शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘राप्रपाले नसघाए खड्ग ओलीले चुनाव जित्दैनन्’

भूमिगत गिरोहले राप्रपामा चलखेल गर्दैछ : राम थापा
बुधबार, १५ मङ्सिर २०७८, २० : १३
बुधबार, १५ मङ्सिर २०७८

पाठकवृन्द ! तपाईंँलाई आज हामी यस्ता एकजना स्थानीय झापाली राजनीतिज्ञसँग साक्षात्कार गराउँदैछौँ, जसका हातमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव जिताउने–हराउने चाबी छ । यिनै व्यक्तिको सहयोगमा ०७४ को चुनाव ओलीले  अत्यधिक मतले जितेका थिए । अहिले उनी भन्छन्, ‘अब झापामा एक्लै कसैले चुनाव जित्दैन । राप्रपाले सघाएन भने खड्ग ओलीजीले पनि जित्नुहुन्न ।’ एक्लाएक्लै चुनाव लड्दा एमाले वा काँग्रेस मध्ये कुनै एक दल पहिलो बन्न सक्ने सम्भावना रहे पनि राप्रपा र माओवादीले दुई ठूला दलमध्ये एउटालाई सघाइदिनासाथ एक्लै लड्ने दलले चुनाव हार्ने थापाको तर्क छ । 

हामीले चर्चा गर्न लागेका यी व्यक्ति हुन्– केपी ओलीको गृहनगर दमक निवासी राम थापा । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश नम्बर १ का अध्यक्ष रहेका थापा दमकका पुराना एवं चर्चित राजनीतिज्ञ हुन् ।

दमकमा लोकप्रिय रहेका थापाले राप्रपालाई ०४७ सालयता नगरपालिकामा सधैं दोस्रो शक्तिका रुपमा स्थापित गर्दै आएका छन् ।  थापाकै लोकप्रियताका कारणले गर्दा केपी ओलीको चुनाव क्षेत्र (झापा–५) मा राप्रपाले ०७४ सालमा १३ हजार भन्दा बढी समानुपातिक मत पाएको रेकर्ड छ ।

झापाका चर्चित राप्रपा नेता थापासँग हामीले केपी ओलीको चुनाव क्षेत्रको अंकगणितीय अवस्थाबारे चासो राखेका छौं । तर, त्यो भन्दा पहिले दमक निवासी राम थापा को हुन् भन्नेबारे चर्चा गरौं, थापाकै मुखबाट–

अहिले मेरो घर दमकको मुख्य बजारमा छ । अहिले ६५ वर्षको भएँ । पाँचथरमा जन्मेर १३ वर्षको उमेरमा म दमक झरेँ । पहाडमा स्कुल थिएन, त्यसैले पढ्नका लागि झापा झरेको हुँ । ठूलोबुवाकोमा बसेर पढेँ । दमकस्थित हिमालय माविबाट ०३० सालमा एसएलसी पास गरेँ । त्यसपछि धरानको महेन्द्र क्याम्पसमा आइकम पढ्न गएँ ।

झापा झरेपछि म ०२९ सालदेखि नै पञ्चायत समर्थक राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा लागें । धरान कलेजमा शंकर थापा लगायतका साथीहरुसँग सम्पर्क भयो । ०३१ सालमा वीरगञ्जमा विद्यार्थी मण्डलको दोस्रो अधिवेशन भयो । त्यसमा कमल थापा अध्यक्ष चुनिए । म केन्द्रीय सदस्य बनें ।

वीरगञ्ज अधिवेशनबाट फर्केपछि धरानमा तत्कालीन अनेरास्ववियुका भाइहरुले मलाई कुट्नुभो । मैले एक–दुई लिटर नै रगत छादें ।  दुई दिनसम्म अत्यन्तै पीडा भयो । त्यसपछि पढाइ छाडेँ । ०३४ सालमा बनारस गएर आइए प्राइभेट पास गरेँ । ०३९ सालमा मेची क्याम्पसबाट डिप्लोमा पास गरें । त्यतिखेर राजेन्द्र लिङ्देन गोलधापमा ८ कक्षामा पढ्दै हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिदेखि नै म उहाँसँग जोडिँदै आएँ । म विद्यार्थी मण्डलको केन्द्रीय उपसभापति हुँदा लिङ्देनजीलाई हामीले गोलधापको हाइस्कुलमा अध्यक्ष बनाएर पछि झापा जिल्लाको अध्यक्ष बनाएको हो । मान्छे उहाँ सानैदेखि अलिकति महत्वाकांक्षी र नेतृत्व गर्नेखालको हुनुहुन्थ्यो त्योबेला ।

