादी मान्छे तर वहाँ सामन्ती कूलको, वहाँको तरिका निरंकुश थियो, त्यसको सीपीले पनि विरोध ग¥यो । तर, त्यसपछि विदेशी हस्तक्षेप र प्रभावलाई विरोध गर्ने एकमात्र व्यक्तित्व महेन्द्र नै हुन् ।

०४६ सालपछि परिवर्तन भयो, म पनि त्यो परिवर्तनको वाहक हो । माधव नेपालजी त्यो परिवर्तनको वाहक हो । तर म तपाईंलाई ठोकेर भन्छु, २०४६ मा प्रजातन्त्रको बुई चढेर आएको विदेशी प्रभाव भनेको भारत र युरोपियन प्रभाव, जसलाई त्यसपछि बनेका एउटा पनि सरकारले हटाउन सकेन ।

प्रचण्डजीहरुले २०५२ सालमै सशस्त्र संघर्षबाट जनगणतन्त्र ल्याउँछु भन्नुभयो । सशस्त्र संघर्ष हुनुहुन्न भनेर वहाँ र बाबुराजमीसँग त्यत्रो लामो कुरा गरेको तै पनि वहाँहरु जानुभयो । तर सक्नुभएन । तर अहिलेसम्म पनि आत्मालोचना छैन । तर वहाँ पछि फर्कँदा जसले वहाँलाई आतिथ्य गरेको थियो, उसैले वहाँहरुलाई आतंककारी भन्यो किनभने नेपालको राजनीतिक शक्तिसँग मिलेर नफर्कियोस् भनेर । पछि आतंककारीको ट्याग हटाउँदा पुष्ट विदेशी एजेन्डाको भारी बोकाएर पठायो । २०६३ को परिवर्तनपछि त्यो भारी न वहाँले एउटा हटाउनुभएको छ, न त्यसपछि बन्ने सरकारले एउटा हटाएको छ । त्यसकारण म भन्न चाहन्छु, हाम्रो इतिहासलाई तथ्यको आधारमा केलाऔँ । जे गलत छ, विरोध गरौँ । जे ठिक छ, त्यसको समर्थन गरौँ ।

यसरी तीनवटा परिवर्तनपछि आएका अवाञ्छित बाह्य हस्तक्षेपले हामीलाई कँज्यायो । ती परिवर्तनले जनतालाई कति सशक्तीकरण गर्यौँ भनेर हामी छलफल गरौँला, तर राष्ट्र कमजोर भयो । गोली नपड्काई ४ सय किलोमिटर जमिन लग्यो । त्यसको कुरा गर्न खोज्यो भने भारतका शासक उतापट्टी टाउको फर्काउँछन् । झन् अत्याचार बढेको छ । हिजो गोली ठोक्थे, अहिले तुइन काटेर नेपाली मार्छन् । अहिले त्यो झनै बढेर गएको छ । किनभने, तीनवटा कालमा जे आयो, त्यसलाई हामीले स्वीकार गर्यौँ । 

नेपाललाई कुरुक्षेत्र बनाएर चीनलाई तोड्नका निम्ति संयुक्त राज्य अमेरिकाले नेपालमा हस्तक्षेप बढाएको छ । यहाँ कूशासन भयो, समायानुकूल अर्थतन्त्र बनाइएन । कोभिडलाई ठीक ढंगले सामना गरिएन । देश अव्यवस्थामा गयो, संकटमा गयो । देश अव्यवस्थाको शिकार छ, बाहिरबाट चर्को हस्तक्षेप छ । देश दुईवटा कुराको खाडलमा जाकिएको छ । आज त्यो खाडलबाट देशलाई निकाल्ने कसले ? देशभक्तहरुले ।

देशमा चारखाले प्रवृत्तिहरु छन् । कम्युनिस्टहरु छन्, गैरकम्युनिस्ट वामपन्थी छन्, प्रजातन्त्रवादी छन् र राष्ट्रवादी छन् । राष्ट्रवादी ती हुन् – राजा, देउता, धर्म कर्म र परम्परा मानेर राजनीति गर्छ । राष्ट्रवाद एउटा राजनीतिक प्रवृत्ति पनि हो । यी चारै प्रवृत्तिमा देशभक्त पनि छन्, विदेशभक्त पनि छन् । यी चारै प्रवृत्तिमा रहेका देशभक्तहरु (एक ठाउँमा) उभिऔँ, देशको समस्या समाधानको एजेन्डामा मिलौँ ।

हिजो प्रजातन्त्र ल्याउन छिमेकीलाई गुहार्यौँ, पछि छिमेकी र युरोपलाई गुहार्यौँ, पछि छिमेकी, युरोप र अमेरिकालाई गुहार्यौँ र हाम्रो दूर्गति भयो । अब ती शक्तिले हामीलाई अहिलेको खाडलबाट निकाल्न सक्दैनन् । उनीहरुले खनेको खाल्डोबाट हामीलाई निकाल्दैनन् बरु अझै हामीलाई गाड्छन् । त्यसैले देशभक्त मिल्नुपर्छ, त्यहीँबाट नेतृत्व जन्मन्छ र त्यहीँबाट यो मुलुकको उद्धार हुन्छ ।

(नेकपा मालेका महासचिव मैनालीले राप्रपाको एकता महाधिवेशनको उद्घाटनसत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश) 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।