राजेन्द्र लिङ्देनका बुबा तत्कालीन गोलधाप गाउँ पञ्चायतको  प्रधानपञ्च हुनुहुन्थ्यो । दुई कार्यकालजति प्रधानपञ्च भएजस्तो लाग्छ मलाई । पहाड  घर पनि पाँचथरमा उहाँको र मेरो सँगै हो । उहाँ त्यस्तो ठूलो सम्पन्न चाहिँ होइन तर, भात खान सक्ने परिवारको हुनुहुन्थ्यो

पढाइको सिलसिलामै ०३९ सालमा म तत्कालीन दमक गाउँपालिकाको १२ नम्बर वडाको वडाध्यक्ष भएँ । युनिभर्सिटी ज्वाइन गरेको थिएँ । वडाध्यक्ष भएपछि पढाइ सिद्धियो । अर्को कार्यकाल दमकको प्रधानपञ्चमा उठेर हारे ।

त्यहीबेला युवक संगठन दमकको सभापति भएँ । राजेन्द्रजी पनि गोलधापको युवकको अध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई जिल्ला कमिटीमा सहयोग गर्यौं, तर पराजित हुनुभो ।  ०४६ सालमा बहुदलीय व्यवस्था आएपछि म राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट झापा जिल्ला विकासको उपसभापतिमा उठें । त्यतिखेर राजेन्द्रको पनि आकांक्षा थियो, तर म उमेरले सिनियर भएको नाताले मलाई छाडिदिनुभयो । मेरो ६ भोट रद्द भयो, ५ भोट खाली छाडियो । एक भोटले हारें । यसरी हामी राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तररुपमा आवद्ध भएर  लागिराखेका छौं । राजेन्द्रजी पनि अहिलेसम्म निरन्तररुपमै लाग्नुभएको छ ।

मेरा एक छोरा र एक छोरी छन् । छोरी छोरी बिहे गरेर अमेरिका बस्छिन् । छोरा आइएनजीओमा काम गर्थे, लकडाउनमा काम बन्द भयो । अहिले क्याम्पसमा पढाउँदैछन् । श्रीमती चुरोट कारखानामा काम गर्थिन्, अहिले अवकाश पाएर गृहिणीको भूमिकामा छिन् ।

अब राप्रपा प्रदेश १ का अध्यक्ष थापासँग राजनीतिक कुराकानी गरौँ ।

राप्रपा देशैभरि कमजोर हुँदा पनि तपाईं र राजेन्द्र लिङ्देनको क्षेत्रमा चाहिँ ८/१० हजार भोट होल्ड गरेर बस्न सक्ने अवस्था कसरी आयो ? अझ केपी ओलीकै चुनाव क्षेत्रमा राप्रपा जोगियो चाहिँ कसरी ? यसको भित्री रहस्य के हो ?

वास्तवमा हामीले जतिखेर पञ्चायतको राजनीति गर्यौं, त्यतिखेरदेखि नै पञ्चायतसँग आवद्ध रहेका प्रधानपञ्च, उपप्रधानपञ्च, वडाध्यक्षहरु दमकमा छौं । त्यतिबेला राजेन्द्र लिङ्देनजीको जलथल र केचनामा प्रभाव थियो । त्यहाँ हाम्रा साथीहरुले बहुदल आइकन पनि जित्नुभो । यी कारणले पनि हाम्रो आधार भइराखेको थियो । पञ्चायतमा पनि यस क्षेत्रमा प्रधानपञ्चहरु हाम्रै हुनुहुन्थ्यो ।

अहिले राजेन्द्र लिङ्देनजीको क्षेत्रमा कृष्णप्रसाद सिटौला र मेरो ठाउँमा केपी ओली नै भए पनि हामीचाहिँ राप्रपामा लागेर स्थानीय चुनावमा बलियो भइराख्यौं । उम्मेदवार रहिरह्यौं । जनताको बीचमा गइराख्यौं ।

०७४ अघिसम्म दमक नगरपालिकामा १९ वडा थिए, पहिले ७ वटा र पछि ६ वटा वडामा त राप्रपाले एक्लै जितेको थियो । हाम्रो आधार कमजोर थिएन । यही आधारलाई हामीले निरन्तरता दिइरह्यौं ।

मैले गत स्थानीय चुनावमा काँग्रेस र राप्रपालाई मिलाउने धेरै प्रयत्न गरें । तर, काँग्रेसमा पञ्चायतका र राप्रपाकै साथीहरु बढी गएका कारण उहाँहरुले मेरो व्यक्तित्वसँग अलि पूर्वाग्रह राख्नुभयो । यही कारणले काँग्रेससँग गठबन्धन हुन सकेन । तर, एकचोटि डा. गोपाल कोइरालाले जतिखेर जित्नुभो, त्योबेला हामीले सहयोग गरेकै कारणले उहाँले जित्नुभएको थियो ।

अहिले पनि हल्दीबारी र केचना कवलमा राप्रपाले जितेको छ । राजेन्द्रजीकोमा जनसंख्या पनि थोरै छ भने मेरोमा जनसंख्या धेरै छ । केपी ओलीजस्तो प्रभावशाली मान्छे, पार्टीको राष्ट्रिय अध्यक्ष, एउटा राष्ट्रिय व्यक्तित्व भएको ठाउँमा यो त्यति सजिलो थिएन । तैपनि हाम्रो निरन्तर संगठन रहिरह्यो ।

गत स्थानीय चुनावमा म दमक नगरपालिका प्रमुखको निर्वाचनमा दोस्रो भएँ । यो हाम्रो निरन्तरताका कारणले भएको हो । म पञ्चायतकाल अहिलेसम्म दुईचोटि मेयरमा उठे, दुबैचोटि दोस्रो भएँ ।

झापाको यस क्षेत्रमा एमाले, राप्रपा, काँग्रेस र माओवादीको चारपक्षीय शक्ति देखिन्छ । यीमध्ये एउटाले अर्कालाई नसघाई  एक्लै जित्ने स्थिति छ कि छैन ? जस्तो– ०७४ को चुनावमा यस क्षेत्रमा राप्रपाले केपी ओलीलाई भोट हालेको थियो । यहाँ राप्रपाले एक्लैचाहिँ कहिल्यै नजित्ने भयो हैन त ?

यहाँ अनौठो परिस्थिति छ । हामी राप्रपा, काँग्रेस, एमाले र माओवादी अलिअलि तलमाथि हौं तर चारैवटा पार्टी छौं । माओवादीचाहिँ प्रचारमा आएजस्तो बलियो होइन । ०७४ को चुनावको परिणामअनुसार एमाले पहिलो, दोस्रो राप्रपा र तेस्रो काँग्रेस नै हो ।

मैले गत स्थानीय चुनावमा काँग्रेस र राप्रपालाई मिलाउने धेरै प्रयत्न गरें । तर, काँग्रेसमा पञ्चायतका र राप्रपाकै साथीहरु बढी गएका कारण उहाँहरुले मेरो व्यक्तित्वसँग अलि पूर्वाग्रह राख्नुभयो । यही कारणले काँग्रेससँग गठबन्धन हुन सकेन । तर, एकचोटि डा. गोपाल कोइरालाले जतिखेर जित्नुभो, त्योबेला हामीले सहयोग गरेकै कारणले उहाँले जित्नुभएको थियो ।

दमकमा अहिले १० वटा वडामध्ये हामी दुईवटा वडामा छौं । ८ वटामा एमाले छ । काँग्रेस र माओवादीको उपस्थिति वडामा छैन । धेरै वडामा हामी कम्ति मतले हारेका छौँ ।

जहाँसम्म खड्ग ओलीको कुरा हो, ०७४ सालमा चाहिँ हामीले मुलुकभरिको परिस्थिति मूल्यांकन गरेर राजेन्द्र लिङ्देनजीलाई राप्रपाको एउटा सीट माग्यौं र खड्ग ओलीजीलाई सहयोग गर्यौं । झापा जिल्लाभरि सबैतिर राजेन्द्रजीका लागि हामीले सूर्यमा भोट हाल्यौं ।

गएको तथ्यांकलाई तपाईंले हेर्नुहुन्छ भने माओवादी, राप्रपा र एमाले मिलेर खड्ग ओलीले ५६ हजार मत ल्याएका हुन् । काँग्रेसले एक्लै २० हजार ५ सय मत ल्यायो । हामी (राप्रपा) ले समानुपातिकमा १३ हजार ५ सय मत ल्यायौं । भनेपछि, राप्रपा र काँग्रेसको मात्रै मत जोड्नुभयो भने लगभग ४३ हजार पुग्छ । राप्रपाले दिएको मत घटाउने हो भने खड्ग ओलीको ४३ हजार मत हुन्छ । (ओलीले पाएको माओवादीको मत पनि घट्छ) । हिजो पनि काँग्रेस र राप्रपा एक ठाउँमा भएको भए खड्ग ओलीको जित निश्चित थियो या थिएन, यो तथ्यांक आफैं बोल्छ ।

अब पनि राष्ट्रिय राजनीतिको जुन सिनारियो छ, झापामा एक्लै कसैले जित्दैन । काँग्रेसले पनि आफ्नो कुनै पनि ठाउँमा जित्दैन । राजेन्द्रजीले पनि एक्लै जति गफ गरे पनि जित्नुहुन्न । खड्ग ओलीजीले पनि जित्नुहुन्न । माओवादीको त कुरै नगरौं ।

अब सबैको महाधिवेशनपछि जुन एउटा राष्ट्रिय रणनीति हुन सक्छ, त्यसले पनि आगामी जीत–हार कस्तो हुन सक्छ भन्ने मापदण्ड निर्धारण गर्ला ।

तपाईं अब संसदीय राजनीतिमा आउने कि दमक नगरपालिकामै लड्ने ?

 म शाहीकालमा एकचोटि दमकको मेयर (नगर प्रमुख) भएँ । तर, काम गर्ने एउटा अन्तिम प्रवल ईच्छा अझै पनि छ । सकभर अब आउने स्थानीय चुनावमा सम्भव भयो भने अरु कुनै पार्टीसँग गठबन्धन गरेर एकचोटि राष्ट्रिय राजनीति भन्दा पनि दमककै मेयरमा आफ्नो उपस्थिति देखाऔं भन्ने मनसाय छ ।

झापा जिल्ला त पञ्चायतकाल देखि नै कम्युनिस्टहरुको गड हो तपाईं किन कम्युनिस्ट हुनुभएन ? अर्थात् झापामा कम्युनिस्ष्ट हुनबाट कसरी जोगिनुभयो ?

मैले विद्यार्थी हुँदाखेरि नै दुईवटा कुरा अध्ययन गरें । मलाई पञ्चायतभन्दा पनि राजा महेन्द्रको राष्ट्रवादले प्रभाव पार्यो । राष्ट्रियता र देशभन्दा ठूलो कुनै विचार, पद्दति वा कुनै व्यक्ति हुँदैन भन्ने मलाई विद्यार्थी अवस्थामा नै लाग्यो । त्यसैले म पञ्चायत पक्षीय विद्यार्थी संगठनतिर आवद्ध भएँ ।

जब मैले अलि परिपब्व भएर केही बुझ्न थालें, मैले कम्युनिस्टहरुको दर्शन भन्दा पनि नजिकबाट व्यवहार नियाल्ने बानी बसालें । वास्तवमा कम्युनिस्ट भनेको एउटा ठूलो तीर्थ हो । ठूलो समर्पण, निष्ठा, इतिहास र त्याग हो । तर, जति विचारमा प्रतिवद्ध छन्, व्यवहारमा कम्युनिस्टहरु छैनन् ।

उहाँहरु कुनै मुद्दामा छलफल गर्नुपर्यो भने सत्य भन्दा पनि आफ्नो पक्ष हेर्नुहुन्छ । समर्पण भन्दा पनि स्वार्थमा बढी कुद्ने । कम्युनिस्टहरुको आचरणमा शुद्धता हुनुपर्ने हो नि त । व्यवहारमा पवित्रता हुनुपर्ने हो नि त । त्यो त देखिएन । पजेरो चढ्नुपर्ने । बेलुका अलिकति सन्ध्यालाभ गर्नुपर्ने !

कम्युनिस्ष्ट भनेको एउटा निस्ठामा त हुनुपर्ने हो नि । अरुजस्तो त होइन नि कम्युनिस्ट भनेको । यो त एउटा दर्शनसँग सम्बन्धित समूह हो नि त । मैले यो कुरा व्यवहारमा देखिनँ । त्यसैले म कम्युनिस्टहरुप्रति आकर्षित हुन सकिनँ क्या ।

उनीहरुबाट जुनसुकै चिज पाइए पनि व्यवहारले चाहिँ के लाग्छ भने म उहाँहरु भन्दा बढी कम्युनिस्ट हो । व्यवहारिकरुपमा गरीब निमुखा जनताप्रति म नै उहाँहरु भन्दा बढी जीवनभरि समर्पित छु जस्तो लाग्छ क्या मलाई । यही मेरो कामको हिसाबले खड्ग ओलीजस्तो मान्छे भएको ठाउँमा पनि मलाई दोस्रो पारिरहन्छन् । यो मेरो निष्ठा, व्यवहार र प्रतिवद्धताको कारणले हो ।

केपी ओलीसँग तपाईंको व्यक्तिगत सम्बन्धचाहिँ कस्तो छ ?

राम्रो छ ।

कहिलेदेखिको चिनजान हो ओलीसँग ?

उहाँ पहिलो आम चुनावमा गृहमन्त्री भएर जानुभो । त्यसपछि भएको स्थानीय चुनावमा हामीले दमकमा १९ मध्ये ७ वटा वडाहरु जित्यौं । ८ वटा एमालेले र ४ वटा काँग्रेसले जित्यो । ओलीले त्यो स्थिति देख्नुभयो । चुनाव जितेपछि उहाँ निरन्तर दमक गइरहनुभयो । हाम्रो व्यवहार र सबै कुरा देखेपछि उहाँले अहिले आफ्नो पार्टीका मानिसहरु जत्तिकै मलाई माया गर्नुहुन्छ । मेरो उहाँसँग असाध्यै राम्रो छ ।

अब ०७४ सालमा जस्तै केपी ओलीलाई नै भोट दिइराख्ने ?

अब त्यस्तो हुँदैन । एकचोटि हामीले राजेन्द्रजीका लागि केही पाइन्छ कि भनेर, केही पाउनका लागि झापाका चारवटा सीटमा सूर्यमा भोट हाल्यौँ । मलाई लाग्छ, अब मेरो व्यक्तिगत कुरो भन्दा पनि अब स्थानीय तहमा पार्टीको गठबन्धनको कारणले कुनै अर्को परिस्थिति जन्मियो भने त बेग्लै कुरा हो, होइन भने अब त्यो स्थिति नआउला ।

कम्युनिस्टलाई नै भोट हालेर बस्ने हो भने त राप्रपा भइरहनुको के अर्थ ?

अब त्यो हुँदैन । फेरि पनि संस्थागतरुपमै निर्णय भयो भने त म व्यक्तिको निर्णयको केही अर्थ हुँदैन, मैले निर्णय मान्नैपर्छ । तर, त्योदेखि बाहेक व्यक्तिगतरुपमा मैले कहिल्यै निष्ठा बेच्ने काम पनि गरेको छैन, त्यो हुँदैन पनि ।

झापामा काँग्रेससँग सहकार्य गर्नका लागि राप्रपाको तर्फबाट नभएर काँग्रेसबाटै समस्या हो त ?

पहिलाको परिस्थितिका कारणले त काँग्रेससँग जान सक्ने स्थिति थिएन । तर, अहिले दमककै हकमा सम्झनुभयो भने चाहिँ उहाँहरुको पनि उपस्थिति त शून्य भयो नि त । उहाँहरुको राष्ट्रिय गठबन्धनको कारणले म फेरि कम्युनिस्हरुसँग जानुपर्ने परिस्थिति बन्यो भने काँग्रेस–माओवादीको त्यो गठबन्धन काम लाग्नेवाला छैन ।

उहाँहरुले हामीसँग गठबन्धन गर्न चाहनुभयो भने र एमालेलाई नै उहाँहरुले आफ्नो पहिलो प्रतिस्पर्धी ठान्ने हो भने त झापाको यो ठाउँ हामीलाई दिनुभयो भने निश्चय पनि एमालेहरु कमजोर हुन्छन् । यो मैले भन्दा पनि उहाँहरुले बुद्धि पुर्याउने कुरा हो ।

अब उहाँहरुले यसो नगरेर आफैं खान्छु भन्ने हो भने मैले बाध्य भएर एमालेसँग जानुपर्ने हुन्छ । त्यसबेला उहाँहरुको भाग त फेरि शून्य हुन्छ । मेरो पहिलो कुरा तपाईंलाई एकदम प्रष्ट के भन्छु भने दमकको मेयरमा जसले हामीलाई सघाउँछ, त्यो पहिलो शर्त हो स्थानीय रुपमा गठबन्धनको । यसमा कुनै तलमाथि हुँदैन । किनभने, मेरो उमेर पनि ६५ वर्ष भयो । यसमा कसैले पनि मलाई बाध्य बनाउन सक्दैन । चाहे काँग्रेसले होस्, चाहे एमाले होस् । जसले मलाई मेयरमा सघाउँछ, गठबन्धनको पहिलो शर्त यही हो । यसैको सेरोफेरोमा हाम्रो आगामी कुरा बढ्छ दमकको हकमा । र, यसैलाई झापाभरि अन्य साथीहरुमा पनि लागू गर्न सकिन्छ । म राप्रपाको प्रदेश अध्यक्ष भएको नाताले मैले अरु ठाउँ र अरु जिल्लालाई पनि हेर्नुपर्ने हुन्छ । तर, दमकमा चाहिँ मेयर पहिलो शर्त हो ।

अबको तीन/चार महिनापछि स्थानीय तहको चुनाव हुँदैछ । त्यसमा अहिलेजस्तो खल्लो प्रदर्शन भयो र राप्रपाले एउटा स्थानीय तहमा एउटा पनि उम्मेदवार जिताउन सकेन भने जनताको आकर्षण त घट्छ । त्यस्तै, अबको एक वर्षपछि हुने संघीय चुनावमा हामीले राप्रपालाई राष्ट्रिय पार्टी बनाउन सकेनौँ भने त हामीलाई जनताले पत्याउँदैनन् र त्यो परिवेशमा हामी एक ठाउँमा उभिने स्थिति पनि बन्दैन ।

अब राप्रपाको जारी महाधिवेशनको सन्दर्भमा कुरा गरौं । तपाईं र राजेन्द्र लिङ्देन एकै ठाउँका नेता । पुराना साथी पनि । तर, राजेन्द्र राप्रपाको अध्यक्षमा उठ्दै गर्दा तपाईंचाहिँ किन कमल थापातिर लाग्नुभएको ?

राजेन्द्र लिङ्देन, म र अमर विष्ट भन्ने अर्को साथी पनि हुुनुहुन्छ । हामीबीचको आत्मीयताका कारणले नै झापामा राप्रपाको संगठन अघि बढेको हो । राष्ट्रिय राजनीतिमा हामी तलै बसेर भए पनि राजेन्द्रजीलाई पार्टीको महामन्त्री अनि प्रतिनिधिसभाको सांसद बनाउने कुरामा हाम्रो ठूलो योगदान छ, कसैले देख्नु नदेख्नु अलग कुरा हो ।

तर, राजेन्द्रजीको अहिलेको जुन स्थिति हो, हामीले एक–दुई महिना अगाडि पनि बसेर सल्लाह गर्यौं । हामीले दुई–तीनवटा कारणले अहिले राजेन्द्रजीलाई सहयोग गर्न नसक्ने अवस्था छ ।

एक– अहिले राप्रपाले लिएको एजेण्डा ( राजसंस्था, हिन्दु राष्ट्र र संघीयताको खारेजी) का विचारक एवं प्रवर्तक त कमल थापा नै हुन् । यसमा कुनै दुईमत छैन । जसको नीति, त्यसकै नेतृत्व हुनुपर्छ । कमल थापालाई सहयोग गर्नुपर्ने पहिलो कारण यो हो ।

दोस्रो कारण – योभन्दा अघि पनि पार्टीको एकता महाधिवेशन  (०७३ फागुन) भएको थियो ।  त्यसमा आदरणीय पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपति समशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई वास्तवमै नेतृत्व प्रदान गरेर सर्वसम्मत छोडेको हो । त्यसबेला एकजना प्रदीपविक्रम राणा मात्रै उठ्नुभयो । तर, विडम्बनाको कुरा महाधिवेशनबाट कमल थापा निर्वाचित भइसकेपछि डा. लोहनीले महिना दिनभित्रै पार्टी फुटाउनुभयो । ६ महिनापछि पशुपतिजी पनि बाहिरिनुभयो । यसमा समग्ररुपमा कमल थापालाई अन्याय भयो कि भएन ? अन्याय गरियो कि गरिएन ? अब एकता भइसकेपछि यो एकताको पहिलो नेतृत्वकारी जिम्मेवारी त हिजो अन्यायमा पर्ने मान्छेलाई दिनुपर्यो नि ।

तेस्रो कुरा– अबको तीन/चार महिनापछि स्थानीय तहको चुनाव हुँदैछ । त्यसमा अहिलेजस्तो खल्लो प्रदर्शन भयो र राप्रपाले एउटा स्थानीय तहमा एउटा पनि उम्मेदवार जिताउन सकेन भने जनताको आकर्षण त घट्छ । त्यस्तै, अबको एक वर्षपछि हुने संघीय चुनावमा हामीले राप्रपालाई राष्ट्रिय पार्टी बनाउन सकेनौँ भने त हामीलाई जनताले पत्याउँदैनन् र त्यो परिवेशमा हामी एक ठाउँमा उभिने स्थिति पनि बन्दैन ।

अर्को कुरो– मेचीदेखि महाकालीसम्म सबै कार्यकर्ताको घरमा पुग्न सक्ने शीर्षस्थ नेता त कमल थापा नै हुन् नि त । यिनै चार/पाँचवटा कारणले गर्दा हामीले कमल थापालाई सघाएका हौं । यो एकताको महाधिवेशनमा कमल थापाको उपस्थिति अपरिहार्य आवश्यकताका रुपमा रह्यो ।

तपाईंले यो कुरा आफ्नै जिल्लाबासी राजेन्द्र लिङ्देनलाई भन्नुभएन ?

हामीले भन्यौं । राजेन्द्रजीले समय भन्दा पहिल्यै धेरै अवसरहरू पाउनुभयो । पार्टीले र कमल थापाले अवसर दिएर उहाँलाई यो उपल्लो तहमा पुर्याएको हो । उहाँले पनि त कसैका लागि एकचोटि गुन फिर्ता गर्ने वा निष्ठा कायम गर्ने अवसर चुकाउनुहुन्थ्यो त ? उहाँका लागि त उमेर फेरि पनि थियो नि ।

यद्यपि परिवर्तनमा युवा उमेरको मात्रै कुरा गर्ने हो भने उहाँले एकचोटि गठबन्धनका कारणले मात्रै माननीय जित्नुभएको हो । पार्टीमा २० वर्षसम्म माननीय जितेर मन्त्री भएर आएका मानिसहरुको व्यवस्था पनि चाहिँ के हुन्छ ? यस्ता कैयौं अनुत्तरित प्रश्नहरु त जिउँदै छन् नि । राजेन्द्रजीलाई चाहना आयो भन्दैमा मैले समर्थन गर्नुपर्छ भन्ने छैन ।

उहाँलाई कमल थापाजी लगायत हामी पूर्वका धेरै साथीहरुले पाँच वर्ष बसिदिन अनुरोध गर्यौं । तर, उहाँलाई हतार लाग्यो । वा कसैको उक्साहटमा परेजस्तो हामीलाई लाग्छ ।

म एउटा कुराचाहिँ के भन्दिउँ भने स्वर्गीय सूर्यबहादुर थापाले के भन्नुभएको थियो भने पञ्चायतमा एउटा भूमिगत गिरोह थियो है, त्यसले पञ्चायत पनि खाने भो, मलाई पनि लाने भो । अहिले म के देखिरहेको छु भने त्यो भूमिगत गिरोहको अवशेष जिउँदै रहेछ । यसले राप्रपा नेताहरुलाई कमजोर पार्ने षड्यन्त्र गरिराखेको छ । यसको शिकार कमल थापालाई बनाइने प्रयत्न भइराखेको छ ।

तर, लिङ्देनले त महाधिवेशनमा जित्छु भनिरहनुभएको छ नि ?

मलाई त लाग्छ, उहाँले हारिसक्नुभयो । प्रदेश नम्बर १ को चुनावमा नै मेरा विरुद्ध भक्ति सिटौलालाई उम्मेदवारी दिन लगाएर सेमी फाइनलमा नै पराजित भइसक्नुभयो । क्रिकेटमा भन्छन् नि, उहाँ त हाम्रो प्रदेश १ को घरेलु मैदानमा नै हारिसक्नुभयो ।

अहिले परिवर्तनका सम्वाहक दुईजना मान्छे हैनन् राजेन्द्र लिङ्देन र धवल शमशेर ? लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय र मैले उहाँहरुलाई घरेलु आँगनमा नै पराजित गरिसक्यौं त । सेमी फाइनलमै पछारिसक्यौं त । अब फाइनलमा चाहिँ जित्ने कुरा कहाँबाट आउँछ ? जो मानिस आफ्नै आँगनमा सेमी फाइनलमा हार्छ, उसले फेसबुकमा हाहु गरेर फाइनलमा कसरी जित्छ ?

राजेन्द्र लिङ्देन अध्यक्षमा पराजित हुनुभयो भने राप्रपा फुट्दैन ?

योचाहिँ अनुमानको कुरा हो । उहाँले त्यसो नगर्नु होला । तर, बानी लागेपछि त्यो पनि दोहोरिन बेर लाउँदैन । विगतको इतिहास हेर्ने हो भने डा. लोहनीको स्वाभाव त चुनाब हारेपछि बस्नेखालको छैन । हामीले अप्ठ्यारो मानी–मानी भन्नुपर्ने हुन्छ, त्यो सम्भावना पनि हुन सक्छ । तर, त्यसो नगरिदिए हुन्थ्यो ।

झापाको राप्रपाचाहिँ अब एकै ठाउँ रहला त ? राजेन्द्र र तपाईं नै दुईधारमा बाँडिइसक्नुभयो....

रहन्छ । अब चुनावमा पनि उठ्ने, जित हारको कुरा पनि गर्ने अनि एकै ठाउँ बस्ने कुरामा त कुनै दुबिधा छैन । मैले प्रदेश कमिटीको चुनाव लडें ।

म एउटा कुराचाहिँ के भन्दिउँ भने स्वर्गीय सूर्यबहादुर थापाले के भन्नुभएको थियो भने पञ्चायतमा एउटा भूमिगत गिरोह थियो है, त्यसले पञ्चायत पनि खाने भो, मलाई पनि लाने भो । अहिले म के देखिरहेको छु भने त्यो भूमिगत गिरोहको अवशेष जिउँदै रहेछ । यसले राप्रपा नेताहरुलाई कमजोर पार्ने षड्यन्त्र गरिराखेको छ । यसको शिकार कमल थापालाई बनाइने प्रयत्न भइराखेको छ ।

दोस्रो कुरा हामी हिन्दु धर्मलाई एउटा जीवन पद्दतिका रुपमा स्वीकार गर्छौं । अहिले हाम्रा त्रय नेताहरु पशुपति शमशेर, कमल थापा र डा. लोहनी भनेका ब्रह्मा, विष्णु, महेश्वरका रुपमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासले यो स्थानमा राखेको छ । यो ऐतिहासिक जिम्मेवारी र कार्यकर्ताको भावनामा ठेस पुर्याउने काम यहाँहरुले नगरेर ब्रह्मा, विष्णु, महेश्वरको भूमिकामा बसेर पार्टीको यो जीवन्ततालाई बचाइराख्नुपर्छ ।

यसो गर्नका लागि त दोस्रो पुस्तालाई नेतृत्व दिएर कमल थापासहित तीनैजना अभिभावकका रुपमा बसे हुँदैन ?

यस्तो छ नि, तीन जनामध्ये सशक्त त कमल थापा नै हो । उहाँले पनि उहाँहरुलाई उचित व्यवस्थापनका लागि कञ्जुस्याइँ गर्नु हुन्न । गएको महाधिवेशनमा त उहाँहरुले कमल थापालाई नेतउत्व स्वीकार गरेकै हो नि । अहिले के अप्ठ्यारो पर्यो त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप